प्रकाश थापा,१६ असार धनगढी : कैलालीको धनगढीमा दुई दिन सम्म संचालन भएको प्रदेश स्तरीय एकता अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) र नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) बिच उक्त एकता अधिबेशन सम्पन्न भएको हो । साथै एकता अधिवेशन,प्रशिक्षण तथा बैठकले केन्द्रीय सचिवालय सदस्य महानको संयोजकत्वमा ९९ सदस्सीय प्रदेश संगठन समिति गठन गरेको केन्द्रीय सदस्य तथा कैलाली संयोजक प्रकाश रावलले जानकारी दिए । उनका अनुसार प्रदेश संगठन समितिको सह–संयोजकमा केन्द्रीय सचिवलाय सदस्यद्वय राम बहादुर केसी(डाइमन्ड) र ईन्चार्ज गुणराज लोहनी रहेका छन् ।
पार्टीको उक्त अधिबेशनले ५ सदस्यीय प्रदेश कार्यालय, केन्द्रीय महाधिबेशन आयोजक समितिका २७ जना सदस्य सम्मिलित प्रदेश सचिवालय समेत गठन गरेको पनि उनले बताए । त्यस्तै प्रदेश अन्तरगतका जिल्लाहरुका ईन्चार्ज, संयोजक र सहसंयोजकहरु, जनवर्गीय संगठन र विभागहरूको बैठकबाट टुंगो लगाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश संगठन समितिले जनाएको छ ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई प्रदेश स्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको सो पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन,कार्यालय सदस्य राजवीर लगायतले प्रशिक्षण तथा निर्देशनात्मक भनाई राखेका थिए ।