नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा आज १ बजे हुँदै

News Political

काठमाडौँ : नेकपा (बहुमत) का केन्द्रीय सदस्य रामचन्द्र बलामीको स्मृति र सम्मानमा पार्टी केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न १ बजे अनामनगरस्थित संवाद डबलीमा बलामीको स्मृति र सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो । पार्टी संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जवस÷मोर्चाका प्रमुख, पदाधिकारी र सदस्यहरूले बलामीप्रति श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम छ ।
पार्टी नेता बलामीको ६० वर्षको उमेरमा गत बिहीबार काठमाडौँ महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा दुःखद् निधन भएको थियो । पार्टी नेता बलामीको निधनपछि नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिप्रति समवेदना प्रकट गरेका थिए । पार्टी केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रममा सहभागिताका लागि पार्टी पङ्क्तिमा हार्दिक आह्वान गरेको छ ।
गत बिहीबार नै पशुपति आर्यघाटमा बलामीको सम्मानमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता हरिभक्त कँडेललगायत कयौँ कम्युनिस्ट नेता–कार्यकर्ताले उनको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । सोही दिन उनको अन्तिम संस्कार गरिएको थियो । कम्युनिस्ट नेता बलामीका जीवनसँगिनी सुशीला बलामी, छोरा रोशन बलामी, छोरीहरू रोजिना बलामी श्रेष्ठ, स्मृति बलामी र आकृति बलामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *