प्रवासमा संगठनात्मक भूमिका

भारतमा समाजिक संगठन अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भएको थियो । तर त्यो भन्दा करिव एक वर्ष पहिला नेपाल कम्युनिष्ट पार्टी भारत शाखा पनि भूमिगत प्रणालीमा संचालन गरिएको थियो । कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली मजदूरहरुलाई सामाजिक गतिविधिमा सामेल गर्दै अन्ततः पार्टी कारण गर्ने थियो । सामाजिक संगठन एकता समाजको माध्यमबाट उनीहरुलाई क्रमशः राजनैतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक प्रशिक्षण दिएर तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनको लागि योग्य बनाउन जरुरी थियो । उनीहरुलाई संगठन, अनुशासन र पद्दतीको बारेमा बुझाउन पर्दथ्यो । त्यति बेलाको छिपछिपे ज्ञान भएका प्रवासी नेपालीहरुलाई विविध कोणबाट प्रभावित गर्दै अखिल भारत नेपाली एकता समाजको प्लेटफर्ममा उभ्याउने काम सामान्य थिएन । त्यसपछि मात्रै उनीहरुलाई पार्टी करण गर्नु थियो । दीर्घकालिन उद्देश्य भएको संस्थालाई अगाडि बढाउन एउटा निश्चित उद्देश्य भएको वर्की टीमको आवश्यकता हुन्छ । मैले राजनीतिक यात्रा शुरु गरेको दक्षिण भारतको चेन्नै शहरबाट हो । चेन्नैमा नेपालीहरुको बाक्लै उपस्थिति रहेको थियो ।

हाल त्यो उपस्थितिमा धेरै कमी आएतापनि आज पनि पार्टी संगठन कायमै छ । भारतमा पर्दा बाहिरबाट अखिल भारत नेपाली एकता समाजको गतिविधि गर्ने तर भित्री रुपमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको गतिविधि संचालन गरिन्थ्यो । दक्षिण भारत क्षेत्रमा रहँदाको अवस्थामा रामचन्द्र शर्मा, शिव बहादुर केसी, जित ब. जिसी, दल ब. खड्का, दुर्गा प्रसाद शर्मा, शालिक राम शर्मा, गंगा पौडेल, मेघराज शर्मा, दुर्गादत्त आचार्य, नारायण प्रसाद पौडेल, सीसी सुवेदी, कुलचन्द्र शर्मा, इन्द्र बहादुर खड्का, हरी प्रसाद आचार्य, कलाधर शर्मा, खगेश्वर शर्मा, धर्मराज शर्मा, खड्क ब. जिसी, होमनाथ शर्मा, अमर शाह, अर्जुन चिमाडी लगायत दर्जनौ साथीहरु थियौ । यो संगठनको प्रारम्भीक अवस्थाको कुरा थियो । त्यसपछि धेरै साथीहरु पार्टीमा जोडिनु भयो । सबैको नाम यहाँ उल्लेख गर्न असमर्थ छु । शुरुका दिनहरुमा हामीले दक्षिण भारतको चेन्नै वैंगलोर, कोचिन, पाण्डेचरी, हैद्रवाद लगायतका शहरहरु जहाँ नेपालीहरुको बाक्लो उपस्थिति थियो मा नेपाल कम्युनिष्ट पार्टीका इकाईहरु बनाउन प्रयत्न गरियो । पार्टी निर्माणको लागि यो टीम सकृयतापूर्वक लाग्यो । भारत स्थित नेपालीहरुलाई पार्टीमा प्रवेश गराउनको लागि विभिन्न माध्यमहरु अपनाइयो । जस्तै प्रशिक्षण, खेलकुद, सांस्कृतिक कार्यक्रम गर्ने, नेपाली चाडपर्वहरुलाई सामुहिक रुपमा मनाउने लगायत अन्य व्यवहारिक पक्षबाट उनीहरुलाई पहिला नेपाली एकता समाजमा आबद्ध गर्ने र समाजको माध्यमबाट क्रमशः पार्टीकरण तथा राजनीतिकरण गर्दै जाने कामहरु भए । लगातारको राजनैतिक सैद्धान्तिक, सामाजिक तथा शारीरिक र सांस्कृतिक प्रशिक्षणबाट प्रवासी नेपालीहरुको चेतनाको स्तर उठाउने प्रयत्न भए । दिल्लीबाट “नेपाली एकता” मासिक पत्रिका प्रकाशन गरी भारतका भिन्न शहरमा कार्यरत नेपालीहरुको बीचमा पु¥याउन थालियो । सबै नेपालीका बीचमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता तथा एकांकी नाटकहरु प्रदर्शन गर्ने कामको शुरुवात भयो ।

नेपालीहरुमाथि भैपरी आउने तमाम प्रकारका समस्याहरुको संगठीत रुपले समाधान गर्न हाम्रो नेतृत्वदायी टीम त्यतिकै लागि पर्दथ्यो । जसरी हाम्रो टीम दक्षिण भारतमा कृयाशील थियो त्यसरी नै भारतका अन्य प्रान्त तथा शहरहरु जस्तै दिल्ली, पंजाव, गुजरात, राजेस्थान, उडीसा, आसाम, मेघालय, हिमाचल, कानपुर, लखनउ, बनारस, बम्बै, कलकत्ता, लगायत थुप्रै शहरहरुमा पनि सम्बन्धित ठाउँका कृयाशील साथीहरुको पहलमा नेपाल कम्युनिष्ट पार्टीको बलियो जग बस्यो । दिल्लीमा लिलानाथ कुसुम, राजु नेपाली, डिलाराम आचार्य, पंजावमा हरिलाल शर्मा, गिरिधारीलाल न्यौपाने, मित्रलाल शर्मा उत्तर प्रदेशमा भोजराज उप्रेती, कमल प्रसाद गैरै, ठग बहादुर रायमाझी, मुम्बैमा जयबहादुर मल्ल, इन्द्र भेटाल, उडीसामा रामेश्वर खत्री, राजीमसुर राई, विजयकुमार लामा, तेजबहादुर जिसी, एवी नेपाली लगायतका दर्जनौं साथीहरुको सकृयतामा भारत व्यापी पार्टीको संगठन निर्माण भए । पछिका दिनहरुमा सयौं नयाँ नयाँ साथीहरुको आगमन भयो ।

भारतमा नेपाली एकता समाज निर्माण गर्ने काममा गोविन्द सिंह थापाको महत्वपूर्ण योगदान रहेको छ । पार्टीमा विमल शर्मा, दिपक पाण्डे, कमल खनालको पनि भूमिका रहेको थियो । दक्षिण भारतमा ने.क.पा.को स्थापना एकता समाज गठन पूर्व नै भैसकेको थियो । दक्षिण भारतको चेन्नै र पाण्डेचरीमा ने.क.पा. को गठन गर्दा पार्टीको बरिष्ठ नेता का. मोहन विक्रम सिंहको विशेष उपस्थितिमा भएको थियो । चेन्नै डि.ओ.सी.मा संस्थापकहरु मध्य शिव बहादुर के.सी., जीतबहादुर जिसी, दुर्गा प्रसाद शर्मा, मेघराज शर्मा, शालिकराम शर्मा रहेका थिए । त्यसैगरी पाण्डेचरी, डिओसीमा रामचन्द्र शर्मा सेक्रेटरी र अन्य सदस्यहरुमा भूमीस्वर शर्मा, भविन्द्र हमाल, कर्ण ब. क्षेत्री, र मित्र लाल शर्मा रहेका थिए । त्यस पछि क्रमशः हैद्रवाद, वैगलोर, कोचिन, लगायत शहरहरुमा पार्टी डिओसी गठन हुँदै गए । दक्षिण भारतमा पार्टी कमिटि गठन भए लगत्तै दिल्ली पञ्जाव, कलकत्ता, यूपीमा पनि डिओसीहरु गठन भए । १९७८ को डिसम्बरतिर दक्षिण भारतबाट प्रारम्भ गरिएको पार्टी कमिटिहरु २०२० सम्म भारतका करिब २० राज्यहरुमा दर्जनौं जिल्ला कमिटि र नगर सेल कमिटी सहित सयौं कमिटीहरु परिचालित थिए । सबै कमिटिहरु मातहत रहने गरी व्यवस्थित ढंगबाट संचालन गर्नका लागि भारतमा भारत शाखा समिति गठन भएको थियो । भारत शाखा समितिको आधिकारिक अभिलेख कहिकतै उपलब्ध हुन नसकेको हुँदा यहाँ उल्लेख गर्न असमर्थ रहें । यो निर्वाचित समिति हो । भारतको हकमा यो समिति नेपालका क्षेत्रीय ब्यूरो भन्दा बढी अधिकार सम्पन्न हुन्छ । भूगोलको आधारमा संगठनलाई विभिन्न प्रान्तहरु जोडेर पार्टीको जिल्ला कमिटि गठन गरिएका छन् । भारतमा पार्टी स्थापनाका लागि क. मोहन विक्रम सिंहको महत्वपूर्ण भूमिका रहेको छ । सहयोगीको रुममा निर्मल लामा र चित्र बहादुर केसी पनि रहेका छन् । सन् १९७९ नोभेम्बर महिना जतिबेला भारतमा नेपाली एकता समाजको गठन भैसकेको अवस्थामा नेपालबाटै पार्टी प्रवेश गरेका प्रवासी नेपालीहरुलाई खोजेर पार्टी कमिटीको स्थापना गर्ने गरिन्थ्यो । १९७९ नोभेम्बर ७ तारीकमा अखिल भारत नेपाली एकता समाजको गठन पूर्व ने.क.पा. सदस्यताको लागि आवेदन लिने गरिन्थ्यो । शुरुमा उमेदवार सदस्यताको लागि आवेदन लिएर ६ महिनादेखि १ वर्षसम्म बेलाबखत राजनीतिक, सैद्धान्तिक, व्यवहारिक प्रशिक्षण दिने, जिम्मेवारी बोध गराउने, अनुशासन, गोपनियताका कुरा सिकाउने गरिन्थ्यो । उमेदवार सदस्यता दिएको बढीमा १ वर्ष पछि उसको मूल्यांकन गरी पार्टी सदस्यताको लागि सिफारिस गर्ने गरिन्थ्यो । पार्टीको निर्देशन, अनुशासन, गोपनियताको पालना गर्न नसक्नेलाई एकता समाजको सदस्यको रुपमा राखेर पुनः उसलाई प्रशिक्षण गरिन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टीमा लिनु भन्दा पहिला एकता समाजको कुनै एक कमिटिमा आबद्ध गरेर उनीहरुमा भएका गलत प्रवृत्ति जस्तै जुवा, तास, रक्सी, चुरोट, सुर्ति सेवन लगायतका कृयाकलापहरुबाट टाढा राख्नका लागि निरन्तर सचेत र संगठीत गर्दै आलोचनाको माध्यमबाट सुधार गर्न प्रयत्न गरिन्थ्यो । शुरुका दिन देखि करिब ३ दशकसम्म भारतमा पार्टी संगठनको दृत गतिमा विकास भयो । ३० वर्षको उपस्थितिमा भारतमा जुन योजना अनुसार कामहरु भए त्यसको तुलनामा हाल धेरै कमी आएको छ । त्यसको कारण भारतमा सरकारी तथा गैर सरकारी संस्थान र ठूला ठूला कम्पनिमा काम गर्ने अधिकांश नेपालीहरु सेवा निबृत्त भैसकेको अवस्था छ भने अर्काे तर्फ कैयौं नेपालीहरु भारत छाडेर तेस्रो मुलुकहरुमा आफ्नो गन्तव्य बनाएको हुदा र विगतमा जसरी संगठनका नेता कार्यकर्तहरु संगठन निर्माणमा लागि पर्दथे त्यो स्थिति अहिले नभएको हुदा संगठनमा कमी आएको यथार्थ हो ।

शुरुका दिनमा भारत स्थिति नेपालीहरुलाई संगठीत गर्ने क्रममा राजनैतिक सैद्धान्तिक व्यवहारिक तथा शारीरिक प्रशिक्षण लगायत खेलकुद र प्रगतिशील सांस्कृतिक कार्यक्रम गीत नृत्यहरुबाट प्रभावित गरी उनीहरुलाई सगठीत गर्दै जाने कामहरु भए । संगठनबाट नेपालीहरुमाथि भैपरी आउने तमाम प्रकारका समस्याहरुको समाधान गरी उनीहरुलाई राहतदिने गरिन्थ्यो । यसरी भारतमा तत्कालिन ने.क.पा. को संगठन विस्तारमा सफलताको आधार भनेको पार्टी र नेपाली मजदूरहरुसितको घनिष्ठ सम्बन्ध हो । भारत स्थित नेपालीहरुका जनजीवनसित जोडिएका तमाम प्रकारका समस्याहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुले सहयोग गर्दै गए । नेपाली मजदूर सडक तथा कारखानामा र्दुघटना भई मृत्यु वा घाइते हुन्छन् । पार्टी कार्यकर्ता त्यहाँ पुगेका हुन्छन् । नेपाली महिलाहरुलाई दलालहरुले भारतका विभिन्न शहरहरुमा विक्री गर्दछन्, महिलाहरु बलात्कृत हुन्छन्, हत्या गरिन्छ, त्यहाँ पार्टीको उपस्थिति रहन्छ । बेखर्ची, असहाय, विरामी परेका नेपालीहरुलाई पार्टीका कार्यकर्ताहरुबाट आवश्यक सहयोग हुन्छ । नेपाली नेपालीबीच हुने झैझगडामा संगठनले न्यायोचित ढंगबाट न्याय गरिदिन्छ ।

लुटिएका कुटिएका, ठगीएका, नेपालीहरुलाई उद्दार गर्ने काममा पार्टीका कार्यकर्ताहरु निरन्तर लागि रहन्छन् । विगतमा भारतको गुजरातमा गएको भूकम्पबाट र हिमाचलमा गएको भिषण बाढीपैरोबाट सयौं नेपालीहरुको मृत्यु भयो । कैयौंको धन सम्पत्तिको नष्ट भयो । भूकम्प र बाढी पहिरोबाट प्रभावित नेपालीहरुको उद्दार गर्न पार्टीका कार्यकर्ताहरु घटनास्थलमा पुगे र उनीहरुको उद्दार कार्यमा जुटे । त्यसैगरी जागिर नपाएका नेपालीहरुलाई जागिरको व्यवस्था गर्ने, वासस्थानको व्यवस्था मिलाइ दिने जस्ता तमाम प्रकारका कामहरुमा पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहने गर्दछ । सरकारी तथा गैर सरकारी संस्थामा १०÷१५ वर्ष सम्म करारमा रहेका नेपालीहरुलाई कानुनी उपचारबाट स्थाई गराउने कामहरु संगठनको माध्यमबाट भएका छन् ।

सन् १९७९ देखि तिन दशकसम्म भारत व्यापी पार्टी निर्माणको कामले तीब्रता पायो । त्यो तीन दशकलाई तत्कालिन ने.क.पा. को संगठन उदय मान दशकको रुपमा लिन सकिन्छ । भारतका डेढ दर्जन बढी राज्यहरुमा जहाँ नेपालीहरुको वाक्लो उपस्थिति थियो, ती ठाउँहरुमा संगठन विस्तार हँुदै गए । शुरुमा एकता समाजको माध्यमबाट क्रमशः कम्युनिष्ट पार्टीमा प्रवेश गराउने काम तिब्र रुपमा अगाडि बढ्दै गयो । त्यति बेला कम्युनिष्ट पार्टीको विस्तार गर्न त्यति सहज थिएन । नेपालमा निरंकुश पंचायती व्यवस्थाको विगविगी थियो । कम्युनिष्ट पार्टी भूमिगत थिए । देश भित्र र प्रवासमा पनि पार्टीलाई भूमिगत प्रकारले संचालन गर्न पर्ने बाध्यात्मक परिस्थिति थियो । भारत गणतन्त्रात्मक मुलुक भए पनि वास्तविक कम्युनिष्ट पार्टीहरु प्रतिबन्धित थिए । त्यही परीवेशमा भारतीय शासकहरुले नेपालको सच्चा कम्युनिष्ट पार्टीलाई पनि नकारात्मक रुपबाट हेर्ने गर्दथे ।

