रूपन्देही : नेकपा (बहुमत) रूपन्देहीले जिल्लामा सञ्चालित वित्तीय संस्थाहरूले महिलाहरूलाई मानसिक दबाब दिने, डरत्रास देखाउने, कुखुरा, बाख्रा, सवारी लाइसेन्स, मोबाइललगायत सामान खोसेर जनविरोधी, अमानवीय कार्य गरिरहेको भन्दै तत्काल त्यस्तो कार्य नरोके कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।
पार्टीका जिल्ला संयोजक विजयले वक्तव्य जारी गरी त्यसप्रकारका शोषणमूलक संस्थाहरूलाई जनविरोधी हर्कतहरू बन्द गर्न पटकपटक चेतावनी दिँदा पनि नरोकेको र जनताले स्वाभिमान लघुवित्त वित्तीय संस्था खैरेनी शाखामा कम्प्युटर, प्रिन्टरलगायत सामग्रीहरू तोडफोड गरी जनकारबाही गरेकोमा समर्थन गरेका छन् ।
विजयले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय पार्टी जनतन्त्रका पक्षमा निरन्तर सङ्घर्षरत रहेको सर्वविदितै छ । यसै सन्दर्भमा रूपन्देही जिल्लामा लघुवित्त संस्थाहरूले जनतामाथि गरेको ज्यादतीविरुद्ध हाम्रो पार्टी बोल्दै आइरहेको छ । वित्तीय संस्थाहरूले गाउँटोलमा महिला दिदीबहिनीहरूलाई मानसिक दबाब दिने, डरत्रास देखाउने, उनीहरूका जिन्सीहरू, कुखुरा, बाख्रा, सवारी लाइसेन्स, मोबाइल आदि खोस्ने आदिजस्ता जनविरोधी कार्य गरिरहेका छन् ।’
वक्तव्यमा भनिएको छ, ‘लघुवित्त संस्थाद्वारा पीडित स्थानीयले यसप्रकारका जनविरोधी हर्कतहरू बन्द गर्न पटकपटक चेतावनी दिँदा पनि त्यसप्रकारका गतिविधि नरोकेकाले जनताद्वारा स्वाभिमान लघुवित्त वित्तीय संस्था खैरेनी शाखामा कम्प्युटर, प्रिन्टरलगायत सामग्रीहरू तोडफोड गरी गरेको कारबाहीप्रति हाम्रो जनप्रिय पार्टीले समर्थन गर्दै जनताका मागहरू पूरा गर्न र जनतामाथि अनावश्यक ज्यादती नगर्न वित्तीय संस्थाहरूलाई चेतावनीसमेत दिन चाहन्छ । साथै जनविरोधी हर्कतहरू नरोके थप सङ्घर्ष गरिने जानकारीसमेत गराइन्छ ।’
