अर्को महिना अर्थात् फेब्रुअरीमा अन्तरिक्षबाट यस्तो पाहुना आइरहेको छ जो यसअघि हिमयुगमा आएको थियो । अर्थात्, करिब ५० हजार वर्ष अघि । यसपछि अब यो कहिले आँउछ अहिले नै भन्न मुश्किल छ । तर अर्को चक्कर ५० हजार वर्षपछि मात्रै हुने धेरैले अनुमान गरेका छन् । यढो एक धूमकेतु (कमेट) हो । यदि तपाईंको इलाकामा आकाश सफा भयो भने तपाईंले यसलाई नाङ्गो आँखाले हेर्न सक्नुहुनेछ । यो हेर्नका लागि कुनै दुरबिन वा टेलिस्कोप चाहिँदैन ।
यो धुमकेतुको नाम हो C/2022 E3 (ZTF) । यसलाई अघिल्लो वर्ष मार्च महिनामा पत्ता लगाइएको थियो । त्यति बेलादेखि लगातार यसलाई पत्ता लगाउने क्यालिफोर्नियाको ज्विकी ट्रान्सजियन्ट फ्यासिलिटीका वैज्ञानिक यसको ट्र्याकिङ गरिरहेका छन् । यो १२ फेब्रुअरीमा धर्तीभन्दा करिब ४.२० करोड किलोमिटर टाढाबाट यात्रा गर्नेछ । यसअघि यो ५० हजार वर्ष अघि अपर प्यालियाोलिथिक कालमा आएको थियो । त्यतिबेला हिमयुग थियो । हामी मानिसको आधुनिक प्रजाति अर्थात् होमो सेपियन्स पनि थिएनन् ।
त्यतिबेला निएन्डरथल मानिस धर्तीमा घुम्थे । हात्तीको सट्टा म्यामथ हुन्थे । त्यतिबेला प्रदुषण हुँदैनथ्यो । आकाश निकै सफा हुन्थ्यो । हाम्रा पूर्खाले यो धुमकेतूलाई देखेको हुनसक्छ । हामीले यसलाई देख्न पाउनु भाग्यको कुरा हो । यो निकै तेज प्रकाश भएको धूमकेतु हो । साधारणतया धूमकेतु आउने जाने, चम्किने विषयमा भविष्यवाणी गर्न सकिँदैन । यसले कतिपटक आफ्नो दिशासमेत बदल्ने गर्छ ।
यदि तपाईं धर्तीको उत्तरी गोलार्धमा बस्नुहुन्छ भने तपाईंले यो देख्ने सम्भावना बढी छ । आकाश सफा छ भने यसलाई खुला आँखाले नै हेर्न सकिन्छ । नभए दुरबिन वा टेलिस्कोपको मद्दत लिन सकिनेछ । यो देखिने सबैभन्दा सटिक समय बिहान हुनुभन्दा ठिक अघि । यो उत्तर–पश्चिमतर्फ जाँदै गरेका बेला यो तपाईंले देख्न सक्नुहुन्छ । दक्षिणी गोलार्धका मानिसहरुले यसलाई फेब्रुअरीको सुरुवाती दिनमा मात्रै देख्नेछन् । यसभन्दा अघि २१ जनवरीमा पनि मौका पाउन सकिनेछ ।