एसईईको नतिजा सार्वजनिक, यो वर्षको एसईई नतिजा सुधार

Education News

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार हुँदै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो ।

बोर्डले यो वर्ष अनिवार्य गणित, अनिवार्य अंग्रेजी र विज्ञान विषयको स्तरीकृत प्रश्नपत्र प्रणालीबाट परीक्षा लिइएको थियो । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्यामा बढी देखिएको छ भने तल्लो ग्रेडको नतिजा कम देखिएको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेका छन् । जुन ४.६३ प्रतिशत हो । २०७८ को नतिजा अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना रहेका थिए । जुन १.९४ प्रतिशत रहेको थियो ।

त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ विद्यार्थी रहेका छन् । जुन ११.३६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यो संख्या पनि बढी हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विभिन्न कारणले यो वर्षका नतिजा राम्रो देखिएको बताए ।

विद्यार्थीले राम्रोसँग पढ्न पाएकाले यो वर्षको नतिजा पनि राम्रो आउने हुन सक्ने उनको अनुमान छ । अध्यक्ष शर्माले भने ‘कोभिड महामारीको पछि परीक्षा लिइएको थियो । विद्यार्थीहरूले राम्रो तयारी गर्न पाएका थिएनन् । यो वर्ष राम्रोसँग पढ्न पाए । विद्यालयले पनि राम्रोसँग पढाउन पायो । बोर्डले सञ्चालन गर्ने परीक्षाको मापदण्ड तथा टुलहरूमा गरिएको सुधारले पनि नतिजा सुधार आएको हुन सक्छ ।’

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।

नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको छ । बोर्डले त्यससम्बन्धी निर्णय गत सोमबार गरेको थियो ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *