यती एयरलाइन्सको जहाज दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

Political Social

जहाज खरिद गर्दा दलाली प्रथाबाट नभएर सरकारद्वारा सीधै खरिद गर्न, जहाजसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्न र जहाजका चालक तथा कर्मचारीलाई पूर्वसावधानी अपनाउन विशेष चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) ले आइतबार कास्कीको पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाबाट मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्ति जारी गरी घाइतेहरूको स्वास्थ्यलाभको अपेक्षा गर्दै सम्बन्धित निकायलाई जहाज खरिद गर्दा दलाली प्रथाद्वारा नभएर सीधै सरकारद्वारा खरिद गर्न, जहाजसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्न, जहाजका चालकलगायत कर्मचारीहरूलाई पूर्वसावधानी अपनाउन विशेष चेतावनी पनि दिएका छन् । प्रवक्ता सुदर्शनले जनताको ज्यानमाथि बारम्बार खेलबाड हुनु सम्बन्धित निकायको गैरजिम्मेवार कार्य हुने पनि प्रस्ट पारेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान १०ः३३ मा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एनएएनसी एटीआर विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनै खोज्दा पोखरा महानगरपालिका १५ को नयाँ गाउँ र ७ को घारीपाटनबीच सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको दुःखद् खबरले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । स्थानीय जनता, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको जोडबलमा तीनजनालाई जिउँदै उद्धार गरी अस्पताल पठाइएको छ भने ३५ जनाभन्दा बढी यात्रुको शव निकालिएको छ । बाँकी उद्धारप्रक्रियामा रहेका छन् । सम्बन्धित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सम्बन्धित निकायलाई जहाज खरिद गर्दा दलाली प्रथाद्वारा होइन, सीधै सरकारद्वारा खरिद गर्न, जहाजसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्न, जहाजका चालकलगायत कर्मचारीहरूलाई पूर्वसावधानी अपनाउन विशेष चेतावनी दिन चाहन्छ । जनताको ज्यानमाथि बारम्बार खेलबाड हुनु सम्बन्धित निकायको गैरजिम्मेवार कार्य हुन जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *