सुर्खेतको बस्तीमाथि भूमाफिया र सुरक्षाकर्मीद्वारा गरिएको आगलागीविरुद्ध किसान महासङ्घको चेतावनी

National News

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी सुर्खेतको चौकुने ९ सुनकाडाका ८९ परिवार रहेको बस्तीमा भूमाफिया र सुरक्षाकर्मीले आगो लगाएर बस्ती नै विस्थापित गरेको घटनाविरुद्ध चेतावनी दिएको छ ।

सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले बिनामुआब्जा, त्यहाँको बस्तीलाई जानकारी नै नदिई भूमाफियाको मिलोमतोमा ४१७ रोपनी जमिन सूर्यतारा सिमेन्टलाई बेचबिखन गरेको र आगो लगाएर बस्ती नै विस्थापित गरी ८९ घरपरिवारको उठीबास लगाइएकाले पीडित किसानहरूलाई साथमा लिएर सङ्घर्ष गर्ने चेतावनी दिएका हुन् ।

श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ९ सुनकाडामा २०२६ सालदेखि बसोबास गर्दै आएका २६ घरधुरी परिवार (हाल ८९ घरधुरी परिवार) को बिनामुआब्जा त्यहाँको बस्तीलाई जानकारी नदिई भूमाफियाको मिलोमतोमा ४१७ रोपनी जमिन सूर्यतारा सिमेन्टलाई बेचबिखन भएको र उक्त बस्तीमा बसोबास गर्ने ८९ घरधुरीको उठीबास लगाइएको छ । उक्त बस्तीमा दलाल भूमाफिया र दलाल पुँजीपति वर्गको र मिलोमतोमा आगजनी गरिएको छ । भूमाफियाले उक्त जमिन उद्योगका नाममा बेचेको जानकारी आएको छ । २०७९ भदौ महिना र २०७९ पुस १४ गते बनले सुरक्षा फौज परिचालन गरी बस्तीमा गरेको आगजनीप्रति हाम्रो सङ्गठन गम्भीर आपत्ति जनाउँछ । उक्त बस्तीमा बसोबास गर्ने घरपरिवारको उचित व्यवस्था नगरी गरिएको राज्यको आतङ्क रोक्न माग गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त बस्तीको आगजनीबाट भएको क्षतिपूर्तिका साथै बस्तीको उचित व्यवस्था नगरी भूमाफियालाई उक्त सिमेन्ट उद्योग उद्योग सञ्चालन नगर्न आह्वान गर्दछौँ । जबर्जस्ती बस्ती उठाएर सञ्चालन गर्न थालियो भने सम्पूर्ण किसानलाई साथमा लिई अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) विद्रोहमा उत्रन बाध्य हुने जानकारी गराइन्छ । यसको जिम्मेवार सम्बन्धित निकाय हुनेछ । उक्त बस्तीमा बसोबास गर्ने परिवारको उचित व्यवस्था गरियोस् । देशैभरिका भूमिहीन सुकुमबासीको व्यवस्था नगरी बस्तीमा राज्यको आतङ्क बन्द गरियोस् । सुनकाडाका बासिन्दालाई बासको व्यवस्थासहित भूमाफियाको ज्यादती बन्द गरी उचित क्षतिपूर्तिसहित बस्ती व्यवस्थापन गर्न हाम्रो सङ्गठन माग गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नेपाली किसानका समस्याप्रति सधैँ लागिरहेको अवगत नै छ । अहिले नेपालमा दलाल पुँजीवादले आफ्नो अस्तित्व जमाउन श्रमजीवी किसानमाथि ज्यादती बढाइरहेको छ । दलाल पँुजीवाद विभिन्न बहाना बनाएर नेपाली किसानलाई उठीबास लगाउने र यसको साथ सत्तामा बस्ने दलाल संसदीय व्यवस्थाले दिइरहेको पाइएको छ । विभिन्न बहानामा बन, स्थानीय सरकार, प्रदेश सरकारले किसानले बसोबास गरिरहेको भूमि कव्जा गर्ने, उद्योगधन्दा वा बन परिषद्को मिलोमतोमा दलाल भूमाफियालाई जमिन सुम्पने, मोहियानी हक वा उद्योग खोल्ने बहानामा जमिनमाथि अस्तित्व कायम गरी किसानको बिनाव्यवस्था उठीबास लगाउने क्रम बढेको छ । यस्ता कुकर्मप्रति हाम्रो सङ्गठनको ध्यान आकर्षित भएको छ । यस्ता ज्यादती रोक्न माग गर्दछौँ । अहिले भएको सङ्घ र प्रदेशको निर्वाचनपछि दलाल भूमाफियाको ज्यादती ह्वात्तै बढेको छ । श्रमजीवी भूमिहीन किसानको बस्तीमा आगजनी गर्ने, भूमाफियाको संरक्षणका लागि नक्कली मोहियानी हक बनाएर किसानका बस्ती कब्जा गर्ने, बन पैदावार र दलाल पुँजीवादका मालिकहरुले बस्तीमा सुरक्षाफौज तैनाथ गरी बस्ती उठीबास लगाउनेजस्ता ज्यादती हुन थालेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *