वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यभार

नेपाल अहिले अर्ध सामन्ती,अर्ध औपनिवेशिक विशेषता सहितको नव औपनिवेशिक अवस्थामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरु विद्यमान अर्धसामन्ती, अर्धऔपनेवेशिक तथा नवऔपनिवेशिक व्यवस्था अन्तर्गत हल हुन सक्दैनन् । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढेर नै देश र जनताका समस्याहरु हल हुने छन् । त्यसका निम्ति क्रियाशील हुनु नै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रमुख कार्यभार हो ।

नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्नका लागि अहिले देखिएका राष्ट्रियता ,जनतन्त्र र जनजीविकाका समस्याहरुको उठान गरेर जनतालाई गोलबन्द गर्दै सशक्त संघर्षको गर्नु हाम्रो कार्यभार हो । एकातिर राष्ट्रिय स्वाधीनताको रक्षाकालागि साम्राज्यवाद, विस्तारवादका विरुद्ध संघर्ष गर्ने र अर्कोतिर जनतन्त्रका निम्ति दलाल पूँजीवाद र बचेखुचेको सामन्तवादका विरुद्ध संघर्ष गर्नु पनि हाम्रो कार्यभार हो ।

संसदीय दलहरु र संसदीय व्यवस्थामा गम्भीर प्रकृतिका संकटहरु देखा पर्दै गएका छन् । यो व्यवस्थामा गंभीर संकट देखा पर्दै जाँदा संविधान संशोधनका विचार पनि आएका छन् । सरकारको पक्ष र प्रतिपक्षमा रहेका दलहरुले संविधान संशोधनसम्बन्धी राखेका विचार सुन्दा यो मक्किएको व्यवस्थालाई टालो हाल्न मात्र खोजेको देखिन्छ । तसर्थ हाम्रो पार्टीले संविधान संशोधन गरेर देश र जनताको विकराल समस्या समाधान हुँदैनन् । यो संविधान खारेज गरेर जनगणतन्त्रको संविधान जारी गर्नु पर्दछ भन्ने अभिमत राखेको छ ।
कतिपयले अहिले संविधान खारेज गर्ने वा जनगणतन्त्रको संविधान जारी गर्न माग राख्ने समय नै भएको छैन भनेका छन् । उनीहरुले अहिलेको संविधान खारेज गरेर अर्को जनगणतन्त्रको संविधान पनि जारी हुन नसक्ने भएपछि प्रतिगमनको सेवा हुन्छ भनेका पनि छन् । त्यो विचार यथास्थितिवादी विचार हो । जनगणतन्त्रको संविधानको औचित्यता र आवश्यकतालाई जनताको बीचमा स्थापित गर्न र त्यो दिशामा संघर्षलाई अगाडि बढाउन पनि हामीले जनगणतन्त्रको संविधान जारी गर्न माग राख्नु पर्दछ ।प्रतिक्रियावादी सत्ता र व्यवस्थामा संकट पैदा हुँदै जानु भनेको यो व्यवस्था असफल हुँदै जानु हो। त्यसो हुनु भनेको क्रान्तिकोलागि वस्तुगत परिस्थिति तयार हुँदै जानू हो। क्रान्तिको लागि अनुकुल परिस्थिति तयार हुँदै गएपनि क्रान्तिकारी शक्तिहरुको आत्मगत परिस्थिति कमजोर छ । त्यसकारण क्रान्तिकारी शक्तिहरुको आत्मगत परिस्थितिलाई बलियो बनाउनकालागि हामीले क्रान्तिकारी पार्टीहरुकाबीचमा पार्टी एकताकालागि जोड दिँदै आएका छौं ।

पूर्व नेकपा (क्रान्तिकारी माओवादी), पूर्व नेकपा (मशाल) र पूर्व नेकपा (बहुमत)का बीचमा पार्टी एकता भइ अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल क्रियाशील रहेको छ ।हाम्रो एकतामा केही अवरोध पैदा भएको छ । पूर्व बहुमतका केही कमरेडहरुको बर्हिगमन भएको छ । तर केन्द्रदेखि स्थानीय तहसम्म पूर्व नेकपा ( बहुमत) का साथीहरूको ठूलो हिस्सा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमै आबद्ध हुनुहुन्छ र पार्टीमा इमान्दारीपूर्वक क्रियाशील हुनुहुन्छ । तसर्थ तीनवटा पार्टीको एकता महाधिवेशन सम्पन्न गर्ने र त्यसपछि प्रतिक्रियावादी सत्ता र व्यवस्थाका विरुद्ध सशक्त जनआन्दोलन , जनसंघर्ष श्रृजना गर्नै गरी अगाडि बढने सोचाईमा हामी छौं ।

यही संविधान मान्ने संशोधनवादी कम्युनिष्ट पार्टीहरुले पनि जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै समाजवादतिर जानु पर्दछ भनेका छन् । यो स्थितिमा जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने भनेको त राष्ट्रियताका समस्या , जन जीविकाको समस्या हल गर्नु हो । जुन समस्यालाई लिएर लामो समयदेखि नेपाली जनताले संघर्ष गर्दै आएका छन् । जनगणतन्त्रको स्थापना गर्ने उद्देश्य अझै पूरा भएको छैन । हामीले यो कुरा बुझ्न पर्दछ कि खालि एउटा वक्तव्य दिएर मात्र हामी उद्देश्य तर्फ अगाडि बढ्न सक्दैनौं । सशक्त जनआन्दोलन, जन संघर्ष गर्नु पर्दछ । जनगणतन्त्को संविधान जारी गर्नु हुन्न भन्ने सोच यथास्थितिवादी सोच हो ।

जहाँसम्म पार्टीबाट वर्हिगमित भएपछि धर्मेन्द्र वास्तोलाजीले आफूलाई क्रान्तिकारी र हामीलाई संशोधनवादी भन्नु भएको कुरा छ । यो कुरा खै कसरी भन्नु भयो ? यो गलत किसिमले दुस्प्रचार गर्ने काम भएको छ । उहाँले सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण किसिमले अगाडि बढाउँछौं भनेर सरकारसित सम्झौता गरिसक्नु भएको हो । त्यसबारे त वहाँ बोल्दै बोल्नु भएको छैन । साथीहरुलाई अप्ठ्यारो परेको बेला त्यस्तो सम्झौता गर्नुभयो होला भनेर ती कुरालाई हामीले धेरै उठाउने काम गरेनौं । यदि साँच्चै कुरा गर्ने हो भने हामीले भन्न सक्छौं सरकारसित गरिएको सम्पूर्ण राजनीतिक क्रियाकलाप हरु शान्तिपूर्ण तरिकाले अगाडि बढाउँछौं भनेको केहो? त्यो सम्झौताले उहाँहरु संसदवादी हो । त्यो सम्झौताले उहाँहरू संशोधनवादी हो भन्ने देखाउँछ । तर पार्टीको प्रारम्भिक विश्लेषणमा हामीले उहाँहरुको चरित्र र समग्र क्रियाकलापलाई निम्न पुँजीवादी अधैर्यता भएको दक्षिणपंथी उन्मुख भनेका छौं । अब हामी लगत्तै केन्द्रीय समितिको बैठक बस्दैछौं । त्यस बैठकमा पनि हामीले उहाँहरुको वर्हिगमनको बारेमा व्यापक छलफल गर्दैछौं र उहाँहरूको बहिर्गमन बारे दृष्टिकोणलाई थप स्पष्ट गर्नेछौं । उहाँहरुका क्रियाकलाप कसरी अगाडि बढ्छ त्यसलाई पनि हेर्दै मूल्याङकन गर्दै जाने छौं र अहिले हाम्रो मुख्य जोड क्रान्तिकारी आन्दोलनलाई कसरी सशक्त बनाएर जान सकिन्छ भन्नेमा नै छ ।

पार्टी एकता गरेपछि उहाँहरु पटक्कै रुपान्तरण हुन सक्नु भएन । उहाँहरुमा जडसुत्रीय संशोधनवाद देखियो । अब काम लाग्दैन भनेर पार्टीबाट निस्किएको भन्ने कुरा उहाँले गर्नु भयो । रुपान्तरण हुनकालागि वैचारिक संघर्ष, बहस र छलफलको बीचबाट जानु पर्दछ । त्यसका निम्ति हामीले विस्तृत योजना बनाएका थियौं । एकता महाधिवेशनका लागि दस्तावेजहरु तयार भईसकेका थिए । एकता महाधिवेशनलाई हामीले अध्ययन अनुसन्धानको केन्द्र बनाउने पनि भनेका छौं । यो समग्र रुपान्तरणको योजनाबाट आफू भाग्ने अनि हामीलाई रुपान्तरणको दिशामा गएन भनेर आरोप लगाउने कुरा सुहाउँदो भएन ।

लेखक : मोहन वैद्य किरण

अर्को कुरा जडसूत्रीय नवसंशोधनवाद भनेर जो उहाँहरुले हामीलाई भन्नु भयो । उहाँले शब्द प्रयोग गर्न जान्नु भएन । अवसरवादीहरुले क्रान्तिकारी हरुलाई लगाउने आरोप त जडसुत्रवाद नै हो । जहाँसम्म जडसुत्रीय नव संशोधनवाद को कुरा छ यो त मिल्दो कुरै भएन किनभने नवसंशोधनवाद त अनुभववादी हुन्छ । जडसुत्रवादी हुँदैन । कुन पदावली कहाँ प्रयोग गर्ने भन्ने कुरासम्म पनि उहाँहरुलाई हेक्का भएन । एउटै पार्टी जडसुत्रवादी र नवसंशोधनवादी दुवै एकै चोटी हुन सक्दैन । यो दार्शनिक र राजनीतिक हिसाबले मेल खाने कुरा हैन ।

अब हामीले महाधिवेशनमा दस्तावेजहरु प्रकाशित गरेर आम पार्टी पंक्तिमा पठाउने छौं । त्यसपछि छलफल बहसको प्रक्रियालाई अगाडि बढाउँछौं ।फोरम संचालन गरिनेछ । तलदेखि माथिसम्म एकता, संघर्ष, रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउँछौं र निश्चित समयमा महाधिवेशन सम्पन्न गर्दछौं ।

हामीले कार्तिक २ गते महाधिवेशन उद्घाटन गर्ने गरी कार्यक्रम बनाएका छौं ।अब तुरुन्तै बस्ने केन्द्रीय समितिको बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्नेछ ।

अहिले सबै वामपन्थी एक हुनुपर्छ भनेर केही पार्टीहरुले मिलेर समाजवादी मोर्चा बनाएका छन् । त्यो चुनावी मोर्चा हो । चुनाव मार्फत यो संसदीय व्यवस्थालाई बलियो बनाउने र यो संविधानको रक्षा गरेर जाने उहाँहरुको दृष्टिकोण हो । मिसन २०८४ को लागि आफ्ना काम सबैले गरिरहेका छन् । नेपाली कांग्रेसले एक्लै चुवान लड्छु भन्दैछ । एमाले पनि एक्लै चुनाव लड्छु भन्दैछ । प्रचण्डलगायतले कुुनै गठबन्धनमा सहभागी नहुने स्थितिमा के गर्ने त भन्ने उपायको खोजीमा समाजवादी मोर्चा बनाएका हुन् ।

समाजवाद त धेरै किसिमका हुन्छन्–प्रतिक्रियावादी समाजवाद, सुधारवादी समाजवाद, वैज्ञानिक समाजवाद । उहाँहरुले जुन समाजवादी मोर्चा बनाउनु भएको छ । त्यो यथास्थितिमा आधारित सुधारवादी समाजवादको पक्षमा र संसदीय सत्ता व्यवस्थाको पक्षमा बनाईने संयुक्त मोर्चा हो । यसले देश र जनताको समस्या समाधान गर्न सक्दैन । तर उहाँहरूको समाजवादी मोर्चा र हामीले बनाउने संयुक्त मोर्चाकाबीचमा उद्देश्य ,स्वरुप सबै हिसाबले गुणात्मक रुपमा फरक छ । उहाँहरुको मोर्चा चुनावी मोर्चा हो र हामीले बनाउने संयुक्त मोर्चा क्रान्तिका लागि हो ।

धर्मेन्द्र जीले “एकता असफल” भएको घोषणा गरेपछि हामीले पार्टीको तर्फबाट फर्कन आह्वान गरेर वक्तव्य निकालेका थियौं । उहाँहरुलाई हामीले बोलाएर पनि छलफल गरी फर्कन भन्यौं । हामीले अहिले पनि फर्किनुस यदि तपाइँ क्रान्तिकारी हो भने एकताबद्ध भएर जाउँ भनेका छौं । पहिलो कुरा, हामीले धर्मेन्द्रजीलाई नै फर्कन आह्वान गर्दछौं । दोस्रो कुरा, धर्मेन्द्रजी सित भ्रममा परेका साथीहरूलाई गन्तव्य कहाँ हो राम्ररी सोच्नुस र पुनः एकताबद्ध हुन आह्वान गर्दछौं ।

संगठनको कुरा गर्दा पहिलो काम महाधिवेशन सफल पार्दछौं । महाधिवेशन पछि पार्टीलाई बलियो बनाउन शुद्धीकरण र शुदृढीकरणको प्रक्रियामा पनि जानु पर्दछ । हामीकहाँ पनि दक्षिणपन्थी अवसरवादको प्रभाव छ । त्यसलाई वैचारिक रुपले प्रष्ट नगरिकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?