मुलुक यतिबेला अस्तव्यस्त छ र अकर्मण्यताको सिकार बनेको छ । संसद्वादी राजनीतिक शक्तिहरूको वैचारिकी र व्यवहार झन्झन् पतनको पराकाष्टातर्फ ओर्लंदैछ भने पुनरुत्थानवादी शक्तिहरू, धार्मिक झुण्डहरू र विशेषतः प्रतिक्रियावादी शक्तिहरू संसद्वादी शक्तिहरूको अकर्मण्यताको फाइदा उठाउँदै विभिन्न नाम र बहानामा एकत्रित र सङ्गठित हुँदै गएका छन् । यद्यपि क्रान्तिकारी मालेमावादी शक्तिहरूबीच पनि एकता र ध्रुवीकरणले गति लिइरहेको छ तर क्रान्तिकारी आन्दोलन सशक्त रूपले अघि बढ्न विलम्ब हुँदा संसद्वादको असफलतालाई लोकतन्त्रको असफलता बताएर धमिलो पानीमा माछा मार्ने प्रतिगामी, यथास्थितिवादी र स्वार्थसमूहहरूको चलखेल र छट्पटी बढिरहेको छ । उत्पीडित देश र जनताका लागि यो राम्रो सङ्केत होइन । यसलाई चिरेर अघि बढ्नका लागि मालेमावादी शक्तिहरूका बीच अझ तीव्रतामा एकता, ध्रुवीकरण, केन्द्रीकरण र कार्यात्मक क्रियाशीलता अपरिहार्य छ । विविध कारणले यसमा पनि भाँजो र अकर्मण्यता बढिरहेको र त्यसलाई चिर्ने सार्थक प्रयास भइरहेको अनुभूति हुँदैछ । पार्टीका क्रान्तिकारी शक्तिहरूको क्रियाशीलता, तत्परता र गतिशीलताले मात्र जमेको तलाउको बाँध भत्किन र क्रान्तिको गति अघि बढ्न प्रोत्साहित गर्नेछ ।
दलाल पुँजीवादी सत्ता यतिबेला जनतन्त्र अपहरण गरेर ढसमस्स साम्राज्यवादको सेवा गरिरहेको छ । साम्राज्यवाद विविध रूपमा प्रकट भइरहेको छ । अमेरिकी साम्राज्यवाद राजनीतिक, सांस्कृतिक, कूटनीतिक साम्राज्य बढाउँदै एमसीसीजस्तो राष्ट्रघाती सम्झौता लागू लगाएर नेपाललाई साम्राज्यवादी युद्ध अखडा बनाउन र चीनलाई घेर्ने षड्यन्त्रमा सफल हुँदैछ । संसद्वादी सत्तामा पुगेका प्रत्येक दल र तिनका प्रतिनिधिमा लेन्डुपको प्रभाव र छायाँ प्रस्ट देखिन्छ । भारतीय साम्राज्यवाद नेपालको राजनीति, अर्थनीति, संस्कृतिका साथै नेपालको भूगोलसमेत अतिक्रमण गरेर आफ्नो असली अनुहार देखाइरहेको छ । यसले नेपालका विभिन्न संसद्वादी राजनीतिक पार्टी र तिनका नेतालाई घोषित–अघोषित रूपमा आफ्ना प्रतिनिधिका रूपमा प्रयोग गरिरहेको छ । नेपालमाथि असमान सन्धि र असमान व्यवहारसमेत लादेर र तराई–मधेस क्षेत्रमा आफ्ना नागरिक घुसाएर त्यस क्षेत्रलाई आफ्नो बलियो पकेट क्षेत्र बनाउन भारतीय साम्राज्यवाद सफल हुँदै गएको छ र राष्ट्रघाती नागरिकता विधेयक पारित गराएर नागरिकता प्राप्त गर्न नसकेका नेपाली जनताभन्दा आफ्ना नागरिक र अन्धसमर्थकलाई नागरिकता बाँड्ने दोस्रो योजना लाद्न सफल भएको छ ।
यसरी देशमाथि निरन्तर साम्राज्यवादका रक्तपिपाशु नङ्ग्राहरू गाडिइरहेको, पुराना र नयाँ संसद्वादी शक्तिहरू असफल र बदनाम भइरहेको र नयाँ जामा लगाएका साम्राज्यवादका नयाँ दलालहरूले पुराना दलालहरूविरुद्ध जेहाद छेडिरहेको अवस्थामा देश र जनतालाई सबै किसिमका शोषण, दमन, अन्याय, अत्याचार र तस्करीबाट मुक्त गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मात्र निर्विकल्प शक्ति हो र यसमा आबद्ध क्रान्तिकारी युवा तप्का जुर्मुएर क्रान्ति सफल गर्ने कार्यदिशा, कार्यक्रम र सारमा क्रान्ति अघि बढाएपछि मात्र यो गतिहीनता तोडिने विश्वास गर्न सकिन्छ ।
सम्पादकीय