काठमाडौं ः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश िदएको थियो ।
बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला-२६) घटना भएको दिन १८ वर्ष उमेर पूगेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।
त्यसपछि पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।
न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोगपत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्ममिति १८ जेठ २०६२ नै उल्लेख छ ।
सन्दीपले पीडित किशोरी जन्मिँदा अदालतको अभिलेख किताबको विवरण पनि फरक परेको पाइएको थियो । उनले पीडितको जन्ममिति १८ जेठ २०६१ पुष्टि हुने गरी पठाएको विवरणमा पनि आमाको नाम, उमेर जस्ता विवरण फरक परेका कारण सत्यतामा प्रश्न उठेको थियो ।