रामेछाप भिरपानीका पौडेलले किन गरे आत्महत्या

News Social

मिलन घिमिरे/रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका एक समाजसेवी छवि भएका व्यवसायी दीपक पौडेलले आत्महत्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तसहितले बताएका छन् ।

लामो समयदेखि परिवारसहित काठमाडौँमा बस्दै आएका व्यवसायी पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्म हत्या गरेको अवस्थामा भेटिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘बिहान मर्निङ जाँदा डोरी किनेर झोलामा लिएर आएछन् । त्यसपछि आमालाई भाइको घरमा, श्रीमतीलाई जुस किन्न र सानो छोरो कलेज पठाएर उनी झुन्डिए छन् । उनको योजनाबद्ध तरिकाले ज्यान लिएको देखिन्छ । यो बैंकको ब्याज तिर्न नसकेरै ज्यान लिएको धेरैलाई थाहा भएको कुराहो । उहाँ ठुलो व्यापारी हुनुहुन्थ्यो ।’

पौडेललाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको लागि पुर्‍याएको स्थानबाट रामेछाप टाइम्ससंग फोनमा कुरा गर्दै पालिका अध्यक्ष श्रेष्ठले उनी आर्थिक भार थेग्न नसकेर ज्यान लिएको पुष्टि हुने तर्क गरे । ज्यान लिएका पौडेल अन्दाजी ५०/५१ वर्षीय रहेको बताइएको छ ।

उहाँले माइलो छोरोलाई, नजिकको साथी महेश कार्कीलाई केही दिन अगाडि मैले थेग्न नसक्ने भए, म, अन्तिम अवस्थामा पुगी सकेको छु, मेरो स्वास्थ्यले पनि धान्न नसक्ने भयो भन्नु भएको रहेछ । यसको अर्थ बैंकको ऋणकै कारण उहाँले ज्यान लिएको हो, पालिका अध्यक्ष श्रेष्ठले भने ।

भिरपानी साबिक वडा नं ४ का स्थानीय पौडेलका छोरा केही समय अगाडि मात्रै अस्ट्रेलिया गएको उल्लेख गर्दै सो छोरालाई म रहिन भने त, यहाँ चाँडै नआइजा भनेको पनि उनले सुनाए । उनको निधन आत्मदाह गरेका आर्चायको घटना जस्तै भएको भन्दै पालिका अध्यक्ष श्रेष्ठले बैंकको किस्ताले आत्महत्या गर्नेको सङ्ख्या अब थेगिन नसक्नु भएको बताए ।

मृतक पौडेलको पोस्ट मार्टम पछि अहिले आर्यघाटमा अन्त्येष्टि गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *