माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन ।
बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञानसमेत हासिल गर्न पाएका छन् ।
विद्यालय परिसरमा सौन्दर्यीकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना गरिएको रहेछ । यस्तो सौन्दर्यले विद्यालय वरपरको वातावरणसमेत हराभरा बनेको छ । विद्यालयले ‘जङ्क फुड’ निषेध र बालबालिकालाई सिपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेकाे छ ।
रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रुक बनाउने गर्छन् ।
यस विद्यालयमा विद्यार्थीलाई दुनाटपरी बनाउने सिप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगत रूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ ।