सात दलित सङ्गठनले जातीय विभेदविरुद्धको दिवस मनाए

News Political

काठमाडौँ : जातीय विभेदविरुद्धको दिवस २१ मार्चका सन्दर्भमा विभिन्न राजनीतिक पार्टीहरूसँग आबद्ध दलित समुदायसँग सम्बन्धित सङ्गठनहरूले अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाएका छन् । नेकपा (बहुमत) सहित ७ दलित सङ्गठनले उक्त दिवसका सन्दर्भमा अन्तरक्रिया आयोजना गरी दिवस मनाएका हुन् ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी ) माओवादी निकट दलित सङ्गठनका संयोजक अम्मर परियारले गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा ( बहुमत) निकट दलित सङ्गठन राष्ट्रिय दलित मुक्तिमोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले गरेका थिए ।
उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य शरद रसाइली, नेकपा ( क्रान्तिकारी) माओवादी का स्थायी समिति सदस्य रामसिंह श्रीस, बन्दु चन्दलगायतले जातीय विभेदका विषयमा धारणा राख्दै वर्गसङ्घर्षसँगसँगै जात व्यवस्थाको अन्त्य हुने बताएका थिए ।
२१ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय भेदभाव उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९६० को २१ मार्चका दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले नगरमा रङ्गभेद कानुनविरुद्ध उत्रिएका अश्वेतहरूको शान्तिपूर्ण प्रदर्शनमाथि राज्यसत्ताले क्रूर दमन गर्दा ६९ जना आन्दोलनकारीको आमसंहार भएको थियो भने तीन सयभन्दा बढी आन्दोलनकारी अङ्गभङ्ग बनेका थिए ।
सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट कुनै पनि मान्छेमाथि पहिचानका आधारमा गरिने सबैखाले विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धतासहित महासन्धि पारित भएको थियो । साथै दक्षिणअफ्रिकाको सार्पभिल्लेमा दुःखान्त घटना भएको २१ मार्चलाई सबैखाले जातीय विभेदविरुद्धको दिवसका रूपमा मनाउने घोषणा पनि गरिएको थियो ।
नेपालले उक्त महासन्धिलाई सन् १९७१ मा अनुमोदन गरेपछि नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । नेपालमा मुख्यतः दलित समुदायले यो दिवसलाई छुवाछूतबाट मुक्ति प्राप्त गर्ने दिवसका रूपमा मनाउँदै आएका छन् । २१ औँ शताब्दीमा पनि हाम्रो समाजमा दलितमाथिको जातीय विभेद र अपमानको स्थितिमा उल्लेख्य सुधार छैन, अवस्था झन्डै उस्तै छ । त्यसैले यति बेला दलित अधिकारका बारेमा थप छलफल गर्नु सान्दर्भिक पनि छ ।
यसअघि नेकपा (बहुमत) निकट दलित सङ्गठन राष्ट्रिय दलित मुक्तिमोर्चा नेपालसहित सात दलित सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस भव्य रूप रूपमा मनाउन आह्वान गरेका थिए । विज्ञप्ति जारी गर्नेहरूमा अमर परियार– संयोजक, नेपाल दलित मुक्ति मोर्चा, पदम विश्वकर्मा– प्रतिनिधि, श्रमिक समुदाय मोर्चा, नेपाल, राजकुमार हिङमाङ– संयोजक, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल, दर्शन कुमार नेपाली–संयोजक, राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल, उपेन्द्र छटुन्जेल– अध्यक्ष, नेपाल राष्ट्रिय दलित केन्द्र, दुर्गा बराइली– अध्यक्ष, संयुक्त दलित अधिकार मञ्च, नेपाल र जनक विक–संयोजक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *