आर्थिक सङ्कट र वैज्ञानिक समाजवाद

Opinion

सन्दर्भ
आज मुलुकमा दलाल पुँजीवादका कारण चौतर्फी आर्थिक सङ्कट उत्पन्न भइरहेको छ । मुलुकको समग्र अर्थतन्त्र नै दातृ मुलुक र वित्तीय संस्थाहरूको ऋण, अनुदान र सहयोगमा चल्ने दलाल एवम् निगम पुँजीवादी रहेको छ । आज विश्व निगमहरूको सङ्गठन ‘आर्थिक सहयोग र विकास सङ्गठन’ (ओईसीडी) ले विश्व वित्तीय संस्थाहरू विश्व बैङ्क, विश्व व्यापार केन्द्र र अन्तर्राष्ट्रिय मुद्राकोषलाई नियन्त्रण गरिरहेको छ ।
देशका कृषि, उद्योग, व्यापारलगायत सबै क्षेत्रमा चरम सङ्कट पैदा भइरहेको छ । अर्थतन्त्रको मुख्य आधारशिलाका रूपमा रहेको कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण हुनसकेको छैन । यो झन् समस्याग्रस्त बनिरहेको छ । निगम एवम् दलाल पुँजीका कारण मुुलुकको ओद्योगिक क्षेत्र चौपट भइरहेको छ । आयातमुखी व्यापारका कारण देश चरम व्यापार घाटामा छ । व्यापारको स्थिति दैनिक ओरालो लागिरहेको छ । मुलुक प्राकृतिक स्रोतसाधन र मानव संसाधनको दृष्टिले सम्पन्नशाली छ । तर देशको मुख्य आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स) बन्न पुगेको छ । दलाल पुँजीको दबदबाका कारण पुँजी पलायन, चरम श्रम शोषण, एकाधिकार बजार, राष्ट्रिय अर्थतन्त्रमा नियन्त्रण र विदेशी ऋणले टुप्पी नाघिराखेको छ । भ्रष्टाचार, कालोबजारी, महँगी, कमिसनतन्त्र, मूल्यवृद्धि र बेरोजगारी महामारीका रूपमा फैलिरहेका छन् । दलाल पुँजीवादका कारण देशमा चौतर्फी आर्थिक सङ्कट उत्पन्न भइरहेकोे छ ।

विश्वमा सन् १९८० को दशकपछि नवउदारवाद हाबी भइरहेकोे छ । यो निजीकरण, खुला बजार अर्थतन्त्र र भूमण्डलीकरणका रूपमा विश्वव्यापीकरण भइरहेकोे छ । राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, प्राविधिकलगायत नयाँ अन्तरविरोधसहित विश्वसाम्राज्यवाद आज नवउदारवाद, नवऔपनिवेशिक र संरक्षणवादका रूपमा आएको छ । विश्वसाम्राज्यवादको हस्तक्षेप र प्रभाव नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रहरूमा व्यापक रूपमा परिरहेको छ । कृषि, बन, जलस्रोत, खानीलगायत उत्पादनका क्षेत्रहरू भएको नेपालमा असीको दशकपछि आर्थिक नीतिमा, पेसागत संरचनामा, लगानीका क्षेत्रमा, पुँजीगत, श्रमको उत्पादनशीलता र परम्परागत उत्पादन प्रणालीमा परिवर्तन देखापरेको छ । मुलुकको हरेक क्षेत्रमा आज दलाल पुँजीवाद हाबी छ । दलाल पुँजीवादका कारण देशमा आर्थिक, राजनीतिक, सामाजिकलगायत सङ्कट उत्पन्न भइरहेकोे छ । यो सङ्कटको चिहानमा सबै दलालहरूको दुर्दशापूर्ण अन्त्य हुनेछ । कार्ल माक्र्सले साम्यवादको पहिलो चरण नै समाजवाद बताउनुभयो । विश्वसाम्राज्यवादको समाधान वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवाद आज रणनीति होइन, कार्यनीति बनेको छ । दलाल पुँजीवाद एवम् दलाल संसदीय व्यवस्थाको अन्त्यपछि स्थापना वा निर्माण गरिने समाज व्यवस्था वैज्ञानिक समाजवाद नै हो ।

दलाल पुँजीवाद

आज नेपालमा सामन्तवादको अन्त्य भए पनि त्यसको स्थानमा दलाल पुँजीवाद हाबी भएको छ । राजनीतिक, आर्थिक, प्रशासन, सुरक्षा, न्यायालय, शिक्षा–स्वास्थ्यलगायत सबै क्षेत्रमा दलाल पुँजीवाद हाबी छ । यसले कुनै क्षेत्र र राजनीतिक दल पनि छोडेको छैन । सर्वत्र दलालहरूको दलालतन्त्र चलिरहेको छ । यो महान् लेनिनले ‘बुर्जुवा विद्वान्हरू तथा प्रचारकहरू अलि ढाकछोप गरेर नै साम्राज्यवादको वकालत गर्ने कोसिस गर्छन् । शोषक राष्ट्रका बुर्जुवा प्रतिनिधि ‘अझ बढी’ पछाडि सर्छन् र ‘वैज्ञानिकता’ का आडमा साम्राज्यवादको तलुवा चाट्न तयार हुन्छन्’ भनेजस्तै गरी लम्पसारवादी दलाल प्रवृत्ति नेपालमा व्यक्त भइरहेको छ ।

इतिहासको अध्ययन गर्दा दलाल पुँजीवाद साम्राज्यवाद एवम् सामन्तवादको गठजोडबाट पैदा हुने ठिमाहा हो । लेनिनले ‘साम्राज्यवादका विशिष्ट राजनीतिक विशेषताहरू– जुनसुकै क्षेत्रमा प्रतिक्रिया, वित्तीय अल्पयन्त्रद्वारा गरिने उत्पीडन र खुला प्रतियोगिताको अन्त्य फलस्वरूप राष्ट्रिय उत्पीडनमा हुने वृद्धि’ बताउनुभएको थियो । यद्यपि आज यो फरक तरिकाले देखापरिरहेको छ । दलाल प्रवृत्तिले सामन्तवादको बिँडो थाम्न असम्भव छ, किनभने साम्राज्यवादको दलाली नै यसको मुख्य विशेषता हो । सन् १९१९ मा पुँजीवादी साम्राज्यवादले सयौँ मुलुकमा उपनिवेश कायम गरी विश्वका ७० प्रतिशत जनतामाथि अतिक्रमण, शोषण र उत्पीडन गरेको थियो । सन् १९८० सम्म पुग्दा वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनद्वारा पुँजीवादी साम्राज्यवाद बढारियो । त्यस बेला विश्वमा प्रत्यक्ष उपनिवेश भोग्ने जनता ०.३ प्रतिशत थिए । त्यसपछि साम्राज्यवादी शक्तिहरूले प्रत्यक्ष उपनिवेशबाट पछि हट्ने, अर्धउपनिवेश कायम गर्ने, वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनलाई कमजोर बनाउने, कुलीन वर्गका व्यक्तिलाई आफ्नो दलाल बनाउने र तिनीहरूको हातमा सत्ता सुम्पने नयाँ रणनीति अवलम्बन गरेका छन् । विश्वसाम्राज्यवादले आफ्नो दलाल नबन्ने जोकोहीलाई ठाडो चुनौती दिइरहेको छ । राजतन्त्रात्मक वा गणतन्त्रात्मक मुलुकहरूमा शासन सत्तामा टिक्नका लागि विश्वसाम्राज्यवादको दलाल बन्नैपर्ने अवस्था उत्पन्न गरिरहेको छ ।

लेखक : पूर्णबहादुर सिंह ‘समरजङ्ग’

दलाल पुँजीवादको उदय

माओको नेतृत्वमा सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्ति विजयमा पुग्दा पुँजीवादी सत्ता आफ्नो अस्तित्वको लडाइँ लड्न विवश भयो जसको फलस्वरूप सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्तिको नेतृत्व गर्न पुगेको राष्ट्रिय पुँजीपति वर्गले आफ्नो पहिचान गुमाउन पुगेको थियो । सामन्तवाद र साम्राज्यवादको दलालीमा सत्ता साझेदारीका लागि मात्र आन्दोलन गर्ने दलाल पुँजीवादी चरित्रमा पतन हुन पुग्यो । दलाल पुँजीवादको उदय भयो । दलाल पुँजीवादको वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोत एवम् आधार सामन्तवाद, मूलतः साम्राज्यवाद नै हो । आज नेपालमा राज्यसत्ताको चरित्र नवऔपनिवेशिक दलाल पुँजीवादी छ । सामन्तवादी, दलाल पुँजीपतिहरू र नोकरशाही पुँजीपतिहरू विलय भएका छन् । तिनीहरू रूपमा सामन्त, नोकरशाह र पुँजीपति देखिए पनि सारमा दलाल पुँजीवादी नै हुन् । सन् १८१६ को सुगौली सन्धियता शासकहरूको सामन्ती राष्ट्रवाद, देशभक्ति, राष्ट्रसेवी र राष्ट्रिय पुँजीपतिको चरित्रमा ह्रास हुँदा राज्यसत्ता अर्धसामन्ती तथा अर्धऔपनिवेशिक हुन पुगेको थियो । २०४६ सालको परिवर्तनपछि एमाले र कथित शान्तिप्रक्रियापछि तत्कालीन माओवादी पनि देशभक्तबाट स्खलित भइरहेका छन् ।

कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र नयाँ जलप (रङरोगन) को पुरानै संसदीय व्यवस्था नवऔपनिवेशिक दलाल पुँजीवादी व्यवस्था हो । त्यो विचार, राजनीतिक व्यवस्था र ती प्रवृत्ति एवम् पात्रको नयाँ आगमन नभएर पुनरावृत्ति मात्र हो । ‘मात्र संसदीय संवैधानिक राजतन्त्रहरूमा होइन, अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरूमा समेत सतारूढ वर्गको कुनचाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो ।’ (तेस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८७१ मा पेरिस कम्युनको अनुभव । माक्र्सको विश्लेषण) मा लेनिनले दलाल पुँजीवाद र त्यसका पात्र र प्रवृत्तिबारे उल्लेख गर्नुभएको थियो ।

विश्वसाम्राज्यवाद र दलाल पुँजीवाद

राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, प्राविधिकलगायत नयाँ अन्तरविरोधसहित विश्वसाम्राज्यवाद अघि बढिरहेको छ । आज मुलुकमा दलाल पुँजीवादी व्यवस्थाको गोलचक्कर चलिरहेको छ । विश्वमा असफल दलाल संसदीय व्यवस्था हो । लेनिनले प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा अगाडि नै पुँजीवादको विकास ठम्याइसक्नुभएको थियो । ‘साम्राज्यवाद– पुँजीवादको चरम अवस्था’ लेनिनले जनवरी–जुन सन् १९१६ मा जुरिचमा लेख्नुभएको थियो । साथै साम्राज्यवादी युगका लाक्षणिक विशेषताहरू– उत्पादनको सङ्केन्द्रण र एकाधिकारको विकास, पुँजी निर्यात, नयाँ–नयाँ बजारहरू तथा प्रभाव क्षेत्रहरूमाथि कब्जा जमाउनका लागि सङ्घर्ष, आर्थिक सम्बन्धहरूको अन्तर्राष्ट्रियकरण, पुँजीवादको परजीविता र ह्रास, श्रम र पुँजीबीचको विरोध तथा वर्गसङ्घर्षको तिव्रीकरण र समाजवादमा सङ्क्रमणका लागि आवश्यक भौतिक पूर्वाधारहरूको सिर्जना गर्दछ भन्नुभयो । यद्यपि आज यो निगम पुँजीवाद र विश्वसाम्राज्यवादका रूपमा अभिव्यक्त भइरहेको छ । त्यसको दलाली कठपुतली दलाल पुँजीवादी व्यवस्थाले गरिरहेको छ । दलाल पुँजीवादका हरेक सङ्कटहरूले नयाँ क्रान्तिको आधार तयार गरिरहेका छन् ।

राजनीतिक अर्थशास्त्र

आजको आर्थिक अवस्था, श्रम प्रणाली, राजनीति र अर्थशास्त्रका बीचको सम्बन्ध उत्पादन सम्बन्ध र उत्पादक शक्तिहरूबीचको अन्तरविरोधबारे राम्ररी गहिरो अध्ययन गर्न जरुरी छ । राजनीतिक अर्थशास्त्रको अध्ययन किन ? पहिलो, माक्र्सवाद–लेनिनवाद–माओवादलाई बुझ्न, दोस्रो, संशोधनवादको गहिरो आलोचना एवम् परास्त गर्न, तेस्रो, क्रान्तिकारी दृष्टिकोणको निर्माण गर्न, चौथो, समाज एवम् वर्गविश्लेषण गर्न र पाँचौँ, वैज्ञानिक समाजवादको सम्पूर्ण ऐतिहासिक चरणमा पार्टीको आधारभूत कार्यदिशा र नीतिहरू बुझ्न तथा निर्माणका लागि राजनीतिक अर्थशास्त्रको सामान्य ज्ञान अनिवार्य छ । विश्वसाम्राज्यवाद (पुँजीवाद) र वैज्ञानिक समाजवादको भिन्नता राजनीतिक तर्क र छलफलद्वारा मात्र टुङ्गिन सक्दैन । त्यसलाई बुझ्न मुलुकको अर्थव्यवस्थालाई बुझ्नु आवश्यक हुन्छ । माक्र्सवादी–लेनिनवादी–माओवादीहरूका लागि विशुद्ध अर्थशास्त्र हुँदैन, राजनीतिक अर्थशास्त्र मुख्य हुन्छ । माक्र्सवादी अर्थशास्त्र भनेको राजनीतिक अर्थशास्त्र हो । यो माक्र्सवादका तीन सङ्घटकमध्ये एक हो ।

माक्र्सवादी अर्थशास्त्र

माक्र्सवादी अर्थशास्त्रले वस्तुहरूको होइन, मानिसहरूको अध्ययनमा जोड दिन्छ अर्थात् आर्थिक उत्पादनमा लागेका मानिसहरू र उनीहरूका बीचमा कायम हुने उत्पादन सम्बन्धका विषयमा मानिसहरूका बीचको उत्पादन सम्बन्धको स्वरूप उत्पादनसम्बन्धी गतिविधिहरूको स्वरूपबाट निर्धारित हुन्छ ।

लेखक : पूर्णबहादुर सिंह ‘समरजङ्ग’

उत्पादन सम्बन्धका तीन विषयहरू

क) उत्पादनका साधनहरूको स्वामित्व, ख) उत्पादनका दौरानमा मानिसहरूका बीचमा कायम हुने सम्बन्ध र ग) वितरणको स्वरूप ।
उत्पादनका साधनहरूमाथिको सम्बन्ध उत्पादन सम्बन्धहरूको सबैभन्दा महत्वपूर्ण पक्ष हो । उत्पादनका साधनहरूमाथि कसको स्वामित्व छ ? त्यसले समाजको सम्पूर्ण स्वरूपलाई निर्धारित गर्दछ ।

उत्पादक शक्ति

उत्पादनका लागि मानिससित र प्रकृतिसित सम्बन्ध आवश्यक हुन्छ । मानिसले प्रकृतिमाथि विजय हासिल गर्नका लागि जुन शक्तिहरू आवश्यक पर्दछन्, त्यसलाई उत्पादक शक्ति भनिन्छ । उत्पादक शक्तिमा उत्पादनमा भाग लिने मानिस, उत्पादनका औजारहरू र उत्पादनका साधनहरू पर्दछन् । ती सबैमा मानिस निर्णायक शक्ति हो । उत्पादक शक्तिहरूको स्वरूप निरन्तर परिवर्तन भइरहन्छ । उत्पादक शक्तिहरूको स्वरूपमा हुने परिवर्तनपछि उत्पादन सम्बन्ध वा त्यसमाथि आधारित बाह्य अधिरचनामा पनि परिवर्तन हुन्छ ।

बाह्य अधिरचना

बाह्य अधिरचनामा राजनीतिक व्यवस्था, सरकार, सेना, दर्शन, साहित्य, संस्कृति, धर्म आदि सबै पर्दछन् । जब नयाँ विकसित उत्पादक शक्तिहरूअनुरूप उत्पादन सम्बन्ध वा बाह्य अधिरचनाको पनि परिवर्तन हुन्छ, उत्पादन तीब्र गतिले अगाडि बढ्दछ तर जब उत्पादन सम्बन्धको बाह्य अधिरचना पछाडि पर्दछ, त्यो अवस्थामा पुरानो उत्पादन सम्बन्धले अगाडि बढ्ेका उत्पादक शक्तिहरूको विकासमा बाधा पु¥याउँछ । त्यो अवस्थामा नयाँ विकसित उत्पादक शक्तिहरूअनुरूप नयाँ उत्पादन सम्बन्ध वा बाह्य अधिरचनाको निर्माणका लागि पुरानो उत्पादन सम्बन्ध वा अधिरचनाका विरुद्ध सङ्घर्ष गर्नु र त्यसलाई ध्वस्त गर्नु आवश्यक हुन्छ । त्यसका लागि लामो एवम् कठिन वर्गसङ्घर्ष र क्रान्तिकारी आन्दोलन मात्र होइन, नयाँ क्रान्तिको आवश्यकता हुन्छ । संशोधनवादीहरूले उत्पादन सम्बन्धमा पुरानो बाह्य अधिरचनाको स्वरूप, उत्पादन सम्बन्ध र सामाजिक अधिरचनाका विरुद्ध सङ्घर्ष गर्ने र बदल्ने कुराको सधैँ विरोध गर्दछन् । नयाँ क्रान्तिको युगीन आवश्यकता र महत्वलाई ठीकसित बुझ्न, संशोधनवादीहरूका विरुद्धको सङ्घर्षलाई सही र सशक्त ढङ्गले अगाडि बढाउन आर्थिक सिद्धान्तहरूको जानकारी हुनु आवश्यक छ । वर्तमान आर्थिक सङ्कटको चिहानमा सबै दलालहरूको दुर्दशापूर्ण अन्त्य हुनेछ । दलाल पुँजीवादको खरानीमा वैज्ञानिक समाजवादको भव्य भवन निर्माण हुनेछ ।
२०८०  स्राेत जन बिहानी राष्टृय मासिक भदाै अंक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *