भव्य रूपमा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

National News

सुखड (कैलाली) : अखिल नेपाल महिला सङ्गठन केन्द्रीय समितिले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । कैलालीको सुखड बजारमा हजारौँको ¥याली निकालेर सभा आयोजना गरी सङ्गठनले श्रमिक महिला दिवस मनाएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सङ्गठनकी केन्द्रीय अध्यक्ष अञ्जना तामाङ थिइन् । विशिष्ट अतिथिमा नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सचिव गुणराज लोहनी, अतिथिका रूपमा पार्टी सचिवालय सदस्य लालबहादुर बीसी, सचिवालय सदस्य महान, पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य शिखर, शीतल, सङ्घर्ष र जवस मोर्चाका केन्द्रीय सदस्यहरू सहभागी थिए । त्यसैगरी नेकपा (बहुमत) कैलालीका संयोजक प्रकाश रावल र चुरे जिल्ला संयोजक राम भट्ट पनि अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि, सङ्गठनकी केन्द्रीय अध्यक्ष तामाङले प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाले महिलाहरूमाथि शोषण, दमन, उत्पीडन लादिरहेको र कानुन एवम् संविधानमा राखिएका महिलासम्बन्धी प्रावधान पनि पहुँचवाला र पुँजीपति महिलाले मात्र उपयोग गरेकाले सत्ताले श्रमजीवी महिलामाथिको शोषण–दमन अझै बढाएको बताइन् ।

महिला हकहित र अधिकारका लागि माक्र्सवादी महिलानेत्री क्लारा जेट्किनले सुरु गरेको आन्दोलन अझ पनि सान्दर्भिक र अझ महत्वपूर्ण बनिरहेको प्रमुख अतिथि तामाङले बताइन् । उनले भनिन्, ‘आज हामीले दलाल संसदीय पुँजीवादी व्यवस्थाविरुद्ध लडेर मुक्ति प्राप्त गर्न महान् गुरु क्लाराहरूबाट सिक्नुपर्छ । हामी सबै उत्पीडित महिलाले दलाल संसदीय व्यवस्थाविरुद्ध एकताबद्ध आन्दोलन गर्नुपर्छ । यो व्यवस्थाबाट श्रमिक महिलाको मुक्ति हुँदैन । वैज्ञानिक समाजवाद नै सम्पूर्ण उत्पीडित वर्गलाई मुक्ति दिने व्यवस्था हो ।’

कार्यक्रमका विशिष्ट अतिथि पार्टी कार्यालय सचिव लोहनीले महिला मुक्तिका लागि सबै उत्पीडित महिलाहरूले दलाल संसदीय व्यवस्थाका विरुद्ध आवश्यकताअनुसार बन्दुक उठाउनुपर्ने बताए । नेकपा (बहुमत) सबै प्रकारका उत्पीडित वर्गको मुक्तिका लागि लडिरहेको पार्टी भएकाले उत्पीडित वर्ग यसै पार्टीमा लामबद्ध हुनुपर्ने उनले बताए ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य बीसी, महानलगायत अन्य वक्ताले पनि श्रमजीवी वर्गको मुक्तिका लागि क्रान्ति जारी राख्नुपर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमको अध्यक्षता सङ्गठनकी केन्द्रीय उपाध्यक्ष पार्वती सिंहले र सञ्चालन कैलाली जिल्ला अध्यक्ष पवित्रा तिमिलसेनाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *