सिक्टाको अर्काे पनि ठेक्का पाण्डेकै कम्पनीसँग छ, पाँचपटक म्याद थप गर्दा पनि सकिएन निर्माण

News Social

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतका पूर्वी नहरको अर्काे ठेक्का पनि नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले नै लिएको छ । तर, सम्झौताको म्याद पाँचपटक थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन ।

५३ किलोमिटर लम्बाइ रहने पूर्वी नहरको ३७ किलोमिटर खण्ड निर्माणको ठेक्का कालिका र कुमार निर्माण सेवा प्रालि (कालिका/कुमार जेभी) ले संयुक्त रूपमा पाएका थिए । सिँचाइ विभागले ९ साउन ०७४ (२४ जुलाई २०१७) मा २ मंसिर ०७६ सम्म निर्माण कार्य सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

पाँचपटक म्याद थप भइसकेको छ, तर निर्माण सम्पन्न भएको छैन । अन्तिमपटक थपेको म्याद यही २९ माघमा सकिँदै छ । यस अवधिमा पनि निर्माण कार्य पूरा हुने देखिएको छैन । सिँचाइ विभागका एक उच्च अधिकारीका अनुसार अहिलेसम्म ९३ प्रतिशत भौतिक काम मात्रै सकिएको छ । निर्माण सम्पन्न भएपछि पनि १३ महिना सोही कम्पनीले नै नहर सञ्चालन गर्नुपर्नेछ ।

पहिलोपटक १ मंसिर ०७७ मा म्याद थप गरिएको थियो । त्यसपछि क्रमशः २७ पुस ०७७ मा दोस्रोपटक, २७ असार ०७८ मा तेस्रोपटक, ३० चैत ०७८ मा चौथोपटक र २९ माघ ०७९ मा पाँचौँपटक म्याद थप गरिएको थियो ।

ठेक्का रकमसमेत बढ्यो
आयोजनाको निर्माण ढिलाइ हुँदा भेरिएसनमार्फत ठेक्का रकमसमेत बढेको छ । सुरुमा तीन अर्ब ६ करोड ९८ लाखमा ठेक्का सम्झौता भएको थियो । तर, अहिले भेरिएसनमार्फत त्यो तीन अर्ब ३० करोड २१ लाख रुपैयाँ पुगेको छ । उक्त भेरिएसन मंसिर ०७८ मा सिँचाइ विभागले स्वीकृतसमेत गरिसकेको छ । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *