राजबन्दी रिहाइको माग गर्दै नेकपा (बहुमत)द्वारा देशैभरी विरोध प्रदर्शन

News Political

गमानसिङ घर्ती/दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय कार्यक्रम हरेक जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गर्ने देशैभरी सम्पन्न भएकाे छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङका संयोजक वीरेन्द्रले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो ।

‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्त्य गर्न युवाहरूले नै सशक्त संघर्ष गर्नु आवश्यक छ’, उनले अगाडि भने, ‘राज्य सङ्कट टार्न केही व्यक्तिलाई विकल्पका रुपमा अगाडि बढाउन खोजेको देखिन्छ । यो स्थायी समाधान नभई आक्रोश मात्रै हो ।’

राज्यको रूपान्तरण वैज्ञानिक समाजवादले मात्र गर्ने हुँदा नेपाली जनताको जीवनस्तरलाई प्रगतिपथमा लैजान आन्दोलनमा सहभागी हुन उनले सबैलाई आह्वान पनि गरे ।

कार्यक्रममा युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, पार्टी नेता–कार्यकर्ताको उपस्थिथि थियो । कार्यक्रमको सहजीकरण नेकपा (बहुमत) का जिल्ला कार्यालय सचिव अमर खड्काले गरेका थिए ।

त्यसैगरी नेकपा (बहुमत) धनुषाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज मधेस प्रदेशको राजधानी रहेको जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको छ ।

आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेजीको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा सहभागीहरूले तीनबुँदे सहमति कार्यान्वयन गर्न र राजबन्दी रिहा गर्न आग्रह गर्दै नारा लगाएका थिए ।

प्राप्त समाचारअनुसार नेकपा (बहुमत) धनुषाका नेता–कार्यकर्ताले प्रदर्शनका क्रममा ‘सम्पूर्ण राजबन्दी रिहा गर ! झूट्टा मुद्दा खारेज गर ! ३ बुँदे सहमति कार्यान्वयन गर ! दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद ! वीर सहिद लालसलाम ! नेकपा (बहुमत) जिन्दावाद’ लगायत नारा लगाएका थिए । प्रदर्शनमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य गोविन्दनारायणले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) धनुषाका इन्चार्ज शीतल र सेक्रेटरी नन्दुले पनि ऐक्यबद्धतासहित सहभागिता जनाएका थिए ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुकुम पश्चिमले राजबन्दी रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार उक्त कार्यालयमा राजबन्दीहरु रिहाइको माग गर्दै फोटो देखाएर बिरोध प्रदर्शन गरिएको नेकपा (बहुमत) रुकुम पश्चिमले जनाएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकारको बिचमा भएको तीन बुदे सहमति कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरिएको हो । देशका विभिन्न कारागारमा रहेका नेता कार्यकर्ताहरुलाई झुठ्ठा मुद्दा र जेल बाट मुक्त गर्न पार्टी निरन्तर संघर्षमा रहेको उक्त पार्टीले बताएको छ ।

पार्टी जिल्ला कमिटी सदस्य तथा अखिल ( क्रान्तिकारी ) रुकुम पश्चिम इन्चार्ज सोम्पाल कामी नेतृत्वको टोलिले जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *