सहकारी पीडितहरुको त्यो माग सही छ : वरिष्ठ नेता,सि.पि. गजुरेल (गौरव)

सहकारी पीडितहरुको आन्दोलन प्रति हाम्रो पार्टीको समर्थन छ

सि.पि. गजुरेल (गौरव)
वरिष्ठ नेता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
० कान्तिपुर पत्रिकाले गृहमन्त्री रवि लामिछानेले सहकारीमा करोडौं ठगी गरेको भनेर लगातार समाचार सम्प्रेषण गरिरहेको छ । गृहमन्त्री रवि लामिछाने मातहतको प्रहरी प्रशासनले कान्तिपुरका प्रोपाइटर कैलाश सिरोहियालाई किर्ते नागरिकताको अभियोगमा गिरफ्तार गरेको छ । यो घटनालाई कसरी हेरिरहनु भएको छ ?
–यो घटनाको पछाडि आन्तरिक र बाह्य कारण छन् भन्ने लाग्छ । आन्तरिक कारणमा कान्तिपुरले रवि लामिछानेले सहकारीमा गरेको घोटाला, रकम हिनामिनाबारे लगातार समाचार सम्प्रेषण गरिरहेको छ । रवि लामिछाने यसबाट चिढिएर उनले त्यो पत्रिकाका मालिक वा संचालकलाई बदला लिन खोजिरहेका थिए । त्यो समाचार सम्प्रेषणबाट उनको पोल खुल्यो । किर्ते नागरिकताको बहानामा कान्तिपुरका संचालक कैलाश सिरोहियालाई पक्राउ गरेका छन् । कान्तिपुुरको लगातार आक्रमणमा लामिछाने रक्षात्मक बनिरहेका छन् र लामिछाने मात्र हैन स्वयं उनी संलग्न प्रचण्ड नेतृत्वको सरकार नै रक्षात्मक बनिरहेको छ ।यो गठबन्धन सरकार रहने हो कि नरहने हो भन्ने स्थिति आएको छ । यहाँका दलाल पार्टीहरु लामिछानेसित जोडिएका छन् । लामिछानेलाई कार्वाही गर्न आमरुपमा दबाब आइरहेको छ । दबाब बढ्दै गइरहेको छ । कार्वाही गर्ने हो भने रवि लामिछानेको पार्टी रास्वपाले सरकार छोड्नेवाला छ । उनले मलाई कार्वाही भयो भने सरकार छाड्ने पनि भनिरहेका छन् । उनले सरकार छाड्दा वित्तिकै वर्तमान गठबन्धन सरकार ढल्नेवाला छ । प्रचण्ड र ओलीले जसरी पनि यो सरकार बचाउनका लागि लामिछानेको कमजोरी ढाकछोप गर्न लागेका छन् ।
यो घटनाका पछाडि बाह्य कारण के हो भने कान्तिपुर र लामिछानेको बीचमा अन्तर्विरोध बढेपछि बाह्य शक्तिहरुले त्यसमा खेल्ने प्रयास गरेका छन् ।
० कतिपयले यी दुवै पक्ष जनता र देश विरोधी छन् । यी दुईमा एउटा सर्प र अर्को विच्छी हुन् । दुवै घातक हुन् भन्ने पनि सुनियो नि ?
–हो । ती दुई मध्ये एउटा सही र अर्को गलत भन्ने होइन । दुवैका कमजोरीहरु छन् । एकले अर्कोको कमजोरी बाहिर ल्याइदिने काम गरेका छन् । ग्यालेक्सी टि.भी संचालनमा लामिछानेको संलग्नता थियो । टिभी संचालन गर्न करोडौं रकम सहकारीबाट ल्याएको प्रमाण कान्तिपुरले लेखिरहेको छ । मेरो विचारमा लामिछानेले सिरोहिया माथि जुन तरिका अपनाए , त्यति धेरै गर्नुपर्ने थिएन । सिरोहियाको नागरिकता र पासपोर्ट सम्बन्धी मुद्दा हो । एउटा ठूलो मिडिया ग्रुपको उनी मालिक हुन् । उनी त्यति सजिलै भाग्ने थिएनन् । अफिसमा प्रहरी पठाएर गिरफ्तार गर्ने, अपहरणको शैलीमा रातारात काठमाडौंबाट जनकपुर पु¥याउने जस्ता जुन काम गरे, त्यो मुद्दा कष्टडीमा ल्याएर बयान लिनुपर्ने खालको मुद्दा थिएन । लिखित स्पष्टीकरण मागेको भए पनि उनले स्पष्टीकरण दिने थिए । यही मुद्दामा उनी भाग्ने थिएनन् । प्रहरी प्रशासन लगाएर सिरोहिया माथि जे गरियो । त्यो बदला लिने भावनाबाट वा पूर्वाग्रह राखेर ती कार्य भएको देखिन्छ ।
० गृहमन्त्रीको सहकारी ठगीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा बोल्ने बेला कांग्रेसले हंगामा मच्चाएको पनि देखियो ?
–नेपाली कांग्रेसले यो मुद्दालाइई ठूलो अवसर आएको ठानेको छ । राजनीतिक फाइदा उठाउनका लागि महत्वपूर्ण एजेण्डा आएको उसले ठानेको छ । यही मुद्दा बोकेर कांग्रेसले सदन चल्न दिएको छैन । यो मुद्दाले प्रधानमन्त्री प्रचण्डलाई रक्षात्मक बनाएको छ । एकातिर कांग्रेसले सदन चल्न दिएको छैन । अर्कोतिर यो सरकार बचाउन उनले रविलाई जोगाउन पनि परेको छ । सरकारले देश चलाउन संसदबाट निर्णयहरु लिनुपर्ने, देशको महत्वपूर्ण एजेण्डामा संसदमा छलफल गर्नुपर्ने हुन्छ । तर यो सरकार यति असक्षम भयो कि संसद चलाउन पनि सकेन । हुँदा हुँदा त अहिले कतिसम्म भयो भने मर्यादापालकको सहयोग लिएर सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने स्थिति बन्यो । बजेट कसरी प्रस्तुत गर्ने ? अध्यादेशबाट बजेट प्रस्तुत गर्ने कि संसदमा मार्शल प्रयोग गरेर बजेट प्रस्तुत गर्ने भन्नेसम्मका कुरा आए ।
० भनेपछि यही लामिछानेको सहकारी मुद्दाले यो सरकार ढल्न सक्ने सम्भावना पनि रह्यो ?
–हो, त्यो सम्भावना पनि छ । यो सरकार त अहिले धरापमा छ । यसभन्दा पहिले पनि यो सरकार ढाल्ने खेल भित्रभित्रै चलेको थियो । कसो कसो प्रचण्ड र ओलीले बचाए ।
अहिले प्रचण्डले भनिसकेका छन् –मैले यो सरकारलाई जसरी पनि जोगाउनु पर्दछ । जसरी पनि जोगाउनु पर्दछ भनेपछि सरकार जोगाउन जस्तो सुकै अनैतिक काम गर्न पनि उनी तयार छन् भन्ने देखिन्छ । तर जोगाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा अहिले भन्न सकिन्न ।
लामिछानेले यदि संसदमा मलाई बोल्न दिने हो भने संसदीय छानवीन समिति बनाउन तयार छु भनेका थिए । संसदीय छानवीन समिति बन्छ भने बोलाउन दिउँ भनेर कांग्रेसले उनलाई बोल्न दियो । तर के बोले भन्ने कुरा अलग विषय हो । अब अहिले संसदीय छानवीन समितिको टि.ओ..आर बनाउँदा (अध्ययन कार्य क्षेत्र) बनाउँदा सहकारीको नाम लेख्ने कि नलेख्ने बारेमा विवाद भएको छ । र, त्यो विवादले संसदीय छानवीन समिति नै बन्न सकेको छैन । यदि उनको नाम जोडेर छानवीन समिति बनाउने हो भने नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने हुन सक्छ । यदि उनले राजीनामा दिए भने आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र गठबन्धनमा नरहने भनेकै छन् । अहिले प्रतिक्रियावादी कित्ताको राजनीति ठूलै संकटको भुमरीमा परेको छ । यो ठीकै भएको छ किनभने यिनीहरुको असली चेहरा जनताले थाहा पाउने गरी बाहिर आएको छ । कमसेकम जनताले त बुझ्न पाए । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यिनीहरुको बारेमा प्रष्ट थाहा हुने गरी घटनाहरु बाहिर आएका छन् ।
० यही बेला नेपाली प्रेसमा विदेशी लगानी भएको विषय पनि चर्चा चलिरहेको छ ?
–नेपालका साम्राज्यवादका दलाल शासकहरु विदेशी लगानी भित्र्याउनु भनेको बहादुरी हो भन्ने ठान्छन् । विदेशी लगानी भित्र्याउन सम्मेलन नै बोलाउँछन् । यिनीहरु विदेशीलाई सजिलो हुने गरी कानुन बनाउँछन्, तपाईहरुको लगानीका लागि कानुनमा के परिवर्तन गर्नु प¥यो, कति मुनाफा चाहियो भनेर विदेशीहरुलाई देश लुटाउन आह्वान गर्दछन् । जति नाफा लाने हो लैजाउ तर यहाँ लगानी गर भन्ने यिनीहरुको नीति हो । तसर्थ प्रेसमा पनि कुनै न कुनै रुपमा विदेशी लगानी भएको छ । प्रेसमा लगानीबाट एकातिर मुनाफा आउने, अर्कोतिर त्यो प्रेस मार्फत् आफ्ना कुरा प्रचार गर्न पाइने । यस्तो फाइदै फाइदा हुने ठाउँमा विदेशीहरुले पाएसम्म लगानी गर्दछन् ।
०अहिले सहकारी पीडितहरुले आन्दोलन उठाइरहेका छन् । यस्ता पीडितहरुको आन्दोलन त कम्युनिस्टहरुले उठाउनु पर्ने होइन र ?
–सहकारी पीडितहरुको आन्दोलन त कम्युनिस्टहरुले नै उठाउनु पर्ने हो । कम्युनिस्ट पार्टी पीडितहरुको न्यायका लागि संघर्ष गर्न गठन गरिएको पार्टी हो । सहकारीमा लगानी गर्ने कुन वर्गका मानिस हुन् भन्ने स्पष्ट भइसकेको छ । सहकारीमा धेरै लगानी गर्ने माथिल्लो वर्गका मानिस थोरै छन् । साना साना व्यवसाय गर्ने, दिनभरी दुःख गरेर अलि अलि बचाएको रकमलाई सहकारीमा जम्मा गर्ने निम्न वर्गका मानिसहरु धेरै छन् । त्यसरी उत्पीडित वर्गहरु सहकारीमा धेरै छन् ।
गरिखाने मान्छेहरुले पसिना बगाएर जम्मा गरेको अर्बौं रुपैयाँ केही व्यक्तिले हिनामिना गरेका छन् । ठगहरुलाई बचाउन सहकारीका माथिल्ला तहका मान्छेले पैसा खाएका छन् । सहकारी हेर्ने सरकारी निकायका मान्छेले ठगहरुबाट पैसा खाएका छन् । यदि आन्दोलन नगर्ने हो भने गरिब जनताको अर्वौं रुपैयाँ डुब्नेवाला छ । त्यसैले आन्दोलन आवश्यक छ । हाम्रो पार्टीले सहकारी पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ । सहकारी पीडितहरुले सरकारसित आफूहरुले सहकारीमा गरेको वचत व्याज सहित फिर्ता गराइदिन वा सरकारी कोषबाट भएपनि व्याज सहित बचत फिर्ता गर्न माग गरेका छन् । सहकारी पीडितहरुको त्यो माग सही छ ।
दुःखको कुरा के छ भने कम्युनिस्ट पार्टीले सहकारी पीडितहरुको आन्दोलनलाई नेतृत्व गर्न सकिरहेको छैन । समाजका अन्य विभिन्न व्यक्ति, समूहले सहकारी पीडितहरुको नेतृत्व गरेका छन् । सहकारी पीडित, लघुवित्त पीडित, मिटरव्याज पीडितहरुको आन्दोलनको अगुवाई कम्युनिष्ट पार्टीले गर्नुपर्दछ ।
० व्यक्तिगत कुरा पनि गरौं न । गुल्मीको ज्ञयबाट ज्ञवालीको उत्पत्ति भए जस्तै गजुरेलको पनि आफ्नै इतिहास होला । तपाईको आफ्नो पारिवारिक पृष्ठभूमि बताइदिनुस् न ?
–यस्ता कुरा वंशावली तयार भएको भए भन्न सजिलो हुन्थ्यो । १÷२ पटक केही मान्छे मलाई पनि भेट्न आए । अरुको वंशाली लेखे हाम्रो पनि वंशावली लेख्नु प¥यो भन्दै मलाई भेट्न आए । तर गजुरेलहरुको वंशावली तयार भएको मलाई थाहा छैन । मैले पढ्न पाएको छैन । मेरो बुबाहरुले भन्नुहुन्थ्यो कि हाम्रा पुर्खाहरु धादिङको गजुरीबाट आएका हुन् । मेरो स्कूले जीवनका नेपाली शिक्षक उमानाथ शास्त्रीले पनि तिमीहरुका पुर्खाहरु धादिङको गजुरीबाट आएका हुन् भन्नुहुन्थ्यो । गजुरीबाट आएको हुनाले गजुरेल थर कायम भएको बुझिन्छ । गजुरेल ब्राहम्णहरुको ठूलो संख्या छैन । मैले थाहा पाए अनुसार नुवाकोट र सिन्धुलीमा अलि धेरै जनसंख्या छ । काभ्रेमा र पूर्वमा ताप्लेजुङमा गजुरेलको वस्ती भएको मलाई जानकारी छ । सिन्धुलीको खुर्कोट र सिन्धुलीमाडीका गजुरेलहरुको सात पुस्ता जति भयो । हाम्रा बुबाहरु ५ भाई हुनुहुन्थ्यो । दुई भाइ मधेशको लालगढतिर बसाई सराई गर्नुभयो ।
० सिन्धुलीमा कम्युनिस्ट आन्दोलन कसरी प्रवेश ग¥यो, कसरी विकास भयो र तपाई कसरी त्यो आन्दोलन सित जोडिनु भयो ?
–प्रारम्भिक कालमा पनि सिन्धुलीमा कम्युनिस्ट पार्टीको अवस्था बलियो रहेछ । रामेछापको भंगेरीमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्मिएको गाउँ थियो । भंगेरी र सिन्धुलीको बीचमा सुनकोशी नदी बग्दछ । बासुदेव श्रेष्ठ पुष्पलालका दाजु पर्ने व्यक्ति हुनुहुँदोरहेछ । बासुदेव सुनकोशी तरेर सिन्धुली आइ कम्युनिस्ट पार्टीको संगठन विस्तार गर्नु भएको रहेछ । २००७ सालको राणा विरोधी आन्दोलनमा सिन्धुलीमा कम्युनिस्ट पार्टीका मानिसहरु संलग्न भएको बुझिन्छ । संस्थागत निर्णय गरेर आन्दोलनमा संलग्न भएको प्रमाण भेटिएको छैन । तर जे भए पनि सिन्धुलीमा कम्युनिस्ट पार्टीका मानिसहरु राणा विरोधी आन्दोलनमा लागेका थिए । २०१५ सालको चुनावमा कम्युनिस्ट पार्टीको तर्फबाट रामहरी बराल उम्मेदवार बन्नु भएको रहेछ । त्यो चुनावमा पार्टीभित्रै को उम्मेदवार बन्ने भन्ने होडबाजी भएछ । अन्तर्घात नभएको भए चुनाव जित्न पनि सक्ने स्थिति थियो भन्थे बुढा पुरानाहरु । चुनाव त जित्न सकेनन् । त्यसरी त्यतिबेला संगठन राम्रै रहेछ । २०१७ सालमा राजाले शासन ल्याए पछि त्यहाँको पार्टी नेता वासुदेव श्रेष्ठ राजाको कदमलाई समर्थन गरेछन् । हामी जान्ने बुझ्ने हुँदा सिन्धुलीमा हामीलाई कम्युनिस्ट बन्न प्रेरित गर्ने कोही पनि थिएन । हामी त काठमाडौं प्ढदा विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिस्ट पार्टीमा लागियो । म त्रिचन्द्र कलेज पढ्दा कम्युिनस्ट समर्थक बने । ऋषि देवकोटा, म, शंकरनाथ शर्मा लगायत कम्युनिस्ट प्रभावमा प¥यौं । शंकरनाथ पछि एमाले बन्नुभयो । काठमाडौंमा विश्वकान्त मैनाली, गोविन्दमान श्रेष्ठ लगायत अखिल आन्दोलनका मुख्य नेता थिए । भारतमा नक्सलाइट आन्दोलन सुरु भएपछि नेपालमा पनि त्यसको युवा विद्यार्थीहरुमा काफी प्रभाव प¥यो । बुुर्जुवा शिक्षाको काम छैन । गाउँमा गएर किसानको बीचमा काम गर्नुपर्दछ भन्ने ह्वीम चलेको थियो । सिन्धुलीका मानिसहरु काठमाडौंमा आएर कुन पार्टीमा लाग्ने होला भनेर सोधपुछ गर्थे र काठमाडौंको विद्यार्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनका कुरा लिएर जान्थे, हामी विद्यार्थीहरु पनि काठमाडौंबाट फर्किएर सिन्धुलीमा कम्युनिस्ट पार्टी बनायौं । ऋषि देवकोटा आजाद सेक्रेटरी बन्नुभयो । म पनि त्यो कमिटीमा बसें । सिन्धुली जिल्ला पार्टीले चौथो महाधिवेशन धारलाई समर्थन ग¥यो । २०३१ को चौथो महाधिवेशनबाट ऋषि देवकोटा आजाद बैकल्पिक केन्द्रीय सदस्य बन्नुभयो । ऋषि पछि म सिन्धुलीको सेक्रेटरी बने । पछि म पूर्वाञ्चल क्षेत्रीय व्यूरोको सदस्य र सेक्रेटरी समेत भएँ ।
२०३२ सालमा पार्टीले फटाहाहरुलाई कुटपिट गर्ने आन्दोलन चलायो । सरकार दमनमा उत्रियो । ऋषि देवकोटा, दलबहादुर रजनमगर र दुर्गा सुवेदीलाई पंचायती प्रशासनले हत्या ग¥यो । म पनि पक्राउ परे । सिन्धुलीबाट महोत्तरीको राजविराज, त्यसपछि मलंगवा, विरगन्ज, काठमाडौंको सेन्ट्रल जेल अनि नख्खु जेल पु¥यायो । हामीलाई जहाँ लैजान्छ त्यही आन्दोलन गर्ने भएकाले जेल सरुवा गरिरह्यो । अन्तिममा २०३६ को जनमत संग्रहको दौरानमा राजकाज मुद्दा लागेकाहरुलाई आम माफिी दिंदा म पनि आम माफीमा परेर रिहाई भएँ ।
० जेल जीवनको कुरा गर्दा तपाई त जनयुद्धकालमा भारतको चेन्नईबाट पनि गिरफ्तार हुनु भयो हैन र ?
–हो म चेन्नैबाट लण्डन जाँदै थिएँ । चेन्नैको एयरपोर्टमा शंका ग¥यो । एउटी ब्रिटिश महिलालाई यो जेन्टलमेन ब्रिटिश नागरिक होइन जस्तो लाग्यो भनेर सोधपुछ गर्न लगाइयो र अन्त्यमा मलाई त्यहीबाट गिरफ्तार गरियो । अन्त्यमा चेन्नैबाट सिलगुढी पठाइयो । वैद्यजी पनि सिलगुढी जेलमा हुनुहुन्थ्यो । सिलगुढीबाट रिहा भयौं । यसबारेमा मैले हाँक साप्ताहिकलाई यसभन्दा पहिलेको अन्तर्वार्तामा बताइसकेको छु ।
० तपाईले पार्टीको अन्तर्राष्ट्रिय विभागमा लामो समय काम गर्नुभयो । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) मा काम गर्दाको अनुभवबारे सुनाउनुहोस् ?
–हाम्रो पार्टीमा पहिले विदेश विभाग भन्ने थिएन । विदेश हेर्ने भन्ने थियो । त्यो विदेश हेर्ने भन्ने जिम्मेवारीमा मोहन विक्रमजी, म लगायत थियौं । गोरखपुरमा हाम्रो कार्यालय भएकाले अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्ध, चिठीपत्र आदान प्रदान त्यहीबाट हुन्थ्यो । म संगठनको कामले चेन्नैतिर थिएँ । चिठी गोरखपुरमा आएछ । मोहनजी रिमको कार्यक्रम जानुभयो ।
२०४२ मा पार्टी फुटेपछि मोटो मशालले माओवाद स्वीकार गरिसकेको थियो । पातलो मसालले माओविचारधारा नै मान्दथ्यो । रिमको बैठक नेपालको पोखरामा करिब एक महिनासम्म चल्यो । माओवाद र माओविचारधाराबारे लामो छलफल भयो । मोटो मशालका तर्फबाट प्रचण्ड र म थियौं, मसालबाट मोहनजी र अरु साथीहरु हुनुहुन्थ्यो । रिमका अरु प्रतिनिधिहरु पनि त्यो बैठकमा थिए ।
हामी मोटो मशाल रिम कमिटीमा थिएनौं । एकातिर रिम भित्रको विवादका कारणले गर्दा भारतको सिआरसिसिपिआईएमएल र टर्कीको कम्युनिस्ट पार्टी रिम कमिटीबाट हटे । अर्कोतिर हामीले नेपालमा जनयुद्ध पनि सुरु गरेका थियौं । त्यसकारण हामी नेकपा माओवादीबाट रिम कमिटीको सदस्य भएर काम ग¥यौं । पार्टीको तर्फबाट मैले प्रतिनिधित्व गरेको थिएँ । रिमको काममा म सहित धर्मेन्द्र बास्तोला(कञ्चन), इन्द्रमोहन सिग्देल (वसन्त) लगायतले काम गरेका थियौं । दक्षिण एसियामा हामीलाई अरु क्रान्तिकारी पार्टीहरुले पनि विश्वास गर्दथे । भारत, बंगलादेशका पार्टीहरुका अन्तर्विरोधलाई हल गरिदिने, छलफल गराएर विवाद मिलाइदिने काम पनि हामीले गरेका थियौं ।
रिमको मुखपत्र अ वल्र्ड टु विन प्रकाशित हुन्थ्यो । त्यो क्रान्तिकारी कम्युनिस्टहरुका बीचमा प्रख्यात थियो । त्यो पत्रिका एक प्रकारको गाइडलाईन जस्तो थियो । त्यो पत्रिकाले नेपालको माओवादी आन्दोलनलाई प्रचार गर्न मद्दत पु¥यायो । अमेरिकाको एउटी पत्रकार युद्धस्थलमै आएर रिपोर्टिङ गरिन् । नेपालको माओवादीलाई प्रचारमा ल्याउन ठूलो योगदान पु¥याएकी थिइन । २००६ मा नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि रिमले हामीलाई आत्मसमर्पण ग¥यौं, समाप्त भयौं भन्यो । म आफू पार्टी प्रतिनिधि भएकाले पार्टी नीति कै प्लिड् गर्नु प¥यो । तर कतिपय कुरा ठीकै भनेका थिए । अर्को कुरा आर.सी.पी. अमेरिकाका नेता वव अवाकिनले आफ्ना विचारलाई नयाँ माक्र्सवाद भन्न थाले । त्यो कुरा हामीले स्वीकार गरेनौं । अहिले रिम अघोषित रुपमा विघटन जस्तै छ ।
० तपाईले पार्टीको पथप्रदर्शक सिद्धान्तमा “प्रचण्डपथ” राख्ने कुरालाई स्वीकार गर्नुभएको थिएन भन्ने सुनिन्छ, प्रचण्डपथ प्रति तपाईको अस्वीकार्यता किन थियो ?
–पार्टीमा प्रचण्डपथ प्रति मैले असहमति राखे । मैले बैठकमा नोट अफ डिसेन्ट त लेखेन तर बैठकमा प्रष्ट सँगै भने माओवादसम्म ठीकै छ तर प्रचण्डपथ लेख्ने बेला भएकै छैन । धेरै साथीहरु प्रचण्डपथ लेख्नु पर्दछ भन्नेमा जानुभयो ।
मेरो त्यो धारणा किन बनेको थियो भने म रिमको कमिटीमा भएकाले पेरुको कम्युनिस्ट पार्टी (साइनिङ पाथ) को विचार पनि सुनेको थिएँ । पेरुकै कामरेडसित पनि कुरा गरेको थिएँ । पेरुमा “हाफेतुरा” भन्ने बहस चलेको थियो । त्यहाँको स्पेनिश भाषामा हाफेतुरा भनेको सर्वोच्च नेता (सुप्रिम लिडर ) हो । साइनिङपाथका नेता गोञ्जालोलाई पार्टी भन्दा पनि माथिको नेता बनाउनु पर्दछ भन्ने छलफल थियो ।
प्रचण्ड स्वयं के हुने हुन् भन्ने टुंगो छैन भन्ने लागेको थियो । उता पेरुको त्यो हाफेतुराको बहस पनि मैले थाहा पाइरहेको थिएँ । त्यो सबैलाई देखेर मैले प्रचण्डपथ भन्ने समय नै आएको छैन भनेको थिएँ । समयले त्यो कुरा सत्य पनि सावित ग¥यो । यो कुरा आएपछि मलाई २÷४ रात निन्द्रा पनि परेन । आफै लागेको पार्टीको गाइडलाइन नै ठीक भएन भनेर मलाई मनमा त्यो कुराले पोल्यो । प्रचण्डपथ ठीक छैन भनेर लेखे लेखें । जनादेशले त्यसलाई छाप्यो पनि ।
० युद्धकालको कठोर अनुशासनका बेला पनि विरोधमा जानुभयो ?
–जे– जे होला भनेर रिस्कमा मैले त्यो काम गरें । तर त्यो लेख मैले पार्टीले निर्णय गर्नु भन्दा पहिले लेखेको थिएँ । पार्टीले निर्णय गरेपछि त पार्टीको निर्णय मान्नै प¥यो ।
० तपाई अखिल भारत नेपाली एकता समाजको नेतृत्वमा रहेर काम गर्नु भयो । त्यहाँको अनुभव पनि सुनाउनुस् ।
–म सुरुमा अ.भा.ने.ए.स.को महासचिव र पछि संगठन फुटेपछि दुई कार्यकाल सभापति भएँ । म पछि नारायण दाहाल, विष्णुहरी शर्मा लगायतका साथीहरु नेतृत्वमा आउनुभयो ।
पार्टी विभाजनतिर जाँदै थियो । म गोरखपुर कार्यालयमा गएका बेला पार्टीका निर्णयहरु किन बेठिक छन् भनेर मोहनविक्रम जीले लेखेका लेखहरुको संग्रह युवक संघको पत्रिकामा संकलन गरिएको रहेछ । एक युवक बुटवलतिरकाले साथी हुनुहुन्थ्यो, उहाँ पछि एमालेमा जानुभयो । म गोरखपुर कार्यालयमा हुँदासम्म झोलामा राख्नु भएछ । म त्यहाँबाट दिल्लीतिर हिंडे पछि त्यहाँ वितरण गर्नु भएछ । त्यसबाट पार्टी फुटाल्ने नै गरी गुटबन्द िभएको कुरा बुझ्न सकिन्थ्यो । मोहनजी म भन्दा सिनियर नेता हुनुहुन्थ्यो र भारतमा संगठनमा मोहनजीको राम्रै प्रभाव थियो किनभने एकता समाजको नेता गोविन्दसिंह थापा मामा भए पनि पार्टी नेता बनेर भारतभरी मोहनजी हिंडिरहनु हुन्थ्यो । तैपनि जति सकिन्छ फुटबाट संगठन बचाउनु पर्छ भनेर लागियो । सबैको सल्लाहले एकता समाजको सम्मेलन दिल्लीमा गर्ने निर्णय भएको थियो । यसो विचार गरेको दिल्लीको संगठनलाई मोहनजीले एकलौटी बनाइसक्नु भएछ । कलकत्तामा मोहनजीको पक्षमा संगठन कमजोर र हाम्रो स्थिति बलियो भएको पाइयो । केन्द्रीय कमिटीमा पनि हाम्रो पक्षमा बहुमत हुने सम्भावना थियो । फरिदावादमा लिलानाथ कुसुमले साथ दिने वचन दिनुभएको थियो । पंजावमा हरिलाल शर्माले सहयोग गर्ने वचन दिनु भएको थियो । मैले एकता समाजको सम्मेलन स्थल दिल्लीबाट कलकत्ता सार्ने उद्देश्यले केन्द्रको बैठक राख्न सभापति गोविन्दसिंह थापासित सल्लाह गर्न खोजें । किन बैठक बस्नु प¥यो भन्नुभयो । उहाँले मान्नु भएन । म के गर्न खोज्दैछु भन्ने कुरा उहाँहरुले थाहा पाउनु हुने नै भयो । सभापतिले बैठक बोलाउन नमानेपछि मैले महासचिवको हैसियतले केन्द्रको बैठक आह्वान गरें । डिलाराम आचार्य एकता समाज दिल्लीको नगरसभापति थिए । उनले त्यो बैठक असफल पार्न भूमिका खेले । मलाई सहयोग गर्छु र केन्द्रको बैठक बस्न मद्दत गर्छु भनेका लिलानाथ कुसुम घर छाडेर हिंड्नु भयो । पंजावको लुधियानामा हरिलाल शर्माजी र म बैठकमा जाने सबै टुंगो लागेको थियो । मेरो कपडा समेत उहाँको झोलामा राखेको थिएँ । डिलारामले भड्काएछन् । म सित उहाँ पनि भाग्नु भयो । म सित भेट हुनुपर्दछ भनेर घर नजिकैको झाडीमा लुक्नु भएछ । विचरा हरिलाल जी सोझो मान्छेलाई आपत भयो । उहाँको श्रीमती म सित बोल्नु गाह्रो मान्नुभयो । मलाई सहयोग गर्ने वचत दिएका लिलानाथ र हरिलाल भागेपछि बैठक बस्न सकेन । बैठक बस्न नसके पनि केही त गर्नुपर्छ भन्ने लाग्यो । पार्टीका साथीहरु सित सल्लाह गरेर सम्मेलन कलकत्तामा गरिने ठेगान गरियो । कलकत्तामा सम्मेलनको प्रचार गरियो । एउटै मितिमा कलकत्ता र दिल्लीमा सम्मेलन भयो । संगठन फुट्यो । उहाँहरुले नयाँ पार्टी नेकपा (मसाल) गठन भएको एकता समाजको सम्मेलनबाट घोषणा गर्नुभयो । म संगठन फुटेपछि दुई कार्यकाल एकता समाजको सभापति भएँ । अहिलेको राष्ट्रिय सभाको अध्यक्ष नारायण दाहाल म पछि एकता समाजको सभापति भएका थिए ।
० अहिलेको पार्टी एकताको महत्व बारे बोल्नु हुन अनुरोध छ ?
–यो पार्टी एकता सामान्य एकता होइन । ऐतिहासिक आवश्यकताले यो एकता भएको हो । तीन पार्टीको सामान्य एकता भन्दा पनि कम्युनिस्ट आन्दोलनको तीन धारा, तीन प्रवृत्तिको एकता हो । विभिन्न समूहमा छरिएका क्रान्तिकारीहरुको एकता हो । क्रान्तिकारी माओवादी, बहुमत र मशाल तीन धाराको यो एकता हो । जनयुद्धसँगै लडेको भए पनि बहुमतका साथीहरुले अलग्गै लाइन बनाएर काम गर्नु भएको थियो । यो तीन धाराको एकतालाई एउटा नयाँ क्रान्तिकारी शक्तिको रुपमा विकास गर्न जरुरी छ । त्यसका निम्ति मुख्य रुपले नेतृत्वमा रहेका साथीहरुको परिपक्वताको आवश्यकता छ ।
हाँक साप्ताहिकबाट

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?