काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउने भएका छन् ।
नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार चारै पार्टीले देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय भएको छ ।
देशभर संयुक्त रूपमा माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा मशालका नेता चिन्तामणि पौडेल र माओवादी कम्युनिस्ट पार्टी नेपालका सदस्य रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।
प्राप्त समाचारअनुसार चार पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओवादको अपरिहार्यता, वैज्ञानिक समाजवाद र माओवादलगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।
विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका मालेमावादीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् । नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालमा पनि माओ दिवस मनाउँदै आएका छन् ।