
कमरेड पुष्पलालको जन्मजयन्तीका अवसरमा उहाँलाई स्मरण गर्नुको अर्थ उहाँका योगदानहरू स्मरण गर्नु र अधुरो कार्यभार पूरा गर्न कम्मर कस्नु हो । उहाँलाई हामी यसकारण गम्भीररुपले स्मरण गर्दछौ कि उहाँले नै नेपालमा आफ्ना सहयौद्धाहरू नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द बैद्य र नारायणविलास जोशी सहित वि.स. २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । चीन भने नौलो जनवादी क्रान्तिसहित बैज्ञानिक समाजवादमा प्रवेश गरेको थियो भने भारत दुई वर्ष अघि मात्र अंग्रेजको जन्जीरबाट स्वतन्त्र भएको थियो । उत्तर र दक्षिणका दुवै छिमेकीहरूले मुक्ति पाएको बेला नेपालमा उहाँले मुक्ति मार्गको साधन उद्घाटन गर्नुभएको थियो । जहाँनिया राणा शासन रहेकै अवस्थामा यो कार्य एउटा महान् र ऐतिहासिक शुरुआत थियो । त्यसकारण हामी क.पुष्पलाललाई शहीद गंगालाल श्रेष्ठका भाई मात्र होइन, गंगालालको वास्तविक सपना पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य भनेर चिन्दछौं । कुनै पनि कार्यको शुरुआत एउटा कठिन र जोखिमपूर्ण हुन्छ ।
दोश्रो कुरा, उहाँ अथक र इमान्दार कम्युनिष्ट यौद्धा हुनुहुन्थ्यो । उहाँले माक्र्सको संश्लेषण ‘ विज्ञानको कुनै सीधा तथा फराकिलो राजमार्ग हुँदैन र त्यसको प्रकाशमान शिखरसम्म त्यो नै पुग्नसक्छ जो उसको अघिल्तिर उभिएको ठाडो उकालोदेखि डराउँदैन’लाई राम्रोसँग ग्रहण गर्नुभएको थियो । उहाँ पार्टीभित्र रायमाझी र तुल्सीलाल प्रवृत्तिसँग निरन्तर अन्तरसंघर्ष गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसको सिद्धान्तको रक्षा गर्नुभएको थियो भने वर्गसंघर्षका खतरासँग मुकाबिला गर्नुभएको थियो । पार्टीभित्र कैयौंले उहाँको इमान्दारितामाथि टेकेर आफ्नो स्वार्थ पूरा गर्न खोजेका थिए । अन्ततः उहाँको बैज्ञानिक इमान्दारिताको सिमेन्टेड पर्खालमा ठोक्किएर पछारिए । उहाँलाई गलाउने सपना चक्नाचूर भयो ।
तेश्रो कुरा, सोभियत संघमा खु्रश्चोभ सत्तामा आएपछि उसले शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र सबै जनताको पार्टी जस्ता वर्गसमन्वयवादी सिद्धान्त ल्यायो । यहीबाट चीन कम्युनिष्ट पार्टी र सोभियत संघ कम्युनिष्ट पार्टी( बोल्सेविक)का बीच महान् बहस शुरु भयो । नेपालमा खु्रश्चोभको कार्यदिशा अवलम्बन गर्दै तुल्सीलालले राष्ट्रिय प्रजातन्त्रको बाटो अपनाए । यस प्रकारको घरेलु र बाह्य संशोधनवादका विरुद्ध लड्दै पुष्पलाल माओको क्रान्तिकारी कार्यदिशा रक्षाका लागि कम्मर कसेर अघि बढ्नुभएको थियो । यो धेरै महत्वको कुरा हो । त्यसकारण उहाँ माओले विकास गर्नुभएको दीर्घकालिन जनयुद्ध, नयाँ जनवाद र बैज्ञानिक समाजवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति(महान् सर्वहारा साँस्कृतिक क्रान्ति) मा सत्तीसाल भएर उभिनुभयो ।
चौथो कुरा, उहाँको मृत्यु भइसकेपछि मात्र म कम्युनिष्ट पार्टीको नाम सुनेर २०३५ सालदेखि विद्यार्थी संगठनको राजनीतिमा बामेसर्न थालेको हुँ । २०४० सालमा मात्र मैले नेकपा(मशाल)को सदस्यता लिएको थिए । त्यही वरिपरि मेरो हातमा ‘गद्दार पुष्पलाल’ शिर्षकको किताव प¥यो । २०५५ सालसम्म मैले पनि उहाँलाई नकारात्मक पात्रको रुपमा लिए । हामीलाई त्यो किताब पढाउने पुष्पकमल दाहाल, र बाबुराम भटराईहरूले गद्दारी गरेर गएका छन् । त्यो किताब लेख्ने मोहनविक्रम सिंहले पनि त्यति गतिलो गरेका छैनन् । अन्ततः गद्दार भन्नु गल्ती थियो भन्न चाहि सबै बाध्य भए । पुष्पलाललाई गद्दार भन्नुको मूल कारण उनले काँग्रेसलाई पुँजीवादी पार्टी भन्नु र त्यससँग कार्यगत एकता गर्नुपर्छ भन्नु नै रहेछ । विश्लेषणमा केही कमी कमजोरी र सीमा हुन सक्छन् । तर त्यतिकैमा गद्दारै भन्नु अन्धाहरूको हाती धमाई मात्र थियो । समकालिन नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँ जस्तो इमान्दार र क्रान्तिकारी नेता अरु कोही रहेनछ भन्ने कुरा आज उहाँका रचनाहरूबाट स्पष्ट हुन्छ ।
पाँचौ कुरा, उहाँ एकजना प्रतिभाशाली लेखक र इतिहासकार पनि हुनुहुन्थ्यो । उहाँले नै वास्तवमा माक्र्सवादी कोणबाट नेपालमा भएको समाज विकासवारे स्पष्ट पार्नुभएको छ । उहाँ एक सरल भाषामा गहिरो अभिव्यक्ति दिने लेखक हुनुहुन्थ्यो भन्ने कुरा संकलित रचनाहरूको अध्ययनबाट स्पष्ट हुन्छ । उहाँ निरन्तर अध्ययन र चिन्तनमा हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीको घोषणापत्र पहिलो पटक २००५ मा नेपालीमा उल्था गर्ने उहाँ नै हुनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट पार्टीको घोषणापत्र, पार्टीको दस्तावेजदेखी पर्चा सम्म उहाँले नै लेख्नुभएको थियो ।
त्यसकारण क.पुष्पलालको स्मरण गर्दा उहाँलाई नेपाल कम्युननिष्ट पार्टीका संस्थापक, अथक र इमान्दार कम्युनिष्ट योद्धा, सबै खाले संशोधनवादका दुश्मन, सबै खाले प्रतिक्रियावाद र साम्राज्यवादका उन्मूलनको लडाईका कमाण्डर, एक प्रतिभाशाली लेखक तथा इतिहासकार भनेर बुझनु पर्दछ । आज हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा काम गर्ने कमरेडहरूले यो आलेखको सिरानमा उदृत उद्धरणलाई विशेष ढंगले ग्रहण गर्नुपर्दछ । इतिहासकाे पानाबाट