युवा र क्रान्ति

Articles

प्रारम्भ

सिर्जनशील, गतिशील, ऊर्जावान्, चेतनशील, उच्च आत्मविश्वास, साहस, सिक्न सक्ने क्षमता र परिवर्तनको संवाहक एवम् विद्रोही शक्तिको पर्यायवाची युवा हो । युवा शक्ति कुनै पनि मुलुकको अमूल्य सम्पत्ति एवम् मेरुदण्ड हो । युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता एवम् धरोहर हो । युवा क्रान्तिको जीवन र भविष्य पनि हो । युवा बुर्जुवाहरूको भाष्यजस्तो भविष्यको कर्णधार मात्र होइन, वर्तमानको सहयात्री एवम् सहयोद्धा हो । युवा आजीवन कार्यकर्ता होइन, आफ्नो युगको नेता हो । युवा उमेरसमूह मात्र होइन, मानसिकता एवम् उत्साह पनि हो । असल वस्तु बनाउन फलाम पनि असल चाहिन्छ भनेझैँ मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका खातिर सिर्जनशील, गतिशील, ऊर्जावान् र चेतनशील युवाको खाँचो छ । तसर्थ महान् माओ त्सेतुङले भन्नुभएको थियो–‘तन्नेरीहरू सम्पूर्ण समाजका सबभन्दा सक्रिय र जिउँदा शक्ति हुन् । उनीहरू सिक्न सबभन्दा बढ्ता इच्छुक हुन्छन् र सोचाइमा सबभन्दा कम रूढिवादी हुन्छन् ।’

(माओ त्सेतुङ, चुङसान जिल्लाको सिन्पिङ मौजाको नं. ९ कृषि उत्पादन सहयोग–समितिको अग्रगामी युवा–दलको परिचयात्मक टिप्पणी, १९५५)

समाजको सबभन्दा सक्रिय र जिउँदो शक्ति युवाले सङ्कीर्णता र रूढिवादका पर्खाल तोडेर दलाल पुँजीवादी संसदीय व्यवस्थाको खरानीमा वैज्ञानिक समाजवादको सुन्दर बगैँचा निर्माण गर्ने महान् लक्ष्यमा अघि बढ्नुपर्छ ।

युवा र सपना

जब युवाले आफ्नो देश, जीवन र भविष्य समृद्ध, सुखी र उज्यालो बनाउने अभिलाषा बोक्छ तब युवाले जीवन र व्यवहारमा सामीप्य ल्याउनैपर्छ । आमश्रमिक जनताको इच्छामा ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । क्रान्तिकारी युवाले अवसरमा समस्या देख्ने निराशावादी होइन, समस्यामा अवसर देख्ने आशावादी हुनुपर्छ । महान् आशा, दृढ विश्वास र सुन्दर सपनाको वास्तविकता क्रान्ति हो । आमनेपाली जनताको उज्यालो भविष्य र सुखी जीवनको उत्कृष्ट चाहना पूरा गर्नु क्रान्तिको मूल लक्ष्य हो । मुलुकको लामो इतिहासमा क्रान्तिको लक्ष्य पूरा हुन सकेको छैन । क्रान्तिको दायित्व पहाडभन्दा गह्रौँ छ । क्रान्ति कठिन कार्य हो । क्रान्ति फलामे पर्खालको भन्ज्याङमा धावा बोल्नुजस्तै हो । क्रान्तिको मार्ग लामो हुन्छ । कमरेड माओको शब्दमा ‘हाम्रो राष्ट्रको भविष्य र विकासका निम्ति ठूलो आशा गर्ने ठाउँ छ । निराशावादी हुनुपर्ने त्यस्तो कुनै कारण छैन । निराशावादी हुनु भूल हो ।’ हामीसँग महान् सपना एवम् आशा छ । सपना मात्र होइन, सुन्दर सपना छ । सानो होइन, महान् आशा छ । हाम्रो सपना काल्पनिक र रोमान्स गर्ने होइन, जीवन्त र व्यावहारिक छ । हामी मनोगतवादी र रूपवादी होइनौँ, यथार्थवादी हौँ किनभने महान् माओले भनेझैँ ‘एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउँछ, क्रान्ति निरन्तर चल्छ ।’ हाम्रो महान् सपना एवम् आशा नै क्रान्तिको विजय हो । क्रान्ति नै हाम्रो जीवन र भविष्य हो । आज क्रान्तिकारी युवाले युगीन कार्यभार पूरा गर्न र निरन्तर क्रान्ति मात्र होइन, निर्णायक क्रान्तिका खातिर विचारलाई सङ्गठनमा रूपान्तरण गर्न जरुरी छ । क्रान्तिकारीहरू सुतेर सपना देख्दैनन् । क्रान्तिकारीहरूका सपनाहरूले सुत्न दिँदैनन् । विश्वास, दायित्वबोध र नयाँ सङ्कल्पले नै सपनालाई साकार पार्न सकिन्छ । क्रान्तिलाई विजयसम्म पु¥याउन सम्भव छ ।

सत्ता र युवा

राष्ट्रिय उद्योग–कलकारखाना बन्द छन् । सरकारका माननीय मन्त्रीज्यू राहदानीका लागि लाममा बस्नु नपर्ने चामत्कारिक घोषणा गर्छन् । केही नेतागण ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ को नारामा भोट माग्छन् । परन्तु हाम्रो मुलुकका बेरोजगार युवा ‘सुन साइँली’ र युवती ‘भन साइँला’ भन्ने गीत गाउन र घरपरिवार छोड्न विवश छन् । लाखौँ युवा अर्काको देशमा भाडाका सिपाही बन्न लाम लागिरहेका छन् । गोर्खा भर्तीकेन्द्रहरू बन्द भएका छैनन् । नेपाल विश्वमा सस्तो श्रम बेच्ने, सस्तो कच्चा पदार्थ निर्यात गर्ने र व्यापारघाटा बेहोर्ने मुलुक बनिरहेको छ । वि.सं. २०७८ को नयाँ तथ्याङ्कअनुसार २१,६९,४७८ नागरिक एवम् लाखौँलाख युवा थप विदेशमा पुगेका छन् । भूपी शेरचनले हल्लै हल्लाको देश कवितामा ‘जहाँका स्वतन्त्र आमाहरूले छोरा होइन, लाहुरे मात्र जन्माउँछन्’ भनेझैँ ऊर्जाशील लाखौँलाख युवा आफ्नो प्यारो घर एवम् परिवार छोड्न विवश छन् । श्रमदासका रूपमा विदेशमा गएका नागरिकहरूको दैनिक बाकसमा लास आइरहेका छन् । सयौँ युवा निरास बेरोजगारका रूपमा आत्महत्या गर्न विवश छन् । गाउँमा बुढा आमा–बा सहाराविहीन छन् । गाउँमा बुढा आमा–बाको निधन हुँदा लास उठाउने कोही छैन । आजभोलि गाउँमा बुढा आमा–बाको लास राख्ने ‘डिप फ्रिज’ को व्यापार बढिरहेको छ । विवशताका कारण राहदानी विभाग, अन्तर्राष्ट्रिय विमानस्थल र एनओसीमा दैनिक हजारौँ युवाको लाम छ । सयौँ नागरिक सामान्य रोगबाट अकालमा ज्यान गुमाउँछन् । लाखौँ बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित छन् । महिलाहरू बच्चा जन्माउन नसक्दा अकालमा ज्यान गुमाउँछन् । महिलाहरू विदेशका कालकोठरीहरूमा नारकीय जीवन जिउन विवश छन् । बालिकाहरू बलात्कारको सिकार हुन्छन् । सामाजिक सेवाको क्षेत्र शिक्षा–स्वास्थ्यमा ठूलो व्यापार एवम् मुनाफा आर्जन गरिन्छ । भ्रष्टाचारका नयाँ–नयाँ काण्ड बढिरहेका छन् । बहुमूल्य जडीबुटीहरूको तस्करी हुन्छ । सबै नदीनाला बेचिएका छन् । खानी–खनिजहरू दलालहरूको मिलोमतोमा दोहन भइरहेको छ । सुकुमबासीहरूको छाप्रोमा डोजर एवम् आगो लगाइन्छ । मजदुरहरू भोकै मर्छन् । किन ?

आज मुलुकमा सङ्घीय लोकतान्त्रित गणतन्त्र नामको पुरानै दलाल पुँजीवादी संसदीय व्यवस्था विद्यमान छ । यो दलाल पुँजीवादी नवऔपनिवेशिक व्यवस्था हो । यो व्यवस्थामा विचार, प्रवृत्ति एवम् पात्रको नयाँ आगमन नभएर पुनरावृत्ति भइरहेको छ । विगतका सम्झौतापरस्त आन्दोलनहरूका कारण आमनेपाली जनतामाथि धोका एवम् घात हुँदै आएको छ । राणाशासनपछिको कथित प्रजातन्त्र, पञ्चायत, राजतन्त्रात्मक संसदीय व्यवस्था र वर्तमानको कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म राज्यसत्तामा आमूल परिवर्तन अवरुद्ध भइरहेको छ । आज दलाल पुँजीवादी व्यवस्थाको विकल्प दलाल पुँजीवाद तथा अमूक पार्टी र नेताको विकल्प अमूक नेता र पार्टी हुन सक्दैन ।

लेखकः पूर्णबहादुर सिंह

दलाल पुँजीवादी संसदीय व्यवस्थाको बरदान–चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगारी, कालोबजारी, राष्ट्रघात, जनघात र जनविरोधी अभियान बनेको छ । चरम भ्रष्टाचार, कमिसन, चर्को कर, बेराजगारी, कालोबजारी एवम् महँगीले जनजीवन आक्रान्त छ । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक शोषण, उत्पीडन र विभेद विद्यमान छ । दुई खालका स्कुल र अस्पताल छन् । कीराहरू सडेगलेका वस्तुहरूमा मात्र हुर्किन्छन् भनेझैँ यी सबैको मूल कारक दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । साम्राज्यवादी डाँकुहरूको हितमा काम गर्ने दलालहरूको मुनाफाका लागि हाम्रो राष्ट्र र जनता जन्मनेबित्तिकै ऋणी किन बन्ने ? ‘सुखी नेपाली–समृद्ध नेपाल’ कि दुःखी नेपाली– कङ्गाल नेपाल ? गाउँ र नगरमा पुगेको सिंहदरबारले के ग¥यो ? तीन तहको सरकारमा विराजमानहरूलाई पालनपोषण गर्न जनताले चर्को कर तिर्नुपर्ने ? यो दलाल पुँजीवादी सङ्घीयता, लोकतन्त्र र गणतन्त्रले के समानता ल्याउन सक्छ ? यो लोकतन्त्र कि लूटतन्त्र हो ? के गणतन्त्रमा कोही राजा र कोही रैती हुन्छ ? दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्यका खातिर क्रान्तिद्वारा वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ ।

युवा र निशाना

२० अक्टोबर १९२० मा ‘युवक सङ्घहरूका कार्यहरू’ (रसियाली कम्युनिस्ट युवक सङ्घको तेस्रो अखिल रसियाली महाधिवेशनको भाषण) मा लेनिनले पुरानो सत्ताका मालिकहरूको चर्तिकलाका बारेमा ‘कि लूट, कि अरूलाई लुट्न देऊ ! कि अरूका निम्ति मद्दत गर, कि त अरूलाई आफ्ना निम्ति काम गर्न लगाऊ ! कि अरूलाई आफ्नोे दास बनाऊ, कि त तिमी नै अरूको दास बन ! मलाई आफ्नोे नाफासित मात्रै सरोकार छ, अरूहरूको मलाई के वास्ता !’ भनेझैँ त्यस्तै सिद्धान्त, प्रणाली र विशेषतामा आधारित दलाल पुँजीवादी संसदीय व्यवस्था नै सबै युवाको मुख्य शत्रु हो । ‘ओयाङ हाईको गीत’ उपन्यासका पात्र युवा विशाल चट्टानलाई जुन ऊर्जा, साहस र आक्रोशमा टुक्रा–टुक्रा पार्दछन् । मानिसहरूले सोधे– त्यो कसरी सम्भव भयो ? त्यो ऊर्जा, साहस र आक्रोशका कारण युवाको जबाफ थियो, ‘यो विशाल चट्टानलाई हामीले च्याङकाइसेकको टाउको ठानेर घन प्रहार ग¥यौँ ।’ युवाले भनेझैँ आमनेपाली युवाको मुख्य निशाना दलाल पुँजीवादी संसदीय व्यवस्था हो । दलाल पुँजीवादी संसदीय व्यवस्था र आमनेपाली जनताबीचको प्रधान अन्तरविरोध हो । त्यसको समाधान दलाल पुँजीवादी संसदीय व्यवस्था होइन, क्रान्तिद्वारा वैज्ञानिक समाजवाद स्थापना हो । यो नाराले हुँदैन । जीवनमा दर्शक बनेर होइन, वास्तविक जिन्दगीमा भाग लिनुपर्छ । युवाले क्रान्तिका लागि देशव्यापी आधार तयार पार्ने र त्यसको सेवा गर्ने काम सामान्य समर्थन र सहयोगमा सीमित भएर हँुदैन, आत्मत्यागमय ढङ्गले क्रान्तिको सेवामा आफ्नो निजी स्वार्थको तिलाञ्जली दिएर मात्र सम्भव हुनेछ । भौतिक रूपले सशक्त र मानसिक रूपले सचेत युवाको क्रान्तिमा प्रत्यक्ष भौतिक सहभागिता जरुरी छ ।

आज हरेक मानिसलाई विज्ञान तथा सूचनाप्रविधिमा भएको अभूतपूर्व विकासको सकारात्मक र नकारात्मक प्रभाव छिटोभन्दा छिटो विद्युतीय गतिमा पर्ने गरेको छ । आजको युवा भनेको आईटी पुस्ता पनि हो । आज नयाँ पुस्ता सामाजिक सञ्जाल र साइबर संसारमा अभ्यस्त भइरहेको छ । आज युवा मनोविज्ञान कसैको जर्नल र इतिहासका कथा पढेर खुसी एवम् सुखी नहुने छ । युवामा सम्झौताको उद्देश्य राखेर गरिने राजनीतिक आन्दोलनप्रति अविश्वास, आशङ्का र वितृष्णा पैदा हुने गरेको छ । नयाँ पुस्तालाई कसरी आकर्षित, सङ्गठित र आन्दोलित गर्ने, यो एउटा गहन र घतलाग्दो प्रश्न हो । कुन नारा, माग र आन्दोलनद्वारा नयाँ पुस्तालाई क्रान्ति र आन्दोलनमा सहभागी गराउने भन्ने उद्देश्य क्रान्तिकारी युवा आन्दोलनले मार्गदर्शन र नेतृत्व गर्नुपर्दछ ।

युवा र युगीन कार्यभार

महान् लेनिनले भन्नुभएको थियो, ‘राजनीतिक नेतृत्वको आकाङ्क्षा राख्ने हो भने राजनीतिक कार्यभारहरूबारे सोच्ने सामथ्र्य पनि हुनुपर्छ ।’ जो कोही मूलतः युवाले राजनीतिक नेतृत्वको उद्देश्यमा अघि बढ्ने हो भने राजनीतिक कार्यभारहरू के हुन् ? त्यसलाई जीवन व्यवहारमा कसरी लागू गर्ने भनेर बुझ्न र बदल्न जरुरी छ । युवाले हरेक क्रान्तिकारी सिद्धान्तहरूको गम्भीरतापूर्वक अध्ययन, सम्प्रेषण र कार्यान्वयन गर्नुपर्छ । युवाले चन्द्रमा चुम्ने र मङ्गलग्रहमा पुग्ने उच्च उद्देश्य राख्नुपर्छ । युवाले बढी ज्ञान हासिल गर्नु र आफ्नो विज्ञतालाई सुरक्षित एवम् संयमित राख्नुपर्छ । युवाले आफ्नो ऊर्जाशील एवम् रचनात्मक उमेरलाई प्रगतिका लागि लाभपूर्ण अवधिका रूपमा विकास र कठिन श्रमको माध्यमबाट पूरा गर्न नसकिने कुनै कुरा छैन भन्ने बुझ्न जरुरी छ । युवामा आदर्श र आस्थामा दृढता, कुशलता, कडा परिश्रममा समर्पित, नयाँ प्रयोग, सिर्जना गर्न साहस र आफ्नो चरित्रलाई संयमित बनाउन जरुरी छ ।

विशुद्ध युवा होइन, क्रान्तिकारी कम्युनिस्ट बन्न जरुरी छ । नौजवान युवालाई कम्युनिस्ट, नैतिकता, सदाचार, अनुशासन, वर्ग र वर्गसङ्घर्षबारे सिक्न र सिकाउन जरुरी छ । युवामा पूर्ण केन्द्रीकरण र कठोरतम् अनुशासन हुनुपर्छ । दलाल पुँजीजीवी वर्गमाथि विजय पाउनका लागि निम्नतीन आधारभूत सर्तलाई जीवन एवम् व्यवहारमा लागू गर्न जरुरी छ । पहिलो, आमश्रमिक जनताको अग्रदलको वर्गचेतना, क्रान्तिप्रति निष्ठा, दृढता, आत्मबलिदान र वीरतायुक्त हुनुपर्छ । दोस्रो, आमश्रमिक जनसमुदायसँग, नङ र मासु एवम् पानी र माछाको सम्बन्धमा एकाकार हुने क्षमता हासिल गर्नुपर्छ । तेस्रो, अग्रदलले दिएको राजनीतिक नेतृत्वको सहीपन, राजनीतिक रणनीति र कार्यनीतिको सहीपनद्वारा र आफ्नै अनुभवबाट ठीक छ भन्ने बुझ्नुपर्छ । माओ त्सेतुङले पनि भन्नुभएको थियो, ‘एक युवक क्रान्तिकारी छ कि छैन भनी हामीले कसरी जाँच्नुपर्छ ? हामी कसरी छुट्ट्याउन सक्छौँ ? यसमा एउटा मात्र कसी हुन सक्छ, त्यो हो, ऊ मजदुर र किसानहरूको समूहसित एकाकार भई मिल्न इच्छुक छ कि छैन र व्यवहारमा पनि त्यसै गर्छ कि गर्दैन । ऊ यसो गर्न इच्छुक छ र वास्तवमा यस्तै गर्छ भने ऊ क्रान्तिकारी हो, नत्र ऊ अक्रान्तिकारी अथवा प्रतिक्रियावादी हो ।’ (माओ त्सेतुङ, युवक आन्दोलनको दिशा, ४ मे, १९३९)

नौजवान युवाले सामन्तवादी विचारधारा र सामाजिक व्यवस्था इतिहासको अजायब घरमा मात्र रहेको छ भन्ने बुझ्नुपर्छ । दलाल पुँजीवादी संसदीय व्यवस्था पनि छिटोछिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैँ हो । त्यसलाई छिट्टै अजायब घरमा लगेर राखिनेछ–राख्नुपर्छ । वैज्ञानिक समाजवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ भइरहेको छ । नौजवान युवाले दलाल पुँजीवादी संसदीय व्यवस्थाको पहाड पन्छाउने र समुद्र पल्टाउने गति र बज्रको शक्ति लिएर देशव्यापी फैलिनुपर्छ । यो दलाल पुँजीवादी संसदीय व्यवस्था लेनिनको शब्दमा ‘लूटको माल’ बाँडफाँट गर्ने र फेरि बाँड्ने यसै अंशबण्डाको अभिव्यक्ति मात्र हो । जुन देशव्यापी तलदेखि माथिसम्म, केन्द्रीय तथा स्थानीय तहसम्ममा चलिरहेको छ । त्यसका लागि आज नयाँ व्यक्ति र प्रवृत्ति आइरहेको छ । त्यो देखेर आशा, निराशा र अभिलाषा राख्ने होइन, नौजवान युवाले पुरानो सत्ता मात्र होइन, त्यस्ता चिन्तन, प्रवृत्ति, कार्यशैली र पात्रहरूलाई पनि सङ्ग्राहलय एवम् इतिहासको अजायब घरमा छिट्टै राख्नै पर्दछ । हामी अरूको खुसी र सुख देखेर दुःखी हुने होइन, कडा परिश्रममा समर्पित, नयाँ प्रयोग, सिर्जना गर्न साहस गरौँ । युवाको विकल्प र रहर विदेश होइन, विवशता हो । विकल्प भनेको पुनरावृत्ति होइन, नयाँ हो । नयाँ जीवनशील र गतिशील हुन्छ । क्रान्ति नै हाम्रो जीवन र भविष्य हो । दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्यका खातिर क्रान्तिद्वारा वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र मुलुक राजनीतिक रूपले स्वाधीन, आर्थिक रूपले समृद्ध, सांस्कृतिक रूपले सभ्य र नौजवान युवाको सपना साकार हुनेछ । दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र सगरमाथा शिखरमा वैज्ञानिक समाजवादको विजयको झन्डा फहराउन सम्भव छ ।
२ माघ, २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *