
१) यहाँ सहिद तथा वेपत्ता योद्धा परिवार समाजको संयोजक हुनुहुन्छ ? त्यहाँको परिवारकै शहिद तथा वेपत्ता योद्धाबारे जानकारी दिनुहुनु अनुरोध गर्दछु ।
–यो देशमा लामो समय राजतन्त्रात्मक सामन्तवादी सत्ताले राज ग¥यो । जसले गर्दा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जस्ता विषयहरुमाथि सामन्तवादले आफ्नो प्रभुत्व कायम गरेको थियो । समाजका बहुसंख्यक किसान, मजदुर, महिला, दलित, मधेशी, आदिवासी जनजाति र मुस्लिम माथि शोषण, भइरहेको थियो र त्यसको विरोध गर्ने माथि दमन गरियो । साहसका साथ विरोध गर्नेहरलाई गिरफ्तार गरेर फाँसी दिने, तरवारले टाउको काटेर हत्या गर्नेदेखि समातेर वेपत्ता बनाउने जस्ता अत्यन्तै चर्को फासिवादी कदम चालिंदै आएको विषय हाम्रा सामु स्पष्ट नै छ । यो स्पष्ट छ कि सामन्तवादी सत्ताको चरम फासिवादी दमन हुँदाहुँदै पनि सयौं, हजारौं नेपाली जनताका होनाहार छोराछोरीहरुले आफ्नो जीवनको यात्री गरेर संघर्षको मैदानमा डटिरहेको मूल्य पनि हाम्रो अगाडि छदैछ ।
निरन्तर संघर्षको उत्कर्षका रुपमा आज भन्दा ३० वर्ष अगाडि तात्कालीन नेकपा (माओवादी) को नेतृत्वमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने महान लक्ष्य सहित दीर्घकालीन जनयुद्धको घोषणा ग¥यो । सामन्ती दलाल नोकरशाही पुँजीवादी सत्ताको शोषण दमन र उत्पीडनको जालोमा पिसिएका जनताहरु कतिपय आफ्नो वैज्ञानिक ज्ञान, चेतना, क्षमता सहित कतिपय स्वतस्फूर्त रुपमा पनि संघर्षमा आबद्ध भएका थिए । तर हाम्रो परिवारका सदस्यहरु सचेत रुपमा नै जनयुद्धमा आबद्ध भएका थिए । यसै सिलसिलामा
मेरो जेठी सासु विन्दा चौलागाईलाई पेटमा गर्भ रहेको अवस्थामा चौकीमा लगेर चर्को याचता दिएर हत्या गरियो । मेरो परिवार कमला शर्मा र कान्छो सालो नविन गौतम दुवै जनालाई काठमाडौंको भोटेवहाल (संकटा मन्दिर नजिकै) स्थित मेरो कोठामा २०५६ साल जेष्ठ ७ गते छापा हानेर प्रहरीले गिरफ्तार गरी वेपत्ता बनायो । उहाँहरुसँगै पार्टी केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने र मिलन नेपालीलाई पनि सँगै बेपत्ता बनाएको आजसम्म सार्वजनिक हुन सकेका छैनन् । मेरो जेठो सालो मानप्रसाद गौतम (आलोक) तात्कालीन पोलिटव्यूरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज । उहाँका केही सामान्य कमजोरीका कारण कार्वाहीमा पर्नुभयो तर प्रचण्डको पूर्वाग्रहका कारण लामो समय कार्वाही गरी राख्नु र उहाँ विरामी पर्दा पनि उपचारमा नपठाउनुका कारण रोल्पाको फुन्टीबाङ नजिकै बसेको ठाउँमा सेनाले घेरा हाली समातेर चरम यातनाका साथ हत्या ग¥यो । यसरी एकै परिवारभित्रका २ जना सहिद र २ जना वेपत्ता हुनु हुन्छ ।
२) जनयुद्ध कालका बेपत्ता योद्धा तथा सहिद परिवारलाई राज्यले केही राहत दियो कि ?
–शहीद तथा बेपत्ता योद्दा परिवारलाई ३ पटक गरेर दश लाखका दरले राहत स्वरुप उपलब्ध गराएको थियो । तर मलाई के लाग्छ भने हाम्रा ती महान् शहिद तथा बेपत्ता योद्धाहरु कुनै भवितव्यमा परेर ज्यान गुमाएका पनि होइनन् र वेपत्ता भएका पनि होइनन् । उहाँहरु त मालेमावादको आधारभूत वैचारिक ज्ञान, चेतनाका आधारमा अत्याचारी शासनसत्ता बदलेर न्याय पूर्ण शासन सत्ता स्थापना गर्ने महान लक्ष्य सहित क्रान्तिमा लामबद्ध भएकै अवस्थामा राज्यले कायरतापूर्वक हत्या गरेर शहिद बनेका हुन् । त्यो भन्दा पनि कायरतापूर्ण तवरबाट गिरफ्तारीमा लिएर बेपत्ता बनाएका महान् योद्दाहरुको नाममा दश लाख दिएर उहाँ प्रति भयंकर अपमान गर्दैछ । किनकि शहिद तथा वेपत्ता योद्दाको माग भनेको नयाँ जनवादी सत्ता प्राप्त गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने हो । लोकतान्त्रिक गणतन्त्रले समस्या समाधान होइन झनै अपमान भएको महशुस हामी वेपत्ता योद्दा तथा शहिद परिवारहरुले गरिरहेका छौं ।
३) जनयुद्धको पृष्ठभूमि रहेका अन्य राजनीतिक दलहरुसँग सम्बन्धित सहिद तथा वेपत्ता योद्दा परिवार समाज बनाएका छन् । ती अन्य संगठनहरुसँग तपाईले नेतृत्व गर्नु भएको समाजको सम्बन्ध कस्तो छ ?
–निश्चय पनि यतिबेला सहिद तथा वेपत्ता योद्दाका परिवारहरु हामी विभिन्न समूहमा बाँडिएका छौं । यसो हुनुका पछाडि दुईवटा कारणहरु छन् । त्यसलाई हामीले बुझ्न जरुरी छ । जनयुद्ध निरन्तर रुपमा विकास भै राख्दा र शान्ति प्रक्रियामा आएपछि वैचारिक बहस चल्दासम्म परिवार, समाज एउटै थियो । हामी एकै ठाउँमा थियौं । जव वैचारिक बाटो नै फरक प¥यो तव हामी सांगठनिक रुपमा पनि विभाजित हुन पुग्यौं । यतिबेला उहाँहरु संसदीय लोकतन्त्रलाई मान्ने वा संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद र साम्यवादको बाटो पकड्ने भन्नेमा फरक प¥यो । अर्को त्यसको भावनात्मक पाटो छ । त्यसमा हामी सँगै छौं । उहाँहरुसँग वैचारिक मत भिन्नता छ । तर कार्यक्रमहरु (शहिद तथा वेपत्तासँग सम्बन्धी ) मा मिलेर नै कार्यक्रम गरी राखेका पनि छौं ।
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र) , नेकपा (विप्लव समूह) सँग सम्बन्धित भएर बेग्लाबेग्लै परिवार समाज बनाउनु भन्दा एउटै साझा समाज बनाएको भए हुने थिएन र ?
–विचारको पाटोलाई छाडेर कोही पनि बाहिर रहन सक्दैन । जनयुद्धका सहिद तथा वेपत्ता योद्दाहरुले प्रतिक्रियावादी सत्तालाई जरैदेखि उखालेर फ्याँक्ने र त्यसको ठाउँमा सर्वहारावर्गको सत्ता स्थापना गर्ने महान उद्देश्य लिएर क्रान्तिमा हाम फालेका थिए । रगत बगाएका थिए, जीवनको बलिदान गरेका थिए र राज्यले जीवितै मानिसलाई वेपत्ता बनाए तापनि त्यसका लागि तयार भएर लागेका थिए । तर नेकपा (माओवादी केन्द्र), नेकपा (विप्लव समूह) का नेता प्रचण्ड, विप्लवहरुले विचार बदले, वर्ग बदले र बुर्जुवाहरुसँग मिल्न पुगे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त्यो गर्न सक्दैन, गरेको छैन र आगामी दिनमा गर्नु पनि हुँदैन । सहिद तथा वेपत्ता योद्दाका सपना भुल्न हुँदैन बरु क्रान्तिद्वारा त्यसलाई गर्नुपर्दछ । यसकारण एउटै संगठन बन्न सकेन, बन्ने अवस्था पनि छैन यतिबेला । इखको कुरा के हो भने सहिद तथा वेत्ता योद्धाका परिवारले समेत त्यो भूल्नु भनेको विडम्बना हो ।
५) सहिद तथा वेपत्ता योद्धा परिवार समाजका मागहरु के के छन् ?
–पहिलो र मुख्य माग भनेको सत्ता बदल्नु हो । दोस्रो भनेको सहिदहरुलाई सबैलाई राष्ट्रिय रुपमा सहिदको मान्यता दिएर सम्मान गर्नु हो । तेस्रो राज्यले योजनाबद्ध रुपमा देशैभरीका सहिदहरुको शालिक निर्माण गरी पार्ककको व्यवस्थापन गरेर पर्यटन भ्रमण गराउने र रिसर्च सेन्टरका रुपमा विकास गर्ने, चौथो सहिद तथा वेपत्ता योद्धाका परिवारका सदस्यहरुलाई उच्च सम्मान सहित उसको क्षमता अनुरुप रोजगारीको ग्यारेन्टी गर्ने आदि । वेपत्ता योद्दाको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने, अमानवीय तवरबाट वेपत्ता बनाउन सक्रिय व्यक्तिहरुलाई सार्वजनिकीकरण गरी कार्वाहीको दायरमा ल्याउन पर्ने, वेपत्ताहरुका शालिक निर्माण गरी पार्क बनाउन अवलोकन गर्ने स्थानको रुपमा विकास गर्नुपर्ने । वेपत्ता परिवारहरुलाई सम्मानका साथ क्षमताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने आदि रहेका छन् ।
६) सहिद तथा वेपत्ता योद्धा परिवार समाजका समस्या समाधानका उपाहरु के के हुन सक्छन् ?
–सहिद तथा वेपत्ता योद्धाका परिवारका समस्या भनेकै राष्ट्रका समस्या हुन् । यसर्थ पुँजीवादी लोकतान्त्रिक व्यवस्थाले राष्ट्रका समस्या हल गर्न सक्दैन भन्ने विषय विश्वमा प्रमाणित भैसकेको विषय हो । त्यसैले नेपालमा त्यो भन्दा फरक हुन सक्दैन थियो र भएन । यो पछि प्रमाणित भै सक्यो । त्यसैले संविधानदेखि सत्ताका सबै क्षेत्रलाई बदलेर मात्र राष्ट्रका समस्या समाधान हुन्छन् भन्ने स्पष्ट भै सकेको छ । तव मात्र सहिद तथा वेपत्ता योद्धा परिवारका समस्या पनि समाधान हुुन्छन् । त्यसको एक मात्र न्याय भनेको सत्ता परिवर्तन नै हो । जहाँसम्म सुधारका काम पनि गर्न सक्दैन । समस्या ससमाधानका कुनै उपाय देखिंदैन ।
७) तपाईहरुको रेकर्डमा जनयुद्धकालका सहिद तथा वेपत्ता योद्धाहरुको संख्या कति छन् ?
–ठिकै यति छन् भनेर अंकमा भन्न सकिने अवस्था त मसँग पनि छैन तर मोटामोटी भन्नु पर्दा सहिदको संख्या नौ हजारको पेरीफेरीमा र वेपत्ता योद्दा १ हजार ९५ भन्नेसम्मको डाटा हो । अब आगामी दिनमा यसलाई एकीन गर्नुपर्छ भन्ने लागेको छ ।
८) सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगले ठीक ढंगले काम गर्न नसक्दा पीडितहरुले न्याय पाउन नसकेको बारेमा तपाईको भनाई के छ ?
–राज्यको मातहतमा रहेका आयोगले काम नगरेको कुरा साँचो हो । तर आयोगलाई दोष दिएर हामी जस्ता मानिस बस्यौं भने गलत हुन्छ । सबै भन्दा पहिले त सबै भन्दा खराब बदनाम र आयोगलाई काम गर्न नदिने भनेको त साम्राज्यवाद र विस्तारवादको दलाल राज्यसत्ता हो, सरकार हो र संसदीय पार्टीका नेताहरु हुन् । किनकि संविधानको एउटा कुनामा वेपत्ता छानविन र सत्य निरुपण लेखेको भए तापनि त्यो केवल देखाउनका लागि हो । भ्रम पार्नका लागि हो भन्ने विषय आजसम्मका व्यवहारहरुले पुष्टि गरिसकेको छ । आजसम्म नियम, कानुन बनाएर काम गर्ने बाटो खोल्न चाहेका छैनन् । किनकि मानिस बेपत्ता बनाउन योजना बनाउने, आदेश दिनेहरु नै सत्ताका विभिन्न निकायमा आज पनि आसीन भएर बसेका छन् । उनीहरु त्यो अपराधलाई लुकाउन चाहन्छन् र त्यसका लागि आफ्ना मानिसहरु आयोगमा नियुक्त गर्नु अघि नै केही नगर्ने सर्तमा ग्यारेन्टी गराउँछन् र पाँच भत्ता खाएर बस्नका निम्ति पठाउँछन् । त्यसैले संसदीय गणतन्त्रात्मक व्यवस्थाबाट न्याय प्राप्त हुन्छ भनेर सोच्नु नै निरर्थक छ । जनसंविधानको जनसत्ताको स्थापना नभइकन बेपत्ता पारिएका व्यक्तिहरुको छानवीन गरी सत्य, तथ्य र यथार्थपरक तवरबाट समस्याको समाधान हुँदैन ।
९) वेपत्ता योद्दाहरुमध्ये केहीको चर्चा गर्नुपर्दा ?
–२०५६ मा काठमाडौंको राजधानीको मुटुबाटै पार्टीको केन्द्रीय सदस्य जसले जिम्मेवारीमा रहनु भएका दण्डपाणि न्यौपानेको चर्चा गर्नु पर्दछ । किनकि त्यहाँ एउटा दुरदर्शी, इमान्दार, क्रान्तिकारी, सक्षम नेता हुनुहुन्थ्यो । गलत विचार, चिन्तन र व्यवहारका विरुद्ध विद्रोह गर्न सक्ने एक असल विद्रोही नेता हुनुहुन्थ्यो । साथै नविन गौतम र मिलन नेपाली, कमला शर्मा जस्ता व्यक्तिहरु जो उहाँससँगै वेपत्ता हुनुभयो । उहाँहरुको पनि चर्चा गर्न मन लाग्छ । खउहाँहरु सबै क्रान्तिका होनाहार व्यक्तिहरु थिए । हामी सबैले बारम्बार सम्झनुपर्छ । चर्चा गर्न पर्छ । उहाँहरुको गिरफ्तार पछि आजसम्म वेपत्ता अवस्थामा रहँदा क्रान्तिलाइ अपूूर्णनीय क्षति पुगेको छ । त्यसकारण पनि चर्चा गरिराख्न मन लाग्छ । त्यसको मतलव वेपत्ता बनाइका अन्य योद्धाहरु केही थिएनन भन्ने चाहिं होइन । वेपत्ता योद्दा सबै महत्वपूर्ण हुनुहुन्थ्यो ।
१०) तपाईहरु वेपत्ता योद्दाहरुको बारेमा बोली रहँदा राज्यको पक्षबाट जनयुद्धलाई दमन गर्न परिचालित सेना र प्रहरीको सूचि पनि छ कि ?
–जनयुद्धमा लागेका संगठित कार्यकर्ता होउन वा असंगठित जनता नै किन नहोउन । उनीहरु बहुसंख्यक जनताको हितमा समानताको पक्षमा , अग्रगमनका लागि सर्वहारा वर्गीय चेतना बोकेर सचेत रुपमा लागेका थिए । देश र जनताको मुक्ति र समानताका लागि लागेका मानिसहरु थिए । उहाँहरुको बारेमा चर्चा गर्नु उचित प्रश्न हो । सेना, पुलिस वा कर्मचारी अग्रगमनको पक्षमा लागेर होइन कि पश्चगमनकारी, मुट्टीभर व्यक्तिका हितमा त्यो पनि सर्वहारावर्गको आन्दोलन दबाउन, नागरिक वेपत्ता बनाउन गरिबका छोराछोरीका छातीमा गोली हान्न, यातना दिन केही तुच्छ तलव खाएर हिंडेका व्यक्तिहरुको चर्चा गर्नु, लिष्ट तयार पारेर खल्तीमा बोकेर हिंड्नु भनेको परिवर्तनकारी आन्दोलनको खिल्ली उडाउनु हो । तिनीहरु जनताका छोराछोरी त हुन तर शोषक र शासकहरुको पक्षमा उभिएका व्यक्तिहरु हुन् । त्यसैले हामीहरुसँग उनीहरुको लिष्ट हुने प्रश्नै भएन ।
११) अन्त्यमा, हाँक मार्फत् भन्नु केही छ कि ?
– हाँक सर्वहारा वर्गीय पक्षधरताका आधारमा आवाज बुलन्द गर्ने प्रकाशन मध्येको एक असल पत्रिका हो । यसको जुनसुकै कठिनाईका बाबजुद आफ्नो कर्तव्यबाट विचलित नबनोस् । अरु तिखारिएर जाओस् । यस पत्रिकामार्फत् सहिद तथा वेपत्ता परिवारहरुलाई के अनुरोध गर्न चाहान्छु भने हाम्रा परिवारका महान व्यक्तिहरुको सपना पूरा गर्न लाग्नुस् । संसदीय लोकतन्त्रको भ्रममा परेर वा निहित स्वार्थका निम्ति सहिद तथा वेपत्ता योद्धाको मर्म र भावना विपरीत नजानुस एक्लै भए पनि सत्यका पक्षमा उभिनुस् यही भन्न चाहन्छु ।