तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा तयार पारेर बिक्री गर्नलाई बोरामा प्याकिङसमेत गरेको छ । उत्पादन भइरहेको मललाई किसानसम्म पुर्याउनका लागि तयारी गरेको छ ।
भूमि व्यवस्थापन तथा सरसफाइ शाखाका प्रमुख माधव पौडेलले तत्कालका लागि दैनिक ७० केजी तुलसी कम्पोस्ट मल उत्पादन भइरहेको जानकारी दिनुभयो ।
उहाँले जनशक्ति र आवश्यक सामग्री थपसँगै दैनिक सङ्कलन भइरहेको छ टन गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा उत्पादन गरिने बताउनुभयो । उहाँले उत्पादन गरिएको मललाई किसानको खेतबारीमा पुर्याउनका लागि बजारीकरणमा समेत ध्यान दिइने बताउनुभयो ।

मल उत्पादनमा प्राविधिक सहयोग गरिरहेको ब्लु वेस्ट भ्युका कार्यकारी निर्देशक नवीनविकास महर्जन बस्नेतले ल्याब परीक्षण गरी उत्पादन भएको कम्पोस्ट मललाई बीजदेखि बारीसम्म प्रयोग गर्न सकिने बताउनुभयो । उहाँका अनुसार पालिकाले पाँच सय वटा क्यारेटमा गल्ने फोहोर राखेर दैनिक दुई हजार पाँच सय केजीसम्म मल उत्पादन गर्न सक्ने भौतिक संरचना तयार पारिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ मा मल उत्पादनका लागि भौतिक संरचनासमेत तयार पारिएको छ ।
तुलसीपुर–८, अश्वारमा फलफूलका बिरुवा उत्पादन गर्दै आएका किसान बुद्धिराज पौडेलले पालिकाले उत्पादन गर्न थालेको कम्पोस्ट मलबाट रासायनिक मलको प्रयोगलाई कम गर्दै प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।
उहाँले अब बजारमा रासायनिक मलको अभाव भए पनि विकल्पमा कम्पोस्ट मलको प्रयोगले माटोको उर्वराशक्ति बचाइराख्न सक्ने बताउनुभयो ।
नगर प्रमुख टीकाराम खड्काले खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोगलाई कम गर्नमा उत्पादन गरिएको कम्पोस्ट मलबाट सहयोग पुग्ने बताउनुभयो ।
उहाँले पालिकाको विभिन्न पकेट क्षेत्रलाई अर्गानिक क्षेत्रका रूपमा विकास गर्नमा जैविक मल उत्पादन भएसँगै सहयोग पुग्ने बताउनुभयो । उहाँले गल्ने र नगल्ने फोहोर नगरवासीले छुट्याएर सहयोग गरे कम्पोस्ट मल उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । नगर प्रमुख खड्काले फोहोरबाट मोहोर कमाउने कामको सुरुवात भएको बताउनुभयो ।
पालिकाले नगल्ने फोहोर सङ्कलन गरेर कुर्सी, टेबल, डेस्क, बेन्च र गमलासमेत बनाउँदै आएको छ । पालिकाभित्र दैनिक १९ टन नगल्ने फोहोर सङ्कलन हुने गरेको छ । याे समाचार गोरखापत्र अनलाइनकाे लागि गोकर्ण पौडेलले बिहीबार लेखेका छन् ।