सरकार परिवर्तन, संविधान संशोधन र कम्युनिस्ट आन्दोलन

भर्खरै प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएर ओली नेतृत्वको सरकार आएको छ । संसदीय व्यवस्थामा सरकार बन्ने र विघटन हुने, सरकार गठन र विघटनका लागि अनेकौं चलखेल, षडयन्त्र, एकले अर्काको खुट्टा तानातान, समीकरण बन्ने र भत्कने जस्ता गतिविधि भइरहन्छन् । यी संसदीय व्यवस्थाका विशेषता नै हुन् । नेपालमा सरकार परिवर्तनको खेल चलिरहेकै थियो । गठबन्धन बन्ने र विघटन हुने क्रम चलिरहेकै थियो । सरकार गठन–विघटनबाट जनताको कष्ठपूर्ण जीवनमा कतै सुधार नहुने, देशको राष्ट्रिय स्वाभीमान, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डतामा त्यसबाट कुनै योगदान पनि नपुग्ने आएकाले हाम्रो जस्तो आमूल परिवर्तनमा विश्वासस राख्ने क्रान्तिकारी पार्टीले ती सबै प्रति खास महत्व दिंदैन थियो । तर अहिलेको सरकार परिवर्तन प्रति हामीले र हाम्रो पार्टीले ध्यान दिनु पर्ने वा विगतमा भन्दा चासो राख्नु पर्ने भएको छ । किनभने विगतमा सरकार परिवर्तनको कुरा मात्र हुन्थ्यो भने यसपटक सरकार परिवर्तनसँगै नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डा पनि अगाडि सारेर नयाँ गठबन्धन बनाएका छन् । अहिले भिन्न प्रकारको परिस्थिति आएको छ । अब यिनीहरु कसरी जाँदैछन् भनेर संसदमा नरहेको पार्टीले पनि ख्याल राख्नुपर्ने स्थिति आएको छ ।

सरकार गठन, विघटनमा विभिन्न विदेशी शक्ति केन्द्रहरुले चासो राखेका हुन्छन् र उनीहरुले त्यसबाट सक्दो आफ्नो स्वार्थ पनि लिन खोज्दछन् । यसपटकको सत्ता गठबन्धन वा सरकार परिवर्तनमा आन्तरिक पक्ष नै मुख्य हो भन्ने देखिन्छ । मुख्य रुपले नेपाली कांग्रेस र एमालेले नै आन्तरिक रुपमा सल्लाह गरेर सरकार परिवर्तन भएको हो भन्ने देखिन्छ ।

सरकार परिवर्तन गर्नका लागि नेपाली कांग्रेस र एमालेले गरेको सात बुँदे सम्झौताबारे अस्पष्टता थियो । ओलीले संसदबाट विश्वासको मत लिने बेलामा सात बुँदे सम्झौता पनि सार्वजनिक गरिएको छ । सम्झौतामा धेरै कुराहरु छैनन् । सम्झौतामा मुख्यरुपले सर्वदलीय सरकारमा जोड दिइएको छ । ओली र देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएकोछ । त्यसमा संविधान संशोधन गर्ने पनि भनिएको छ । तर यो सम्झौतामा संविधान संशोधन के कसरी गर्नेबारे खुलाइएको छैन । संविधान संशोधन गर्दा धर्मनिरपेक्षता हटाएर सनातन हिन्दु राज्य कायम गर्ने, संघीय प्रणाली हटाउने, समावेशी व्यवस्था हटाउने, गणतन्त्रको सट्टा संवैधानिक राजतन्त्र पुनर्स्थापना गर्ने सारमा २०४७ सालकै जस्तो संविधान पुनर्स्थापना गर्ने उद्देश्य लुकेको छ भन्ने बुझिन्छ । तर अहिले उनीहरुले ती कुरा लुकाएका छन् । यी एजेण्डामा संविधान संशोधन गरिने छ भनेर खुलेर बोलेका छैनन् । वर्षौंसम्म छलफल गरेर यो संविधान लेखिएको हो । यदि यी विषयमा संविधान संशोधन हुन्छ भनेर उनीहरुले तत्कालै एजेण्डा पेश गरे भने यहाँ ठूलो विस्फोट हुनेवाला छ । जसलाई उनीहरुले थेग्न सक्ने छैनन् । आन्दोलनले विस्फोटक रुप लियो भने हामीले थेग्न सक्ने छैनौ भन्ने कुरा उनीहरुले बुझेका छन् । अब उनीहरुले संविधान संशोधनको एजेण्डा तलबाट जनतासित माग गरेको नाटक गर्नेछन् । विभिन्न स्वार्थ समूहहरुले संविधान संशोधनको लागि माग अगाडि बढाउनेछन् । विस्तारै संवैधानिक राजतन्त्र, सनातन हिन्दु राज्य, संघीयताको खारेजी, समावेशीताको खारेजी जस्ता एजेण्डाहरुलाई स्थापित गरेर चलाखीपूर्ण ढंगले ती एजेण्डाहरुलाई संविधानमा संस्थागत गर्ने दिशातिर कांग्रेस र एमाले लागेको देखिन्छ । संविधान भनेको त जड चीज होइन, गतिशील हुन्छ भन्दैछन् । संविधान संशोधन आफैमा नराम्रो कुरा हैन । यदि देश र जनताको हितमा संविधान संशोधन हुन्छ भने त्यसलाई सकारात्मक रुपमै लिनुपर्दछ । तर पहिलो कुरा, संविधान संशोधनको उद्देश्य जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा पनि जनताका अधिकार कटौती गर्ने देखिन्छ । दोस्रो कुरा, संविधान संशोधनको बाटोबाट अहिलेको देश र जनताका विकराल समस्या समाधान हुनेवाला छैनन् । संविधान संशोधन हैन, हामीले जनणतन्त्रको संविधान निर्माणको पक्षमा प्रचारप्रसार , आन्दोलन, संघर्ष अगाडि बढाउनुपर्दछ भन्ने हाम्रो पार्टीको निश्कर्ष छ ।

संविधान संशोधनका सन्दर्भमा तीन प्रकारका धार देखिएका छन् –एक, पश्चगामी धारः यो धारले सनातन हिन्दुराज्यको स्थापना, राजतन्त्रको पुनर्स्थापना गर्न खोजेको छ । राप्रपाले त संविधान संशोधनको कुरा गर्दा वित्तिकै सकारात्मक भनेर स्वागत नै गर्यो। हामीले त यो कुरा पहिलेदेखि भन्दै आएका थियौं । तपाईहरुले बल्ल यो संविधान संशोधनको कुरा ल्याउनु भयो, राम्रो भयो भनेर उनीहरूले भनेका छन् । तर ओलीलाई संसदमा विश्वासको मत भने दिएनन् । कांग्रेस र एमाले प्रतिक्रियावादी व्यवस्थाका मुख्य संरक्षक र हर्ताकर्ता हुन् । तर तिनीहरु पश्चगामी दिशामा हिंड्न खोजेका छन् । अहिले तत्काल खुलेर भन्न आँट गरेका छैनन् ।

दोस्रो, यथास्थितिवादी धारः यो धारले अहिलेको संविधानलाई बचाउने, विद्यमान व्यवस्थालाई संरक्षण र संस्थागत गर्ने विचार राख्दछ । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी लगायतले यो संविधानको सन्दर्भमा यथास्थितिवादलाई अंगालेका छन् । प्रचण्ड अहिले कांग्रेस एमालेलाई तर्साएर आफ्नो स्थितिलाई कमजोर हुन नदिने र फेरि सत्तामा उक्लिन पाइन्छ कि भन्ने दाउ हेर्दै छन् ।

लेखक : सीपी गजुरेल

तेस्रो, क्रान्तिकारी धार । क्रान्तिकारी धारको मुख्य प्रतिनिधि संस्था क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल हो । पार्टीका संयोजक क। किरणद्वारा प्रेस वक्तव्य जारी गरेर हामीले संविधान संशोधनका बारेमा पार्टीको विचार स्पष्ट गरेका छौं । संविधान संशोधनबाट देश र जनताका विद्यमान विकराल समस्याहरु समाधान हुनेवाला छैनन् । त्यसैले वर्तमान संविधान खारेज गर्नु पर्दछ र जनगणतन्त्रात्मक संविधान लागु गर्नु पर्दछ । उनीहरुले संविधान संशोधनको वातावरण तयार पार्नतिर लागेको अवस्थामा हाम्रो पार्टीले अहिलेको संविधान किन बेठीक छ रु संविधान संशोधनले किन देश र जनताको समस्या हल गर्न सक्दैन रु जनगणतन्त्रात्मक संविधानको सारतत्व के हो , त्यसका विशेषताहरु के के हुन्छन् रु यी कुराहरुलाई हामीले जनताको बीचमा प्रचारको विषय बनाएर लैजान्छौं । प्रचार मात्र हैन जनगणतन्त्रात्मक संविधानको पक्षमा जनमत सिर्जना गर्ने र त्यसतर्फ नै आन्दोलन र संघर्षलाई अगाडि बढाउने हाम्रो नीति हुने छ ।

जनयुद्धका बेलामा पनि हामी जनगणतन्त्रको संविधानको एजेन्डा उठाएका थियौं । वार्ताका क्रममा पनि हामीले यो एजेण्डा राखेका थियौं । तर प्रचण्ड र बाबुरामजीले जनगणतन्त्रको एजेण्डा छाडेर लोकतान्त्रिक गणतन्त्रतिर लाग्नुभयो । उहाँहरुले आन्दोलनलाई नै धोका दिनु भयो । जनगणतन्त्रात्मक संविधान निर्माणको एजेण्डा अहिले पनि सान्दर्भिक नै छ । यो एजेण्डालाई हामीले छाडेका छैनौ ।

