सप्तरीमा विप्लव नेकपा रित्याएर नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

News Political
सप्तरी : विप्लव समूह तराई मधेसमा पनि रित्तिँदै गएको छ । सप्तरीबाट सोमबार मात्रै उक्त समूहका चारजना जिल्ला समिति सदस्य नेकपा (बहुमत) मा समाहित भएका छन् । सप्तरीमा जनता समाजवादी पार्टीका नेता पनि नेकपा (बहुमत) मा समाहित भएका छन् ।

विप्लव समूह परित्याग गरी नेकपा (बहुमत) मा समाहित हुनेहरूमा दीपेन्द्रकुमार राम (नेपाल कम्युनिस्ट पार्टी सप्तरी, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य एवम् सिराहा/सप्तरी इन्चार्ज), इनरचन्द राम (नेपाल कम्युनिस्ट पार्टी सप्तरी जिल्ला सदस्य), भिखारी सदा (नेपाल कम्युनिस्ट पार्टी सप्तरी जिल्ला सदस्य), राधादेवी सदा (नेपाल कम्युनिस्ट पार्टी सप्तरी जिल्ला सदस्य), ज्योतिसकुमार राय (नेपाल कम्युनिस्ट पार्टी सप्तरी, संयोजक युवा सङ्गठन नेपाल सप्तरी) र जनता समाजवादी पार्टी सप्तरीका सदस्य तथा डाक्नेश्वरी नगर समितिका शिव कुमार राय छन् ।

विप्लव समूह र जनता समाजवादी पार्टीबाट विद्रोह गरी नेकपा (बहुमत) मा समाहित भएका नेता–कार्यकर्ताले ती पार्टी परित्याग गरी क्रान्तिकारी पार्टीमा आबद्ध हुनुपर्नाका कारण पनि दर्साएका छन् । उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देश यति बेला गम्भीर मोडमा उभिएको छ । एकातिर संसद्‌वादी पार्टीहरू दलालहरूको सेवामा तल्लीन छन् । जनताका जनतन्त्र र जनजीविकाका समस्याहरू दिनानुदिन झन्झन् बढिरहेका छन् । विदेशीको इसारामा देश बेच्ने दलालहरूको बिगबिगी बढिरहेको छ भने अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नेतृत्वमा दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ ।’

विज्ञप्तिमा विद्रोहीहरूले आफूहरू आजैको मितिदेखि यसअघि आबद्ध पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *