प्रतिबद्ध लेखनले नै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुर्याउँछ : सुदर्शन

Arts-literature News Political

आवरण
कामाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवम् माक्र्सवादी चिन्तक सुदर्शनले प्रतिबद्ध लेखन र प्रतिबद्ध स्रष्टाको महत्व क्रान्तिकालमा अझै धेरै रहेको बताएका छन् । प्रगतिशील स्रष्टा अतृप्त पाण्डेय र पेशल आचार्यको सम्मान र स्मृतिमा काठमाडौँको संवाद डबलीमा आयोजित स्मृतिसभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै माओवादी नेता एवम् चिन्तक सुदर्शनले पार्टी प्रतिबद्धताका विषयमा गोर्की र लुसुनको समयदेखि नै चर्चा र बहस चलेको भए पनि वर्ग प्रतिबद्ध स्रष्टाका सिर्जनाले क्रान्ति सम्पन्न गर्न र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापनाको यात्रामा अघि बढ्न सहज हुने पनि प्रस्ट पारे । गोर्कीको एउटै आमा उपन्यासले अक्टोबर क्रान्तिलाई ठूलो ऊर्जा दिएको र लुसुनले वर्गप्रतिबद्धता नत्यागेको सन्दर्भ उठाउँदै नेता सुदर्शनले माक्र्सवादी स्रष्टाहरूले वर्ग र पार्टीप्रति प्रतिबद्धता कायम राखेरै सिर्जनाबाट क्रान्तिलाई पुर्याएको सहयोग भरपर्दो हुने पनि प्रस्ट पारे ।

उत्तरआधुनिकतावादी, अराजकतावादी र सारमा माक्र्सवादविरोधीहरूले पार्टी र वर्गप्रति प्रतिबद्ध हुनुलाई दास हुने अर्थमा अपव्याख्या गरेर मालेमावादबाट विमुख बनाउने षड्यन्त्र गरिरहेको र आफूलाई कम्युनिस्ट वा वामपन्थी भनाउने नेपालका कतिपय स्रष्टा÷संस्कृतिकर्मी पनि त्यही षड्यन्त्रको सिकार बनिरहेको पनि नेता सुदर्शनले प्रस्ट पारे । ‘निराशा बाँड्नु, समाजलाई अराजकतातर्फ डोहोर्याउनु, सङ्गठित माक्र्सवादी सांस्कृतिक, वैचारिक, राजनीतिक आन्दोलनप्रति विभ्रम फैलाउनु अराजकतावादीहरूको योजना नै हो । माक्र्सवादीहरू त्यसबाट बच्नुपर्छ र प्रतिबद्ध सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ’, उनले भने ।
बढ्दो अराजकतावादको मौसमलाई प्रतिबद्ध आन्दोलनले नै परास्त गर्नसक्ने सांस्कृतिक चिन्तक सुदर्शनको भनाइ थियो । उनले अगाडि भने, ‘मौसम अराजकतावादको छ । यो अराजक, दलाल पुँजीवादले निर्माण गरेको अवस्था हो । चोकचोक र गल्लीगल्लीमा चिया पिउँदै क्रान्ति, क्रान्तिकारी शक्ति र क्रान्तिकारी नेतृत्वलाई गाली गरेर समय बरबाद पार्नु यो मौसमको विशेषता हो । नवउदारवादले ग्रसित यो तप्कालाई बिग्रिनबाट बचाउनुपर्छ । माक्र्सवादी स्रष्टाहरूले समाजवादी यथार्थवादी सिर्जनामा गुणात्मकताको विकास गरेर श्रमिक जनताको मन जित्नुपर्छ र जनताको, आन्दोलनको, क्रान्तिको शक्ति बन्नुपर्छ ।’
स्रष्टा अतृप्त पाण्डेय र पेशल आचार्यले कठोर श्रम र सिर्जनाबाट समाज रूपान्तरणका लागि निर्वाह गरेको भूमिकाको चर्चा गर्दै पार्टी नेता एवम् सांस्कृतिक व्यक्तित्व सुदर्शनले विचार, कला र साधनाबाट निर्मित सुन्दर र प्रभावकारी साहित्यले नै श्रमिक वर्गलाई सुन्दर भविष्य निर्माणतर्फ अग्रसर गराउन सक्ने धारणा राखे । धेरै अध्ययन गरेर थोरै अर्थात् गुणात्मक सिर्जना गर्न पनि उनले प्रतिबद्ध स्रष्टालाई सुझाव दिए । विद्यमान माक्र्सवादी लेखन र त्यसले समाजमा पारेको प्रभावका बारेमा पार्टीले पनि आवश्यकताअनुसार ध्यान दिन नसकेको स्वीकार गर्दै पार्टी नेता सुदर्शनले यसप्रकारका कार्यक्रमहरूले पार्टी र विचारलाई स्रष्टा र जनतासम्म पुर्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । स्वतन्त्रताको वकालत गरिरहेका कतिपय स्रष्टा अलमलमा रहेको र पार्टीको झन्डा नै नउठाए पनि वर्गप्रति प्रतिबद्ध भएर सिर्जना गरिरहनु आवश्यक रहेको माक्र्सवादी चिन्तक सुदर्शनको भनाइ थियो ।
अर्का माक्र्सवादी सौन्दर्यशास्त्री प्राध्यापक डा. जगदीशचन्द्र भण्डारीले प्रतिबद्ध सिर्जनकर्मको विरोध गर्नु माक्र्सवादको भ्रष्टीकरण भएकाले त्यस किसिमका षड्यन्त्र, योजना र भ्रमहरूका विरुद्ध प्रतिबद्ध माक्र्सवादी स्रष्टाहरूले निरन्तर लागिरहनुपर्ने धारणा राखे । साम्राज्यवाद, उत्तरआधुनिकतावाद, दलाल पुँजीवाद र सामन्तवाद निर्देशित स्रष्टाहरूले माक्र्सवादविरुद्ध प्रहार गरिरहेकाले प्रतिबद्ध माक्र्सवादी स्रष्टाहरूका अघिल्तिर साम्राज्यवादी भ्रम चिर्नु र क्रान्तिकर्ममा अग्रसर रहनुपर्ने आवश्यकता औँल्याए ।
प्रगतिशील स्रष्टा एवम् समालोचक प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले कुनै पनि मानिस कति लामो समयसम्म बाँच्यो भन्ने कुराले भन्दा पनि कसरी, कथि सार्थक जीवन बाँच्यो भन्ने कुराले अर्थ राख्ने भन्दै स्रष्टा अतृप्त पाण्डेय र पेशल आचार्यले सार्थक र सिर्जनशील जीवन बाँचेको संश्लेषण गरे ।
उनले भने, ‘जीवन गति हो । बाँचेकाहरू पनि गतिशील छैनन् भने मृत हुन्छन् । मुहान नै सुक्यो भने जति लामो वा गहिरै भए पनि नदी सुक्छ । जरा सुके भने रूख सुक्छ । सिर्जनशील हुनु र अग्रजप्रति कृतज्ञ हुनु सही माक्र्सवादी स्रष्टाको कर्तव्य हो । यी संस्थाले कार्यक्रम आयोजना गरेर स्रष्टालाई अमर पार्न ठूलो भूमिका निर्वाह गरेका छन् ।’
कम्युनिस्ट नामधारी कयौँ पार्टी र नेताहरूले कम्युनिस्ट आदर्श र आचरणलाई नै बिगारिदिएका अनुभूतिहरू राख्दै समालोचक ज्ञवालीले पार्टी प्रतिबद्धता आज कति सम्भव र आवश्यक छ भन्दै पार्टी नेतृत्वप्रति आलोचनात्मक प्रश्न राखे ।
राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले कम्युनिस्ट पार्टी र नेताहरूप्रति आमजनसमुदायको मोहभङ्ग हुँदै जाने खतरा बढ्नु डरलाग्दो विषय रहेको बताए । कम्युनिस्ट विचारले नभएर पार्टी र विशेषतः नेतृत्वहरू आफ्नो आदर्श र निष्ठामा प्रतिबद्ध रहन नसक्दा त्यसको असर आन्दोलन, स्रष्टा र सिर्जनामा पनि पर्दै जानु असामान्य रहेको भन्दै उनले क्रान्तिकारी आन्दोलन र प्रतिबद्ध सिर्जनाका लागि जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेका हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान तथा नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले स्रष्टाहरू पेशल आचार्य र अतृप्त पाण्डेयको सङ्क्षिप्त जीवनी र लेखकीय प्रवृत्तिहरूको चर्चा गर्दै देश र जनताका पक्षमा सिर्जना गर्ने स्रष्टाहरूको इतिहास मेटिनु नहुने बताए । क्रान्तिकारी आन्दोलनको नेतृत्वमा आउने गरेको पलायनले स्रष्टा र सिर्जनाहरू प्रभावित हुने खतरा बढेको र मालेमावादी, प्रतिबद्ध स्रष्टाहरूले यस किसिमका चुनौतीहरूको सामना गर्नुपर्ने बताए ।
स्रष्टा अतृप्त पाण्डेय नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका ज्येष्ठ सदस्य र स्रष्टा आचार्य हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका सल्लाहकार थिए । पाण्डेयको असार १२ र आचार्यको साउन १ गते असामयिक निधन भएको थियो ।
कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष अग्निराज पौडेल ‘अराप’ ले गरेका थिए । मञ्चका ज्येष्ठ सदस्य ढुण्डीराज अधिकारीले स्वागत गर्दै स्रष्टाहरूप्रति लक्षित श्रद्धाञ्जली कविता वाचन गरेका थिए ।
कार्यक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष प्राडा ताराकान्त पाण्डेय, प्राडा नन्दीश अधिकारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य पूर्णबहादुर सिंह, देवकला अधिकारी, खेम थपलिया, स्रष्टा राजकुमार कुँवर, रसुवाली कवि, जय दाहाल, असल पाख्रिन, बलराम बिष्ट, बद्री चौलागाईं, नारायण भण्डारी ‘जनकपुरी’, भीम चापागाईं, मोहनलाल घिसिङलगायत पचासभन्दा बढी स्रष्टा÷संस्कृतिकर्मीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *