नेपालको राजनीतिक आन्दोलन २००७ सालदेखि उथलपुथलपूर्ण चरण पार गर्दै अगाडि बढेको छ । १० वर्ष चलेको माओवादी जनयुद्ध सबैभन्दा ठूलो राजनीतिक संघर्ष हो । जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरूआत स्पष्ट दृष्टिकोणसहित गरिएको थियो । जसको न्यूनतम् रणनीतिक लक्ष्य जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने थियो ।
मालेमावादी सिद्धान्त अङ्गीकार गर्दै दीर्घकालीन जनयुद्धको सैन्य कार्यदिशासहित अगाडि बढेको थियो । बाबुरामको नेतृत्वमा ४० बुँदे माग बुझाउने कुरा एउटा सामान्य प्रक्रिया मात्रै थियो । माग सम्बोधनको समय अवधि पूरा नहुँदै २०५२ फागुन ०१ मा प्रहरीचौकी आक्रमण भैसकेको थियो । खासमा युद्ध लड्ने कुरा माओवादी वृत्तमा स्पष्ट थियो । त्यसकारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मागको मतलब नै गरेनन् ।
जनयुद्ध शुरू गर्दा जम्मा ७२ जना पूर्णकालीन कार्यकर्ता थिए । त्योबेला बम गोला बारुदभन्दा किताबहरू बढी बटुलेर अध्ययन गरिएको थियो । सामान्य ढंगबाट शुरू गरिएको जनयुद्धले केही वर्षमा धेरै ठूलो स्वरूप र आकार लिन पुग्यो । देशमा रहेको एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्था, नेपाली समाजका अन्तरविरोधहरू, वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय उत्पीडनहरू नै मुख्य कारण हुन् ।
अर्को पक्ष मालेमावादी विचार र सिद्धान्त नै जनयुद्धको उचाइको मुख्य आधार हो । यी सबै कुरासँगै त्यसको नेतृत्व गर्ने प्रचण्डको क्षमता र कुशलता पनि हो । जनयुद्ध विजयकै बाटोमै हुँदा खारा लडाइँको पराजयबाट प्रचण्ड आत्तिए । त्यसका पनि आफ्नै कमजोरीहरू थिए । जब नेतृत्व तहबाटै बलिदान गर्ने बेला आयो विभिन्न सम्झौतामा माओवादी आन्दोलन फस्यो ।
जेसुकै भए पनि देश शान्ति प्रक्रियामा प्रवेश गर्यो । प्रचण्डले कार्यकर्ताहरूलाई विभिन्न कुराबाट छक्काउँदै झुक्याउँदै कहिले सडकबाट सत्ता कब्जा गर्ने त कहिले सरकारमै हुँदा त्यहीँ सत्ता कब्जा गर्ने कुरामा जोडबल लगाइरहे । त्यहाँबाट नभए फेरि पनि लडाइँ लड्ने भनेर हतियार र जनमुक्ति सेनाका मुख्य लडाकू तथा केही कमान्डरहरूलाई बाहिर राखे । संसद्लाई त प्रयोग मात्रै गर्ने हो भने । नेता कार्यकर्ता बेलाबेला सशंकित भए पनि प्रचण्डको कार्यकर्ता भुलाउने आफ्नै शैली थियो, फेरि मख्ख बनाइहाल्थे ।
०६४ सालमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्यो तर, संसदीय अभ्यासमा दख्खल राख्ने एमाले–कांग्रेससँग लड्न सकेन । देशीविदेशी प्रतिक्रियावादी तत्त्वहरूले पनि माओवादीलाई गलाएर नै छाडे । पहिलो संविधान सभा विघटन हुन गयो । यी सबै प्रचण्डले तत्कालीनरूपमा लिएर अगाडि बढेका गलत नीतिहरूकै कारणले थियो ।
प्रचण्डविरुद्ध महापतन लेखेका विप्लवलाई पक्कै पनि भित्रभित्र आत्मग्लानि भएको हुनुपर्छ । प्रचण्डसँग क्षमायाचना गर्लान् या नगर्लान् त्यो उनको विषय हो । इतिहासको दस्तावेज बनेको पुस्तक अब फिर्ता लिन सकिँदैन । त्यो पुस्तकका केही विषयहरूबाहेक सबै कुराहरू यथार्थ र वास्तविक हुन् । त्यो पुस्तक हाम्रा लागि सन्दर्भ सामग्री हुनेछ ।
अहिले आएर हेर्दा जनयुद्धको सर्वोच्च कमान्डर प्रचण्डको पतन भयानक र डरलाग्दो छ । यसै सन्दर्भमा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘महापतन’ पुस्तक लेखे । पुस्तक प्रचण्ड पतनको अन्तरकथासँग सम्बन्धित छ । त्यसैको अध्ययनपश्चात पुस्तककै आधारमा त्यहाँभित्रको सार कुरा यहाँ लेख्न खोजेको छु ।
विप्लवको दृष्टिमा प्रचण्डको ‘महापतन’ !
विप्लवले पुस्तकमा दाबी गरेका छन्, प्रचण्डमा सबैभन्दा पहिला विचारधारात्मक पतन देखियो । कम्युनिस्ट हुनुको पहिलो शर्त भनेको नै विचारधारात्मक दृष्टिकोण हो, जो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।
शान्तिप्रक्रियामा आइसकेपछि विचारधारात्मक दृष्टिकोणमा पनि शान्ति छायो । प्रचण्ड द्वन्द्वात्मक भौतिकवादभन्दा उल्टो हिँड्न पुगे । उनी धार्मिक कार्यक्रमहरूमा भौतिकवाद र आध्यात्मिकवादको फ्युजन गर्छु भन्दै हिँडे । त्यसपछि ग्रह सपार्ने भैँसी पूजा, विभिन्न धार्मिक कार्यक्रमको उद्घाटन त कहिले बाबा रामदेवको आशीर्वाद, हुँदाहुँदा अहिले त पूजापाठ, धार्मिक तटहरूमा स्नान गर्दै हिजो जनयुद्ध गर्नु गल्ती भए जसरी पाप पखाल्दै हिँडेको भान हुन्छ ।
यी सबै कार्य हेर्दा उनी कम्युनिस्ट नेता, विचारक या अभियन्ताभन्दा पनि सन्त–महन्त, पादरी, मुल्लाहका सेवक र पिछलग्गुजस्ता प्रतीत भैरहेका छन् । उनी जनयुद्ध धार्मिक स्वतन्त्रताका लागि लडेजस्तो गर्दै धर्मनिरपेक्षता आएको चर्को कुरा गर्छन्, जबकि कम्युनिस्टहरूले धर्मजस्तो काल्पनिक कुरासँग कुनै सम्बन्ध राख्दैनन् । कम्युनिस्टहरू धार्मिक स्वतन्त्रता होइन त्यसलाई विस्तारै कम्युनिस्ट संस्कार र संस्कृतिमा रूपान्तरण गर्दै काल्पनिक कुरा दुनियाँबाट हटाउने कुरामा केन्द्रित हुन्छन् ।
अहिले त प्रचण्ड मालेमावादी विचार दृष्टिकोणबाट यति टाढा पुगेका छन् कि उनले आफैंले भनेको ‘संशोधनवादी, दक्षिणपन्थी अवसरवादी, दलाल संसदीय व्यवस्थाको रक्षक एमाले’ र त्यसका नेता केपी शर्मा ओली जो सबैभन्दा बढी माओवादीविरोधी, प्रचण्डको भाषामा ‘विदेशी दलाल’को पाउमा माओ विचारधारासमेत नमान्ने गरी पार्टी बुझाए । यी सबै कुकार्य र हर्कत गर्ने प्रचण्डलाई के भन्ने र कसरी बुझ्ने भन्ने विषयमा गम्भीर प्रश्न उठ्छ ।
अर्को राज्यसत्तासम्बन्धी दृष्टिकोणमा गम्भीर विचलन पैदा भयो । राज्यसत्ताबाहेक सबै भ्रम हुन् र क्रान्ति सम्पन्न नहुँदै हतियार बिसाउनु आत्मसमर्पण र गद्दारी गर्नु हो भन्ने प्रचण्ड बिस्तारै बदलिँदै गए । त्यही अनुरूप कार्यकर्ता र जनसेनालाई झूटो भ्रममा फसाउँदै गए । अहिले आएर सम्पूर्ण कम्युनिस्ट आदर्श त्यागेर दलाल संसदीय व्यवस्थाका रक्षा कवच बनेका छन् । कुनै बेला सर्वहारा वर्गको सत्तालाई सर्वोपरि देख्ने प्रचण्ड आजकल त्यसैलाई तर्साउने भूतजस्तो देख्छन् । कुनै ताका प्रतिक्रियावादी दुश्मन मानेको एमालेको आडभरोसामा जीवन गुजारा गर्न पुगेका थिए । कहिलेकाहीँ उनको आशाविहीन र रुझेको बिरालोजस्तो अनुहार हेर्दा मान्छेहरू मरिमरि हाँस्छन् र भन्छन्, कठै प्रचण्ड !
प्रचण्डको यो पतन नेपालको कम्युनिस्ट आन्दोलनको मात्रै होइन विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा कतै नभएको भयानक डरलाग्दो आत्मसमर्पण र विचलन हो । वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोलाई निषेध गरेर आज उनी दलाल संसदीय पुँजीवादी व्यवस्था अँगाल्न पुगेका छन् । त्यही व्यवस्थाबाट समाजवाद ल्याउने झूटो अफवाह र भ्रम हुन् । कसैले क्रान्तिको कुरा गर्दा प्रचण्ड राजनीतिक क्रान्ति सम्पन्न भैसकेको र आर्थिक क्रान्ति गर्नुपर्ने बताउँछन् । क्रान्ति गर्न हिँडेकाहरूलाई अतिवादी, उग्रवामपन्थी, अराजनीतिकको आरोप लगाउँछन् । हिजो जनयुद्धमा उनको भनाइ स्मरण गर्दा आज उनी प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ताको असल प्रतिनिधि पात्र बनेका छन् । यसबाट उनको छेपारे प्रवृत्ति उदाङ्गो भएको छ र उनी क्रान्तिको दुश्मन बनेका छन् ।
कम्युनिस्टहरूले मान्ने बल प्रयोग र सशस्त्र संघर्षसम्बन्धी दृष्टिकोणमा उनको पतन झन् भयानक रहेको उल्लेख विप्लवले आफ्नो पुस्तकमा गरेका थिए, मानौं उनी गान्धीका चेला हुन् कि जस्तो अनुभूति हुन्छ । संसदीय व्यवस्थाको सन्दर्भमा त उनी त्योभन्दा अरू बाटो नै देख्दैनन् । कम्युनिस्ट पार्टीको सन्दर्भमा हेर्दा जब पार्टी शान्ति प्रक्रियामा आयो । विस्तारै बैठकहरू कुम्भमेला जस्ता हुन थाले । कम्युनिस्ट पार्टीमा दलाल, तस्कर, अपराधी, जासुस, विजातीय तत्त्वको घुसपैठ रोक्न सकेनन् । यसै प्रक्रियामा उनले ५००० को केन्द्रीय समिति बनाएर अन्तर्राष्ट्रिय बेइज्जतसमेत गराए ।
जीवनभरी एमालेलाई संशोधनवादी भनेर नथाक्ने प्रचण्ड आफैं थाके, गले र एमालेमा पार्टी बुझाएर आफू पतन भए । यो अर्को उनको भयंकर महापतन थियो । जनयुद्धको बेलाका सबै प्रतिबद्धतामाथि घात गर्दै दलालहरू कब्जा जग्गा फिर्ता, जनसत्ताको विघटन र बडो दर्दनाक तरिकाले जनमुक्ति सेनाको विघटन विश्व कम्युनिस्ट आन्दोलनकै डरलाग्दो चित्र थियो ।
बिस्तारै उनको राष्ट्रिय स्वाधीनताको सोचमा परिवर्तन आयो । जनयुद्धताका भारतीय विस्तारवादसँग लड्ने भनेर बनाएका सुरुङहरू छाडेर सुरुङ सम्बन्ध बनाउने पुगे, हालसम्म आएर त सबै साम्राज्यवादीहरूसँग लम्पसार नै परेका छन् ।
आर्थिक दृष्टिकोणमा आएको विचलन झनै भयानक छ । यतिसम्म कि क्रान्ति गर्न भनेर जनमुक्ति सेनाबाट उठाएको झन्डै चार अर्ब भ्रष्टाचार गरेको आरोप उनको थाप्लोमा रहेको भनेर विप्लवले आफ्नो पुस्तकमा प्रचण्डलाई आरोपित गरेका छन् । पार्टीमा बढ्दै गएको आर्थिक अराजकता रोक्न छाडेर उल्टै प्रश्रय दिन पुगे र आफैं त्यसमा संलग्न भए । जनयुद्धमा आफैंले बनाएका सबै आर्थिक दृष्टिकोण ध्वस्त पारे ।
सांस्कृतिक दृष्टिकोणको विचलन त झनै डरलाग्दो तरिकाले आयो कि नेताहरूको जीवनशैली राजसी ठाँटमा आगाडि बढ्यो । जनवादी बिहे हुन छाडे । गरेका पनि बिग्रिए । एउटैले तीनवटा बिहे गर्दा पनि पार्टीले छुट दियो । ती विचलनका कदमहरू रोक्न छाडेर प्रचण्ड साक्षी जस्तै बने । यसरी प्रचण्डको पतन हुन पुग्यो । जसमा बाबुराम भट्टराई केही हदसम्म सहयोगी नै थिए । यसरी प्रचण्ड विश्व कम्युनिस्ट आन्दोलनका गद्दारहरू बर्नस्टिन, कार्ल काउत्सकी, खुश्चोभ, टिटो, देङ्ग, ज्योतिबसुको लहरमा ठिङ्ग उभिन पुगे । कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलन, जनयुद्धका सर्वोच्च कमान्डर र विश्व कम्युनिस्ट आन्दोलनका उदाउँदो नेता प्रचण्डको महापतन हुन पुग्यो ।
उपर्युक्त विषयहरू नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको २०७५ असोजमा प्रकाशित पुस्तक महापतनमा उल्लेखित छन् । यो पछिल्लो पाँच वर्षमा प्रचण्डमा त्यस्तो के चामत्कारिक रूपान्तरण भयो ? जसले विप्लव प्रचण्डसँग समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्मको गोरेटोमा अगाडि बढ्न तयार भए । अहिले घोषणा भएको समाजवादी मोर्चामा प्रचण्ड, माधव र उपेन्द्रबीच धेरै मतभिन्नता त देखिँदैन, तर एकाएक विप्लवको अवतरण आश्चर्यजनक छ ।
विप्लवले मोर्चाको विषयमा कार्यकर्तालाई भन्ने कुरा अहिले साम्राज्यवाद जब्बर भएर आयो, मुख्यतः अमेरिकी साम्राज्यवाद, त्यसकाविरुद्ध लड्न राष्ट्रवादी र समाजवादीहरूबीच सहकार्य आवश्यक छ भन्छन् । कहिलेकाहीँ झुक्किएर चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङ (Chinas National People’s Party) बीच जापनी साम्राज्यवादसँग लड्न (सन् १९३७–१९४५) गरिएको सहकार्यको उदाहरण दिन पुग्छन्, जुन कुरा विप्लवको संसदवादी दलहरूसँगको सहकार्यसँग बिलकुल मेल खाँदैन ।
माके, जसपा र एकीकृत समाजवादी न त यी राष्ट्रवादी शक्ति हुन् र न साम्राज्यवादविरोधी शक्ति नै । यी दलहरू आफैंमा कहीँ न कहीँ साम्राज्यवादका गोटीहरू हुन् । अब प्रश्नहरू जन्मिन्छन् के यिनीहरू एमसीसी रोक्न तयार भए ? के यिनीहरू संसदीय व्यवस्थाको विकल्प खोज्न तयार भएका हुन् ? त्यसो होइन । यी दल संसदीय व्यवस्थाबाट एक इन्च पनि टसमस हुन सक्दैनन् । यो आजको यथार्थ हो । विश्वमा भएका कम्युनिस्ट क्रान्तिहरूको प्रक्रियामा साम्राज्यवादसँग लड्ने चीन मात्रै होइन क्युबा, कोरिया र भियतनामलगायत देशहरूले भीषण मुकाबिला गरे । भियतनामले त फ्रान्स, जापान र अमेरिकी साम्राज्यवादसँग भयानक लडाइँ लड्नु परेको थियो ।
समाजवादी मोर्चाका १५ बुँदे प्रतिबद्धता अध्ययन गर्दा कस्तो लाग्छ भने सरकारको तर्फबाट सुधारका केही कार्यक्रम आएका हुन् । यही व्यवस्थाभित्र सुधार गर्नेभन्दा अरू केही देखिँदैन । कहीँ कतै एउटा बुँदामा पनि घुमाउरो तरिकाले व्यवस्थाको विकल्प खोज्ने कुरा समेटिएको छैन । यसो हेर्दा समाजवादी मोर्चाको नाममा भएको भद्दा मजाकजस्तो लाग्छ ।
साम्राज्यवादीहरूलाई संघर्ष र युद्धको मोर्चाबाट जवाफ दिइएको थियो । के समाजवादी मोर्चामा सहभागी यी दलका मुख्य नेताहरू प्रचण्ड, माधव र उपेन्द्र आफ्नो नेतृत्वमा साम्राज्यवादविरुद्ध सडकमा जुलुस निकाल्न सक्छन् ? मृत्युदेखि डराएर क्रान्ति अलपत्र पार्ने कार्यहरूबाट त्यो कदापि सम्भव छैन ।
यो सबै नाटक बलियो संसदीय मोर्चा बनाउन हो । अहिलेको वस्तुगत अवस्थालाई बुझ्यौं र समाजवादी मोर्चा निर्माणमा लाग्यौं भन्ने विप्लवको बकम्फुसे गफ आफ्नो सहज अवतरणको अनुहार ढाक्ने खोल मात्रै हो ।
समाजवादी मोर्चाका १५ बुँदे प्रतिबद्धता अध्ययन गर्दा कस्तो लाग्छ भने सरकारको तर्फबाट सुधारका केही कार्यक्रम आएका हुन् । यही व्यवस्थाभित्र सुधार गर्नेभन्दा अरू केही देखिँदैन । कहीँ कतै एउटा बुँदामा पनि घुमाउरो तरिकाले व्यवस्थाको विकल्प खोज्ने कुरा समेटिएको छैन । यसो हेर्दा समाजवादी मोर्चाको नाममा भएको भद्दा मजाकजस्तो लाग्छ ।
विशेष ध्यान दिनुपर्ने कुरा विगतमा विप्लव अरू दुईवटा मोर्चाको असफलताका प्रमुख कारक हुन् । पहिलो रणनीतिक संयुक्त मोर्चा जसमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी थिए ।
प्रतिबन्धमा हजारौं हजारको जुलुस सातवटै प्रदेशमा यही मोर्चाको आवरणमा भएको थियो । पछि विप्लवको अहंकार र दम्भको कारण विघटन भएको कुरा व्यापक चर्चा चलेको थियो । फेरि दोस्रो मोर्चा गठन भयो ‘समाजवादी देशभक्त मोर्चा’ जसमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट थिए । विप्लव संसदवादीहरूसँग मोर्चा निर्माणको प्रस्ताव लिएपछि त्यो विघटन भयो ।
विप्लवलाई संसदवादीहरूको पुच्छर भएको आरोप लाग्यो । आधारभूत विचार र सिद्धान्त मिल्ने संसदीय व्यवस्थाभन्दा बाहिरका दलहरूसँगको मोर्चाहरू टिकाउन नसक्ने विप्लव संसदवादी दलहरूसँगको मोर्चामा कतिसम्म टिक्लान् ? यो समयले जवाफ दिनेछ । तर विप्लवले पनि घुमाउरो तबरले संसदीय व्यवस्था अङ्गीकार गरेको हो कि भन्ने स्यालको हुँइया सुनिन थालेको अनुभूति हुँदै गएको छ ।
अन्त्यमा, प्रचण्डविरुद्ध महापतन लेखेका विप्लवलाई पक्कै पनि भित्रभित्र आत्मग्लानि भएको हुनुपर्छ । प्रचण्डसँग क्षमायाचना गर्लान् या नगर्लान् त्यो उनको विषय हो । इतिहासको दस्तावेज बनेको पुस्तक अब फिर्ता लिन सकिँदैन । त्यो पुस्तकका केही विषयहरूबाहेक सबै कुराहरू यथार्थ र वास्तविक हुन् । त्यो पुस्तक हाम्रा लागि सन्दर्भ सामग्री हुनेछ । तर यहाँ फेरि अर्को कुनै महापतन प्रसव पीडामा छट्पटी रहेको अनुभूति भइरहेको छ, जसका मुख्य पात्र विप्लव हुनेछन् ।
लाेकान्तर डट कमबाट