
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्रीको प्रक्रिया नपु¥याइ गरिएको गिरफ्तारी सरकारको फाँसीवादी शैली भएको बताएको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८२ चैत्र १६ गते वक्तव्य जारी गर्दै सो बताएका हुन् । वक्तव्यमा गौरी बहादुर कार्की आयोगले भाद्र २३ गतेको घटनालाई मात्र जोड दिई तयार पारिएको प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ । साथै जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्व गर्ने जनवर्गीय सङ्गठन, जनजाति सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने ध्येयका साथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फासीवाद उन्मुख साम्राज्यवादको कठपुतली बालेन्द्र सरकार विरुद्ध र राष्ट्रिय स्वाधीनताका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, सच्चा–लोकतन्त्रवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टी ,समूह तथा व्यक्तित्वहरुलाई साम्राज्यवादका विरुद्धको संयुक्त मोर्चा र स्वाधीन संयुक्त सरकारको पक्षमा सङ्घर्षमा गोलबन्द हुन समेत पार्टीले अनुरोध गरेको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
अमेरिकाद्वारा भारतको सहयोग लिएर गरिँदै आएको दशकौंदेखिको पूर्वाभ्यास र राजनीतिक तथा ऐतिहासिक मनोविज्ञानको अध्ययन गरी २०८२ को भाद्र २३ र २४ गते “जेनजी विद्रोह” गराई नेपालमा कठपुतली सुशीला सरकार लादियो । उक्त सरकारले निर्वाचन नामको नाटक मञ्चन गरी साम–दाम–दण्ड–भेदको बलमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दललाई करिब दुईतिहाइ मतले जितायो । उक्त निर्वाचन हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा बहिष्कार गरिएको थियो ।
बालेन्द्र साह नेतृत्वको रास्वपा सरकार बनेको भोलिपल्टै गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले एक पक्षीय रुपमा भाद्र २३ को घटनालाई मात्र जोड दिई तयार पारेको प्रतिवेदनलाई आधार बनाएर सरकारद्वारा पर्याप्त विधि प्रक्रिया नपु¥याई फासीवादी शैलीमा तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ । जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्व गर्ने जनवर्गीय सङ्गठन, जनजाति सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने ध्येयका साथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यो काम ट्रम्प शैलीको नेपाली संस्करण मात्र हो । यसको हाम्रो पार्टी विरोध गर्दछ । भाद्र २३ को घटनामा मात्र आधारित भएर पूर्वाग्रही ढङ्गले कार्बाही चलाउनु र २४ गतेको घटनालाई ढाकछोप गर्नु भावी सरकारमै पर्न सक्ने अपराधीहरुलाई सुरक्षित राख्ने खेल थियो भन्ने कुरा स्पष्ट देखिन्छ ।
अन्ततः हामी फासीवाद उन्मुख साम्राज्यवादको कठपुतली बालेन्द्र सरकार विरुद्ध र राष्ट्रिय स्वाधीनताका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, सच्चा–लोकतन्त्रवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टी ,समूह तथा व्यक्तित्वहरुलाई साम्राज्यवादका विरुद्धको संयुक्त मोर्चा र स्वाधीन संयुक्त सरकारको पक्षमा सङ्घर्षमा गोलबन्द हुन विशेष आग्रह गर्दछौं ।
