मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी फुट्यो, क्रान्तिकारी मोर्चा नेपाल घोषणा

News Political

काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूह नयाँ मोर्चा घोषणा गरेको छ। रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो।

नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ। मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरूले विद्रोह गरेर संयुक्त राजीनामा दिएर आज नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिए। राजनीतिक पार्टी जनताको बिचमा जानुपर्छ भन्ने माग राखे पनि नेतृत्वले त्यसमा सुनुवाइ नगरेको उनले बताए।

उनले भने, ‘हामीले क्रान्तिकारी शक्तिको रक्षा गर्नुपर्ने माग अघि सारेका थियौं। यदि साँच्चिकै क्रान्तिकारी पार्टी हो भने सिद्धान्त र व्यवहारमा तालमेल हुनैपर्छ। देखाउने दारा एउटा र चपाउने दारा अर्कोको रुपमा पार्टीको विकास भयो र लाइन छाडेपछि पार्टी परित्याग गर्यौं।’

सोही पार्टीमा बसेर नेपाली जनताको हित र विकासको काम हुन नसक्ने आफूहरूले निष्कर्ष निकालेको र लगत्तै मोर्चा गठन गरेको उनको स्पष्टोक्ति थियो। उनले पार्टी क्रान्तिकारी मुद्दाहरू लागु नगरी दासहरू उत्पादन गर्ने भट्टीको रुपमा विकास भएकोसमेत आरोप लगाए।

अध्यक्ष खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरुको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरू हाबी भएको समेत टिप्पणी गरे। उनले नेतृत्वमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरवाद हाबी भएको पनि आरोप लगाए।

अध्यक्ष खड्काले २०७८ चैत्र १३ गते ५ नं. प्रदेशबाट र गत साउन १६ गते ३ नं प्रदेश साथै देशभरिबाट सामूहिक राजीनामा दिँदै औपचारिक रुपमा पार्टी परित्याग गरेको जनाए। खड्कालगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको उनले दाबी गरे।

उनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने पनि बताए। देशमा अहिले भइरहेको व्यवस्थाले जनताको हित नहुने कुरा पुष्टि भइसकेको उनको दाबी थियो। उनले अहिलेको व्यवस्था हटाउनुपर्नेमा जोड दिँदै यही व्यवस्था रहेसम्म मोर्चाले संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *