रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

News Political

रूकुम पूर्व : नेकपा (बहुमत) रुकुम पूर्वले प्रदेश सभा ‘ख’ का उम्मेदवार धनबहादुर केसी (डीबी) मानव तस्करीलगायत अपराधजन्य कार्यमा बदनाम रहेको भन्दै अवज्ञा र बहिष्कारका लागि आह्वान गरेको छ । इन्चार्ज मञ्जित र संयोजक विपनाले बिहीबार ‘धनबहादुर केसी उर्फ डीबीलाई अवज्ञा र बहिष्कार किन ?’ शीर्षकमा विज्ञप्ति जारी गर्दै धनबहादुर केसीले सत्ताको आडमा गरेका असामाजिक क्रियाकलापका कारण बहिष्कार गर्नुपरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा डीबी मानव तस्करी गिरोहको नाइके भएको, अमेरिका, ब्राजिल, मेक्सिकोलगायत विभिन्न देशको नागरिकतासमेत लिई दोहोरो नागरिकता लिएको, बहुविवाहजस्तो कानुनी र सामाजिक अपराध गरेको साथै विदेशी नागरिकसँग विवाह गरी नेपालको सम्पत्ति विदेशमा पलायन गराएको, युवाहरूको तस्करी गरी अकुत कालो धन थुपारेको, अनौपचारिक आर्थिक क्षेत्र हुन्डी कारोबारको मुख्य नाइके भएको, जनतालाई मिटर ब्याजमा पर्न र पार्न बाध्य पारेको, आफू मात्र नभएर आफ्ना भाइभतिजाहरू मुक्ति, रूपक, हस्त, कलबहादुर, एलबी, मानव, लालवीर बोहोरा, टीकाराम खनाललगायत व्यक्तिलाई दलाली र तस्करीमा संलग्न गराएको, अन्तर्राष्ट्रिय कुख्यात लागूपदार्थ तस्कर पाउलो इस्कोबारको सदस्य भएको, सयाँै युवालाई अमेरिका पठाउने भनी दुबई, ब्राजिल, अल्जेरिया, अजरबैजान, मेक्सिकोलगायत विभिन्न देशमा अलपत्र पारेको, नेपालबाट डलर तस्करी गरी दुबईबाट सुन र लागूपदार्थ तस्करी गर्ने गरेको, जिल्ला अदालत रुकुमबाट कागजात किर्ते मुद्दामा सजाय पाउने गरी फैसला भए पनि कार्यान्वयन नभएकोलगायत अभियोग लगाइएको छ ।

विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू
हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) देशका आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्याहरूको समाधानका खातिर स्थापना कालदेखि नै सङ्घर्षरत छ । तत्कालीन रूपमा हाम्रो पार्टीले यो देशमा संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, समृद्धि, समानता, शान्ति, स्वाधीनता र जन्मसिद्ध जमिनको अधिकारका निम्ति ‘स्वाधीन संयुक्त सरकार’ को कार्यनीति अगाडि सारेर ‘आमराजनीतिक सहमति’ का लागि पहल लिइरहेको विषय सम्भवतः सम्पूर्णमा स्पष्ट छ । अपितु हाम्रो पार्टी वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र त्यसको स्थानमा जनताको सबैभन्दा सुन्दर, सुखी र खुसीपूर्ण व्यवस्था वैज्ञानिक समाजवादको स्थापनाको रणनीतिप्रति स्पष्ट, दृढ र प्रतिबद्ध छ । जुन व्यवस्थामा मात्रै स्थायी शान्ति, दिगो समृद्धि, सबैखाले विभेद र असमानता मुक्त, पूर्ण स्वाधीनता र नागरिकका अनिवार्य र आधारभुत आवश्यकताहरूको ग्यारेन्टी राज्यले गर्ने थिति सम्भव छ ।
आदरणीय जनसमुदाय,
देश यतिबेला चुनावमय छ । देशभर संसदीय चुनावको हावा चलिरहेको छ । संसद्वादी शासकहरू आफूलाई पुनः शासकका रूपमा अद्यावधिक गर्न जबर्जस्ती देशको सम्पूर्ण सुरक्षा निकाय, ब्युरोक्रेसी, उनीहरूद्वारा पालितपोषित गुण्डा, ट्यापे, मुन्द्रे र चाकडीबाजहरूको बलमा चुनाव लादिरहेका छन् । यद्यपि जनतामा यो कथित चुनावप्रति कुनै उत्साह, चासो र गौरव देखिँदैन । जनतालाई विश्वास पनि छैन– यो चुनावले समस्याहरूको हल हुनेछ । उनीहरूले जनताका बीचमा घोषणापत्र र प्रतिबद्धतापत्रका नाममा बाँडेका चुनावी आश्वासन र भ्रमहरू रत्तिभर पनि कार्यान्वयन हुनेछैनन् । सिङ्गो देश र जनता यो व्यवस्थाको परिवर्तनका पक्षमा देखिन्छन् । जनताले उचित र प्रभावकारी विकल्पका रूपमा कुनै पनि राजनीतिक दललाई नदेख्दा उनीहरूले आफ्नो विद्रोह स्वतन्त्र नामधारी उम्मेदवारमार्फत व्यक्त गरिरहेका छन् ।
हाम्रो निष्कर्ष के छ भने चुनाव अहिलेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, कालोबजारी, मानव तस्करी, जातीय, क्षेत्रीय, वर्गीय र लैङ्गिक विभेद, अस्थिरता, बेरोजगारी, लागूपदार्थको बढ्दो दुव्र्यसनी, अशान्ति, अराजकता, हत्या, हिंसा, बलात्कार, वित्तीय शोषण, असुरक्षा, चरम निजीकरण, अव्यवस्थालगायतको अन्त्य यो कथित निर्वाचनले गर्न सक्दैन । तसर्थ देश नयाँ राजनीतिक कोर्समा अगाडि बढ्न जरुरी छ । हाम्रो पार्टी नेकपा (बहुमत) ले ‘स्वाधीन संयुक्त सरकार’ को प्रस्ताव गरेको छ । यसको कार्यान्वयनले केही हदसम्म देशलाई अग्रगमनतिर लैजानेछ भने पूर्ण रूपमा देश स्वाधीन बन्न, आत्मनिर्भर बन्न, पूर्ण दिगो शान्ति कायम हुन, समानतायुक्त बन्न, समृद्ध बन्न, निःशुल्क रूपमा स्वास्थ्य र शिक्षाको ग्यारेन्टी हुन, बेरोजगारी हल हुन, सुशासन र सदाचारयुक्त हुन वैज्ञानिक समाजवादमा पुग्नुको विकल्प छैन ।
आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू
संसदीय व्यवस्था दलाल, माफिया, तस्कर र भ्रष्टहरूको व्यवस्था हो भन्ने प्रमाण खोज्न हामी कहीँ जानु पर्दैन । रुकुम (पूर्व) प्रदेश सभा ‘ख’ का उम्मेदवार धनबहादुर केसी (डीबी) मानव तस्कर गिरोहका नाइके हुन् । अवैध मार्ग भएर अमेरिका पठाउने नाममा सयौँ युवाको तस्करी उनले गरेका छन् । सिङ्गो राज्यसंयन्त्र उनको संरक्षण गर्दै आइरहेको छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सम्पूर्ण संसदीय प्रणालीको अन्त्यसँगसँगै भ्रष्टाचारको अभियोग प्रमाणित वा गम्भीर आरोपित, मिटरब्याजमा संलग्न, ठेकेदार, शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया, एमसीसी पासलगायत अन्य राष्ट्रघात र जनघातमा संलग्न, मानव तस्करीमा संलग्न र अन्य सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अपराधमा संलग्न उम्मेदवारहरूका विरुद्ध भण्डाफोर गर्दै आइरहेको विषय स्पष्ट छ । हाम्रो पार्टी डीबीका विरुद्ध जनताका तर्फबाट हुने हरेक सङ्घर्षका निम्नकारणले समर्थन र प्रशंसा गर्दछ–
धनबहादुर केसी उर्फ डीबीलाई अवज्ञा र बहिष्कार किन ?
– मानव तस्करी गिरोहको नाइके भएको ।
– अमेरिका, ब्राजिल, मेक्सिकोलगायत विभिन्न देशको नागरिकतासमेत लिई दोहोरो नागरिकता लिएको ।
– बहुविवाहजस्तो कानुनी र सामाजिक अपराध गरेको साथै विदेशी नागरिकसँग विवाह गरी नेपालको सम्पक्ति विदेशमा पलायन गराएको ।
– युवाहरूको तस्करी गरी अकुत कालो धन थुपारेको ।
– अनौपचारिक आर्थिक क्षेत्र हुन्डी कारोबारको मुख्य नाइके भएको ।
– जनतालाई मिटर ब्याजमा पर्न र पार्न बाध्य पारेको ।
– आफू मात्र नभएर आफ्ना भाइभतिजाहरूलाई दलाली र तस्करीमा संलग्न गराएको (जस्तै ः मुक्ति, रूपक, हस्त, कलबहादुर, एलबी, मानव, लालवीर बोहोरा, टीकाराम खनाल आदि) ।
– अन्तर्राष्ट्रिय कुख्यात लागूपदार्थ तस्कर पाउलो इस्कोबारको सदस्य भएको ।
– सयाँै युवालाई अमेरिका पठाउने भनी दुबई, ब्राजिल, अल्जेरिया, अजरबैजान, मेक्सिकोलगायत विभिन्न देशमा अलपत्र पारेको ।
– नेपालबाट डलर तस्करी गरी दुबईबाट सुन र लागूपदार्थ तस्करी गर्ने गरेको ।
– जिल्ला अदालत रुकुमबाट कागजात किर्ते मुद्दामा सजाय पाउने गरी फैसला भए पनि कार्यान्वयन नभएको ।
अन्त्यमा यस्ता पात्र र प्रवृत्तिका साथै यस्ता पात्र र प्रवृत्ति जन्माउने, हुर्काउने र संरक्षण गर्ने दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध जुट्न सम्पूर्ण क्रान्तिकारी रुकुमेली जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *