किसान महासङ्घ (क्रान्तिकारी) द्वारा तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय

News Political

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) मधेस प्रदेश ब्युरोको बैठक जिम्मेवारी हेरफर र तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णयका साथ सम्पन्न भएको छ ।

महासङ्घका मधेस ब्युरो संयोजक किसुनदेव शर्माको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज नयन थिए भने भने विशेष अतिथि अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का महासचिव सागर अर्याल, अतिथिमा नेकपा (बहुमत) का सर्लाही जिल्ला संयोजक बिहानी, विद्यार्थी सङ्गठनका मधेस प्रदेश ब्युरो इन्चार्ज उपेन्द्र थिए ।

बैठकले तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानका क्रममा मधेस प्रदेश ब्युरोका सबै जिल्लाको भेला गर्ने कालोबजारी, भ्रष्टाचार, तस्करी, दलाली, सूदखोरी, मिटरब्याजी, किसानमारा वित्तीय संस्था, किसानले पाउने अनुदानमा अनियमिततालगायत समस्या पहिचान गरी त्यसको भण्डाफोर गर्ने निर्णय गरेको छ ।

बैठकले साङ्गठनिक हेरफेर गर्दै मधेस प्रदेश ब्युरो इन्चार्जमा किसुनदेव शर्मा, सहइन्चार्जमा चन्द्रबहादुर श्रेष्ठ, संयोजकमा उदयनारायण महतो र सदस्यमा जयनारायण साह, इनरचन राम, रामानन्द महतो, रामचन्द्र महरालाई जिम्मेवारी दिएको छ ।

बैठकका प्रमुख अतिथि नयनले पार्टी केन्द्रको सर्कुलरको भाव सम्प्रेषण गर्दै प्रशिक्षण दिएका थिए । उनले किसान सङ्गठनले लिएको निर्णयलाई पार्टीले सहयोग गर्ने बताए । संसदीय व्यवस्थाले किसानहरूको समस्या समाधान नगर्ने भएकाले वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन सबै किसानलाई उनले आह्वान पनि गरे । त्यसका लागि किसान महासङ्घ आमकिसानको खेतखलिहानमा जानुपर्ने उनको भनाइ थियो ।

विशेष अतिथि सङ्गठनका महासचिव सागर अर्यालले सङ्गठनका विषयमा प्रशिक्षण दिए भने पार्टी सर्लाही जिल्ला संयोजक बिहानीले बधाई मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *