मङ्सिर ४ गतेको निर्वाचन सशक्त अवज्ञा गर्न जनसाँस्कृतिक महासंघको आह्वान

Arts-literature
काठमाडाैँ :  यहीँ मङ्सिर ४ गतेको निर्वाचनलाई सशक्त अवज्ञा गर्न अखिल नेपाल जनसाँस्कृतिक महासंघको आह्वान गरेको छ । बिहीबार उक्त महासंघका केन्द्रीय संयाेजक खेम थपलिया विज्ञप्ति जारि आसन्न संसदीय निर्वाचनको अवज्ञा गर्न अपिल गर्नु भएको हाे ।  विज्ञप्तिमा भनिएको छ –
 “प्रेस विज्ञप्ति:आदरणीय संस्कृतिकर्मीहरू !
इतिहासको यस संवेदनशील घडीमा नेपालका संसदीय राजनीतिक दलहरू आसन्न मङ्सिर ४ को निर्वाचनको नौटङ्कीमा व्यस्त छन् । विचारहीनता, सिद्धान्तहीनता, नैतिकहीनता र लाचारीको पराकाष्ठाका रूपमा उनीहरू कथित गठबन्धनका नाममा जनतालाई विषाक्त भ्रम सिर्जना गरिरहेका छन् । उत्पीडित तथा श्रमजीवी जनताका लागि कुनै साइनो-सम्बन्ध नरहेको यो निर्वाचनको अवज्ञास्वरूप श्रमजीवी जनताको ठूलो हिस्साले आ-आफ्नो ठाउँबाट सशक्त प्रतिरोधी आवाज मुखरित गरिरहेको छ। समकालीनतामा साम्राज्यवाद-पुँजीवादका विषालु फणाका कारण अकल्पनीय मानवीय सङ्कट चुलिँदैछ । सर्वसाधारण जनता मर्नु न बाँच्नुको अवस्थामा छन् । शासकहरूका आत्मकेन्द्री चरम सत्तालिप्सा र जनविरोधी हर्कत चुलिँदो छ । समाजमा अभाव र अपमानका कारण आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दो छ । यसले समकालीन राजनीतिक व्यवस्था र तिनका शासकीय औकातलाई छर्लङ्ग बनाइदिएको छ । हामी यतिबेला इतिहासकै सर्वाधिक सङ्गीन घडीबाट गुज्रिरहेका छौँ । हाम्रो सङ्गठन ती श्रमजीवी तथा उत्पीडित जनताका सशक्त प्रतिरोधी तथा अवज्ञा आवाजलाई हार्दिकतापूर्वक अभिवादन गर्दछ । साथै, हाम्रो सङ्गठन संसदीय दलहरूको सबैखाले उत्पीडनकारी तथा औपनिवेशीकृत मनसुवा पूरा गर्ने माध्यमको रूपमा हुन लागिरहेको मङ्सिर ४ को निर्वाचनको सशक्त अवज्ञाको आह्वान् गर्नु आफ्नो कर्तव्य ठान्दछ ।
भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादी जगजगीको यतिबेला प्रतिरोध, साहस, प्रतिबद्धता, बलिदान अपरिहार्य बन्न गएको छ । बलिदानी भावनाका साथ विचार, प्रतिबद्धता र सपनाको झन्डालाई माथि उठाउनु सामान्य कुरा होइन । वैचारिक मूल्य र सैद्धान्तिक आदर्शको स्खलनको यति डरलाग्दो परिवेशबिचमा बलिदानीपूर्ण मार्गलाई हाँसी-हाँसी पछ्याउनु झन् सामान्य कुरा हुनै सक्तैन । सत्तासीनहरू आफ्नो लुटको स्वर्ग जोगाउन असङ्ख्य झुटका पुलिन्दा बुनिरहेछन् । मङ्सिर ४ को निर्वाचन त्यही झुटको अर्को नयाँ शृङ्खला मात्र हो । इतिहासको यस घडीमा हामी दलाल तथा फासिवादी शासकहरूको यस्तो लम्पसारवादी र देशद्रोही मनसुवालाई पूरै अवज्ञा गर्दछौँ । देश र जनताका विरुद्ध बुनिएका कथित झुटका पुलिन्दाको भण्डाफोर गर्नुको कुनै विकल्प छैन । मानवसभ्यता, मानवसमाज, मानव संस्कृति जेजस्तो रूपमा यहाँसम्म आइपुगेको छ; यो बलिदान, आँसु, पीडा, अपमान, असहयोग, अन्याय, अत्याचारको अकल्पनीय क्षणहरूद्वारा निर्मिति रूप हुन् । इतिहासमा ठुल-ठुला बलिदानको मूल्य जनताले नै चुक्ता गर्दै आएका छन्, यद्यपि सत्तामा जनताका तिनै दुश्मन र जनघातीहरू नै हाबी हुँदै आएका छन् ।
साम्राज्यवादी, घरेलु प्रतिक्रियावादी तथा दक्षिणपन्थी हावाहुन्डरी मडारिइरहेको यतिबेला अनेक प्रकारका परिघटना देखापरिरहेका छन् । जनयुद्धबाट प्राप्त उपलब्धि ध्वस्त पारिएका छन् । साम्राज्यवादीहरूको टेकोपोडोमा प्रतिक्रियावादी शासकहरू सबै किसिमका वर्गसङ्घर्ष, तिनमा जनताबाट अभिव्यक्त त्याग, समर्पण र बलिदानी मूल्यका विरुद्ध भयानक षड्यन्त्र गरिरहेका छन् । मरणासन्न, राष्ट्रघाती तथा जनघाती एकाधिकार दलाल पुँजीवादी संसदीय व्यवस्थाका मतियारहरूका हरेक गतिविधिले सीमा नाघिसकेको छ । उनीहरू नेपालमा क्रान्तिकारी विचार, सपना र सम्भावनाको मुना निमोठ्न ज्यान छाडेर लागेका छन् । हामी त्यसप्रकारको षड्यन्त्रको प्रतिरोधस्वरूप गम्भीरताका साथ जनताको भौतिक, वैचारिक र सांस्कृतिक सङ्घर्षको तागतमा वैज्ञानिक समाजवाद स्थापना गर्ने सहिदी सपना बुनिरहेका छौँ ।
नेपालमा लामो समयदेखि जनताको रगत-पसिना पिउँदै र हड्डी चपाउँदै आएका जनबैरीहरू नयाँ-नयाँ आबरणमा नयाँ-नयाँ फन्डा गरिरहेका छन् । यो फन्डाको उपक्रम मङ्सिर ४ को संसदीय निर्वाचनसम्म आइपुगेको छ, जसलाई पूर्णतः अवज्ञा गर्नु अनिवार्य बन्न गएको छ । मङ्सिर ४ को निर्वाचनलाई अवज्ञा गर्नु भनेको जनताको महान् सङ्घर्ष र महान् सहिदको सम्मान गर्नु पनि हो । सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, बलिदानको सपना र वैचारिक निष्ठाले प्रतिरोध, बलिदान र वर्गसङ्घर्षको संस्कृतिको निरन्तरताको आवश्यकतालाई नै इङ्गित गरिरहेको छ । हामीलाई फेरि एकपटक शौर्य, साहस र वीरताको यौद्धिकगायन चाहिएको छ । फेरि एकपटक कुची, कलम र मादलसित वर्गीय विचार, आस्था र सघन वर्गसङ्घर्षको अन्तर्घुलन आवश्यक परेको छ । एकाध मानिसहरू दलाल संसदीय आहालमा चुर्लुम्म डुबे पनि हाम्रो आस्थाको प्रतीक प्रिय रातो झन्डा कहिल्यै झुक्नेछैन । फासिवादी दलालहरूका विरुद्ध निरन्तर लड्ने क्रान्तिकारी संस्कृतिलाई कुनै पनि हालतमा कमजोर हुन दिइनेछैन । मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल संसदीय पुँजीवादी व्यवस्था र यसको प्राणप्रतिष्ठा गर्ने मङ्सिर ४ को निर्वाचनका विरुद्धको अवज्ञा सङ्घर्षमा सहभागी हुन हामी वैकल्पिक व्यवस्थाका पक्षधर सबैलाई विशेष आह्वान गर्दछौँ । वैज्ञानिक समाजवादी क्रान्तिको महान् यात्रामा वर्गचेतना, वर्गप्रेम, साम्यवादी सपना र शौर्यका साथ सम्पूर्ण क्रान्तिकारी कवि, कलाकार, लेखक, साहित्यकार एवम् संस्कृतिकर्मीहरूलाई लामबद्ध हुन हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ विशेष अपील गर्दछ ।
खेम थपलिया
सयोजक
१ मङ्सिर, २०७९”

Leave a Reply

Your email address will not be published. Required fields are marked *