पश्चिमी पुँजीपति वर्ग, विशेष गरी जर्मन एकाधिकारी साम्राज्यवादी राजनीतिक तथा सैन्य प्रवक्ताहरू युद्धसँगै सुत्छन् र युद्धसँगै उठने गर्छन् । खासगरी युक्रेनमा रुसले आक्रमण गरेदेखि नै उनीहरूका सबै प्रयास अर्थतन्त्रलाई युद्ध अनुकूल बनाउने रहेको छ भने हतियार उत्पादन नयाँ साम्राज्यवादी युद्धका लागि सैन्य शक्ति तयार पार्ने एउटा महत्वपूर्ण काम भएको छ ।

१६–१८ फेब्रुअरी २०२४ मा, ६० औं म्युनिख सुरक्षा सम्मेलन (MSC) म्युनिख, जर्मनीमा आयोजित हुँदैछ । उनीहरूले आयोजना गर्ने त्यो सम्मेलनमा साम्राज्यवादी लुटेरा तथा हतियारका एकाधिकारीहरुले युद्धको तयारी र सैन्य शक्ति तथा हतियार उत्पादन कसरी गर्ने र लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रतालाई धावा बोलेर कसरी घरेलु फासीवादको योजना बनाउने भन्ने विषयमा छलफल गर्नेछन् ।
निस्सन्देह, यहाँ साम्राज्यवादका सबै लुटेरा प्रतिनिधिहरूका बीच आफ्नै देश र एकाधिकारीको हितको रक्षाका लागि उच्च तहमा वार्ताहरू हुनेछन् । यस सम्मेलनमा सबै साम्राज्यवादी देशहरूले युद्धको पक्षमा लबिङ गर्नेछन् । छोटकरीमा भन्नुपर्दा, MSC साम्राज्यवादी एकाधिकारीहरुले विश्वको बाँडफाँड गर्न वार्ता गर्ने ठाउँहरू मध्ये एक हो । साथै, ध्रुवीकरण तीव्र हुँदै गएको यो वर्षमा हुने सम्मेलन निकै चर्काचर्की र धम्कीपूर्ण वातावरणमा हुने कुरा प्रस्ट छ ।
यो सम्मेलन NATO को “हल्लाउन नसक्ने सुरक्षा (Unshakable defence)” नामक पाँच महिना लामो अभ्यास सुरु भएसँगै हुँदैछ जसमा NATO का ३१ सदस्य र उम्मेदवार राष्ट्र स्विडेनका करिब ९०,००० सेना सहभागी हुनेछन् । यो स्पष्ट छ कि यो अभ्यास रूसका विरुद्ध गरिने एक तयारी र आक्रामक अभ्यास हो । जर्मनी फेरि पाँच महिनासम्म यो अभ्यासको सैन्य आधार हुनेछ ।
युरोपको आर्थिक शक्ति जर्मनी सैन्य शक्ति पनि बन्न चाहन्छ र सोही अनुसार तयारी गरिरहेको छ । चान्सलर स्कोल्ज, रक्षा मन्त्री, जनरल स्टाफ, आन्तरिक मन्त्री, राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सबैले युद्धको तयारी र युद्ध अर्थतन्त्रको कुरा गरिरहेका छन् । यति मात्र होइन, उनीहरूले समाजलाई पनि युद्धका आधारमा व्यवस्थित गर्न चाहन्छन् । जर्मनीले आफ्नो अर्थतन्त्र र समाजलाई साम्राज्यवादी युद्धका लागि तयार गरिरहेको बेला युरोपेली संघका अरु देशहरूलाई युद्धका निम्ति उक्साइरहेको छ ।
नेटोका महासचिव स्टोल्टनबर्गले युक्रेनलाई थप हतियार पठाउन चाहन्छन् । उनले ईयूको अर्थतन्त्रलाई युद्धअर्थतन्त्रमा परिणत गर्ने प्रस्ताव राखेका छन् । यो जरुरी रहेको उनको भनाइ छ । साथै, उनले “सम्भवतः दशकौंसम्म” रूससँगको द्वन्द्वका लागि यो उपयोगी हुनेछ भनेका छन् ।
जर्मन रक्षामन्त्री पिस्टोरियसले “युरोपमा युद्धको खतरा हुनसक्छ र यसको मतलब हामी युद्धको लागि तयार हुनुपर्छ” भनेका छन् । जर्मनीका चीफ अफ द जनरल स्टाफ, कास्र्टेन ब्रुअरले पनि वेल्ट एम सोनटाग अखबारमा जर्मन सेना पाँच वर्षभित्र “युद्धको लागि तयार हुनुपर्दछ” भनेका छन् । “यसको मतलब युद्ध हुनेछ भन्ने होइन, तर त्यो सम्भावना छ ।”

