अभियान र संघर्षको घोषणा गर्दै होटल रेस्टुराँ र गलैंचा मजदुरको अधिवेशन सम्पन्न

क्रान्तिकारी होटल रेस्टुराँ मजदुर संघको अधिवेशनद्वारा अर्जुन बोगटीको संयोजकत्वमा २१ सदस्यीय कमिटि निर्वाचित, क्रान्तिकारी गलैंचा मजदुर संघको अधिवेशनद्वारा केशव बुढाथोकीको संयोजकत्वमा ५७ सदस्यीय कमिटि निर्वाचित

काठमाडौ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध पेशागत संघहरु क्रान्तिकारी होटल रेस्टुराँ मजदुर संघ र क्रान्तिकारी गलैंचा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । काठमाडौको चाबहिलमा सम्पन्न होटल रेस्टुराँ मजदुरहरुको अधिवेशनले अर्जुन बोगटीको संयोजकत्वमा २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । यसैगरी काठमाडौको बुढानिलकण्ठमा सम्पन्न गलैंचा मजदुरहरुको अधिवेशनले केशव बुढाथोकी संयोजकत्वमा भुवन थापा, अरुण श्रेष्ठ सहसंयोजक रहेको ५७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

महासंघका केन्द्रीय संयोजक तथा प्रमुख अतिथि दिनेश शर्माले मैनबत्ति जलाएर अधिवेशनको उद्घाटन गर्नुभएको थियो । दुवै अधिवेशनलाई महासंघका संयोजक दिनेश शर्मा, सह संयोजक त्रय ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा, ३ नम्बर प्रदेश महासंघका संयोजक कुमार घताने, क्रान्तिकारी निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, क्रान्तिकारी वैदेशिक रोजगार मजदुर संघका संयोजक युवराज थापा, केन्द्रीय सचिवालय सदस्य एलबी बुढाथोकी, केन्द्रीय सदस्य रामकुमार दोङले बधाई तथा शुभकामना र प्रशिक्षण मन्तव्यद्वारा प्रशिक्षित गर्नुभएको थियो ।

यससँगै अधिवेशनले नयाँ नेतृत्व निर्माण सँगै कारखाना जाऔं केन्द्रीय अभियानको निर्देशिका अनुसार अभियान र संघर्षको घोषणा समेत गरेको छ । यस अन्तरगत होटल तथा गलैंचा क्षेत्रमा न्यूनतम ५ हजार सदस्य वितरण, १०० इकाई निर्माण गर्ने सांगठनिक लक्ष्य रहेको छ । यसैगरी अधिवेशनले वैचारिक र संघर्षको क्षेत्रमा हस्तक्षेप सहित अघि बढ्ने घोषणा गरेको छ । त्यस अन्तरगत सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण र मागपत्र बुझाउने, अन्तरक्रिया गर्ने, स्कुल सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसमा विशेष केन्द्रीकरण गर्ने एवं मजदुरका पेशागत मुद्दाहरुको न्यायपूर्ण फैसलाका निम्ति विशिष्ट र आम संघर्ष गर्ने कार्यक्रम तय गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?