विश्वमा र नेपालमा पनि राजनीतिक घटनाक्रम नयाँ नयाँ ढंगले विकसित हुँदै गएका छन् । यस स्थितिमा कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई बलियो बनाएर जान आवश्यक छ । त्यसका निम्ति एक , पार्टीले स्पष्ट विचार र एजेण्डा लिएर जनताको बीचमा जानुपर्दछ । जनताको बीचमा संगठनलाई विस्तार गरेर जानुपर्दछ । दुई, क्रान्तिकारी शक्तिहरुलाई ध्रुवीकरण गरेर जानु पर्दछ । त्यसका निम्ति मूलभूत विचार मिल्ने क्रान्तिकारी पार्टीहरुका बीचमा पार्टी एकता गरेर जानुपर्दछ । क्रान्तिकारी विचार राख्ने शक्तिहरू सित पार्टी एकता हुन नसकेमा सहकार्यं,कार्यगत एकता संयुक्त मोर्चा बनाएर जानु पर्दछ भन्ने हाम्रो नीति छ ।

क्रान्तिकारी आन्दोलनको उद्देश्यलाई ध्यान दिएर हामीले २०८० वैशाख १८ गते नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन गरेका थियौं । २०८० वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ९मशाल० का बीचमा पार्टी एकता घोषणा गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनाएका थियौं । नेकपा ९बहुमत० सित पार्टी एकताका बेला बहुमतको वैज्ञानिक समाजवादको कार्यदिशा र क्रान्तिकारी माओवादीको नयाँ जनवादी क्रान्तिको कार्यदिशा थियो । हामीले व्यापक छलफल गरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने सहमति गरेका थियौं । धर्मेन्द्र बास्तोलाजीले एकता महाधिवेशनको प्रक्रिया अगाडि बढे पछि वैज्ञानिक समाजवादी कार्यदिशा नै उपयुक्त हो भनेर कार्यालय र केन्द्रीय समितिमा प्रस्ताव ल्याउनुभयो । प्रस्ताव ल्याउनु गलत हैन । त्यो उहाँको अधिकारको कुरा हो । महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्थ्यो । उहाँले प्रस्तावलाई एकता महाधिवेशनका लागि दर्ज गर्नुभयो । दस्तावेज छापिने बेलामा “एकता असफल भएको” घोषणा गर्नुभयो । यो त कम्युनिस्ट आन्दोलनप्रतिको धोका हो । अत्यन्त केटाकेटीपन हो । वैज्ञानिक समाजवादी कार्यदिशा नभइकन पार्टीमा बस्दैन भन्नुभयो । उतिबेला बैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा नभैकन एकता गर्दैन भन्नू भएन । त्यसैले उहाँको तरिका गलत भयो ।

पार्टीमा फरक फरक मतहरु आउँछन्, बहस हुन्छ, छलफल हुन्छ । बहस छलफललाई व्यवस्थापन गर्ने विधि हुन्छ । धर्मेन्द्रजीले एकता असफल भएको घोषणा गरे पनि नेकपा ९बहुमत० बाट एकता प्रक्रियामा आउनु भएका केन्द्रीय कार्यालयदेखि स्थानीय तहसम्मका साथीहरुको ठूलो पंक्ति अहिले पनि एकताको मर्मलाई पक्रिएर पार्टी अनुशासनमा बसेर काम गरिरहनु भएको छ । बहुमतबाट एकता प्रक्रियामा आउनु भएका प्रदेश संयोजकहरु, जिल्ला इन्चार्ज र जिल्ला संयोजकहरु हाम्रो पार्टीमा नै रहेर काम गरिरहनु भएको छ । हामीले धर्मेन्द्रजी हरुप्रति कुनै पूर्वाग्रह राख्दैनौं । पार्टीमा फर्कनका लागि उहाँहरु सबैलाई हामीले सार्वजनिक वक्तव्य दिएर आह्वान गरेका छौं । त्यति मात्र होइन , उहाँले एकता असफल भएको घोषणा गरे पछि पनि उहाँहरुलाई हामीले बोलाएर पार्टी काममा फर्कन अनुरोध गर्यौं। हामीले उहाँहरुलाई पार्टीमा यथोचित सम्मान र स्थान पनि दिएकै थियौं ।

तीन पार्टीको एकता गरेर बलियो क्रान्तिकारी धार निर्माण गर्ने हाम्रो उद्देश्य हो । धर्मेन्द्रजीको फुटपरस्त गतिविधिले साथीहरुमा केही चिसो परेकोछ तर अब सबै साथीहरु स्पष्ट भइसक्नु भएको छ । देशव्यापी रुपमा साथीहरुले फुटपरस्त गतिविधिको विरोध गर्नु भएको छ ।

पार्टी संयोजकका तर्फबाट पार्टीलाई एकताबद्ध बनाएर लैजान सार्वजनिक वक्तव्य जारी गर्ने काम भएको छ र साथीहरु त्यस अनुसार लाग्नु पनि भएको छ । हामी आसा गर्दछौं कि साथीहरुले क्रान्तिकारी आन्दोलनलाई एक ढिक्का बनाएर लैजान आआफ्नो ठाउँबाट योगदान पुर्याउनु हुनेछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?