नेकपा (बहुमत) द्वारा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

News Political

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाललगायत संसारभरका श्रमिक क्रान्तिकारी महिलालाई हार्दिक शुभकामना दिएका छन् । प्रवक्ता सुदर्शनले श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरू र उत्पीडित वर्गलाई मुक्ति र सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गरेका छन् ।

प्रवक्ता सुदर्शनले बुधबार शुभकामना विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज ८ मार्च अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको यो ऐतिहासिक दिवसका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरूमा हार्दिक शुुभकामना प्रदान गर्दछ र यो पर्वलाई संसारका सम्पूर्ण श्रमिक, उत्पीडित महिला, उत्पीडित वर्गको मुक्ति र त्यसका लागि जारी सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गर्दछ ।’

प्रवक्ता सुदर्शनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘सन् १९०८ मा न्युयोर्क सिटीमा १५ हजार महिलाले कामको घन्टा छोट्ट्याउन, तलब वृद्धि गर्न र मतदानको अधिकार प्राप्त गर्ने उद्देश्यले सुरु गरेको प्रदर्शन र पुँजीवादी सत्तालाई झुकाएर सीमित नै भए पनि महिला अधिकार प्राप्त गरेको सन्दर्भले संसारकै श्रमिक महिलालाई अधिकारका लागि निरन्तर सङ्घर्ष गर्नुपर्छ र आफ्नो मुक्तिका लागि आफैँ सङ्घर्षमा होमिनुपर्छ भन्ने पाठ सिकाएको छ । त्यसैले आज संसारभरका श्रमिक, उत्पीडित महिला आफ्नो वर्गमाथिको शोषणबाट मुक्ति प्राप्त गर्न सङ्गठित भएर सङ्घर्षमा होमिएका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘सामन्ती शोषणदेखि पुँजीवादी दमन–उत्पीडनसम्मका शृङ्खलाका कारण अझै पनि श्रमिक महिलाका लागि कुनै पनि क्षेत्रमा पुरुषसरह अधिकार र मान्यता स्थापित भएका छैनन् । श्रम शोषण मात्र नभएर बलात्कार, हत्या, हिंसाका अनन्त चक्रव्यूहहरू रचना गरिएका छन् । त्यसैले सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त हुन श्रमिक महिलाहरूले आफूलाई वैचारिक रूपमा सुदृढ बनाउनुपर्छ, मालेमामा आबद्ध हुनुपर्छ र निरन्तर सङ्घर्ष अघि बढाउनुपर्छ । अतः ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुक्तिका लागि विभिन्न रूपका सङ्घर्षमा सामेल क्रान्तिकारी, श्रमिक, उत्पीडित महिलामा निरन्तर क्रान्तिको ऊर्जा बनोस् भन्ने अपेक्षा गर्दछौँ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस क्लारा जेट्किन, रोजा लक्जेम्बर्ग, कोलोन्ताईजस्ता साम्यवादी वीराङ्गनाहरूले सङ्घर्ष र क्रान्तिसहित स्थापना गरेको ऐतिहासिक दिवस हो । यो दिवसबाट प्रेरित महिलाहरूको सहभागिताले नै सोभियत सङ्घ, मङ्गोलिया, जर्मनी, युगोस्लाभिया, चेकोस्लोभाकिया, बुल्गेरिया, हंगेरी, रुमानिया, पोल्यान्ड, चीन, कोरिया, क्युबा, भियतनाम र कम्बोडियामा वैज्ञानिक समाजवाद स्थापना भएको थियो । यस अवसरमा लेनिनले भन्नुभएजस्तै हाम्रो पार्टीका तर्फबाट हामी भन्न चाहन्छौँ– आजको दिनमा श्रमिक महिलाहरूले वर्गसङ्घर्षको मैदानमा भाग लिँदै आफ्ना छोराछोरीहरूलाई भन्नुपर्दछ– छिटोछिटो हुर्क र युद्धकला सिक किनभने श्रमिक वर्गका दुस्मनहरू तिम्रा आमाबुबाहरूलाई आफ्नो नियन्त्रणमा लिन र हत्यासमेत गर्न बन्दुक लिएर तयार छन् । लेनिनले भन्नुभएजस्तै उत्पीडित वर्गका मानिसहरूले बन्दुक चलाउन नसिक्नु भनेको दासको व्यवहार गर्न लायक हुनु हो । हामी नेपाली श्रमजीवी महिला र तिनका नेताहरूलाई नेपालको वर्तमान संवेदनशील वर्गसङ्घर्षमा सचेततापूर्वक वैज्ञानिक समाजवादको लक्ष्यमा अडिग रही भाग लिन र विजय नभएसम्म अघि बढ्न विशेष आह्वान गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *