काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सहिदहरूका सपना लत्याएर र अलपत्र पारेर भाग्ने छूट कसैलाई नभएकाे बताएका छन् ।
नेकपा (बहुमत) केन्द्रीय कार्यालयले काठमाडौँ, मध्यबानेश्यरस्थित डाइनिङ पार्कको हलमा सोमबार २८ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षको आसनबाट सम्बोधन गर्दै पार्टी प्रवक्ता सुदर्शनले महान् जनयुद्धका क्रममा देशभरबाट बलिदान गर्ने महान् सहिद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते–अपाङ्ग योद्धाहरूलाई २८ औँ जनयुद्ध दिवसको शुभकामना प्रदान गरे ।
प्रवक्ता सुदर्शनले जनयुद्ध थालनीको प्रथम कारबाहीमध्येको आफू राजनीतिक कमिसार बनेको रुकुमस्थित राडी प्रहरीचौकी कारबाहीको स्मरण गर्दै जनयुद्धका विभिन्न घटना र मोर्चाहरूको स्मरण गराए ।
जनयुद्धका विभिन्न मोर्चामा बलिदान गर्ने सहिदहरूको भनाइ उद्धरण गर्दै प्रवक्ता सुदर्शनले भने, ‘सहिदहरूका सपना लत्याएर र अलपत्र पारेर भाग्ने छूट कसैलाई छैन । हामी जनयुद्धका बाँकी कार्यभार र सहिदका सपना पूरा गर्न प्रतिबद्ध छौँ ।’
तत्कालीन नेकपा (माओवादी) र जनयुद्धको पछिल्लो निरन्तरता नेकपा (बहुमत) को पुनर्गठन रहेको प्रस्ट पार्दै नेता सुदर्शनले दलाल पुँजीवादी सत्ताको अन्त्यसँगै नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुने ठोकुवा पनि गरे ।
नेकपा (बहुमत) का कार्यालय सदस्य गम्भीरले जनयुद्धमा लामबद्ध हुँदाका विभिन्न घटनाक्रम स्मरण गराउँदै सहिदका सपना पूरा गर्न निरन्तर क्रान्तिमा लामबद्ध भइरहने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा (बहुमत) का कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले वर्गदुस्मनहरूले जनयुद्धको विघटनलाई जनयुद्धको मूल्य र मालेमाकै विघटनका रूपमा हल्ला मच्चाइरहेको भन्दै त्यो हल्ला झूट र प्रपञ्च मात्र रहेको स्पष्ट पारे । उनले नेपालमा जनयुद्धको असफलता जनयुद्ध सञ्चालन गर्ने मूल नेतृत्वको मात्र असफलता रहेकाले क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणपछि दलाल पुँजीवादी सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने गरी क्रान्तिकारी आन्दोलनले उचाइ छुने बताए ।
कार्यक्रममा अतिथिका रूपमा सहभागी पार्टी सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारी र नेकपा (मओवादी समाजवादी) को सांस्कृतिक मोर्चाका इन्चार्ज तथा जनयुद्धका कलाकार बिहानी विकले जनवादी गीत प्रस्तुत गरेका थिए । सहिद परिवार तथा घाइते योद्धाका तर्फबाट राजकिशोर चौधरी अतिथिका रूपमा कार्यक्रममा सहभागी बनेका थिए ।
कार्यक्रममा पार्टी सचिवालय सदस्य रूपेश, समरजङ्ग, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जवस/मोर्चाका प्रमुख, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका इन्चार्ज, संयोजकलगायत पार्टी नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा अतिथिहरूको स्वागत पार्टी कार्यालय सदस्य जगत्ले र सञ्चालन कार्यालय सदस्य दीपकले गरेका थिए ।