क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ ।

विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह संयोजक कञ्चन सहितका सदस्यहरु निस्काशित भैसकेको अवस्थामा विधान लगायतका कतिपय मस्यौदा दस्तावेज प्रश्तुत भै पारित भएको पनि जनाईएको छ । साथै गुटवाद तथा फुटवादमा लागेका कतिपय सदस्यहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ।

“ २०८१ श्रावण २६ देखि २९ सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एकता राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक संयोजक क. किरणको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ :
१) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक तथा अग्रगामी जनसंघर्ष र वर्गयुद्धहरुमा शहादत प्राप्त गर्ने वीर–वीराङ्गनाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइते अपाङ्ग योद्धाहरु, वेपत्ता योद्धाहरु र कारावासमा यातनारत कमरेडहरुप्रति विशेष सम्मान गरी बैठक प्रारम्भ गरियो ।
२) केन्द्रीय संगठन समितिको गत दोस्रो पूर्ण बैठकमा राष्ट्रिय एकता महाधिवेशनका लागि विभिन्न मसौदा दस्तावेज तथा प्रस्तावहरु परित गरिएका थिए । कञ्चन सहितका कमरेडहरु निष्कासित भइसकेको स्थितिमा पार्टीको विधान लगायतका कतिपय मसौदा दस्तावेज तथा प्रस्तावहरु प्रस्तुत भई पारित गरिएका छन् । बैठकमा आगामी महाधिवेशनलाई भव्यतापूर्वक सफल तुल्याउनका लागि थप प्रतिबद्धता समेत जाहेर गरिएको छ ।
३) राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्ने प्रक्रियामा सांगठनिक काम प्रमुख भएता पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका जल्दाबल्दा विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्दै जाने निर्णय लिइएको छ ।
४) पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी केन्द्रीय संगठन समिति तथा कार्यालय सदस्य क. सुदर्शनलाई दिइएको छ ।
५) यही २०८१ को मंसिर १३ देखि २३ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको छ । यसका लागि मूल नारा यसप्रकार तय गरिएको छ :
राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौँ !
नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !
६) यही श्रावण १ गते “एकता असफल भयो” भन्दै राष्ट्रिय एकता महाधिवेशनको मैदानबाट भागेको कन्चन समूह दार्शनिक दृष्टिबाट सारसंग्रहवादी र वितण्डावादी, सांगठनिक दृष्टिबाट व्यक्तिवादी अराजकतावादी र मुख्यतः राजनीतिक तथा सैद्धान्तिक दृष्टिले दक्षिणपंथी संशोधनवाद परस्त रहेको ठहर गरी सो समूहलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट निष्काशन गर्ने निर्णय सर्वसम्मतिबाट गरिएको छ । यसका साथै गुटवादी, फूटवादी र अराजकतावादी भूपेन्द्र न्यौपाने, शेरबहादुर बोगटी र हरिकृष्ण गजुरेलसमेतलाई पार्टीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने सर्वसम्मत निर्णय लिइएको छ ।
७) वैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका कतिपय समसामयिक प्रस्तावहरु पारित गरिएको छ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?