अरुन्धती रोयलाई जेल हाल्ने प्रपञ्च गर्दै मोदी

काठमाडौँ : भारतकी विश्व प्रसिद्ध लेखिका अरुन्धती रोयमाथि सन २०१० नोभेम्बर २९ मा उनले कास्मिरको विषयमा दिएको अभिव्यक्तिलाई लिएर मुद्दा चलाउन खोजिएको छ । दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाले मुद्दा चलाउन अनुमति दिएको भारतीय सरकारको आधिकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । दि हिन्दुका अनुसार गैरकानुनी गतिविधि रोकथाम ऐन १९६७ मा टेकेर अरुन्धतीलाई मुद्दा चल्ने भएको हो । उनले दिएको अभिव्यक्ति उत्तेजक भएको भन्दै उनलाई मुद्दा चलाउन लागिएको दावी गरिएको छ । अरुन्धती रायले कास्मिर कहिल्यै पनि भारतको अंग नभएको, कास्मिरलाई सैन्य बलले भारतमा गाभिएको र कास्मिरको स्वतन्त्र देशको हक भएको अभिव्यक्ति सन २०१० मा दिएको भिडियो समेत आएको भन्दै मुद्दा चलाउन अनुमति भएको हिन्दुस्तान टाइम्सले उल्ल्लेख गरेको छ ।

कास्मिरका अभियानकर्मी शुसिल पण्डितले जाहेर गरेको उजुरीका आधारमा रोयलाई मुद्दा चल्ने वातावरण बनेको हो । सन १९९७ मा दि गड अफ स्मल थिङ्ग नामक पुस्तकको लागि अरुन्धतीले चर्चित पुरस्कार बुकर पाएकी थिइन् । मुद्दा चल्ने विषयमा अरुन्धतीको पक्षबाट कुनै औपचारिक प्रतिकृया आएको छैन ।

अरुन्धती रोय नरेन्द्र मोदी सरकारको प्रखर आलोचकभित्र पर्छिन् । उनीमाथि भाजपा पक्षले भारत बिखण्डनको पक्षधर र माओवादी भएको आरोप लगाउने गरेका छन् । उनी आफ्ना राजनीतिक टिप्पणीका कारण चर्चामा आइरन्छिन् ।

सन् २०२२ मा उनले द वायर मिडियामा करण थापरलाई अन्तर्वार्ता दिने क्रममा भाजपालाई आतंककारीको संज्ञा दिँदै हिन्दु राष्ट्रवादको सोच बिभाजनकारी विचार भएको भन्दै भारतीय जनताले भाजपाको यो सोच सफल हुन नदिने बताएकी थिइन् । उनले भाजपालाई फासिवादी पार्टी भन्दै देशले एकदिन यसको विरोध गर्ने, जनता एकदिन यो अँध्यारो सुरुङबाट बाहिर निस्कने बताएकी थिइन् । उनले मोदी सत्तामा आएपछि भारतको लोकतन्त्र र विकास कमजोर भएको बताउने गरेकी छन् ।

उक्त अन्तर्वार्तामा अरुन्धती भन्छिन्– ‘भारत अहिले हिन्दु राष्ट्रवादको अँध्यारो सुरुङभित्र छन् । मलाई भारतीय जनतासँग भरोसा छ कि यो देशलाई अँध्यारो सुरुङबाट एकदिन बाहिर निकाल्नेछन् । नरेन्द्र मोदीको सत्तमा देशका एक सय जनाको हातमा भारतको २५ प्रतिशत जिडिपी छ । उत्तर प्रदेशका एक किसानले भनेजस्तै यो देश चार जनताले चलाउँछन् । दुई जनाले बेच्छन् र अरु दुई जनाले खरिद र्गछन् । र यी चारैजना गुजरातबाट आएका छन् ।’ उनले भनेका चारजना नरेन्द्र मोदी, अमित शाह, मुकेश अम्बानी र गौतम अडानी हुन् ।

अधिकारीहरूका अनुसार, रोय र कश्मीरको केन्द्रीय विश्वविद्यालयका पूर्व प्राध्यापक शेख शोकत हुसैन विरुद्धको एफआईआर मेट्रोपोलिटन मजिस्ट्रेट, नयाँ दिल्लीको अदालतको आदेशपछि दर्ता गरिएको थियो।

विश्वप्रसिद्ध लेखिका र मोदीको फासीवाद विरुद्धकी शक्तिशाली आवाजको रूपमा उभिएकी एउटी साहसी महिला अरुन्धती रोयलाई कठोर यूएपीए अन्तर्गत मुद्दा लगाइएको भन्दै बौद्धिक समुदायले विरोध गरिरहेका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?