जनयुद्धका पदचापहरू

संस्मरण
सुजन आयाम
जनमुक्ति सेनाले पाल्पामा धावा बोलेको केही दिन मात्रै भएको थियो । मैले अहिले सम्झिएअनुसार ढाडमा टेकेर टाउकोमा हान्ने अभियान वा प्रत्याक्रमणको चरणको पहिलो आक्रमण पाल्पा सदरमुकाम कब्जा गरेको पहिलो केन्द्रीकृत आक्रमण थियो । हामीले पाल्पा सदरमुकाम कब्जा गरेको केही दिन भएको थियो । त्यो लडाइँमा घाइते भएका कमरेडहरूलाई जुन डिभिजन जुन बाटोबाट आएको थियो त्यो बाटोबाट नै लडाइँमा भएका घाइते कमरेडहरूलाई फर्काउने आदेश थियो । तर घाइते भएका हाम्रो चौथो डिभिजनका कमरेडहरूलाई पूर्वतिर ल्याउनुपर्ने अवस्था थियो । हाम्रो चौथो डिभिजनअन्तर्गत वसन्त स्मृति ब्रिगेडका सबै कमरेडलाई बहादुरपुरमा सामान्य घाइते र जटिल घाइते भएका कमरेडहरूलाई छुट्ट्याएर राखिएको थियो । बहादुरपुरबाट हामी सामान्य घाइते भएकाहरू सन्चो भएर फर्मेसनमा जोडिन पुग्यौँ तर शाहीसेनाको सपना भने ठूलै थियो– जसरी हुन्छ पाल्पाका घाइते कमरेडहरूलाई नियन्त्रणमा लिई मार्ने । माओवादी कब्जाका लागि शाहीसेना बुटवल, तनहुँ, पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मीलगायत चारैतिरबाट अगाडि बढेको थियो । त्यसकारण हाम्रो अगाडि चुनौती नै चुनौतीका चाङहरूको भीड लागेको थियो । जसरी भए पनि शाहीसेनासँग लडाइँ लड्दै र घाइते कमरेडहरूलाई बचाउन सुरक्षित स्थानतिर लाग्नु नै हाम्रो दायित्व थियो । हामी जुनसुकै बेला पनि शाहीसेनासँग लड्नुपर्ने हुनसक्छ भन्दै मानसिक तथा शारीरिक रूपमा तयारीका साथ खाने, बस्ने सुत्ने बेला पनि ख्याल गर्दै बसेका थियौँ । अनि हाम्रो टिम बहादुरपुरको गाउँ छोडेर वसन्तपुरतिर लाग्यो । हामीलाई राम्रोसँग थाहा थियो– हामीलाई शाहीसेनाले चौतर्फी घेरा हालेको छ । जतिखेर पनि लडाइँ हुनसक्छ, सहिद हुन सक्छौँ भन्ने कुरा राम्रोसँग थाहा थियो तर पनि मुख्य कुरा विचार नै हो । देश र जनताको मुक्तिका लागि सहिद हुन पनि तयार भएर अगािड बढिराखेका थियौँ ।

दुई दिनको यात्रापछि वसन्तपुरको डाँडामा पुगेका थियौँ । कमान्डरले आदेश दिनुभयो– आआफ्नो टिम आर्क मिलाएर बस्नू । आधा घन्टा तलको मन्दिरमा साताको एकदुईचोटि शाहीसेना आउँछ भन्ने सूचनाका साथ हामी त्यो ठाउँमा बसेका थियौँ । लगातार दुई दिन रातको ३–४ बजे उठी बाटो कुरेर बसेका थियौँ तर पनि शाहीसेना आएको थिएन । तेस्रो दिन बिहान पनि त्यस्तै गरी राती ३ बजेदेखि हाम्रो बटालियनका सबै कमरेड बिहान सात बजेसम्म शाहीसेनालाई कुरेर बसेका थियौँ तर पनि शाहीसेना आएको थिएन । हामी केही कमरेडहरूलाई सेन्टीमा राखी बस्ने ठाउँतिर लाग्यौँ । केही कमरेड मेसमा खाना बनाउँदै थिए । केही कमरेड त्यो जङ्गलमा क्याम्प फायर गरेर बसेका थिए ।

बिहानको १०–११ बजेको थियो होला । हामी खाना खानका लागि डाँडाबाट तल जनताको घर भएको ठाउँतिर जाँदै थियाँै । एक्कासि फायर भएको आवाज आयो अनि कमिसार कमरेड पवन, कमान्डर कमरेड दीपक, भीसी कमरेड टाइगरले भन्नुभयो– तल सेन्टी बसेका कमरेडहरूसँग भिडन्त भइसक्यो । छिटोछिटो फर्किनुस् । हामी खाना खान गएका कमरेडहरू आदेश आउनासाथ हतारहतार गर्दै भिडन्त भएको ठाउँतिर कुद्दै गयौँ । तल साथीहरू भिडन्त गरिरहेका थिए । हामी पनि सपोर्ट दिँदै फायर गर्दै कमरेडहरू भएको ठाउँमा पुग्यौँ । मेरो एकदमै मन मिल्ने कमरेड दीपकको शरीर रगताम्मे भएर ढलेको देख्दा मेरो मनमा बदलाभाव जन्मियो । म चिच्याउँदै शाहीसेनामाथि मेरो बन्दुकको नालबाट अन्धाधुन्ध गोली हान्न थालेँ । हामी सबैले गोली हानेर शाहीसेनालाई बाँदर लखेटेजस्तै लखेट्यौँ । हामीले दुस्मनलाई टार्गेट विपन र एरिया विपन फायर गर्दै आधा घन्टाजति लखेट्यौँ । शाहीसेना ‘गो ब्याक, गो ब्याक’ भन्दै अन्धाधुन्ध फायर गर्दै भाग्यो । हामी पनि स्वयम्डाँडा हुँदै फर्कियौँ । शाहीसेनाका केही झोला, ग्रिनेट र गोली कब्जा गर्न सफल भयौँ । शाहीसेनातिर दुईतीनजनाले ज्यान गुमाए । पाँचसातजना घाइते भएको अनुमान ग¥यौँ । हामीले तार्जेट विपनभन्दा धेरै एरिया विपन प्रयोग गरेको हुनाले अनुमान लगाउन सजिलो भएको थियो । हाम्रातर्फबाट कमरेड दीपक सहिद हुनुभयो । मेरो अनुमानमा कमरेड दीपकलाई शाहीसेना आएको थाहा भएनछ । बिहान आफ्नोअगाडि नदेखिने कुहिरो लागेको हुनाले कमरेड दीपकलाई शाहीसेना आएर आफ्नो एसएलआर खोसेको पनि थाहा भएनछ । शाहीसेनाले एसएलआर खोस्नेबित्तिकै गोली हानी उहाँलाई ढालेको रहेछ । अनि मात्रै अरू कमरेडले थाहा पाएर फायर गरेका हुन् भन्दै हुनुहुन्थ्यो ।

कमरेड दीपक सहिद भएको घटनाले मलाई एकदमै भावुक बनायो । कमरेड दीपक र म धेरै लामो समय एउटै टिममा कार्यरत थियौँ । जनयुद्धका मोर्चाहरू सँगै लडेका थियौँ । धेरैचोटि मुस्किलले बाँचेको अनुभूति मसँग ताजै थियो । म पाल्पामा घाइते हुँदा करिब २० मिनेटजति होस आएको थिएन बमको धमाकाका कारण । कमरेड दीपक नै हो सबैभन्दा पहिला मलाई उठाउने व्यक्ति । त्यसो भएको हुनाले पनि हुनसक्छ असाध्यै माया लाग्यो र भावनात्मक रूपमा सतायो । पश्चिम नेपालका आधा दर्जनजति युद्धमोर्चामा सहभागी हुँदै एकले अर्कोको सहयोगी भूमिका निर्वाह गर्दै आएका थियाँै । कमरेड दीपक सहिद हुनुभन्दा एक दिनपहिला पनि हामी दुईजना नै तलसम्म शाहीसेना आउँछ कि आउँदैन भनेर हेर्नका लागि एक–डेढ घन्टाको बाटो गएर शाहीसेनाका बारेमा बुझेका थियौँ । तर त्यो दिन पनि हाम्रो पालो परेन । कमान्डरले अरू कमरेडहरूलाई नै पठाउनुभएको थियो । तर के गर्ने, युद्धको नियममा बस्नुपर्ने हुन्छ । मिलन र बिछोडलाई हामी भौतिकवादी–माक्र्सवादीहरूले सहजै स्वीकार गर्नुको विकल्प हुँदैन । क. दीपक सहिद हुनुभन्दा केही घन्टापहिला मलाई जिस्क्याइराख्नुभएको थियो । म पनि भन्दै थिएँ– बेकार, सेना आउने होइन । त्यत्तिकै दुःख मात्रै दिन्छन् यार कमान्डरले । यो चिसो समयमा जङ्गलमा मात्रै राख्छन् । जनताको घरमा गएर बसे पनि हुन्छ भन्दै क. दीपक र म हाँसीमजाक गर्दै कुरा गरिराखेका थियौँ । दीपक आफू सेन्टी बस्ने ठाउँमा बङ्कर बनाउँदै हुनुहुन्थ्यो । मैले पनि दुईचारवटा ढुङ्गा ल्याइदिएको थिएँ । क. दीपक बङ्कर बनाउँदै आफू बस्नका लागि सेउला काट्दै हुनुहुन्थ्यो । मलाई भन्दै हुनुहुन्थ्यो– फाइटर, मलाई प्लास्टिकमा खाना लिएर आउनुहोला । म पनि हुन्छ भन्दै माथितिर गएको थिएँ । क. दीपकले भनेका सबै कुराहरू मेरो मानसपटलमा घुमिराखेका थिए । दीपकले मलिनो भाषामा मलाई भनेका कुराहरू सम्भmना आइरहेको थियो । अनि केही समयको अन्तरालमा बिछोड हँुदाखेरि विगतका सबै कुरा सम्झना आउँदो रहेछ । युद्धको नियमलाई स्वीकार गर्नु पर्दछ । मिलन र बिछोड एकअर्काका सहयोगी हुन् भन्ने कुरा गहिरोसँग अनुभूति भयो ।

बिहानको लडाइँ, दिउँसभरिको खाली पेट र बेलुका ८ बजेसम्मको हिँडाइले हातखुट्टा गलेको थियो । मनमनै कमान्डरले बस भन्ने आदेश दिए हुन्थ्यो भन्ने लागिरहेको थियो । तर पनि करिब दुई घन्टा थप हिँडेपछि कमान्डरको आदेश आयो– अब आराम गरौँ । हामी सबैले रूखको फेदमा हल्का आराम गर्ने ठाउँ बनायौँ । सेउलालाई बिस्तरा बनाई रूखहरूलाई घरको छाना बनायाँै । खानाका रूपमा चामलमा चिनी हालेर खायौँ । कम्मलका रूपमा पातलो सल ओढ्यौँ तर पनि हाम्रो मानसपटलमा दुःख भन्ने शब्द नै आएन । कमरेडहरूसँग भएका बिछोड, मिलन, सबै पीडाहरू राज्यसत्तालाई बदल्नेबाहेक अरू कुनै उद्देश्यले प्रेरित थिएनन् । मुख्यतः राज्यसत्ता आमउत्पीडित जनताको हातमा आउनुपर्छ । सबैले बाँच्ने अधिकार पाउनुपर्छ भन्ने विचारले मात्र घर गरिराखेको हुन्थ्यो । अनि जङ्गलको बास, बिहानको चिसो सिरोटेले हल्का निदाउने आँखाहरूलाई ब्युँझाइदियो । सँगै चराचुरुङ्गीहरूले आफ्नै साथीहरू बोलाउँदाको धुनको आनन्द कानभित्र छिर्दाको अनुभूतिले पीडा र दुःख पाएको शरीर र मनलाई आनन्दित पारिदिँदो रहेछ ।

हामीले हाम्रो बिहानको यात्रा सुरु ग¥यौँ । करिब तीन घन्टा हिँडेपछि सानो गाउँमा पुग्यौँ । जनतासँग घुलमिल हुन थाल्यौँ र खाना बनाउन सुरु ग¥यौँ । खाना पाक्दै थियो । अचानक खबर आयो सेटमा– हाम्रो टिमसँग शाहीसेनाको लडाइँ सुरु भइसक्यो भनेर । हेलिकोप्टर पनि हामी भएको गाउँको माथिमाथि उडाइराखेको थियो । कमान्डरहरूले छिटोछिटो खाना खानू, अर्को टिमसँग लडाइँ भैराखेको छ, हामी भएको माथि डाँडामा हेलिकप्टर बसाल्न सक्छ र सेनालाई राख्न सक्छ भन्नुभयो । हामी खाना खान थाल्याँै । दुई दिनसम्म खाना नखाएको हुनाले पनि होला नपाकेको दाल र भात मिठो मानेर खायौँ । खानेबित्तिकै हतारहतार गर्दै हामी माथिको डाँडामा गएर हेलिकोप्टर आयो भने एलएमजीले हान्नुपर्छ भनेर आर्क मिलाएर राख्यौँ तर हेलिकोप्टर आएन । आकाशमा मात्रै फन्को मारिराख्यो । हाम्रो अर्को टिमसँग शाहीसेनाको लडाइँ परिराखेको थियो । हामीसँग हिजो बिहान लडाइँ भएको शाहीसेना रहेछ । हाम्रा कमरेडहरूले शाहीसेनालाई विद्युतीय धराप त थाप्नुभएको रहेछ तर सेना आइनपुग्दै प्राविधिक त्रुटिका कारण पहिला नै विस्फोट भएको रहेछ । त्यसो भएको कारणले पनि शाहीसेनालाई खासै क्षति हुन सकेन तर केही समयको भिडन्तमा शाहीसेनालाई क्षतविक्षत बनाउन भने कमरेडहरू सफल हुनुभएको रहेछ ।

हाम्रो टिम त्यो डाँडाबाट बेलुका नै पश्चिम पाल्पातिर लाग्यो । हाम्रो पार्टीले प्रत्याक्रमणको योजनालाई सफल बनाउनका लागि गण्डकमा फौजी आक्रमण तीव्र र केन्द्रीकृत गर्दै जाने नीतिअनुरूप लालसेनाको ४ वटा डिभिजनको केन्द्रीकरण गरेका थियौँ तर शाहीसेनाले पनि गण्डकभित्र भएको फोर्सलाई केन्द्रीकरण र विकेन्द्रीकरणका साथ परिचालन गरेको थियो । तर पनि हामीले यी सबै षड्यन्त्रको सामना गर्दै फौजी आक्रमणलाई तीव्र बनाउनुको विकल्प थिएन ।
(प्रकाशोन्मुख ‘जनयुद्धका पदचापहरू’ बाट उद्धृत)

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?