साम्यवाद किन उत्पन्न भयो ?

संसारमा विनाकारण कुनै काम हुन सक्दैन । पुँजीवाद पनि तब उत्पन्न भएको थियो, जब त्यसलाई उत्पन्न गराउने चीज उत्पन्न भएको थियो– अर्थात् (१) थोरै मेहनत या विना मेहनत धनी हुने मानिसको स्वभाविक इच्छा, (२) मेशिनहरुको आविष्कारद्वारा थोरै मेहनतबाट धेरै चीजहरु तयार गरेर सस्तो मोलमा बेचेर त्यसबाट फाईदा उठाउने सुविधा (३)मेशिनद्वारा बनेका चीजहरुद्वारा बजारमा प्रतिस्पर्धा गर्न नसक्नुको कारण स्वतन्त्र कालीगढको प्रतियोगिता खत्तम हुनु, (४) बढी जानकारीको आवश्यक नभइकन असहाय व्यक्तिहरुले पनि मेसिनद्वारा राम्रा चीजहरु बनाउन सक्नु । यस्तै प्रकारले साम्यवाद जसबाट यहाँ हाम्रो मतलव वैज्ञानिक साम्यवादसँग छ ः तव प्रकट भयो, जब त्यसलाई उत्पन्न गर्नेचाहिं कारण मौजुद भए ।
जुन वस्तुमा मानिसको मेहनत जति लाग्छ, त्यसको मोल त्यति हुन्छ–यो जान्न मुश्किल छ । खन्ने, धेरै ठूलो मेहनतपछि र अक्सर धेरै खन्ने कामको परिश्रम बर्बाद गरेपछि हिरा कहिलेकांही पाइने गर्दछ अर्थात् एउटा हिरामा त्यो सबै मेहनत सामेल हुन्छ, यसकारण त्यसको मोल यति धेरै छ । यदि एक व्यक्तिको आधा दिनको मेहनतबाट एक हिरा पाइन्थ्यो भने त्यसको मोल यति धेरै हुँदैनथ्यो । हातबाट बनाउने सामानको मोल पनि धेरै यसकारण हुन्छ, किनकि त्यसमा व्यक्तिको मेहनत बढी लाग्दछ । व्यक्तिको परिश्रम कम परिमाण (भाग) लाग्नुबाट नै मेशिनबाट बनाएका वस्तु यति सस्ता हुन्छन् । मेशिनको यही मुख्य काम चीज (वस्तु) उत्पन्न गर्नमा व्यक्तिको मेहनतलाई कमभन्दा कम मात्रामा प्रयोग गरियोस् । परिणाम त मेशिनहरुको प्रयोगबाट त्यति नै सामानहरु बनाउनको लागि त्यति नै व्यक्तिहरुको आवश्यक पर्दैन, जति कि तिनै चीजहरुलाई हातले बनाउनमा पर्दछ । हाते तानलाई नै लिनुस् । त्यसमा एक व्यक्तिले दिनको आठ घण्टा लगातार काम गर्दा मुश्किलले दश बाह्र गज कपडा बुन्न सक्छ । तर त्यो भन्दा पनि कम जान्ने व्यक्तिले कपडाको मिलमा गएर त्यति नै समयमा साठी सत्तरी गज कपडा बुन्न सक्छ र त्यसको बुन्ने शक्ति पनि, मेशिनमा जति सुधार हुँदै जान्छ, त्यति नै वृद्धि हुँदै जान्छ । आठ घण्टामा एक व्यक्तिले साठीसत्तरी गज कपडा बुन्नुको मतलव हो, मेशिनद्वारा ५ जनालाई कामबाट वञ्चित गराउनु । मेशिनले व्यक्तिको काम खोसिदिन्छ । यो कुरा जान्न त्यस समयका इंग्लैण्डका अशिक्षित मजदुरहरुलाई पनि बेर लागेन र केही वर्षपछि उन्नाइसौं शताब्दीको सुरुमा हामी इंग्लैण्डका मजदुरहरु र कालीगढद्वारा कैयौं मिलहरुलाई तोडफोड गरेर नष्ट पारेको देख्छौं, तर पनि यो घटना त्यति भयंकर हुन सकेन । यसको कारण यो थियो कि, त्यस समयसम्म मेशिनको प्रचार एक आधी मुलुकमा मात्रै हुन सकेको थियो र वस्तुहरुको खतराको लागि दुनियाँका सबै बजार खुलेका थिए, तर यो भन्नुस् कि ती कारखानाहरु अहिले त्यति सामानहरु उत्पादन गर्न सक्दैनथे जति कि बजारमा माग थियो । यसकारण त्यस सुरुको जमानामा नाफा निश्चित हुने र घाटाको डर नहुने हुनाले नयाँ नयाँ कारखाना खुल्दै जाँदै थिए र हरेक नयाँ कारखानाहरु खुल्नुको मतलव थियो अरु बढी मजदुरहरुलाई काम मिल्नु । यसै कारणबाट उन्नाइसौं शताब्दीभन्दा पच्चीस वर्ष पहिले त्यहाँका मजदुरहरुको भाउ (मजदुरी) पुँजीपतिहरुको विरुद्ध त्यति जोखिम थिएन । तर एक देशलाई कारखानाहरुद्वारा फाइदा भएको देखेर युरोपका अरु देशहरु धेरै दिनसम्म चुप रहन कसरी सक्थे ? अन्य देशहरुमा पनि कारखानाहरु खुलेपछि बजारमा धेरै सामान आउन लागे, यसकारण पहिले स्थापित भएका कारखानाहरुले जति मजदुरहरुलाई बेकाम बनाएका थिए, अब त्यति नयाँ कारखानाहरु खुलेको हुनाले ती बेरोजगारहरुलाई काम दिन सकिंदैनथ्यो । अर्को कुरा यो थियो कि मेशिनहरुमा सधै नयाँ नयाँ सुधार हुने हुनाले जहाँ एक पुरानो मेशिनमा उति कामको लागि दश जनाको आवश्यक थियो । अब नयाँ सुधारिएका मेशिनमाआधै कम व्यक्तिहरुको आवश्यक हुन लाग्यो । यसप्रकार विज्ञानको उन्नति र नयाँ नयाँ आविष्कारले बेकारीहरुको संख्या अरु बढाउँछ भन्ने सिद्ध भयो । हो, यो पक्का थियो कि जहाँ केही वस्तुहरुलाई प्रयोगमा लगाउने व्यक्ति पहिले थोरै थिए, अब सस्तो हुनुको कारण मानिसहरु तिनलाई बढी प्रयोगमा ल्याउन थाले । तर पनि खरिद गर्नेहरुको संख्या त्यस अनुपातमा वृद्धि भएको थिएन, जुन अनुपात र परिमाणमा बेकारीहरुको संख्या बढ्दै गइरहेको थियो ।

अब मजदुरहरुले देख्न थाले कि एकातिर तिनीहरुलाई कारखानामा काम पाइएको छैन र अर्कोतिर स्वतन्त्र कालीगढी या खेतीको मूल तिनीबाट खोसियो । पेटको भोकले एक साधारण वुद्धि भएको पुरुषलाई पनि सोच्न बाध्य बनाउँछ । मजदुरहरुले एकातिर त्यसप्रकारबाट आफूलाई विवश देखे र अर्कातिर कति मानिसहरु केही दिनमै करोडपति बन्दै गरेको देखे । यो जालमा उनीहरुलाई बाधा भएन कि यो धन तिनैको मेहनतबाट एककट्ठा भएको हो ।

पुँजीवादले जहाँ मजदुरहरुको लागि यति कठिनाइका सामान जम्मा गरे, त्यहाँ त्यसले तिनीहरुको लागि एउटा ठूलो काम पनि गरे र त्यो थियो ठूला ठूला मजदुरहरुहरुलाई कारखानाको नजिक सामेल गराउनु । जहाँ कृषक र मजदुर यताउता छरिएर बसेपछि आफ्ना दुःखहरु चुपचाप सहने गर्दथे, त्यहाँ कारखानाका मजदुरहरु संगठित भएर आन्दोलन गर्ने हिम्मत राख्दथे । सुरुमा चाहे रोग र त्यसको निवारणको ज्ञान धेरै कम मात्रामा रहेको होस्, किन्तु उनीहरुले त्यसै समयदेखि बच्नको लागि आफ्नो हात–खुट्टा हल्लाउन सुरु गरेका थिए ।

मानिसमा यस्ता व्यक्तिहरु पनि भएर आएका छन्, आफू आरामसाथ बस्दा पनि अर्काको दुःखमा सोच्ने र त्यसलाई हटाउनको लागि आफ्नो सबै चीज दिन सक्छन् । जुन बेला पुँजीवाद थिएन र त्यसको खराबीहरुलाई यस्तो भयंकर रुपमा देख्न सम्भव थिएन, त्यस समयमा पनि यस्ता विचारक उत्पन्न भए, जो आर्थिक समानताको प्रचार गर्दथे । गौतम बुद्धले ढाई हजार वर्ष पहिले आफ्ना भिक्षुहरुमा जिन्दगीको काममा वस्तुहरुलाई आवश्यक देखेर बराबर बाँड्ने नियम नै बनाएका थिएनन्, तर व्यक्तिगत सम्पत्तिको सीमालाई धेरै छोटो बनाएर संघ या सामुदायिक सम्पत्तिको सीमालाई धेरै बढाएका थिए । इरानमा भज्दक (पाँचवी सदी) ले पनि तीनपटक आफ्नो राज्यमा धन सम्पत्तिलाई बराबर–बराबर रुपमा बाँडिदिएका थिए । यस्तो प्रकारको उदाहरण संसारको अर्को भागमा पनि पाइन्छ । तर जुन साम्यवाद पुँजीवादको असल दवाई औषधि हो, त्यो कुनै व्यक्तिविशेषको सदाशयताको परिणाम हैन । यसप्रकारका उदार हृदय भएका व्यक्ति त यस्तो पनि सोच्न सक्दथे र यस बिसौं शताब्दीमा पनि सोचिरहेका छन् कि सबै…जड यी मानिसहरुलाई नै किन संसारबाट विदा नगर्ने , जो साम्यवाद पुँजीवादको रोगको परम औषधि मानिन्छ, त्यो हो साम्यवाद अर्थात् विज्ञानको आविष्कारहरुलाई केही व्यक्तिहरुको नाफाको लागि प्रयोग नगरेर सारा समाजको भलाइको लागि प्रयोग गर्नुपर्दछ । यदि विज्ञानले ६ जनाको कामलाई एक जनाले गर्ने जस्तो बनाउँछ भने पाँच जनालाई कामबाट निकालेर तिनलाई भोकै मार्न हुँदैन, तर कामको घण्टालाई ती ६ जनालाई बाँड्नुपर्छ । ६ जनाले १२ घण्टामा जति कपडा बनाउन सक्थे, यदि मेशिनद्वारा एक जना नै त्यति कपडालाई बाह्र घण्टामा बनाउन सक्छ त त्यो बाह्र घण्टाको कामलाई हामी ६ जनामा दुई दुई घण्टा गरेर बाँड्न सक्छौं । बेकारीहरुको यो एउटा राम्रो समाधान हो, जो साम्यवादले पेश गर्दछ । यो कुराबाट यो पनि थाहा हुन्छ कि पुँजीवाद र साम्यवाद दुवैको ध्येय एकअर्काबाट एकदमै उल्टा छ । दुवै नै विज्ञानका आविष्कारहरुलाई काममा ल्याउने पक्षमा छन्, तर जहाँ पुँजीवाद केही व्यक्तिहरुको नाफाको लागि सबै मनुष्य समाजको जीवनलाई नरक बनाउनको लागि तयार छ, त्यहाँ साम्यवादको उद्देश्य छ–केही मानिसको स्वार्थको लागि हैन, तर सबै समाजका मानिसका लागि सुख सामग्रीहरुलाई वृद्धि गर्नु । जबसम्म सामानहरुलाई नाफाको लागि तयार गरिन्छ, तबसम्म बेकारी हट्ने घण्टाहरुलाई बाँडेर सबै जनालाई काम दिनु । …. नभए काम हुँदैन । वस्तुत, जसरी साइकल तबसम्म खडा रहन सक्छ, जबसम्म कि त्यो चल्दै हुन्छ । यसै किसिमले पुँजीवाद तबसम्म रहन सक्छ, जबसम्म कि पुँजीपतिहरुलाई व्यक्तिगत नाफा हुँदै रहन्छ । नाफा तिनको लागि जीवनमरणको प्रश्न हो ।

आजभोलि संसारको सबै ठाउँमा मानिसहरु दुःखैदुःखमा देखिन्छन् । कारखाना मालिक र व्यापारीले नै बजारको मन्दतालाई सिकायत गर्दैनन्, तर गाउँका किसान र देशमा काम गर्ने मजदुर पनि यसको राम्रोसँग अनुभव गर्दछन् । सहरहरुका कारखानामा काम गर्ने मजदुरहरुको डरलाग्दो अवस्थाको बारेमा त केही भन्नै छैन । यूरोप र अमेरिकाका औद्योगिक देशहरुमा यस्ता बेकारीको संख्या करोडसम्म पुगिसकेका छन्, जसको लागि जिन्दगीको धेरै आवश्यक सामान पाउन पनि मुश्किल भइरहेको छ । आउने दिनहरुमा त्यहाँ कति स्त्री र पुरुष जीवनदेखि दिक्क परेर आत्महत्या गर्ने हुन् । मानिसहरुको यति भारी संख्यालाई त्यति कष्टमा राखेर, केही थोरै व्यक्तिहरु मात्र सुखी रहनु कुनै पनि दृष्टिबाट राम्रो भन्न सकिन्न। पुँजीवादको दुष्परिणाम बेकारी मात्र हैन । पुँजीवाद मनुष्य जातिमा एक अर्को भयंकर आपत्ति ल्याउने कारण भएको छ र यो हो महायुद्ध संसारको शान्तिलाई भंग गर्ने । हरेक पुँजीवादी देश यो चाहन्छ कि उसका कारखाना बराबर चल्दै रहुन् , तर कारखाना त तबसम्म चल्दै रहन सक्छन्, जबसम्म कि तयार वस्तु बिक्दैरहन्छन् । मैले यो भन्दै आएको छु कि उन्नाइसौं शताब्दीभन्दा पहिले पचास वर्षसम्म संसारका धेरै नयाँ बजार नव उत्पादित सामग्रीले नछोएरै रहेका थिए । तर पछिको एक शताब्दीमा कुरा एकदमै बदलियो । अब त वस्तुहरुको खपतको लागि कुनै पनि अज्ञात बजार छैनन्, वस्तुतः संसारका सबै व्यवसायरहित देशहरुलाई पुँजीवादी देशहरुले आपसमा बाँडे । कुनै समयमा इंग्ल्याण्ड संसारका धेरै जस्तो बजारहरुको मालिक थियो । फेरि जर्मनीले कारखानाहरुलाई बढाएर आफ्नो लागि पनि बजारहरुलाई बढाउन चाह्यो । परिणाम भयो–पछिल्लो भीषण यूरोपिय महायुद्ध । अहिले यो लडाई भइरहेको थियो कि मैदान खाली पाएर अमेरिका र जापानले पनि बजारहरुलाई हातमा ल्याउन लागे । तिनको कारखानाहरु धेरै बढी संख्यामा चीजहरु तयार गर्न थाले । लडाइँ बन्द भएको धेरै दिन पछि पनि आज हालत के छ ? यदि अमेरिकाको चीजलाई इंग्ल्याण्डले आफ्नो साम्राज्यको भित्र आउन दिंदैन र आउन दिनुको मतलव हो– आफ्नो वस्तुको खपत कम गर्नु…. त अमेरिकाले मौका हेरिरहन्छ कि कसरी मैले इंग्ल्याण्डको प्रभुत्वलाई हटाउने । यही कुरा जापानको बारेमा अरु भयंकरताको साथ छ । साँचो अर्थमा त केही मात्रामा दुई रोटी नै हो र तिनलाई खानको लागि दर्जन दर्जन मुखहरु तयार छन् ।

लेखक : राहुल सांकृत्यायन

यस अशान्तिलाई संसारका राष्ट्रले राम्रोसँग जान्दछन् र यही कारण हो, जुन निशस्त्रीकरण गर्न यति चेष्टा भइरहेको छ । तर पनि जबसम्म आफ्नो आफ्नो माललाई खपत गराउनको लागि बजारहरुको होडबाजी रहन्छ, तबसम्म संसारको शीरमाथि झुण्डिएको युद्धको तरबार टाढा हुन सक्दैन । बजार त कच्चा मालको लागि देशमाथि अधिकार जमाउने लोभले २१ वर्षपछि पुनः जर्मनीको भाग्य परीक्षाको लागि बाध्य बनाइदियो । र, त्यसले दोस्रो महायुद्धलाई घच्घच्यायो । त्यसले सोभियत संघमाथि आक्रमण गरेर कसरी युद्धको स्वरुपलाई बदल्यो, जसरी मैले अन्तै लेखिसकेको छु (हेर्नुहोस्, “मानव समाज” पृष्ठ ३०१–२, ४३९–४०) । अब त पुँजीवाद नै संसारको ठूलाठूला लडाईहरुको एक मात्र कारण भइरहेको छ । बजारहरु कम हुनु एउटा अर्को कारण उठेर खडा भएको छ । पहिले जुन देशहरुमा उद्योगधन्दा थिएनन्, तिनले पनि ठूलो गतिसँग आफ्ना कलकारखानाहरुलाई बढाइरहेका छन् ।

हिन्दुस्तानलाई नै लिनुस् । जहाँ लडाई हुनुभन्दा अगाडि तिनीहरुले आफ्ना आवश्यक कपडाहरुको पाँचौं भाग पनि मुश्किलसँग बनाउन सक्दथे । त्यहाँ अब त्यो प्रायः सबै कपडाहरु आफ्नैमा तयार गर्दछन् । लालटिन, फाउण्टेनपेन, पेन्सिल, ब्रुस, ब्लेड, बेटरीजस्ता सैयौं चिजहरु छन्, जुन लडाईभन्दा अगाडि हिन्दुस्तानमा तयार हुँदैनथे, तर अब तिनका कैयौं कारखानाहरु खुलिसकेका छन् । यति चीजहरु देशमा बन्नुको मतलव हो, अन्य देशबाट बजारलाई खोस्नु । पहिले यस्ता धेरै उद्योगधन्दा नभएका देश थिए, जुनमा अहिले कारखानाहरु बढ्दै गइरहेका छन् । रुस जुन पहिले धेरै कम वस्तुहरु तयार गर्दथ्यो, अब अर्को अमेरिका नै भएको छ । चीन, तुर्की, इरानको कुरा छोडौं, अब त अफगानिस्तान, इरानजस्ता देशहरुमा पनि कारखानाहरु खुलिरहेका छन् । बजारहरुको लुछाचुँडीबाट संसारमा युद्ध हर्ने आशंकाको कुरा मैले पनि सिकेको छु ।

मेशिनहरुको प्रयोगबाट मानिसहरु बेकारी हुनु र नयाँ नयाँ आविष्कारबाट बेकारी अरु बढ्नु फेरि बजारहरुको कमी हुनु… सही कमीको पूरा गर्दछ । बेकारीको समस्यालाई अरु भयंकर रुप दिनको लागि यही प्रशस्त थियो, तर यसको माथि संसारमा हरेक दश वर्षको जनगणना हेरेर थाहा भइरहेको छ कि जनसंख्या बढ्दै नै गइरहेको छ । मात्र भारतमा नै सन् १९२१ देखि १९४१ सम्म बीस वर्षमा ६ करोडभन्दा बढी व्यक्ति बढेका छन् । पुँजीवादले केही व्यक्तिहरुलाई धनी बनाएर तिनको लागि सुख र विलासका नयाँ नयाँ सामाग्री जुटाउन सक्छ । बहुमूल्य मोटरहरु, जुनमा हात खुट्टा हल्लाउन नपरोस्, यस्ता महलहरु र तिनमा सजाउने हजारौं वस्तुहरु पेरिसबाट निक्लिने फेशनहरु र यस्तै किसिमका धेरै विलासी वस्तुहरुलाई तिनीहरुले अवश्य अगाडि ल्याउन सक्छन् । तर युद्ध र सार्वजनिक बेकारीका समस्याहरुको हल हुने आशा त्यसबाट राख्नु बेकार हो । यो समस्या त वस्तुतः अब मनुष्य जातिको जीवन मरणको प्रश्न बनेको छ । युद्धको आशंकालाई नै लिउँ, विज्ञानले यस्ता यस्ता हतियार,यस्ता यस्ता विषालु ग्याँसहरु, यस्ता भयंकर किटाणु मानिसको हातमा दिएका छन् कि उसले यदि शान्तिको बाटो निकाल्न सकेन भने त मानव ससमाजको सर्वनास भएरै रहने छ । याद गर्नुहोस्, एक व्यक्तिको खोल्टीमा मसी भरिएको फाउण्टेनपेनको ठाउँमा एउटा त्यस्तै नै सिसाको नलीमा यस्तो भयंकर किटाणु समूह छन्, जसलाई त्यो व्यक्तिले हवाइजहाजबाट उडेर न्यूर्योक या लण्डन जस्तो सहरमा छोडिदिन्छ र केही घण्टामा त्यत्रो ठूलो सहर मुर्दाको थुप्रो बन्छ । यो काल्पनिक कुरा हैन । युद्धसम्बन्धी वैज्ञानिक आविष्कार आजभोलि यस्तै किसिमका भएका छन् ।

पुँजीवादको कैयौं अरु पनि दुष्परिणामहरु गन्न सकिन्छ । पुँजीवादको भयंकर परिणाम धेरै व्यक्तिहरुलाई दरिद्रतामा राख्नु पनि हो । हामी यस्तो कैयौं ठिटाहरुलाई देख्छौं, जसमा उत्तम प्रतिभा छ । यदि तिनलाई मौका मिल्थ्यो भने ती राम्रा गणितज्ञ, वैज्ञानिक, कलाकार हुन सक्थे, तर तिनका आमा बुबासँग धन छैन कि तिनीहरु आफ्ना छोराछोरीलाई उसको रुची र योग्यताको आधारमा आवश्यक शिक्षा दिन सकुन । अर्कोतिर प्रतिभा नभएका धनी सन्तानहरुलाई पढाउन लेखाउनमा हजारौं लाखौं रुपैयाँ बर्बाद गर्दछन् । पुँजीवादकै तर्फको वकालत जस्तो व्यवसाय पनि चलिरहेका छन् । जुन चाहिं नभएदेखि मानव समाजको सुख सामग्रीमा केही पनि कमी हुन सक्दैनथ्यो र जो प्रतिभालाई कव्रिस्तान (शव राख्ने घर –अनु.) को काम दिन्छन् । अनेक कारणहरुमध्ये यी केही कारणहरु छन्, जसले संसारमा साम्यवादलाई जन्माएका छन् ।
( नोटः यो लेख काशिराम गैरेले नेपाली भाषामा अनुवाद गर्नु भएको हो ।)

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?