‘दर्शनको समग्र इतिहास दुई परस्पर विरोधी दार्शनिक विचारधारा : आदर्शवाद र भौतिकवादबीचको सङ्घर्ष र विकासको इतिहास हो । सम्पूर्ण दार्शनिक धारा र स्कुल यी दुई मौलिक स्कुलका अभिव्यक्तिहरू हुन् ।’
—माओ, द्वन्द्वात्मक भौतिकवाद, १९३८, क्रान्ति प्रकाशन सेकुन्दराबाद भारतद्वारा प्रकाशित माओ चुनिएका रचनाको अङ्ग्रेजी संस्करण, ग्रन्थ ६, पृ.२२० ।
बोलचालको भाषामा स्कुल भन्दा हामी विद्यालय, शिक्षालय र शैक्षिक संस्थालाई बुझ्दछौँ । यो पदावली ग्रिक भाषाको कअजयभि बाट आएको हो । यसको अर्थ हुन्छ— फुर्सत । त्यही फुर्सतको उपयोगलाई त्यति बेला स्कुल भनिन्थ्यो । फुर्सत भनेको व्यापार, जागिरको खोजी, घरेलु काम, शिक्षा, खानपिन, सुताइजस्ता आवश्यक गतिविधिहरूबाट टाढा रहेर बिताएको समय हो । तर आज स्कुल भनेको फुर्सतको समय उपयोग होइन, यो त जीवनको अभिन्न अङ्ग बनेको छ ।
स्कुलको इतिहास हेर्दा इसापूर्व ४२५ तिर ग्रिस, रोम र बैजन्तियाबाट सुरु भएको मानिन्छ भने पूर्वको भारत र नेपाललाई हेर्दा प्राचीन महाभारत र उपनिषद् कालबाट सुरु भएको छ । उपनिषद्को शाब्दिक अर्थ नै छेउमा बसेर गुरुले शिष्यलाई बताउने रहस्य हो । गुरुकुल स्कुल यसको उदाहरण हो । अनुभवी र त्यागी मानिएका ऋषि–मुनीहरूको अनुशासन, अक्षरारम्भ र उपदेश त्यस बेलाको स्कुल हो । पश्चिममा १२ औँ शताब्दीबाट विश्वविद्यालयको शिक्षा प्रारम्भ भएको पाइन्छ भने हाम्रोतिर त्योभन्दा पहिले नै नालन्दा विश्वविद्यालय प्रसिद्ध थियो ।
हामीले यहाँ चर्चा गर्न खोजिरहेको स्कुल भनेको आम स्कुल होइन, बरु यो त एउटा उन्नत स्कुलको कुरा हो । यसलाई उन्नत समाज निर्माण गर्नका लागि उन्नत स्कुल भन्न सकिन्छ । यो त वर्तमान एकाधिकार पुँजीवादी समाज व्यवस्थालाई पल्टाएर वैज्ञानिक समाजवादी र साम्यवादी व्यवस्था स्थापना गर्ने स्कुल हो । अर्को शब्दमा यो त वर्तमान एकाधिकार पुँजीवादी विचारधारा, रीतिरिवाज, बानीबेहोरा, संस्कृति र विरासतलाई पल्टाएर साम्यवादी विचारधारा, रीति–रिवाज, बानीबेहोरा, संस्कृति र विरासत निर्माण गर्ने स्कुलको कुरा हो । दार्शनिक रूपले यी दुई समाज व्यवस्थाका दुई विपरीत दार्शनिक स्कुल छन् : आदर्शवाद र भौतिकवाद । माओको भाषामा ‘सम्पूर्ण दार्शनिक धारा र स्कुल यी दुई मौलिक स्कुलका अभिव्यक्ति हुन् ।’
अतः स्कुल भनेको एउटा यस्तो चिन्तनप्रक्रिया हो, यस्तो शिक्षा हो जसले मानिसहरूलाई प्रकृति र समाजका नियमहरूअनुसार अघि बढ्न र विकासको बाधक बन्ने समाजलाई बदल्न सिकाउँछ । साम्यवादी स्कुल भनेको त्यस्तो विश्वदृष्टिकोणको विकास गर्ने विद्यालय हो जसले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण मान्दछ र विश्वलाई गतिशील रूपमा बुझ्दै बदल्ने कार्य गर्दछ ।
कुनै पनि देशको साम्यवादी दल उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी स्कुलको वाहक हो । यो विश्वसाम्यवादी आन्दोलनको एक टुकडी पनि हो । यसलाई आफूभित्र रहेका फोहोरमैला सफा गर्न र विश्वदृष्टिकोणको समस्या समाधान गर्न स्कुलिङको आवश्यकता हुन्छ । साम्यवादी आन्दोलनभित्र स्कुल भनेको कुनै माक्र्सवादी शिक्षकले आफ्ना विद्यार्थीहरूलाई प्रवचन दिनु मात्र होइन, बरु साम्यवादी सिद्धान्त र व्यवहारका बीचको खाल्डो पुर्नु हो । यही प्रक्रियामा हामीलाई साम्यवादी स्कुलको आवश्यकता पर्दछ ।
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा साम्यवादी दलको घोषणापत्र प्रकाशन गरिसकेपछि माक्र्सवादी स्कुलको प्रारम्भ भयो र आज त्यो माओवादमा विकास भएर अघि बढिरहेको छ । समाजवादी देशहरू सोभियत सङ्घ, मङ्गोलिया, पूर्वी जर्मनी, युगोस्लाभिया, चेकोस्लोभाकिया, बुल्गेरिया, रुमानिया, पोल्यान्ड, हङ्गेरी, चीन, जनगणतन्त्र कोरिया (उत्तरकोरिया), क्युबा, भियतनाम, कम्बोडिया र लाओसमा प्रतिक्रान्ति भयो भने चिले, इन्डोनेसिया, निकारागुआ, फिलिपिन्स, टर्की, पेरू र नेपालमा क्रान्ति असफल भयो । प्रतिक्रान्ति र असफलताले विश्वसाम्यवादी आन्दोलनमा निराशा, टुटफुट र विकृति ल्याएको छ । आखिर यसको विचारधारात्मक औषधी भनेको स्कुलिङ नै हो ।

मालेमावादी स्कुल भनेको विचारधारात्मक स्कुल हो । विचारधारात्मक स्कुल भनेको पथप्रदर्शन गर्ने शिक्षा हो । पथप्रदर्शन गर्ने शिक्षाको उज्यालोबिना व्यवहारले स्टालिनको भाषामा भन्दा ‘अन्धकारमा छामछामछुुमछुम गर्दछ ।’ यस स्कुलका तीन सङ्घटक अङ्ग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको ज्ञान नभएको मानिस साम्यवादी हुन सक्दैन । एउटा साम्यवादीले यी तीनवटै विषयमा आधारभूत ज्ञान हासिल गर्नैपर्छ । कम्तीमा पनि साम्यवादी दलको सदस्य हुने व्यक्ति द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा विश्वस्त, गाँस, बास र कपास जीवनको आधारभूत पक्ष भएकाले त्यसको प्राप्तिका लागि आधारभूत नियम बुझेको, वर्गसङ्घर्ष– सशस्त्र सङ्घर्ष– सर्वहारा अधिनायकत्व क्रान्तिको अभिन्न अङ्गको शृङ्खला भएको कुरा राम्रोसँग बोध गर्ने हुनुप¥यो । यसका लागि स्कुलिङ आवश्यक हुन्छ ।
स्कुलमा हुने स्कुलिङले अध्ययन र अनुसन्धानका लागि प्रेरित गर्नुका साथै अध्ययनका विषयवस्तु, अध्ययन सामग्री र भविष्यको बाटो खोलिदिन्छ । यसले गर्दा साम्यवादी कार्यकर्ताहरूको साम्यवादी र गैरसाम्यवादी साहित्यको अध्ययन गर्ने रुचि र बानी विकास हुन्छ । जब अध्ययनले मानिसलाई नसाका रूपमा प्रभाव पार्दछ तब मात्र निरन्तर पढ्ने बानी बस्दछ । पढ्ने बानी भएका मानिसलाई नै चुरोटको अम्मलीजस्तै किताबको तलतल लाग्छ । एउटा साम्यवादीले माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका मौलिक रचनाहरू अध्ययन गर्नैपर्दछ । यसो गर्ने होइन भने आफूलाई साम्यवादी ठान्ने कार्यकर्ताले पुँजीवादी तथा संशोधनवादीहरूले ‘माक्र्सवाद पुरानो भइसक्यो’, ‘साम्यवाद मरिसकेको छ’ र ‘पुँजीवाद एक मात्र विकल्प हो’ भन्दा ताली ठोकेर बस्छ र कुनै जडसूत्रवादीले गुरुहरूका हरेक उद्धरणलाई वैज्ञानिकभन्दा पनि क्या बात् ! भन्दै मख्ख पर्दछ । त्यसकारण हाम्रो स्कुलको प्रवेशद्वारमा ‘मौलिक माक्र्सवादलाई दह्रोसँग समात र समयको विकाससापेक्ष माक्र्सवादको विकास गर’ भन्ने नारा लेखिएको हुनुपर्दछ ।
माक्र्सले पहिलो अन्तर्राष्ट्रियको उद्घाटन भाषणमा भन्नुभएको छ, ‘मजदुरहरूसँग सफलताको एउटा तत्व छ, त्यो हो सङ्ख्या । परन्तु सङ्ख्या तब निर्णायक हुन्छ जब जनसाधारण सङ्गठनमा आबद्ध हुन्छन् र ज्ञानले उनीहरूको नेतृत्व गर्दछ ।’ हामीसँग बहुसङ्ख्यक जनता उत्पीडनमा छन् र उनीहरूलाई मुक्ति आवश्यक छ । तर त्यो मुक्ति कसरी हुन्छ र कुन उपायले गरिन्छ भन्ने कुराको ज्ञान तथा सङ्गठनात्मक एकताबिना जनता जहाँको तहीँ हुन्छन् । ज्ञानले तिनको नेतृत्व गर्नुपर्दछ भन्नुको अर्थ बहुसङ्ख्यक जनतालाई स्कुलको आवश्यकता छ भन्नु हो । एउटा शृङ्खलाबद्ध ज्ञानको अभावमा क्रान्ति हुँदैन । लेनिनले ‘क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुन सक्दैन’ भन्नुको अर्थ यही हो । प्रतिक्रान्ति र असफलताबाट शिक्षा लिएर क्रान्ति सफल पार्न पनि हामीलाई त्यो शिक्षा प्राप्त गर्ने सूक्ष्मदर्शक मालेमावादी दर्शन त अवश्य प्राप्त भएको हुनुपर्दछ ।
लेनिनले हामीलाई ‘ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो’ भनी सिकाउनुभएको छ । ठोस वस्तुको ठोस विश्लेषण गर्ने वैज्ञानिक विचारधारात्मक विधि र दर्शन त हामीलाई चाहिन्छ । त्यो विधि भनेको भौतिकवादी द्वन्द्ववाद हो भने त्यो दर्शन भनेको द्वन्द्ववादी भौतिकवाद हो । ठोस वस्तु द्वन्द्ववादी भौतिकवाद हो भने त्यसको विश्लेषण गर्ने विधि भौतिकवादी द्वन्द्ववाद हो । माक्र्सको जमानामा ठोस वस्तु पुँजीवाद थियो भने लेनिनको जमानामा त्यो पुँजीवादी साम्राज्यवाद बन्यो । ठोस वस्तुको ठोस विश्लेषण गर्दा हामी जड होइन गतिवान् हुनुपर्दछ । आदर्शवादीहरूको वस्तु गतिशील हुँदैन, उनीहरूको वस्तु जड तथा स्थिर हुन्छ । त्यसकारण उनीहरू इतिहासको गर्तमा फ्याँकिन्छन् र इतिहास उनीहरूको छातीमाथि परेड खेल्दै वर्तमान तथा भविष्य बन्दछ । त्यसकारण भौतिकवादीहरूको स्कुल गतिशील हुनुपर्दछ ।
माओले हामीलाई स्कुलिङ गर्नुभएको छ : ‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ ।’ हाम्रो अगाडि के प्रश्न तेर्सिन्छ भने सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा कहाँबाट आउँछ ? हामी यसको जबाफ माओकै भाषामा दिने कोसिस पक्कै गर्नेछौँ, ‘त्यो तीनवटा सामाजिक व्यवहार : उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ ।’ सही जबाफ पनि यही हो । सामाजिक व्यवहारमा नगईकन हामीले सही कार्यदिशाको कुरा गर्नु भनेको माओका भाषामा ‘समय खेर फाल्नु हो ।’ हामीले सही कार्यदिशा बनाउने हो भने क्रान्तिमा भाग लिनैपर्छ । क्रान्तिकारी व्यवहारबाट क्रान्तिकारी विचारधारात्मक तथा राजनीतिक कार्यदिशा बन्दछ । यहाँ के कुरामा सतर्क हुनुपर्दछ भने व्यवहारमा गएर मात्र सही कार्यदिशा बन्ने भइदिएको भए जनयुद्ध विजयी भइहाल्ने थियो । क्रान्तिकारी व्यवहारलाई क्रान्तिकारी सिद्धान्तमा विकास गर्ने र क्रान्तिकारी सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रूपान्तरण गर्ने क्षमताको विकास क्रान्तिकारीले गर्नैपर्दछ । माक्र्स–एङ्गेल्स कुनै पनि सिद्धान्तमा चिप्किएर बस्नुभएन र कुनै व्यवहारमा अनुभववादी भएर बस्नुभएन । १८४८–१८५० को असफल क्रान्तिलाई ‘फ्रान्समा वर्गसङ्घर्ष’ लेखेर सिद्धान्तमा उठाउनुभयो र पेरिस कम्युनमा पुग्नुभयो । फेरि त्यसलाई पनि ‘फ्रान्समा गृहयुद्ध’ लेखेर माथि उठाउनुभयो । लेनिनले १९०५ को क्रान्तिमा भाग लिनुभयो र पराजय भोग्नुप¥यो । बारम्बार त्यसबाट शिक्षा लिँदै १९१७ को फेब्रुअरी क्रान्ति गर्नुभयो र त्यसलाई अक्टोबर क्रान्तिमा लगेर विजयमा पु¥याउनुभयो । माओले १९२४ देखि १९४९ को दीर्घकालीन जनयुद्धमा कैयौँ पराजयहरूबाट अन्ततः विजय प्राप्त गर्नुभयो । तर उहाँले हरेक हारबाट नयाँ–नयाँ रचनाहरूको विकास गर्नुभयो । पराजयको परिणाम नै थियो १९३४ देखि १९३५ को चुनई बैठकसम्मको लम्बे अभियान । यसपछि नै विकास भएका थिए— माओका दार्शनिक रचनाहरू : ‘व्यवहारबारे’ र ‘अन्तरविरोधबारे’ । यही सेरोफेरोको वर्गयुद्धबाट विकास भएको थियो– ‘दीर्घकालीन जनयुद्ध’ को सैन्य कार्यदिशा । यही प्रक्रियामा विकास भएको थियो— राजनीतिक कार्यदिशा ‘नयाँ जनवाद’ । नयाँ जनवादी क्रान्तिको प्रक्रिया विजयमा पुगेपछि थप सिद्धान्तको संश्लेषण गर्दै उहाँ वैज्ञानिक समाजवादमा प्रवेश गर्नुभयो र १९५६ मा यसले विजय हासिल ग¥यो । थप दुई लाइन सङ्घर्ष र यसको सैद्धान्तिक संश्लेषणले माओलाई महान् सर्वहारा सांस्कृतिक क्रान्ति अर्थात् सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिमा पु¥यायो । यही नै आजसम्म माक्र्सवादी सिद्धान्तको शिखर बनिरहेको छ । त्यसपछि कुनै पनि क्रान्ति सफल भएका छैनन् र कुनै नयाँ सैद्धान्तिक संश्लेषण पनि भएको छैन । यसकारण सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा व्यवहार–सिद्धान्त–व्यवहारको परिणाम हो ।
साम्यवादी आन्दोलनको हरियो घाँसमा रहने हरियो सर्प भनेको संशोधनवाद र अवसरवाद हो । यसले विश्व र नेपाली कम्युनिस्ट आन्दोलनमा भयानक क्षति पु¥याएको छ । संशोधनवाद भनेको माक्र्सवादको तोडमोड हो । यो बढी सिर्जनात्मकता र आलोचनाका रूपमा देखापर्छ । लासाल, बर्नस्टिन र काउत्स्की वास्तवमा संशोधनवादी थिए । १९ औँ शताब्दीको प्रारम्भदेखि १९३४ सम्म सिर्जनात्मकताकै नाममा म्याक्स एड्लर, ओटो बाबेर, रुडोल्फ हिल्फडिङ र कार्ल रेनरले भियानालाई केन्द्र बनाएर भियाना स्कुल चलाएका थिए । १९२० हुँदै १९३० बीच जर्मनीमा फ्र्याङ्कफर्ट स्कुल स्थापना भएको थियो । यसका महारथीहरू होरखेमर, माक्र्युज, एडर्नाे र लोवेन्थल थिए । यी दुवै स्कुल सिर्जनात्मकता र आलोचनाका नाममा माक्र्सवादविरोधी थिए । यसका साथै उनीहरूले बोल्सेबिक क्रान्तिका विरुद्ध आलोचनाको बौछार गरेका थिए । फ्र्याङ्कफर्ट स्कुलका अनुयायीहरू त सोभियत सङ्घको विघटनसम्म पनि आइपुगे । त्यसपछि उत्तरआधुनिकतावादी स्कुल हाबी भयो । त्यसकारण संशोधनवादी र अवसरवादी स्कुलको नियन्त्रण गर्दै उन्मूलन गर्न निरन्तर मालेमावादी स्कुल चलाउन जरुरी छ ।
मूलतः साम्यवादी सिद्धान्त मालेमावादको रक्षा, प्रयोग र विकास गर्न; साम्यवादी सिद्धान्तअनुरूप साम्यवादी आचरण आजैदेखि साम्यवादी दलमा लागू गर्न; राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनमा टुटफुट र विभाजनबाट आउने निराशालाई आशामा रूपान्तरण गर्न; साम्यवादी नेता तथा कार्यकर्ताहरूलाई समस्या होइन, समाधान बनाउन; विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही बनाउन; विभिन्नखाले अवसरवादी तथा संशोधनवादी तत्वहरू जो साम्राज्यवाद र प्रतिक्रियावादसँग जोडिएका हुन्छन् । तिनलाई पहिचान तथा नियन्त्रण गरी क्रान्तिकारी प्रवृत्ति हाबी गराउन स्कुलिङ चलाइन्छ । यसमा नै स्कुलिङको महत्व रहेको हुन्छ ।
स्कुलबाट दिइने स्कुलिङको के महत्व रहेको छ भन्ने सवालमा यहाँ माओको संश्लेषणलार्ई उद्धृत गरौँ : ‘मानिस र हतियारमा मानिसलाई प्राथमिकता देऊ; राजनीतिक कार्य र अन्य कार्यमा राजनीतिक कार्यलाई प्राथमिकता देऊ; विचारधारात्मक कार्य र तालिकाबद्ध राजनीतिक कार्यमा विचारधारात्मक कार्यलाई प्राथमिकता देऊ; किताबी दर्शन र जीवनदर्शनमा जीवनदर्शनलाई प्राथमिकता देऊ ।’ गोर्कीले भनेजस्तै ‘हातलाई सशस्त्र पार्नुभन्दा पहिले मस्तिष्कलाई सशस्त्र पार्नुपर्दछ ।’ यसले गर्दा नै सही निशाना लाग्न सक्छ । अन्ततः विश्वदृष्टिकोणको समस्या समाधान गर्ने शैक्षिक उपायको नाम स्कुलबाट दिइने स्कुलिङ हो ।
(क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको मुखपत्र ‘माओवादी’ बाट साभार)