युक्रेन–रूस युद्ध (नाटो–रूस युद्ध भन्नु स्वाभाविक हुन्छ) बाट सबैभन्दा बढी फाइदा लिएको साम्राज्यवादी राइनमेटल एकाधिकारको नयाँ गोलाबारुद उत्पादन गर्ने कारखानाको उद्घाटनमा जर्मनी, डेनमार्क र पोल्याण्डका प्रधानमन्त्रीहरूको उपस्थितिले युरोपमा हतियार उत्पादन छिटो बढाउनुपर्छ भन्ने सन्देश दिएको छ । यसले जर्मन अर्थतन्त्र युद्धलाई केन्द्रमा राखेर पुनव्र्यवस्थित गरिदैछ भन्ने देखाउँछ ।
जर्मन साम्राज्यवादी पुँजीपति वर्गले जोडदिएर युद्धको तयारी गर्दैछ । पहिलो र दोस्रो साम्राज्यवादी युद्धको शुरुवातकर्ता, जर्मन साम्राज्यवाद युद्धको केन्द्रीय आधार बन्न र तेस्रो विश्वयुद्ध छेड्न गहन रूपमा काम गरिरहेको छ ।
पोल्याण्डले जर्मनी र नेदरल्याण्ड्ससँग ‘सैन्य शेन्जेन’ सम्झौतामा हस्ताक्षर गरेको छ । “फ्रान्सेली, जर्मन र पोलिश नेताहरूको सहभागितामा पेरिस नजिकै सेन्ट–क्लाउडमा वेमर त्रिभुज आयोजित गरिएको छ ।”युरोपेली पुँजीपति वर्गले लामो समयदेखि संयुक्त राज्य अमेरिकाबाट स्वतन्त्र रूपमा काम गर्ने उपायहरू खोज्दै आएको छ । साम्राज्यवादी युद्धको तयारीले नयाँ साम्राज्यवादी संघ वा ब्लकहरू (उप–ब्लकहरू) को निर्माणका लागि सहज भूमिका खेल्छ । परन्तु, EU पुँजीपति वर्गले यतिबेला संयुक्त राज्य अमेरिकाबाट अलग रहेर काम गर्न सक्दैन भन्ने कुरा बुझेको छ । यसले जर्मनीमा आधारित आफ्नो आर्थिक र सैन्य शक्ति बढाउन खोजिराखेको छ ।
यो बुझाइका आधारमा जर्मन पुँजीपति वर्गले EU मा आफ्नो प्रभाव र प्रभुत्व बढाउन कोशिस गरिरहेको छ र रुसी खतराको भाष्य प्रयोग गरी भ्ग् को सैन्य र आर्थिक उद्धारकर्ताको भूमिकामा भ्ग् देशहरुलाई आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेको छ ।
जर्मन पूँजीपति वर्गले नयाँ साम्राज्यवादी युद्धको तयारी गरिरहेको बेला आफ्नो अर्थतन्त्रलाई सैन्यीकरण गर्ने प्रक्रियामा देशमा फासीवादको सहारा लिँदै आएको छ । अन्धराष्ट्रवादका आधारमा समाजको ध्रुवीकरण भइरहँदा उसले फासीवादी तथा अलोकतान्त्रिक कानुन बनाउन हिचकिचाउने छैन ।
क्रिश्चियन डेमोक्य्राटिक पार्टी (CDU) सँगसँगै केही एकाधिकारवादीहरूले फासिस्ट अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीलाई भावी सरकारको रूपमा तयार गरिरहेका छन् । AfD एक्लै सत्तामा आयो भने जनताको कडा प्रतिक्रिया हुने हुनाले त्यसमा CDU को संलग्नता चाहन्छन् । उनीहरूले समाजलाई फासीवादी पार्टीसँग घालमेल गराउन खोजिरहेका छन् ।
जे होस्, जनताको फासीवाद विरोधी आक्रोस निकै चर्को छ । गत महिना जर्मनीका ५०० सहरमा ४० लाखभन्दा बढी मानिसले फासिवाद विरोधी जनप्रदर्शनमा भाग लिएका थिए । फासीवाद विरोधी प्रदर्शन र र्यालीहरू अझै पनि जारी छन् । परन्तु, उदारवादी युद्ध–पिपाशु सरकारले यी प्रदर्शनहरूलाई शान्त पार्ने प्रयास गरिरहेको छ ।
जर्मन पुँजीपति वर्ग फेरि एक पटक साम्राज्यवादी युद्ध निम्त्याउने शक्तिका रूपमा देखा परेको छ । इतिहास दोहोरिदैन तर साम्राज्यवादको चरित्रका कारण ठुला–ठुला साम्राज्यवादी राष्ट्रहरू विश्वमा प्रभुत्व जमाउन वा बजारको ठुलो हिस्सा कब्जा गर्न युद्धमा कहिल्यै पछि पर्दैनन् । विगतका युद्धहरूमा उनीहरूले भोगेको भारी पराजयबाट पाठ सिकेका छैनन् भन्ने होइन । तर, सम्भावित युद्धले अघिल्लो भन्दा ठूलो विनाश ल्याउने स्थिति भए पनि साम्राज्यवादी वर्गले आफ्नो आधिपत्य विस्तार गर्नका लागि साम्राज्यवादी आक्रमण र युद्धलाई कहिल्यै टार्न सक्दैन । जर्मन साम्राज्यवाद पहिलो र दोस्रो साम्राज्यवादी युद्धको सुरुआतकर्ता भए पनि यसले तेस्रो युद्ध सुरु गर्न पनि पछि पर्ने छैन । त्यसै अनुसार उसले अहिले तयारी गर्दैछ ।
साम्राज्यवादी युद्ध रोक्न सकिन्छ । सबै फासीवाद विरोधी, साम्राज्यवादी युद्ध विरोधी शक्तिहरु, विशेषगरी मजदुर वर्गले आफ्नो एकतालाई सुदृढ पारेर संघर्षलाई अघि बढाएमा मात्रै यो सम्भव हुन सक्छ ।
एकातिर, जर्मन पूँजीपति वर्गले आप्रवासीहरूप्रति शत्रुताको आधारमा समाजलाई ध्रुवीकरण गरिराखेको छ भने अर्कोतिर उनीहरूलाई थाहा छ कि उनीहरू आप्रवासी बिना चल्नै सक्दैनन् । पुँजीवादले श्रमशक्ति उत्पादन गर्न नसक्नुका कारण यस्तो भएको हो । तैपनि, पुँजीपति वर्गले आप्रवासीप्रति असहिष्णु भएको देखाएर श्रमिक वर्गलाई ध्रुवीकरण र विभाजन गर्ने र आफ्नो रक्तपातपूर्ण शक्तिको आयु लम्ब्याउने प्रयास गरिरहेको छ ।
वस्तुतः यी सबै सूचकहरूले साम्राज्यवादी व्यवस्थाको अन्त्य भइसकेको छ र उनीहरूले अर्को शताब्दी देख्न पाउने छैनन् भन्ने देखाउँछन् । किनभने पुँजीको संचय तथा केन्द्रीकरण र गरिबीको बृद्धि, र त्यसको परिणाम स्वरुप लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रताको हनन् एक अर्कासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।
यहाँ कम्युनिष्टहरूको एउटा ऐतिहासिक कार्यभार रहेको छ — कम्युनिष्टहरूले साम्राज्यवाद विरोधी, युद्ध विरोधी र फासीवाद विरोधी जनताको नेतृत्व गर्नुपर्छ र तदनुसार साम्राज्यवाद विरोधी, युद्ध विरोधी र फासीवाद विरोधी शक्तिलाई एकताबद्ध गर्ने कार्यनीति अपनाउनु पर्छ ।
यसका साथै, जनताको वास्तविक मुक्ति समाजवादबाट मात्र हुने हुनाले समाजवादलाई जनतासामु प्रस्तुत गर्नु पर्दछ । मजदुर वर्ग र उत्पीडित जनता निराशावादी हुँदैनन् । साम्राज्यवादी युद्धले समाजवाद निम्त्याउँछ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । मजदुर वर्गसँग गुमाउनका लागि हतकडी बाहेक केही छैन । तर जित्नका लागि एक विशाल संसार छ ।
(नोट : यो टर्कीको एउटा माओवादी पत्रिका (https://ozgurgelecek51.net) मा २१ फेब्रुअरी २०२४का दिन प्रकाशित भएको लेख हो । समय सान्दर्भिक हुनाले त्यस लेखको भावानुवाद गरी पुनः प्रकाशित गरिएको छ ।)