नेपालीहरुलाई एकता समाजमा आबद्ध गर्न जति सहज थियो । तर कम्युनिष्ट बनाउन त्यति सहज थिएन । तर अखिल भारत नेपाली एकता समाज प्रवासी नेपालीहरुका लागि अपरिहार्य बन्न पुग्यो । मजदूरी गर्ने नेपालीहरुलाई कही न कही एक वा अर्काे समस्याहरु आइपर्दथे । ति तमाम समस्यारुलाई एकलै समाधान गर्ने स्थिति थिएन । त्यसकारण पनि नेपालीहरुका बीचमा एकता अपरिहार्य थियो । मालिकबाट हुने शोषण, अन्याय, अत्याचार, सडक दुर्घटना, हत्या हिंसा झै झगडा सिमानामा गुण्डाहरुबाट लुटिने, ठगीने, नेपाली युवतीहरु बेच बिखन र बलात्कार जस्ता अनगिन्ती समस्याहरु परि रहन्थे । सबै समस्याहरु नेपालीहरुको एकताबाट मात्रै समाधान हुन सक्तथ्यो । बाहिर तत्कालिन अखिल भारत नेपाली एकता समाज र भित्री रुपमा ने.क.पा. तथा पछि परिवर्तित नाम ने.क.पा. (मसाल) ले भारत स्थित नेपालीहरुमा दैनिकी जसो भैपरी आउने समस्याहरुमा संगठीत प्रकारले समाधान गर्नका लागि हर प्रयत्न गर्दै गयो । लाखौ नेपालीहरुको अभिभावक बन्न पुग्यो । पार्टीको स्थापना हुनुभन्दा पहिला भारतमा नेपालीहरुको स्थिति दयनिय थियो । कतिपय नेपाली भारतमै लापत्ता हुन्थे । कतिपय वर्षाैसम्म स्वदेश नफर्कने पनि थिए । अनायसमै मृत्यु हुने र लास बेवारीसे हुन्थे । त्यतिबेला नेपालीहरुका कुनै पार्टी संगठन थिएनन् । एकाघर, एकागाउँ वा चिने जानेका व्यक्तिहरुसँग मात्र संगत हुन्थ्यो । अन्य नेपाली संग कुनै साइनो सम्बन्ध थिएन । त्यसैले कैयौं नेपालीहरु कसैको साहारा नपाएर दुःख कष्ट भोग्नु पर्दथ्यो । कुनै कारण मृत्यु भयो भने पनि उसको लास वेवारीसे हुन्थ्यो । रोजगारको लागि भारत गएको छोरा घर फर्कने कुनै ग्यारेन्टी थिएन । सन्चो विसन्चो थाहा पाउने माध्यम हुलाक मार्फत पत्र पठाइन्थ्यो । कैयौं नेपाली त लापत्ता नै हुन्थे भने कतिपय बेखबर भएर पनि बस्ने गर्थे ।

भारतमा नेपालीहरुको सगठन विस्तार भएपछि उनीहरुमा चेतनाको विकास हुदै गयो । नेपाली नेपाली बीच एक प्रकारको सामाजिक सद्भाव बढ्दैगयो । उनीहरुको एक आपसमा निकटता हुदै गयो । एकतानै बल हो भन्ने कुरामा चेत खुल्दै गयो । संगठनबाट लगातार प्रशिक्षणहरु हुन थाले । चेतनाको विकास भएपछि नेपालीहरुमा भएका खराबलत बानी बेहोरामा पनि क्रमश सुधार हुदै गयो । ति सबै प्रकारका गलत आनी बानी सुधार गर्नका लागि उनीहरुलाई निरन्तर प्रशिक्षण गर्न जरुरी थियो । गास बास कपासको खोजीमा भारत गएका नेपालीहरुलाई आर्थिक, सामाजिक, राजनैतिक तथा व्यवहारिक रुपमा रुपान्तरणको लागि भारतव्यापी पार्टीले जुन मेहनत गर्न पर्यो, त्यसको प्रभाव प्रवासी नेपालीहरुलाई मात्र हैन अन्तत नेपालको बामपन्थी आन्दोलनमा पनि पर्यो । यसरी सन् १९७८ देखि अहिले सम्म प्रवासी नेपाली र पार्टीको सम्बन्ध सुमधुर रहदै आएको छ ।

हाल भारतमा पुरानो पिंढीका नेपालीहरुको संख्या दिनप्रतिदिन घट्दै गएको छ । सन् २०७५ देखि १९९५को अवधि सम्म नेपाली युवाहरुलाई खोजिखोजी सरकारी तथा गैर सरकारी निकायहरुमा जागिर दिने गरिन्थ्यो । त्यतिबेला सरकारी जागिरमा प्रवेश गरेकाहरु मध्य कैयौ नेपाली जागिरबाट अवकास लिएर नेपाल फर्किए । कतिपय नेपालीहरु भारत छोडेर तेस्रो मुलुक खाडी, युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान लगायत अन्य देशहरुमा गए । ति मध्य मौज्दात नेपालीहरु बीच पनि सबै नेपालीहरु संगठीत छैनन् । संगठीत नेपालीहरु पनि नेपालका विभिन्न राजनीति दलहरुको प्रभावमा अलग अलग संगठनको रुपमा विभाजित छन् । नेपालका दलहरुसंग आबद्ध प्रवासी संगठनहरु मध्य भारतको हकमा नेकपा पूर्व (मशाल) को पार्टी संगठन तथा अखिल भारत नेपाली एकता समाज वैचारिक रुपमा नै आज पनि बलियो संगठनको रुपमा चिनिन्छ ।

लेखक : गंगा पौडेल

प्रवासी नेपाली भन्नाले भारत बाहेक अन्य तेस्रो मुलुकहरुमा रोजगारको लागि गएकालाई पनि भनिन्छ । भारतमा काम गर्दा गर्दै गुजरा चल्न नसकेर भारत बाहेक अन्य मुलुकहरुमा जान थाले । भारतमा रहँदा खेरी पार्टी संगठनमा काम गरेका कतिपय युवाहरु आफ्नो गन्तव्यमा गएर त्यहाँ पनि पार्टी संगठन निर्माण गर्न थाले । जसरी भारतमा संगठनको विस्तार गरिएको थियो । त्यसै अनुसार तेस्रो मुलुकमा पनि संगठन निर्माण हुदै गएका छन् । तेस्रो मुलुकहरु मध्य अधिकांश नेपालीहरुको रोजाई खाडीका देशहरु जस्तै कतार दुवई साउदी, बहराइन, ओमन, कुवेत आदी रहे । त्यसैगरी मलेसीया हङकङ, इजरायल पनि नेपालीहरुका गन्तव्य मुलुक पर्दछन् । नेपालीहरुका लागि यूरोप, अमेरिका जापान, अष्ट्रेलिया भन्दा सस्तो भाडादर र कमीसन खाडी देशहरुमा पर्ने भएकाले खाडीमा जानेको संख्या बढी रहेको छ । अर्थिक रुपमा कमजोर नेपालीहरु जहाँ सस्तोमा जान मिल्छ त्यही जाने स्वभाविक नै हो । त्यसको परिणाम उनीहरुको आय श्रोत पनि यूरोप, अमेरिका, जापान, अष्ट्रेलियाका कामदार नेपालीहरुको भन्दा न्यून छ । खाडी बाहेकका देशहरुमा जाँदा २० देखि ४० लाख खर्च गरेर जान भन्दा धेरैले खाडी मुलुकलाई आफ्नो वैदेशिक रोजगारको गन्तव्य स्थल बनाउँदछन् । यसरी कम पैसामा जाने मुलुकहरुमा पनि न्यूनतम डेढलाख देखि ३ लाखसम्म कामको प्रकृति हेरी दलालहरुले पैसा असुल गर्दछन् । तेस्रो मुलुकका आधा दर्जन भन्दा बढी देशहरुमा भारतमा झै पूर्व ने.क.पा.(मशाल) र नेपाली एकता समाज गठन भएका छन् । त्यहाँ पनि नेपालीहरुलाई अन्याय अत्याचार शोषण दमन र हत्या सम्म हुन्छ । विदेशमा पनि नेपाली चेलीहरुको बेचबिखन गरीन्छ । नेपालीहरुलाई झुटा मुद्दा लगाएर जेलमा सडाइन्छ । नेपालीहरु बेरामी र बेखर्ची हुन्छन् यी तमाम प्रकारका समस्यहरुको समाधान गर्नका लागि नेपालीहरु संगठीत हुन जरुरी हुन्छ । अन्यायमा परेका असाहाय र विरामी परेका नेपाली, दलाल र मालिकबाट ठगीएका नेपालीहरु सबै मिलेर संगठीत प्रकारले सहयोग गर्नका लागि विभिन्न देशहरुमा नेपाली एकता समाजको गठन भएका छन् ।

विदेश स्थित नेपालीहरु नेपालका विभिन्न राजनीतिक दलहरुको प्रभावबाट अलग अलग संगठनको निर्माण गरेका छन् । ती संगठनहरुमध्ये पूर्व ने.क.पा.(मशाल) निकट विभिन्न देशका प्रवासीहरुको संगठन नेपाली एकता समाजको नामबाट परिचित छ । ति देशहरुका संगठनलाई समायोजन गर्नेगरी अन्तर्राष्ट्रिय स्तरमै एउटा छाता संगठनको रुपमा अन्तर्राष्ट्रिय नेपाली एकता समाज पनि गठन भएको छ । नेपाली एकता समाज र अन्य राजनीतिक दल निकट अन्य संगठनहरु बाहेक तेस्रो मुलुकमा अलि हुने खाने सुकिला मुकिला ठूला व्यवसायी र उद्योग पतिहरुको छुट्टै गैर आवासीय नेपाली संघ (एन.आर.एन.) नाम गरेको संगठन विभिन्न मुलुकहरुमा स्थापित भएका छन् । उनीहरु फरक दृष्टिकोण, फरक विधान र घोषणापत्रका आधारमा संगठीत छन् । मुलत उनीहरु शोषित पीडत मजदूरहरुको हक हितको लागि भन्दा सुकिला मुकिला तथा पूजीपति वर्गको हितको लागि नै काम गरेका हुन्छन् । एन.आर.एन. र नेपाल सरकार बीच निकट सम्बन्ध छ । किनभने सरकार राजनीतिक दल र तिनका नेताहरुलाई एन.आर.एन.ले चुनावमा र बेलाबखत आर्थिक सहयोग गरेर आफ्नो व्यवसायलाई नेपालमा संचालन गर्न र राज्यबाट व्यबसायिक सेवा सुविधा लिएर व्यापारिक साम्राज्य कायम गर्न चाहन्छन् । त्यतिमात्र नभएर उनीहरु नेपालको राजनीतिमा हस्तक्षेप गरी सत्तामा पुग्ने कुचेष्ट पनि गरेका छन् । त्यसैले राजनीतिक अधिकार सहित एन.आर.एन. दोहोरो नागरिकताको लागि आन्दोलन गर्ने गरेको छ । आवासीय संघ र विभिन्न देशहरुमा स्थापित प्रवासी नेपालीहरुका अन्य सामाजिक संगठनहरु बीचको उद्देश्यमा मेल खादैन । गैर आवसीय संघले पनि उत्पीडित नेपाली मजदूरहरुको हकहितका लागि काम गर्ने भनेर भ्रम सृजना गरेता पनि वास्तवमा उनीहरुले उत्पीडित वर्गहरुलाई उपेक्षा नै गरेका हुन्छन् । गास, बासको समस्या समाधानको खोजिमा विदेशमा भौतारिएका नेपालीहरुले हमेसा आफ्नो वर्गका नेपालीहरुको पक्षमा आवाज उठाउने गर्दछन् । त्यो काम उनीहरु संगठीत शक्तिको आधारमा नै गर्दछन् । उनीहरु उत्पीडिन अन्याय तथा शोषणका विरुद्धमा एकजुट भएर आवाज बुलन्द गरेका छन् ।

यसै शिलशिलामा प्रवासी नेपालीहरुका तमाम प्रकारका समस्याहरुलाई पार्टीले लामो नजिकबाट नियाल्दै आयो । संगठित शक्तिका आधारमा मात्र नेपालीहरुको मुक्ति सम्भव छ अन्यथा प्रवासी नेपालीहरुको अवस्थामा कुनै सुधार नआउने कुरा निश्चित भएर उनीहरुलाई गोलबद्ध गर्ने अठोट पार्टीले लिएको हो । नेपालको अर्थ सामन्ती र अर्ध औपनिवेशिक व्यवस्थाबाट नेपाली युवाहरुलाई रोजगारीको कुनै विकल्प नभए पछि सन् १९१६ को सुगौली सन्धी पछि कामको खोजीमा भारत जाने लर्काे लाग्ने गरेको हो । बेरोजगार युवालाई सचेत र संगठीत नगरिकन नेपालमा आमूल परिवर्तनको विकल्प थिएन । संसारका सबै मुलुकको परिवर्तन युवावर्गहरुबाट नै भएको छ । नेपालको हकमा पनि त्यसको विकल्प छैन । तत्कालिन ने.क.पा.ले संसारमा रहेका नेपाली युवायुवतीहरुलाई नेपालको अमूल परिवर्तनका लागि कम्युनिष्ट पार्टी भित्र गोलबद्ध गर्नु पर्दछ भन्ने उद्देश्य अनुरुप विदेशमा पनि नेपालीहरुलाई संगठतीत गर्न सन् १९७८ बाट शुरु गरिएको हो । संगठीत युवाहरु नेपालको वामपन्थी आन्दोलनलाई पनि बेला बखतमा प्रत्यक्षवा परोक्ष योगदान पुराउदै आए भने व्यक्तिगत रुपमा पनि संगठीत युवाहरुले आफ्नो जीवनस्तरलाई पनि कैयौं सुधार गरे । वर्ग दुश्मनलाई चिन्न सके । शोषण दमन, अन्याय, अत्याचराका विरुद्ध संगठीत रुपमा लड्न भिड्न सिके । परिवार, समाज, राष्ट्र राष्ट्रियताको बारे स्पष्ट हँुदै गए । सत्य कुरा बुझ्न सक्ने भए जिवनलाई सार्थक बनाउन चनाखो बन्दै गए यो सबैकुरा संगठनको देन हो ।

कम्युनिस्ट पार्टीको दिर्घकालिन उद्देश्य हुन्छ । त्यो उद्देश्य प्राप्तीका लागि कैयौं घुम्तीहरु पार गर्नुपर्ने हुन्छ । यद्यपी पार्टीले बनाएको रणनीति उद्देश्य जस्तै नयाँ जनवाद, समाजवाद र साम्यवादमा पुग्ने गन्तव्यबाट विमुख वा पलायन नभएमा विद्यमान प्रतिकृयावादी व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था अवस्यम्भावी छ । त्यही उद्देश्य प्राप्तीको लागि कम्युनिष्ट पार्टी र प्रवासी नेपाली युवाहरु बीच पनि लगनगाठो बाध्ने काम भएको छ । प्रवासी नेपालीहरुलाई नेपालको विद्यमान अर्थसामन्ती र अर्ध औपनिवेसीक प्रतिकृयावादी राज्य व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी क्रान्ति गर्नका लागि उत्प्रेरित तथा उत्सुकता गराउन धेरै मेहनत गर्नुपर्ने हुन्छ । शुरुमा उनीहरुलाई संगठीत गरी आन्दोलनमा सहभागी बनाउने कम महत्वको काम हैन । नेपालका विभिन्न जिल्लाबाट प्रवासमा गएका नेपालीहरुका फरक फरक भाषा सांस्कृतिक फरक आनीवानी र कृयाकलापहरु छन् । ति सबैको मन जितेर एकै उद्देश्य भएको पार्टीको आमूल परिवर्तनको तारमा जोड्ने हो । त्यसको लागि कम्युनिस्ट पार्टीले सामाजिक संगठनको नाममा भारत लगायत तेस्रो मुलुकहरुका नेपालीहरुलाई एक सुत्रमा बा“ध्ने कामलाई निरन्तरता दिंदै आएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?