
रासस/एएफपी : इरान समर्थित यमनको हुथी समूहले इजरायलमाथि हमला गरेको दाबी गरेको छ। शुक्रबार इजरायलले इरानमा प्रहार गरेपछिको जबाफी हमलामा आफूहरूले इरानलाई सघाएको हुथीले जनाएको छ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथीका प्रवक्ता येह्या सरेले टेलिभिजन सम्बोधनमार्फत हुथीले पनि इरानसँग समन्वय गरी इजरायलमा हमला गरेको बताएका छन्। बितेको चौबीस घन्टामा इजरायको मध्ये सहर जाफालाई लक्ष्य गरेर हुथीले धेरै मिसाइलहरू प्रहार गरेको प्रवक्ता सरेले बताएका छन्।
हुथीले पहिलो पटक कुनै देशसँग समन्यव गरी सैन्य कारबाही गरेको पहिलो पटक स्वीकार गरेको रोयटर्सले लेखेको छ। इजरायली अधिकारीहरुले पनि आफ्नो भूभागहरूमा इरान र यमनबाट मिसाइल हमला भएको बताएका छन्। यमनमा इरानले नै हतियार र पैसा दिएर हुथीलाई विभिन्न गतिविधिमा संलग्न गराउँछ। इजरायलले गाजामा आक्रमण गरेपछि रेड सी मा हुथीले इजरायली र अमेरिकी जहाजहरूलाई लक्ष्य गरेर हवाई हमलासमेत गरेको थियो।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि गत पुस महिनामा अमेरिकाले यमनमा हुथी लक्षित आक्रमण गरेको थियो। त्यतिबेला युरोपका विभिन्न देशहरूले पनि हुथीविरूद्धको कारबाहीमा अमेरिकालाई सघाएका थिए। रेड सीमा आक्रमण नगर्ने सहमतिपछि आक्रमण रोकिएको थियो। इजरायलमा यमनबाट पनि आक्रमण सुरू भएपछि मध्पूर्वमा क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त भएका छन्। शनिबारदेखि इरानले इजरायलमा नयाँ प्रविधिको मिसाइल आक्रमण सुरू गरेको पनि दाबी गरेको छ।
यसले इजरायलमा तुलनात्मक रूपमा बढी क्षति गरेको बताइएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म हाज कासेम प्रशिक्षित ब्यालिस्टिक मिसाइल प्रयोग गरेको उसको दाबी छ। इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहले सरकारी टेलिभिजनलाई बताएअनुसार यो मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाइ अल्टिच्युड डिफेन्स (थाड) र इजरायलले प्रयोग गर्ने प्याट्रियट मिसाइल डिफेन्स र अन्य रक्षा प्रणालीलाई छल्न सक्छ।
उक्त मिसाइलको नाम इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्सका पूर्वकमान्डर कासिम सुलेमानीको सम्मानमा राखिएको थियो। यो मिसाइल सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको र गएको मे महिनामा हालका रक्षामन्त्री नासिरजादेहले यसको उन्नत संस्करणको उद्घाटन गरेका थिए भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो ठोस इन्धनमा आधारित छ। यसले १ हजार २०० किलोमिटरको दूरीसम्म मार हान्न सक्छ र मिसाइल रक्षा प्रणालीलाई छल्न सक्ने म्यानुभरेबल वारहेडले सुसज्जित छ।
इजरायली सेनाले भने शनिबार रातिदेखि आइतबार बिहानसम्म प्रहार भएका मिसाइल यो भन्दा अगाडि नै प्रहार भएकाजस्तै रहेको बताएका छन्। इरानले भनेजस्तो अमेरिकी र इजरायली डिफेन्स सिस्टम छल्न नसक्ने खालका मिसाइल थिएनन् भनेर आइडिएफ अधिकारीहरूले बताएका छन्।
इरानले इजरायलमाथी आक्रमण गर्दा इजरायलको पक्षमा उभिनेहरुको सैन्य अड्डामा हमला गर्ने चेतावनी पनि दिएको छ।