काठमाडौँ :अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले आफ्नो उत्पादनले बजार नपाएपछि २०६९ माघ २० गते चितवनका किसानले तरकारी फालेर गरेको आन्दोलनलाई समर्थन गरेको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गरी किसानको बजार सुनिश्चित गर्न उत्पादित कृषि उपज राज्यले नै लागत मूल्यका आधारमा न्यूनतम मूल्य निर्धारण गरी खरिद गरेर बजार व्यवस्था गर्न, बाहिरबाट आयात हुने तरकारी, दूध, फलफूललगायत अन्य कृषि उत्पादन रोक्न, नेपाली कृषि उत्पादनको उचित मूल्यमा खरिद गर्न, बिचौलियाको कृषिमा भएको हस्तक्षेप बन्द गर्न माग गरेको छ ।
अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष हरि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा किसानको आन्दोलनमा भएको क्षतिपूर्ति दिन माग गरिएको छ । क्रान्तिकारीले भारतीय आयातमा प्रतिबन्द नगरिएमा र नेपाली किसानको उत्पादन सदुपयोग नगरिएमा सम्पूर्ण किसान आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । क्रान्तिकारीले भरातीय आयात फाल्न बाध्य हुने चेतावनी दिँदै यसको जिम्मेवार सम्बधित निकाय हुने पनि जनाएको छ ।