देशमा वैचारिक स्खलनको अवस्था

-मनु वि.क.
अहिले देशमा वैचारिक स्खलनको अवस्था चरम सीमामा पुगेको छ । उमेरले पाका भएकाहरु होउन् वा उमेर बढ्दै गरेका भर्खरका युवाहरु होउन् उनीहरुले वैचारिक स्तर विकास गर्न र सोही मुताविक आचरण गर्न, र विचारलाई संरक्षण गर्न सकेको देखिँदैन । उमेरले पाका भएकाहरुमा पनि विचारलाई विकास गर्ने, चिन्तन मनन गर्ने,समाजोपयोगी कामहरुमा कसरी लाग्न सकिन्छ ? समाजलाई के कसरी बढी भन्दा बढि योगदान दिन सकिन्छ भन्ने भन्दा पनि के कसरी आफूले आफ्नो स्थिति बनाउन आर्थिक अवस्था सुधार गर्न सकिन्छ भन्नेतिर मात्रै ध्यान दिएको देखिन्छ ।
आफूलाई नै केन्द्रमा राखेर सोच्ने, स्थितिको मूल्याङकन गर्ने, आफूलाई नै सर्वेसर्वा ठान्ने,आफूले भने जस्तो माहोल बनाउन हरसम्भव प्रयत्न गर्ने, प्र्रयत्न सफल नभएमा जे कुरा पनि भाँड्ने गरेको पाइन्छ । आफूलाई वर्षौंदेखि राजनीतिमा होमेका ,देश काल,बुझेका भनिएकाहरु झनै अवसरवादी भएको पाउँछौं । उनीहरु अवसर पाउनेवित्तकै जे पनि गर्न पछि नपरेका उदाहरणहरु छन् । अहिले पाका भनिएका राजनीतिकर्मीहरुमा पनि कुनै किसिमको स्थिरता छैन । उनीहरु कहिले कुन पार्टीमा लागेका छन्, कहिले कुन समुह र गुटमा लागेका छन् । आफैले बनाएको सबै मूल्य मान्यताहरु भूलेको अवस्था छ । आफूलाई फाइदा हुने भएमा जस्तोसुकै जनविरोधी क्रियाकलाप पनि गर्न बाइकको गतिमा दौडादौड छ आफूलाई सुधार्न,आफ्नो स्थिति मजबुद बनाउन ।
पाका भनिएकाहरु समय बढ्दै जादा पहिलाको समाजले स्वीकार गरेको बानी आचरण भन्दा पनि समाज विरोधीखालका आचरण ,आनीबानीमा लाग्ने प्रवृति बढ्दो छ । आफैले दिएको ज्ञान शिक्षालाई पनि भुलेर समाज विरोधी आचरणमा लागेका भेटिन्छन् । समाजमा चरम मात्रामा उपभोगतावादको विकास भएको छ । कुनै पनि कुरा सुन्न सम्म पनि धैर्यता छैन,बुझ्न र त्यसलाई व्यवहारमा प्रयोग गर्ने कुरा त दोस्रो कुरा हो । सही नै कुरा भए पनि जीवन उपयोगी कुरा भए पनि त्यतातिर ध्यान दिएर बस्ने फुर्सद कसैलाई छैन । यसले भएको ज्ञान ,कला उपयोगी कुराहरुको क्षमतामा पनि क्रमिक रुपमा ह्रास ल्याउँदै गएको छ । पहिले हाम्रो घर समाजमा आफ से आफ रुपमा राम्रा कुराहरुको उपयोग हुन्थ्यो । प्रकृतिमा भएका आफ्नै स्थानीय ताजा उत्पादनहरु उपभोग गर्ने चलन थियो । तर अहिले यो सबै लोप भएको छ । यहाँसम्म कि घरमा बनाउन सकिने खानाहरुको बारेमा समेत बच्चादेखि युवा समेतलाई ज्ञान हुँदैन । सबै खानेकुरा पसलमा भर पर्ने बजारले बनाएको छ ,घर घरमा पु¥याइदिएको छ । घर घरमा सजिलै पहुँच भएका खाना कतिको स्वस्थ छन् ? भनेर सोच्ने फुर्सद कसैको छैन । उही खाना बनाउँदा लाग्ने समय र मगाउँदा लाग्ने समय उही नै भए पनि मगाउने नै बानीमा विकास भएको छ । यस्तो जस्तै मानिसहरुको विचारमा खडेरी पर्दै गएको छ । लाभ हात लाग्न थालेमा जे पनि बन्न तयार बन्ने चलनको विकास भएको छ ।
एक जमाना थियो आफ्नो आस्था,विश्वास भन्दा कुनै पनि गलत काम नगर्ने । कुनै जमना थियो क्रान्तिकारी परिवर्तनको लागि मरेर लाग्ने,रुपान्तरणको खातिर जस्तो सुकै त्याग, तपस्या गर्न पनि तयार हुने । अहिले क्रान्तिकारी विचारहरु सजिलै भुलिएका छन् । विचार त्याग गर्न कुनै गाह्रो भएको छैन । क्रान्तिकारी विचार निर्माण गर्न जुनसुकै अवस्था सहेर भोगेर पनि लाग्ने बानीको विकास भएको थियो । विचार निर्माणको कुरा चान चुने कुरा होइन । यो कुरा एकाएक हुने कुरा पनि होइन । त्यसकोलागि निरन्तर रुपमा लाग्नु पर्दछ । विचारलाई माझ्न र समृद्ध बनाउन निकै कडा मिहेनत गर्नु पर्ने हुन्छ । तर अहिले पुराना नेताहरु त्यस कार्यमा थाकेको, पलायनको बाटो समातेको देखिन्छ । समाज निरन्तर परिवर्तनको दिशामा अगाडि बढिरहेको हुन्छ । यो समय चक्रलाई कोही कसैले पनि रोकेर रोक्न सक्ने कुरा हुँदैन । तर पनि विचार निर्माण भएका भनिएका नेताहरु विगतमा दुःख भोगेका, खली खाएका भनिएका नेताहरु पनि दिनानुदिन अधैर्य बन्दै गइरहेका छन् । उनीहरुको परिवर्तनको आशा निराशामा परिणत हुँदै गएको छ ,धन,दौलतको विकासमा लागेका छन् । चिन्तन मननको काम हुन सकेको छैन । नेताहरुका नीति र कार्यक्रम चुनाव केन्द्रित हुँदै गएका छन् ।विगतमा क्रान्तिकारी भनिएका नेताहरु पनि चुनावदेखि चुनावसम्म मात्रै सोच्ने गरेको ,चुनावी माहोल कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर मात्रै सोचिरहेको र दौडिरहेको देखिन्छ । वुर्जुवा पार्टीहरुको त नीति नै त्यही खालको हुन्छ । त्यसो गर्नु स्वाभाविक नै हो तर आफूलाई दशकौं कम्युनिष्ट आन्दोलनमा होमेका आफूलाई क्रान्तिकारी भनेका नेताहरु, पार्टीहरु तीव्र रुपमा वैचारिक रुपमा,सैद्धान्तिक रुपमा स्खलित भइरहेका छन् । संशोधनवादी र दक्षिणपन्थी हुँदै गएका छन् ।
युवाहरु दिशाविहीनता र विचारविहीनताको अवस्थामा पुगेको देखिन्छ । युवाहरु भनेका देशका लागि कर्णधार हुन् । उनीहरुको रगत पसिनालाई देशमा पोख्न पाए देशले विकास गर्दछ । आज सरकारले युवाहरुलाई विदेश पठाएर रेमिट्यान्स भित्र्याएर देश विकास हुन्छ भनेर सोचेको छ । युवाहरु देशमा केही हुँदैन भनेर विदेश जान बाध्य पारिएको छ , घर गाउँमा युवाहरु छैनन् । घर गाउँमा आमाबुबाहरु आफ्ना प्यारा छोराछोरीको आगमनको पर्खाइमा बस्नु परेको छ ।
सबैकुराको फैसाला राजनीतिले गर्छ र राजनीति भनेको मूल हो मुल सफा भएमा अरु पानी सबै सफा हुन्छ । मूल सफा नभएमा अरु पानी सबै दूषित हुने गर्छ । युवाहरुले जसरी भए पनि कमाउनु पर्ने,कमाउनै प¥यो । उनीहरुलाई उपभोगकोलागि मात्रै तयार रहने बनाउने गरेका छन् । उनीहरु विदेशी तथा स्वदेशी जे जस्तो रुपमा राम्रो नराम्रो गरे पनि उनीहरु चुप्प लागेर बसेका हुन्छन् । बजारमा महंगी बढ्छ युवाहरु बोल्दैनन् ।सरकारी शिक्षा निजीकरण हुन्छ ।युवाहरुलाई वास्ता हुँदैन । समाजमा व्यापक मात्रामा बेथिति भ्रष्टाचार छ,युवाहरुलाई चिन्ता र चासोको विषय बन्दैन । समाजमा शोषण व्याप्त छ शोषण किन भइरहेको छ? युवाहरुलाई वास्ता हुँदैन । सरकारी तथा गैरसरकारी निकायहरुमा व्यापक मात्रामा अराजकता छ कसैलाई चासो र चिन्ताको विषय हुँदैन । शिक्षा स्वास्थ्य र सबैमा विकृति हुन्छ कोहीलाई वास्ता हुँदैन । आफै जति शोषणमा परे पनि युवाहरुलाई केही वास्ता हुँदैन । उल्टो युवाहरु भ्रष्टाचार गरेका भनेर दोषी प्रमाणित भएका मानिसहरुको पक्षमा लाग्ने, उसलाई जोगाउन लाग्ने वा उसको पक्षमा हस्ताक्षर संकलन गर्ने उल्टो बाटो अवरोध गर्ने वा आन्दोलन हडतालमा लाग्ने प्रवृतिको विकास भएको छ ।

आलोचनात्मक चेत विस्तारै भुत्ते बनाउँदै लगिएको छ । आलोचनात्मक चेतको विकास हुन नसकेर कताबाट खान पाइन्छ ? भनेर हेरेर कुरेर बस्ने अवस्थामा युवाहरु पुगेका छन् । युवाहरु खरो हुुनु पर्ने थियो । उनीहरु वैचारिक ,सैद्धान्तिक सबै रुपमा सक्षम हुनु पर्ने थियो । तर युवाहरुलाई विदेश पठाएर यहाँ देश राज गर्न पल्केकाहरुले उनीहरुलाई हर तरहले माहोल बनाएर विदेश पठाउने ध्याउन्नमा छन् । युवाहरुलाई विदेश पठाउन गाउँदेखि अन्तर्राष्ट्रिय स्तरसम्म जालो बनेको छ । यहाँ केही काम हुन सक्दैन भन्ने बनाएर उनीहरुलाई विदेशी पैसाको लोभ देखाएर विदेश तिरै धकेल्ने माहोल बनेको छ । आफ्नो उत्पादनलाई वास्ता नगर्ने र केही गर्ने सोचाईको विकास हुन नदिने बनेको छ ।
यहाँ हुन्छौं र पो यहाँको चिन्ता र चासो हुने गर्छ । जब यहाँ ,यहाँको माटोमा उसको उपस्थिति नै छैन भने उसलाई के यहाँको चिन्ताको आवश्यक ? उसले अरु नै देशमा पसिना बगाउँदा नै सबै समय सकिन्छ केही सोच्न ,चिन्तन मनन गर्न सक्दैन । कुनै पनि दार्शनिकहरुको सोचाइमा विकास हुनुमा,चिन्तनको विकास हुनुमा त्यहाँको वस्तुस्थितिले ,समयले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
अहिलेको अवस्थामा युवाहरुले पुराना मान्छेहरुहरुबाट सिक्न,नेताहरुको आचरण बानीबाट प्रभावित भएर जीवन बदल्न,सोचाइलाई माथिल्लो स्तरमा पु¥याउन प्रभावित पार्ने जस्तो आचरण पनि कुनै नेतामा देखिएको छैन ।
नेताहरु भ्रष्ट हुँदै गएका छन् । परिवर्तनको पक्षमा लागेका भन्नेहरुमा सैद्धान्तिक रुपमा गम्भीर प्रकारको विचलन देखिएको छ । उनीहरु व्यक्तिगत लाभ हानीमा केन्द्रित भएर लागेका छन् । मौका पर्दा जस्तो सुकै राष्ट्रघात पनि गर्न तयार भएका छन् । इतिहासमा ठूला ठूला राष्ट्रघात देशमा राजनीतिक परिवर्तन पछि भएका छन् । जनताले यो दल,यो नेताले त राम्रो केही गर्ला कि भनेर आस मानेकाहरुबाट विश्वास घात भएको छ । जनताको अवस्थामा परिवर्तन हुन्छ कि भन्दा हुन सकेको छैन । अनि जनताले के सोचेर विश्वास गर्ने ?सैद्धान्तिक र राजनीतिक स्तर उठाउन लाग्ने ? भन्ने जस्तो भएको छ । अहिले देखिएका पुराना पुस्ताका भनेका नेताहरुबाट नै समग्र दल, राष्ट्रको हितलाई ध्यानमा राख्ने भन्दा पनि गुटगत,समुहगत, हितमा राख्ने,आफ्नो समुहको हित भन्दा माथि सोच्न नसक्ने, विभिन्न खाले दलाल तथा स्वार्थसमुहहरुको हितलाई केन्द्रमा राखेर सोच्ने गरेका छन् । नयाँ पुस्ताले पनि यसैको सिको गर्दैछ । देशमा केही गर्न सक्ने वातावरणको निर्माण गर्न संघर्ष गर्ने भन्दा पनि विदेश तिरै जान ध्यान दिने चलनको विकास भएको छ ।
देशलाई सक्नु छ भने सबभन्दा पहिले त्यहाँको जनताको सोच्ने क्षमता र सोच्ने पद्दतिलाई नै सिध्याउनु पर्दछ । विचार सकिदिएमा कसैले पनि केही कुराको विरोध गर्ने क्षमता राख्दैनन् । अनि मनलागि गर्न पाइयो । यहाँ अहिले यस्तै भएको छ । राजनीति गर्न हुँदैन,राजनीतिमा लागेकाहरु खराब हुन् भन्दै घर, टोल अध्ययनशालाहरु बोल्ने र भन्ने गरिन्छ । राजनीति गर्नेहरुले राम्रो गर्न नसकेपछि आएको अवस्था पनि हो तर राजनीति गलत हो भनेर साना साना देखि लिएर युवाहरुसम्मलाई सिकाउने गरिएको छ । सकेसम्म गाली गर्ने,आफुले केही गर्न नखोज्ने कसैले गरिदिएमा खुशी हुने चलनको विकास भएको छ । अझै डरलाग्दो कुरा के छ भने युवाहरु पुरै एकलकाठे हुँदै गएका छन् । उनीहरु पुरै मोवाइलमा झुण्डिने घरका सदस्यहरु के गर्दै छन् ? सो बारेमा वास्ता नहुने, समाजमा के भइरहेको छ ,त्यो कुनै मतलव नहुने भएका छन् । देश,राजनीति, सिद्धान्त,चिन्तन,मनन,उत्पादन केही कुराको मतलब नगर्ने खालका हुँदै गएका छन् ।
क्रान्तिकारी भनिएको आन्दोलन अहिले क्षत विक्षत अवस्थामा पुगेको छ । नेताहरु कैंयौं टुक्रामा विभाजित हुँदै गएका छन् । केही कुरा नमिल्ने बित्तिकै वा केही कुरामा असहमति हुने वित्तिकै संगठनमा अटाउन नखोज्ने र रहेकाहरुले पनि नबसे हुने थियो भनेर पुरै छिछि दूर दूर गर्ने, सबै कुराहरु आर्थिक स्वार्थ केन्द्रित भएर सोच्ने,गुटकेन्द्रित भएर सोच्ने,आफू मात्रै हुनुपर्ने, मुख्य गरी नेतृत्वमा आफू नै रहनु पर्ने भनेर सोचाइ बनाउने र व्यवहार गर्ने खालको विकास भएको छ । यसले सैद्धान्तिक चिन्तनको विकास हुन सकिरहेको छैन । विचारको ह्रास हुँदै गएको छ । विचारविना केही पनि हुन सक्दैन । सिद्धान्त र विचारको विकास रक्षामा सबैको ध्यान दिनु पर्दछ । विचार विकास गर्ने वातावरण बनाउनु पर्दछ । विचारको विकासमा सामुहिक प्रयास हुनु पर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?