आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न सकिन्न : प्रवक्ता महरा

News Political

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने बताए ।

काठमाडौंको संवाद डबलीमा ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा सबै माओवादी नेताहरुले आत्मसमिक्षासहित नयाँ आधारमा नयाँ एकता गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए । आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्तिहरु माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको र त्यसमा सफल भएको समेत बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले माओवादी नेताहरुले दुई बाटो हिडेको र दुबै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए ।

“एकथरी माओवादी नेताहरु एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ” महराले भने ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पुँजिवादबाट पुँजिवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेको समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *