माघ २३ गते । साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो तर मिलेमतो भएर टेण्डर रद्द नगरिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार टेण्डर परेका कम्पनीले पेश गरेका कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको हाे ।
मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उहाँ बताउनुहुन्छ। दुई कम्पनीले मात्र टेण्डर भरेका थिए र दुई कम्पनीको नै कागजपत्र अपुग भएको पाइएकाले टेण्डर रद्द गरिएको महानिर्देशक रिजाल बताउनुहुन्छ।
सोही उजुरीका विषयमा छानबिन गरी जानकारी गराउन अख्तियारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उजुरीसहित पत्राचार गरेको थियो। त्यसपछि मन्त्रालयले उपसचिव विनोद खड्काको संयोजकत्वमा इन्जिनियर दिनेश अधिकारी र लेखा अधिकृत फिरोज आलमसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएकाले प्रतिस्पर्धालाई सीमित पारी अन्य आवेदकले फारमसमेत भर्न नपाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।