पूर्वस्मृति
पृष्ठभूमि
कुनै पनि मानिस, घटना वा सन्दर्भको दीर्घ–स्मृति वा अमीट सम्झना विशेष क्षणमा विशेष सन्दर्भका कारणले हुने गर्छ । स्मृति पनि सकारात्मक र नकारात्मक दुई किसिमका हुने गर्छन् । सकारात्मक घटना र स्मृतिले जीवनलाई दीर्घकालसम्म सकारात्मक ऊर्जा दिइरहँदा रहेछन् भने नकारात्मक घटना, पात्र र प्रवृत्तिले सदैव नकारात्मकतातर्फ डोहो¥याउँदा रहेछन् । सकारात्मक पात्र, सन्दर्भ र घटनाहरूले नै जीवनलाई ऊर्जाशील र गतिशील बनाउने रहेछन् ।
जीवनका अनगिन्ती घटना–शृङ्खलाहरूमा लाखौँ पात्र र प्रवृत्तिसँग साक्षात्कार हुन्छ तर कतिपय व्यक्ति, घटना र सन्दर्भहरूको अर्थ, महत्व दीर्घकालीन प्रकृतिको हुन्छ÷हुँदो रहेछ । प्राध्यापक डाक्टर ओम गुरुङप्रति मेरो सम्झना र स्मृति पनि केही महत्वपूर्ण सन्दर्भका कारण दीर्घकालीन र अमीट प्रकृतिको बन्न पुगेको छ । यो छोटो स्मृतिमा डा. गुरुङसँगको सहकार्यको झन्डै तीस वर्षपछि आज छोटो तर महत्वपूर्ण सहयात्रा, सहकार्य र विद्रोहको सम्झना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।
नेपालका जनजाति, प्राध्यापकीय र बौद्धिक आन्दोलनका एक अग्रज र स्थापित व्यक्तित्व प्रा. डा. ओम गुरुङको सङ्क्षिप्त र धूमिल स्मृतिलाई शब्दमा रूपान्तरण गर्दैछु । यसमा डा. ओम गुरुङका वैचारिक–राजनीतिक कुराहरू कम तथा त्यति बेलाको राजनीतिक घटनाक्रम, अन्तरविरोध र विद्रोहबारे सामान्य चर्चा गर्ने प्रयत्न गरेको छु ।
शक्तिका पुजारीहरू अन्धाधृुन्ध शक्तिलाई मान्छन् र शक्तिबाट अलग भएपछि भुल्छन् वा बिर्सिइन्छन् । प्रतिभाले बनेको पात्र र क्षमताबाट स्थापित भएका र सम्झिइने व्यक्तित्वहरूको सम्बन्ध र सम्झाइ दीर्घकालसम्म रहन्छ÷रहने रहेछ । मेरो मस्तिष्कमा आफ्नो प्राध्यापकीय तथा जनजाति आन्दोलनका क्षेत्रमा प्रतिभावान् र क्षमतावान् व्यक्तित्व डा. ओम गुरुङप्रतिको धारणा र स्मरण पनि अमीट किसिमले रहेको छ ।
सामान्य परिचय
प्रा.डा. ओम गुरुङको जन्म सन् १९५३ फेब्रुअरी ११ मा बागलुङ जिल्लाको ताराखोला गाउँपालिका १, भुस्कट गाउँमा भएको थियो । ओम गुरुङका बुबा बलबहादुर गुरुङ राणाकाल र पञ्चायत शासनकालमा कर सङ्कलक (मुखिया) हुनुहुन्थ्यो । ओम गुरुङ त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म मानवशास्त्रका प्राध्यापक रहनुभयो । प्राध्यापन र जनजाति आन्दोलनमा लामबद्ध हुनुअघि उहाँले अमेरिका, न्युयोर्क इथाकाको कर्नेल विश्वविद्यालयबाट सन् १९९६ मा मानवविज्ञानमा ‘लोकल सिस्टम्स अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट एन्ड डिसर्टेसन रिसर्च’ शीर्षकमा विद्यावारिधि (पीएचडी).गर्नुभयो । उहाँले त्रिविमा सन् १९८० मा सहायक प्राध्यापकका रूपमा आफ्नो अध्यापन जीवन सुरु गर्नुभयो र ३५ वर्ष अध्यापन गरेर सन् २०१५ मा प्राध्यापकका रूपमा सेवानिवृत्त हुनुभयो । उहाँ त्रिविको समाजशास्त्र, मानवविज्ञान केन्द्रीय विभागका संस्थापक सदस्यहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँले १२ वर्षभन्दा बढी विभागीय प्रमुखका रूपमा र सन् २००१–२००४ सम्म नेपाल आदिवासी जनजाति महासङ्घको महासचिवका रूपमा काम गर्नुभयो । गुरुङ नेपाल सरकारको आदिवासी जनजातिको सूची परिमार्जन गर्ने ‘उच्चस्तरीय कार्यदल’ का संयोजक पनि रहनुभयो । उहाँ राज्य प्रेरित सामाजिक बहिष्करण, सांस्कृतिक भेदभाव र आदिवासी जनजाति, अन्य सीमान्तकृत र पिछडिएका समूहहरूको राजनीतिक वर्चस्वविरुद्ध लड्ने आन्दोलनका एक नेता हुनुहुन्थ्यो । उहाँलाई अनुसन्धानकर्ता, लेखक, सम्पादक, प्रशासक, व्यवस्थापक र स्थानीय विकासका योजनाकारका रूपमा लिइन्छ । मानव विकाससम्बन्धी एनजीओ÷आईएनजीओहरूमा गुरुङको राम्रो सम्बन्ध, अनुभव र दक्षता रहेको मानिन्छ ।
कार्यक्षेत्रमा क्रियाशील रहँदै ओम गुरुङले भारत, बङ्गलादेश, पाकिस्तान, थाइल्यान्ड, कम्बोडिया, हङकङ, सिङ्गापुर, मलेसिया, दक्षिणकोरिया, जापान, फिलिपिन्स, चीन, ग्रिस, ओमान, साउदी अरब, कतार, युनाइटेड अरब इमिरेट्स, इजरायल, रुसलगायत देशको भ्रमण गर्नुभयो र आफ्नो प्राध्यापकीय तथा जनजाति आन्दोलनको क्षेत्र अझै फराकिलो बनाउनुभयो । उहाँले स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, फ्रान्स, इटाली, स्पेन, जर्मनी, बेल्जियम, लक्जमबर्ग, नर्वे, फिनल्यान्ड, स्विडेन, डेनमार्क, दक्षिण अफ्रिका, बोलिभिया, पनामा, कोस्टारिका, अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकासम्म पुगेर गोष्ठी र छलफलहरूमा भाग लिनुभयो र कार्यपत्रहरू प्रस्तुत गर्नुभयो । त्यसले उहाँलाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एउटा बौद्धिक जनजाति नेताका रूपमा स्थापित ग¥यो ।
राजनीतिक यात्रा
डा. ओम गुरुङको रुचि र सङ्गत वामपन्थी आन्दोलनसँग रह्यो । गुरुङ विद्यार्थीकालदेखि नै वामपन्थी प्रभावमा हुनुहुन्थ्यो । उहाँ मोहनविक्रम सिंहको पहलमा २०२८ सालमा गठित केन्द्रीय न्युक्लियसको निरन्तरतामा बनेको चौथो महाधिवेशन र नेकपा मशालको निकटमा २०४० सालसम्म क्रियाशील हुनुभयो । २०४० सालमा चौम दुई भागमा विभाजित भएर नेकपा चौम र नेकपा मशाल बन्यो । चौमको नेतृत्व नरबहादुर कर्माचार्य, निर्मल लामा, जयगोविन्द शाहहरूले र मशालको नेतृत्व एमबी, किरण, चित्रबहादुर केसीहरूले गरेको अवस्थामा ओम गुरुङ मशालनिकट हुनुहुन्थ्यो । २०४२ सालमा मशालमा पुनः विभाजन भयो । मशाल र मसाल बने । ओम गुरुङ मसालमा लाग्नुभयो ।
झापा विद्रोहका तीक्ष्ण आलोचक, माओवादका कट्टर विरोधी, जनयुद्धका कटु आलोचक मोहनविक्रम सिंहको निकट रहेर र लामो समयसम्म प्राध्यापकीय क्षेत्रमा काम गरेर पनि उहाँले त्यस समूहबाट विद्रोह गर्ने आँट गर्नुभयो र कमरेड रामसिंह श्रीस नेतृत्वमा बनेको पार्टीमा लामबद्ध भएर क्रान्तिकारी माओवादीसँग एकता गरी जनयुद्ध र त्यसका उपलब्धिहरूलाई स्वीकार गर्ने साहस गर्दै मोहनविक्रमको खराब विरासतलाई उल्ट्याइदिनुभयो । माओविचारधारा रट लगाएर माओवादको सार्वभौम चरित्रलाई अस्वीकार गर्ने एमबी प्रवृत्तिबाट मुक्ति पाउनु पनि एक किसिमको ठूलो विद्रोह थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा तीसको दशकमा चौथो महाधिवेशनमा आएको विभाजनपछि, विशेषतः चालीसको दशकको आरम्भदेखि नै कमरेड मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा (मशाल) र मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) क्रान्तिकारी धारका रूपमा स्थापित थिए । सेक्टर काण्डले मशाललाई र संसदीय चुनाव बहिष्कारले मसाललाई क्रान्तिकारी शक्तिका रूपमा चिनाउँदै थिए । २०४६ सालको आसपासदेखि नै मसालले युवाहरूलाई क्रान्ति गर्नका लागि तयार हुनुपर्छ भन्दै विभिन्न शारीरिक अभ्यास गराइरहेको थियो र त्यो शक्ति चुनाव बहिष्कारमा लगाएको थियो । २०४८ सालको चुनाव बहिष्कारले मसाललाई अझै क्रान्तिकारी शक्तिका रूपमा परिचित गराइदिएको थियो । मशाल अर्थात् कमरेड किरण–गौरव–प्रचण्डहरूको पहलमा नेकपा (एकताकेन्द्र) बन्ने प्रक्रिया सुरु भएर कमरेड हरिबोल गजुरेल ‘शीतलकुमार’ को नेतृत्वमा विद्रोही मसाल बनाएर डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेलहरू पनि एकताकेन्द्रमा सामेल भएपछि कार्यकर्ताहरू जोगाउन मसालले युवाहरूलाई अझै सक्रिय बनाएको थियो र हामी पनि कुनै समयमा ‘नेपालका माओ’ भनेर कहलाइएका मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टीले नै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नेपालमा समाजवादको झन्डा फहराउँछ भनेर क्रियाशील थियौँ । मोहनविक्रम सिंहमाथि तत्कालीन चौमका निर्मल लामा र मशालका कतिपय नेताहरूले लगाएको महिला हिंसा, यौनअपराधलगायत अभियोगको हामीले डटेर प्रतिवाद गरेका थियौँ । तर कालान्तरमा हामी गलत साबित भयौँ ।
त्यसपछि नेकपा (एकताकेन्द्र) नेकपा (माओवादी) बन्यो । हिजो नेपालका चाओ (चाउ एन लाई) भनिएका निर्मल लामा र माओ त्सेतुङ भनिएका मोहनविक्रम सिंहहरूबिना नै २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भयो । जनयुद्धले सिङ्गो समाजलाई प्रभावित पारिरहेको थियो । जनयुद्ध र त्यसका प्रभावहरूको समर्थन र विरोधमा छलफल, बहस, वक्तव्यबाजी र भाषणबाजी भइरहेको थियो । त्यति नै बेला मसालले अखिल नेपाल बुद्धिजीवी सङ्घको सम्मेलन ग¥यो र डा. ओम गुरुङको नेतृत्वमा केन्द्रीय समिति निर्माण ग¥यो । हिजो मसालमा छँदा एक मात्र डाक्टरका रूपमा बाबुराम भट्टराई चर्चामा थिए । बाबुराम शीतलकुमारसँगै एकताकेन्द्र निर्माण गर्न गएर माओवादी बनेपछि मसालमा कुनै पनि डाक्टरहरू अस्तित्वमा थिएनन् (चिकित्सा क्षेत्रका डा. कृष्ण पन्थीबाहेक) । ओम गुरुङले भर्खरै सन् १९९६ मा पीएचडी गर्नुभएको थियो । डा. ओम गुरुङको नेतृत्वमा निर्माण भएको बुद्धिजीवी सङ्गठनमा पार्टीले अपत्य शर्मा, अजय शर्मा (मोहनविक्रमसँग नाउँ जोडिएकी कमरेड जलजलाका भाइ) सँगै मलाई पनि जिम्मा दियो । त्यसपछि ओम गुरुङ सर र मेरो एउटै समिति बन्यो । मेरो जन्मथलो र भूगोल भने रामेछाप थियो । यो २०५३ सालको आरम्भको समय थियो ।
प्रस्ट वक्ता ओम सर जनजाति नेता पनि हुनुहुन्थ्यो । त्रिविको प्राध्यापक पनि । कार्यक्रमहरूमा अत्यन्त व्यस्त हुनुपर्ने । बुद्धिजीवीको सङ्गठन विस्तार अभियान र वैचारिक बहस निर्माण गर्ने क्रममा ओम सरसँग गम्भीर बहसहरू भए र सङ्गठनहरू बने । रक्तिमको पनि जिम्मा भएकाले मेरो र ओम सरका बीचमा रक्तिम परिवारलाई एउटा कलाकार टोलीमा मात्र सीमित नराखेर मसालको सांस्कृतिक मोर्चाका रूपमा विकास गर्नुपर्ने विषयमा पनि गहिरो छलफल भयो तर मस्तिष्कको घेरा अलि सानो भएको एउटा एमबीभक्त समूहले रक्तिमलाई सांस्कृतिक मोर्चा बन्न दिएन र कलाकार परिवारमै सीमित राख्यो । काठमाडौँमा भएको रक्तिमको सम्मेलनमा ओम सरले मलाई साथ दिनुभएको थियो । तर मेरो प्रस्तावले बहस निर्माण मात्र गर्न सक्यो । जीवन शर्माले कुशल नेतृत्व गरिरहेको रक्तिम परिवारलाई सांस्कृतिक मोर्चा बनाउनुपर्ने बहस मैले काठमाडौँदेखि रामेछापसम्म चलाएँ, कलाकार टोली लगेर जिल्लामा कार्यक्रमहरू पनि सम्पन्न गरियो तर रक्तिम सांस्कृतक मोर्चा बनेन, कलाकार टोली मात्र रह्यो ।
२०५३ सालमै मेरो बिहे भयो– चित्रबहादुर केसी, दीनानाथ शर्मा र ओम सरकै जिल्लामा । मेरी कान्छी बहिनीको बिहे पनि दीनानाथजीकै गाउँमा भएकाले बागलुङसँग मेरो सम्बन्ध अलि विशेष र पारिवारिक बन्दै थियो । त्यति बेलाका बागलुङ, प्युठान, अर्घाखाँचीलाई मसालको गढका रूपमा पनि हेरिन्थ्यो । ससुराली बागलुङ नै भएकाले म विशेषगरी ‘कालीपारे’ (कालीगण्डकीपारि बागलुङतिरकाले कालीपूर्व पर्वत–म्याग्दीकालाई कालीपारे भन्ने र पर्वत–म्याग्दीकाले बागलुङबासीलाई कालीपारे भन्ने चलन रहेछ) हरूकै ज्वाइँ बनेँ । ओम सरले पनि ठट्टा र माया गरेर ज्वाइँ नै भन्नुहुन्थ्यो । बुद्धिजीवी सङ्गठनको सम्मेलनपछि सङ्गठनले सूर्यविनायक हो वा गोदावरीतिर साङ्गठनिक–वैचारिक उद्देश्य राखेर आयोजना गरेको बनभोज कार्यक्रममा ओम सरदम्पती र हाम्रो नयाँ जोडी सँगै नाचेको थियो । शारीरिक रूपमा अलि अशक्त हुनुहुन्थ्यो ओम सर । गोडाका औँलाहरू नछुट्टिएका वा जोडिएर डल्लो परेकाले हिँड्दा अलि असन्तुलित हुन्थ्यो तर पनि उहाँ त्यसको आभास नहुने गरी, सहजतापूर्वक हिँडडुल गर्नुहुन्थ्यो ।
बहस र विद्रोहको उत्कर्षमा बेथान मोर्चाका तरङ्गहरू
म पेसाले जनपक्षीय पत्रकार, सिर्जनामा रुचि राख्ने मान्छे । उसै त जनयुद्धले सिङ्गो समाज र मानिसका सोचाइ तथा व्यवहारहरूमा उथलपुथल ल्याइरहेको थियो । सञ्चार, सिर्जना र बुद्धिजीवी सङ्गठनका माध्यमद्वारा बौद्धिक क्रियाकलापमा लागेकाले देशमा डढेलोसरि सल्किएको जनयुद्धका प्रभावहरूबाट जोगिने वा अलग हुने कुरा भएन । आफूसँगै अध्ययन गरेका, सँगै राजनीति आरम्भ गरेका, सहकार्य गरेका र आफैँले पार्टीमा ल्याएका साथीहरू धमाधम जनयुद्धमा लामबद्ध भइरहेका समाचार र सूचनाहरू आइपुग्थे तर म आफू संलग्न पार्टीले भने जनयुद्ध स्वीकारिरहेको थिएन । पेरूको जनयुद्ध वा क्रान्तिलाई लालसलाम भन्दै सडकमा नारा लगाउने र गीत गाउने हामीहरूका बीचमा नेपालमै सुरु भएको जनयुद्धले भने कतै एकत्रित र कतै विभाजित बनाइरहेको थियो ।
ठीक यसै समयमा २०५३ साल पुस १९ गते रामेछापको बेथान प्रहरीचौकी कब्जा भयो र तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जन (तीफदि) ले सहादत प्राप्त गर्नुभयो । बेथान प्रहरीचौकी जनयुद्धको पहिलो सफल फौजी मोर्चा थियो । राजनीतिक, वैचारिक, सैन्य सबै क्षेत्रबाट यो उत्कृष्ट हमला र विजय थियो । राज्यका तर्फबाट भएका एकतर्फी हमलाहरूका कारण जनता र विद्रोही शक्ति माओवादीका योद्धाको रगत बग्ने क्रम त २०५२ साल फागुन १४ मै आरम्भ भइसकेको थियो । सरकारले गोरखा पन्द्रुङका १४ वर्षीय बालक दिलबहादुर रम्तेलको रगत बगाइसकेको थियो र अन्यत्र पनि त्यसप्रकारको राज्यआतङ्क मच्चाइरहेको थियो तर जनताका तर्फबाट बेथानमा पहिलोपल्ट शक्तिशाली हमला, प्रतिरोध, बलिदान र विजय प्राप्त भएको थियो र जनताले दमनकारी सत्ताको बन्दुक खोसेर पार्टीलाई बुझाएको थियो । त्यसपछि पार्टी त्यही हतियार बोकेर देशभर युद्धमा सफलता प्राप्त गर्दै अघि बढेको थियो । पार्टीले पुस १९ लाई ‘बेथान वीरता दिवस’ का रूपमा स्थापित गरेको थियो ।
कुरा २०५४ सालको हो । त्यति बेला मेरो जिम्मा नेकपा मसाल÷जनमोर्चा रामेछापको सचिवका रूपमा थियो । जिल्ला सम्मेलनमा राजनीतिक प्रतिवेदन तयार पारेर प्रस्तुत गर्ने जिम्मेवारी मेरै थियो । सम्मेलन सफल पार्न पार्टी नेता तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमरेड चित्रबहादुर केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । जिल्ला सदरमुकाम मन्थलीस्थित सानीमदौ (हालको सिर्जनानगर) स्थित आफ्नै घरमा रहेको पार्टी कार्यालयमा सम्मेलन उद्घाटन भयो । राजनीतिक प्रतिवेदनमा मैले ‘बेथानको बलिदानको स्पिरिटलाई हामीले पनि समात्नुपर्छ’ भन्ने वाक्य प्रयोग गरेको थिएँ र माओवादी तथा जनयुद्धप्रति अत्यन्त आलोचक बन्ने मसालको केन्द्रीय नीतिभन्दा अलि पृथक दृष्टिकोण पस्किएको थिएँ । नयाँ जनवादी क्रान्तिका माध्यमबाट प्रतिक्रियावादी सत्ता ध्वस्त बनाएर देशमा समाजवाद ल्याउने उद्घोषका साथ देशमा मालेमाको आदर्शसहित हतियारबद्ध युद्ध सुरु भएको थियो र केही महिनापहिले आफ्नै जिल्लामा जनताका तर्फबाट दुस्मन सत्ताको एकाइ प्रहरीचौकी ध्वस्त पार्दै हतियार खोसिएको थियो । जनताले दुस्मनका प्रतिनिधिको रगत बगाउने, दुस्मनलाई हराउने क्रममा आफ्नो रगतसमेत पोखेका थिए र बेथानमै तीनजनाको उच्चस्तरको बलिदान भएको थियो । जनयुद्धकै पहिलो सफल फौजी मोर्चा, प्रथम छापामार, विद्यार्थी, महिला, सांस्कृतिक सहिद दिलमाया जन्माएको थियो जिल्लाले तर म आफू संलग्न पार्टीले भने समग्र जनयुद्धलाई साथ र समर्थन दिने कुरा त परै जाओस्, जिल्लामा भएको बलिदानको स्पिरिट समात्ने कुरा पनि पचाउन र समर्थन गर्न सकिरहेको थिएन ।
केसीजीलाई जनयुद्ध र बेथानको लडाइँलाई हेर्ने प्रतिवेदनमा व्यक्त दृष्टिकोण सहज जचेन । उहाँले प्रतिवेदन मसालका नाउँमा माओवादी पार्टीको जस्तो बनेको जिकिर लिइरहनुभयो । रातभर छलफल र बहस भयो । उहाँले सम्मेलनमै भन्नुभयो, ‘यो प्रतिवेदन पारित गरेर फर्किएँ भने मलाई मोहनविक्रमजीले भोलि नै कारबाही गर्छन् ।’ त्यसपछि मत विभाजन भयो । उहाँले आफ्नातर्फ बहुमत त पु¥याउनुभयो तर पनि सहजतापूर्वक सम्मेलन हुन सकेन । उहाँ भोलिपल्ट सम्मेलन नै सम्पन्न नगरी फर्किनुभयो । नौलो बिहानीको पहिलो अङ्कको लोकार्पण त्यसै दिन दिउँसो जिल्ला सदरमुकाममा रहेको जिल्ला विकास समितिको हलमा सयौँ मानिसको उपस्थितिमा भव्यतापूर्वक उहाँले नै गर्नुभएको थियो । प्रतिवेदनको विरोध गर्ने क्रममा उहाँले पत्रिकामा समावेश भएका जनयुद्धसम्बन्धी सामग्री र आवरणमा राखिएको बाबुराम भट्टराईको तस्बिरको पनि आलोचना गर्न भ्याउनुभयो । उहाँको दृष्टिमा म पूरै माओवादी भइसकेको थिएँ तर वास्तवमा म माओवादी पार्टीका साथीहरूसँग व्यक्तिगत सम्पर्कमा भए पनि आधिकारिक रूपमा पार्टीको सम्पर्कमा थिइनँ । यो केसीजी र उहाँलाई साथसमर्थन दिने साथीहरूको माओवादी जनयुद्ध र मप्रतिको आग्रह थियो ।
यो घटनाले मलाई भित्रैसम्म उथलपुथल मच्चाउने गरी प्रभावित पा¥यो । म काठमाडौँ फर्किएँ र कीर्तिपुर घरमै पुगेर आफ्नो सङ्गठनका अध्यक्ष डा. ओम गुरुङलाई भेटेँ । विचारका पक्षमा उहाँ बहस गर्न तयार नभए पनि अवस्थालाई मिलाएर लग्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । एक–दुई दिनपछि त पार्टीले मेरो बुद्धिजीवी सङ्गठनको केन्द्रीय सदस्यको जिम्मेवारी, पार्टी÷मोर्चा सचिवको जिम्मेवारी सबैबाट निलम्बन गरेको पत्र आनन्द शर्मा नाउँका पार्टी÷मोर्चा सम्पर्क कार्यालयका साथीले थमाउनुभयो । मलाई वस्तु र घटनाक्रमले अब क्रमैसँग वैचारिक छलफल र विद्रोहतिर आकर्षित बनाइरहेको थियो । मैले ओम सरसँग गम्भीरतापूर्वक निर्णय पुनर्विचार गर्न अनुरोध गरेँ । उहाँले आफूले मोहनविक्रम सिंहलाई अनुरोध गरेको तर सिंहले माओवादीसँग सम्बन्ध बढेको आशङ्का गरेकाले केही समय निलम्बन फुकुवा गर्न नसकिने जबाफ दिएको सुनाउनुभयो । म झनै विस्मित भएँ ।
पार्टीमा दीनानाथ शर्मा ‘हार्ड लाइनर’ का रूपमा स्थापित हुँदै हुनुहुन्थ्यो । मोहनविक्रम सिंहले उहाँलाई क्रमशः पार्टी प्रवक्ता र प्रकाशन विभागको जिम्माबाट पार्टीको पूर्वी क्षेत्रको जिम्मामा धकेल्दै थिए र मलाई पनि दीनानाथजीसँगै ‘हार्ड लाइनर’ कै रूपमा लिइन्थ्यो । दीनानाथजीकै पहल र प्रस्तावमा म बुद्धिजीवी सङ्गठनको केन्द्रीय सदस्य र रामेछापको सचिव भएको थिएँ । केन्द्रमा दीनानाथजी र तल ममाथि पार्टीको कारबाहीको लाठो बज्रिन सुरु गरेको थियो ।
निलम्बनकै सेरोफेरोमा २०५४ सालको स्थानीय चुनाव आयो । पार्टीले म माओवादी भएको हो कि होइन भन्ने प्रमाणित गर्न मन्थली गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न पठायो । मैले संसदीय व्यवस्था र चुनावकै भण्डाफोर गरेर पर्चा निकालेँ । त्यति बेला दीनानाथजीले क्रान्तिकारी पर्चा र पुस्तिका निकालेर कारबाही भोग्ने तयारी गरिहनुभएको थियो । संसदीय व्यवस्थाको भण्डाफोर गरेर व्यवस्थाकै अन्त्यका पक्षमा पर्चा र पोस्टर निकालेर चुनाव जित्नु सम्भव थिएन र जित्ने लक्ष्य पनि राखिएको थिएन । मेरो विजय भनेको व्यवस्थाको भण्डाफोर गर्नु र पहिलोपटक व्यवस्था र चुनावका विरुद्ध पर्चा र पोस्टर छ्यापछ्याप्ती बनाउनु थियो । स्थानीय जनप्रतिनिधिलाई चुनावमा पर्चा र पोस्टर निकाल्नुपर्छ भन्नेसम्म पनि थाहा थिएन । त्यसपछि मात्र अन्य पार्टी र उम्मेदवारहरूले पनि पर्चा र पोस्टरहरू निकाल्न थाले । मैले आफूले व्यवस्थाको भण्डाफोर गरेर निकालेको पर्चा र पोस्टर पार्टी केन्द्रमा पनि पठाइदिएँ । त्यसले अर्को हलचल मच्चायो ।
ममाथिको निलम्बन अझ कडा पारियो । त्यसपछि म पार्टीभित्रका ‘हार्ड लाइनर’ खोज्दै क्रान्तिको तयारी पनि नगर्ने र जारी जनयुद्धको विरोध गरेर मलाई निलम्बन गर्ने पार्टीविरुद्ध विद्रोहको वातावरण निर्माण गर्न ‘देशदौडाहा’ मा निस्किएँ । बागलुङ, प्युठान, अर्घाखाँची, सुर्खेत, रूपन्देही हुँदै विद्रोही जनमत निर्माण गर्दै म काठमाडौँ फर्किएँ र कारबाही फुकुवा नभए विद्रोह गर्ने जानकारी सङ्गठनका अध्यक्ष डा. गुरुङमार्फत पार्टीसमक्ष पठाएँ । मैले आफूमाथि बुटवललगायत स्थानमा मसाल समर्थक नेता–कार्यकर्ताले पार्टी फुटाउन हिँडेको भन्दै भौतिक आक्रमणसमेत गरेको जानकारी पनि गराएँ । उताबाट सकारात्मक जबाफ नआएपछि १५–२० जिल्लाका विद्रोही युवाहरूलाई भेला पारेर काठमाडौँ कालीमाटीको एउटा होटेलमा राष्ट्रिय भेला आयोजना गरियो । भेलाले मोहनविक्रम सिंह र मसाल क्रान्तिविरोधी रहेको ठहर गर्दै मेरो संयोजकत्वमा ‘नेपाल लाल कम्युनिस्ट पार्टी माओवादी’ गठन ग¥यो । नवगठित पार्टीले मोहनविक्रम सिंहलाई कारबाही गर्ने, जनयुद्धलाई समर्थन गर्ने र पार्टी एकता गर्ने निर्णय ग¥यो ।
जनादेशका सम्पादक तथा अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष रहिसकेका कृष्ण सेन ‘इच्छुक’ र शक्ति लम्सालसँग निरन्तर सम्पर्कमा थिएँ म । इच्छुकले ‘मेरो साथी बन्दुकसँग खेल्न थालेको छ’ शीर्षक कविता मनपराएर जनादेशमा छपाइसक्नुभएको थियो २०५३–२०५४ सालमै । त्यो जनयुद्धप्रतिको मेरो नैतिक समर्थन नै थियो । भेला नसकिँदै भेलामा सहभागी शिव तिवारी नामका साथीले मोहनविक्रमजीलाई रिपोर्ट गरिसकेका रहेछन् । उता भेला सकियो । कालीमाटी भेलाको सन्देश र निर्णय मैले इच्छुकलाई सुनाएँ । यता मलाई पार्टीबाट निष्कासन गरेको जानकारी प्राप्त भयो । त्यसपछि अन्य साथीहरू सम्बन्धित जिल्लाहरूमा र म इच्छुकको सम्पर्कमा रहने गरी माओवादी पार्टीमा लामबद्ध हुने निर्णय भयो । यसरी सिङ्गो नेकपा (मसाल) सँगको झन्डै १४ वर्ष लामो सहकार्य तोडिएर जनयुद्ध लडिरहेको माओवादीसँग मेरो सम्बन्ध कायम भयो । म माओवादी बनेँ ।
ओम सर बुद्धिजीवीको जिम्मेवारीमै हुँदा मैले मसालबाट विद्रोह गरेँ । त्यसपछि हाम्रो भेट अत्यन्त कम हुँदै गयो । २०५५ साल पुस १९ गते राती तेस्रो बेथान वीरता दिवसका अवसरमा काठमाडौँ उपत्यकाभित्रै रहेको ललितपुरको भट्टेडाँडा प्रहरीचौकीमा सफल फौजी मोर्चा भयो । उक्त मोर्चाको तस्बिरसहित ‘भट्टेडाँडामा माओवादीको साहसिक आक्रमण’ शीर्षक समाचार जनादेश साप्ताहिकमा ब्यानर बनेर छापियो । पत्रिका निस्किएकै दिन पुस २३ गते जनादेश कार्यालयमा शक्ति लम्साल संयोजक र म सचिव रहेको जनपक्षीय पत्रकार सङ्घ नेपालको पहिलो बैठक थियो । सङ्गठन दर्ता गर्ने प्रक्रिया पूरा गर्न र विधान तयार पार्न मलाई सचिवको जिम्मेवारी दिइएको थियो । बैठक बस्ने तयारी गर्दै थियो । इच्छुक उपस्थित भइसक्नुभएको थिएन । हामी विधानमाथि छलफल गर्दै थियौँ । एक्कासि सयौँ प्रहरीले बागबजारमा रहेको जनादेशको कार्यालयमा छापामारे