काठमाडौँ : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले विभिन्न निजी विद्यालयहरुमा कालो ब्यानर टाँगेको छ।
संसद्मा दर्ता भएको शिक्षा विधेयक खारेजीको माग गर्दै बिहीबार सांसद र मन्त्रीहरुको लगानी रहेका विद्यालयहरुमा कालो ब्यानर टाँगेको अनेरास्ववियु क्रान्तिकारीले जनाएको छ।
प्रस्तावित शिक्षा विधेयक राष्ट्रको हितविपरीत रहेको उक्त विद्यार्थी संगठनको ठहर छ। राज्य शिक्षाको दायित्वबाट पन्छिन खोजेको उसको आरोप छ।
‘प्रस्तावित शिक्षा विधेयकले नेपालमा विधिवत रुपमा कर्पोरेट प्रणाली सुरु भएको छ। शिक्षाको दायित्वको बहन गर्नबाट राज्य पञ्छिएको छ। प्रस्तावित विधेयक विद्यार्थी आन्दोलनले शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य, निःशुल्क शिक्षा, शिक्षालाई सीप, श्रम र उत्पादनसँग जोडि वैज्ञानिक बनाउनुपर्नेलगायतका विषयमा लामो समयदेखि गर्दै आएको संघर्ष र सहमतिका विरुद्धमा छ।
केही व्यापारी र माफियाले लुट मच्चाउन वैधानिकता दिने र गरिब, किसान र मजदुरलाघ शिक्षाबाट बञ्चित गर्ने षड्यन्त्रसहित विधेयक आएको छ तर्सथ प्रस्तावित विधेयक नेपाली जनता राष्ट्रको हित विपरीत छ,’ अनेरास्ववियु क्रान्तिकारीले भनेको छ।
उक्त विधेयक खारेज गर्नुपर्ने उसको माग छ।
कालो ब्यानर टागेका विद्यालयहरू शिक्षा मन्त्रि अशोक राईको स्वपन्न बाटिका स्कुल, सेरबहादुर देउवा पत्नि तथा सांसद आर्जु राणा देउवाको युलेन्स स्कुल, सांसद बिनोद चौधरीको क्याम्पिएन र प्रिमियर स्कुल , पुर्वमन्त्री उमेश श्रेष्टको लिटिल एन्जलस स्कुल, मिनेन्द्र रिजालको एपेक्स कलेज पुर्व सान्सद गिता राणाको ग्यालेक्सि स्कुल , युनाइटेड स्कुल ललितपुर लगायत उपत्यकाका दर्जनौ र देशै भरीका मन्त्री , सान्सद , उच्च पदस्थ कर्मकारीहरुको लगानि भएका सयौ स्कुल र कलेजहरुमा सङ्गठनको केन्द्रीय कार्यक्रम अनुसार कालो ब्यानर लगाइएको छ |
देश सञ्चारबाट