र शक्ति लम्साल, म, रेवती सापकोटा, धनबहादुर मगरलगायतलाई गिरफ्तार गरियो । जनादेश साप्ताहिक छाप्ने इन्द्रेणी प्रेसका मालिक ज्ञानेन्द्र मानन्धरसहित ११ जना प्रेस कामदारलाई पनि गिरफ्तार गरियो । शक्ति दाइलगायत साथीहरूलाई जेल पठाइयो भने भरत नाउँका जनमोर्चा निकट साथी र मलाई भट्टेडाँडा मोर्चामा संलग्न भएको आरोप लगाउँदै बेपत्ता बनाएर चरम मानसिक यातना दिइयो । त्यति बेला इच्छुकहरू भने संयोगले बच्नुभयो । जनादेश काण्डका नाउँले चर्चित उक्त काण्ड पत्रकार र पत्रिकाको कार्यालयमाथि राज्यले गरेको क्रूर हस्तक्षेप र दमनका नाउँले कुख्यात छ । म बेपत्ता अवस्थाबाट मुस्किलले बचेपछि इच्छुककै सल्लाहबमोजिम अर्धभूमिगत भएर काम गर्न थालेँ । त्यसपछि डा. ओम गुरुङ मात्र होइन, मसालसँगको सम्बन्ध नै टुट्यो । कहिलेकहीँ अचानक भेट भएको समयमा उहाँ मलाई घरपरिवार, पत्रकारिता, साहित्य, राजनीतिक अवस्थाका बारेमा मसिनो गरी सोध्नुहुन्थ्यो । मैले ‘मोहनविक्रम सिंहका एक सय एक अपराध’ शीर्षकमा नौलो बिहानीमा लामो लेख लेखेपछि र चित्रबहादुर केसीका साथै ओम सरको कीर्तिपुरको घरको तस्बिर छापिएपछि भने उहाँ अलि चिढिनुभयो तर पनि उहाँ राजनीतिक व्यवहारबाट च्यूत हुनुभएन ।
प्रचण्डले जनयुद्ध समाप्त गरिदिएपछि २०६९ सालमा कमरेड किरणको नेतृत्वमा क्रान्तिकारी विद्रोह भयो । फेरि क्रान्ति सुरु नभएको भन्दै हामीले २०७१ सालमा अर्को विद्रोह ग¥यौँ । ओम गुरुङ सर भने कमरेड रामसिंह श्रीसको नेतृत्वमा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) सँग पार्टी एकता गरेर क्रियाशील हुनुभयो । हामी अर्कै पार्टी बनाएर ‘एकीकृत जनक्रान्ति’ मा क्रियाशील भएको र प्रचण्ड–ओली सरकारले लगाएको राजनीतिक प्रतिबन्ध झेलिरहेकै समयमा उहाँको दुःखद् निधन भएको अप्रिय खरबर सुन्नुप¥यो । मृत्यु हुने समयसम्म उहाँ नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार समिति सदस्य र आदिवासी जनजाति महासङ्घका अध्यक्ष भएर क्रान्तिपथमै क्रियाशील हुनुहुन्थ्यो ।
यति बेला हामी फेरि संसद्वादपरस्त विप्लव समूहलाई कारबाही गरेर उक्त पार्टीबाट विद्रोह गरी नेकपा (बहुमत) गठन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सँग पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा क्रियाशील छौँ । ओम सरको दुःखद् अन्त्य नभएको भए हामी करिब तीन दशकपछि फेरि सँगै हुने रहेछौँ र सहकार्य गर्न पाउने रहेछौँ । उहाँको निधन भइसकेकाले अब त्यो सम्भव भएन, कल्पनाको मात्र कुरा रह्यो तर पनि उहाँसँगको छोटो सहकार्य र वैचारिक–राजनीतिक बहस भने अविस्मरणीय भएर रहेका छन् । नेपालको वामपन्थी आन्दोलनमा सक्रिय एक बौद्धिक तथा जनजाति नेता प्रा.डा. ओम गुरुङ सदैव हाम्रो मानसपटलमा रहिरहनुहुनेछ ।
३२ साउन, २०८० (२१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस)
हित–जून युद्ध–कला सङ्ग्रहालय, सिर्जनानगर ।
(यो लेख हामीले डा. ओम गुरुङ स्मृति ग्रन्थबाट लिएका हौँ । उक्त ग्रन्थमा लेखको सम्पादित अंश मात्र छापिएको थियो भने यो पूर्ण अंश हो– सम्पादक ।)