पार्टी सुदृढीकरणबारे

Articles Opinion

हामीले विशेष राष्ट्रिय भेलामार्फत नेकपा (बहुमत) गठन गरेसँगसँगै कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमको शृङ्खला निर्माण गरेका छौँ । यसले विगतमा रहेको कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमसम्बन्धी अस्पष्टता र अन्योलताको स्थितिलाई अन्त्य गरेको छ । अस्पष्टता र अन्योल हटेसँगै हामीमाथि देशव्यापी पुनर्गठित पार्टीलाई सुदृढ एवम् व्यवस्थित गर्ने अभिभारा आएको छ । यो अभिभारालाई कुशलता र दृढतापूर्वक पूरा गर्नु आजको आवश्यकता हो ।

जसरी क्रान्तिकारी कार्यदिशाबिना क्रान्ति सम्भव हुन्न, ठीक त्यसरी नै सुदृढ र व्यवस्थित प्रकारको क्रान्तिकारी पार्टीबिना पनि क्रान्ति सम्भव हुन्न । सुदृढ र व्यवस्थित बोल्सेभिक पार्टीको बलमा लेनिनले रुसमा सशस्त्र विद्रोहको कार्यदिशामार्फत समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । सुदृढ र व्यवस्थित चिनियाँ कम्युनिस्ट पार्टीकै ताकतमा माओले चीनमा दीर्घकालीन जनयुद्धको कार्यदिशामार्फत नयाँ जनवादी क्रान्ति पूरा गर्नुभयो । विश्वभरि जति पनि क्रान्तिकारी आन्दोलनहरू सफल भएका छन्, त्यहाँ सुदृढ प्रकारको पार्टी सङ्गठनको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा हामी जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवादी क्रान्ति गर्न गइरहेका छौँ । यसलाई पूरा गर्नसक्ने विश्वदृष्टिकोणमा स्पष्ट, सिद्धान्तनिष्ठ, क्रान्तिको असली वाहक, सर्वहारा वर्गको अग्रदस्ता, अनुशासित, व्यवस्थित, सुदृढ र जुझारु चरित्रको पार्टी निर्माण आजको आवश्यकता हो । नेकपा (बहुमत) यसै आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले गठन भएको क्रान्तिकारी पार्टी हो । अहिलेको स्थितिमा यसको सुदृढीकरणका निमित्त केही आवश्यक विषयमा चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

सर्वप्रथमतः पार्टीभित्र विश्वदृष्टिकोणको प्रश्नमा स्पष्टता र एकरूपता कायम गर्न जोड गर्नुपर्दछ । कम्युनिस्टहरूको विश्वदृष्टकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो, आदर्शवाद होइन किनकि कम्युनिस्टहरूको लक्ष्य र उद्देश्य शोषणकारी र विभेदकारी पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद हुँदै वर्गविहीन र शोषणविहीन साम्यवाद स्थापना गर्नु हो । नेकपा (बहुमत) को न्यूनतम लक्ष्य नेपालमा विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद स्थापना गर्नु र अधिकतम लक्ष्य साम्यवादमा पुग्नु रहेको छ । यसका निमित्त अचुक र अन्तिम दार्शनिक हतियार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै हो । आदर्शवादी विश्वदृष्टिकोण बोक्नेहरू वास्तविक कम्युनिस्ट क्रान्तिकारी हुन सक्दैनन् । उनीहरू क्रान्तिको असली वाहक हुन पनि सक्दैनन् । उनीहरू कम्युनिस्ट दृष्टिकोण, आदर्श र मूल्यमान्यताबाट स्खलित भई सुधारवादी, संशोधनवादी, संसद्वादी, अर्थवादी आदि बन्न पुग्छन् । उनीहरूले क्रान्तिकारी आन्दोलनलाई बीचमै अलपत्र पारेर छाडिदिन्छन् । विगतमा आफूलाई असली क्रान्तिकारी तथा भौतिकवादी बताउने कम्युनिस्ट अगुवाहरू विचलित भएर क्रान्तिकारी आन्दोलनलाई अलपत्र पार्दै आदर्शवादको शरणमा पुगेका अनेकौँ दृष्टान्त हाम्रासामु छन् । जस्तै : मोहनचन्द्र अधिकारी कम्युनिस्ट आन्दोलनबाट पलायन भएर शान्तिको खोजीमा वृन्दावनमा तपस्या गर्न पुगे; प्रचण्डले ज्योतिषीको सल्लाहमा ग्रह शान्त पार्न चतरा पुगेर भैँसी पूजा मात्रै गरेनन् ’भौतिकवाद र अध्यात्मवादलाई समायोजन गर्नुपर्छ’ सम्म भन्न भ्याए; विप्लवले शुभलाभ हुने विश्वासमा कुनै एक सरकारी कर्मचारीले उपहार दिएको फलामे औँठी धारण गरे । आफूलाई अब्बल दर्जाको कम्युनिस्ट बताउन रुचाउने यस्ता कयौँ नेताहरू छन् जो कार्यक्रमहरूमा भौतिकवादबारे घन्टौँ प्रवचन दिन्छन् तर आफ्नो घरमा पुगेपछि रामनामी ओढ्छन्, हनुमान चालिसा पाठ गर्छन्, मृतक बाबुआमाका नाममा पिण्ड चढाउँछन् । यस्ता आदर्शवादी दृष्टिकोणको प्रभावबाट मुक्त हुनका निम्ति पार्टीभित्र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणयुक्त नेता– कार्यकर्ताहरूको पङ्क्ति निर्माण गर्न जोड लगाउनु पर्दछ । यसका लागि नियमित स्कूुलिङ र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दछ । साथै स्वअध्ययनलाई पनि प्रोत्साहित गर्नुपर्दछ ।

दोस्रो कुरा, पार्टीले लिएको कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमबारेको बुझाइमा स्पष्टता र एकरूपता कायम गर्नुपर्दछ । विप्लव नेतृत्वको पार्टीमा कहिल्यै पनि बुझाइमा स्पष्टता र एकरूपता कायम हुन सकेन । सधैँभरि कुहिरोमा काग रुमल्लिएझैँ अन्योलपूर्ण अवस्थामा रुमल्लिनुपर्ने स्थिति बन्यो । त्यस्तो स्थितिको अन्त्य भएको अहिलेको अवस्थामा हाम्रो पार्टीका नेता–कार्यकर्ताहरू पार्टीको कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमका विषयमा पूर्णतया जानकार हुनुपर्दछ । उनीहरूजस्तो फोस्रो गफमा रमाउने क्रान्तिकारी कुरौटे हुनु हुँदैन । कुरा मात्रै ठूला र चर्का गर्ने, काममा भने सिन्को नभाँच्ने विरासतको अन्त्य हुनुपर्छ । सतही कुरामा रमाउने तर गहन अध्ययन र कडा परिश्रम गर्न अनिच्छुक रहने कुरा हटाउनुपर्छ । उनीहरू पार्टीको रणनीति, कार्यनीति, कार्ययोजनाका विषयमा प्रस्ट र पोख्त हुनुपर्छ ।

हामीले कार्यदिशा— वैज्ञानिक समाजवादी क्रान्ति, कार्यक्रम— जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यनीति— स्वाधीन संयुक्त सरकार तथा कार्यनीतिक कार्यक्रम– संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता तय गरेका छौँ । त्यस्तै राजनीतिक स्थिरताका लागि उपरि संरचनाअन्तर्गत कार्यपालिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने र निजको नेतृत्वमा विषयविज्ञहरू सम्मिलित मन्त्रिमण्डल गठन गर्ने, व्यवस्थापिकामा प्रत्यक्ष निर्वाचित विधायकहरू रहने र निजहरूले कानुन बनाउनेबाहेकका काम गर्न नपाउने, न्यायपालिकामा प्रत्यक्ष निर्वाचित प्रधानन्यायाधीश रहने र आर्थिक आधारका रूपमा जमिनमाथि सम्पूर्ण नागरिकको नैसर्गिक अधिकार कायम गर्ने नीति प्रस्तुत गरेका छौँ । यस विषयमा स्पष्ट पार्टी पङ्क्तिले मात्रै पार्टीले निर्धारण गरेको क्रान्तिकारी उद्देश्य हासिल गर्ने कार्यमा सशक्त र निर्णायक भूमिका निर्वाह गर्न सक्छ । तसर्थ पार्टीले प्रस्तुत गरेका यी विषयमा स्पष्टता र एकरूपता हासिल गर्नका लागि नियमित प्रशिक्षण, छलफल, अन्तरक्रिया, स्वअध्ययनजस्ता विधिहरू अवलम्बन गर्नुपर्दछ ।

तेस्रो कुरा, सङ्गठनात्मक संरचना पिरामिड आकारको बनाउँदै लैजानु पर्दछ । अहिलेका हाम्रा सङ्गठन करिब छाताको आकारजस्तै बन्न पुगेका छन् । सामान्यतः माथिल्लो ओहोदामा रहने कुरामा अभिरुचि राख्ने तर मातहतको ओहोदामा रहन अरुचि व्यक्त गर्ने कुराले यस्तो हुन पुगेको छ । माथिल्लो समितिमा धेरै जनशक्ति केन्द्रित हुने तर जनशक्तिको अभावमा मातहतका समितिहरूको आकार खिइँदै जानेजस्तो भएको छ । यसले माथि जनशक्ति बेरोजगार बन्ने तर तल जनशक्तिको अभावमा योजना कार्यान्वयन नहुने वा फितलो हुने स्थिति पैदा हुन्छ । माथिल्लो तहको आकार ठूलो हुँदैमा पार्टीले सही दिशा समात्न सक्छ भन्ने कुनै सुनिश्चित हुन्न । कार्यविन्यास कस्तो प्रकारको गरिन्छ भन्ने कुराले यसको निर्धारण गर्छ । सही प्रकारको कार्यविन्यास गर्न सक्दा समितिको आकार सानै भए पनि प्रभावकारी रूपले कार्य सम्पादन गर्न सम्भव हुन्छ तर कार्यविन्यास सही प्रकारले गर्न सकिएन भने अस्तव्यस्तताको अवस्था उत्पन्न हुन्छ ।

लेखक: थमनसिंह राई

हामीले कम्युनिस्ट पार्टीको सङ्गठन निर्माणका सन्दर्भमा दुई प्रकारका अतिबाट जोगिनुपर्दछ : एउटा, लचकता र उदारता अपनाउने नाममा न्यूनतम गुणस्तर कायम गर्न नसक्ने, भद्दा प्रकारको पार्टी सङ्गठन निर्माण गर्ने प्रचण्डको अराजक तरिका र अर्को, कडाइ गर्ने नाममा आफ्नो आलोचक र सम्भावित प्रतिस्पर्धीका निम्ति ढोका बन्दवादी नीति लिने मोहनविक्रम सिंहदेखि विप्लवसम्मको सङ्कीर्ण र निषेधवादी तरिका । प्रचण्डको तरिकाले सङ्गठनको आकार सुन्निएर मोटाएजस्तो र मोहनविक्रम–विप्लव तरिकाले सुकेनास लागेजस्तो बन्न जान्छ । हाम्रो सन्दर्भमा तल व्यापक सञ्जाल भएको र माथि चुस्त र छरितो हुने स्वरूपको पार्टी निर्माणमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । यसो गर्दा हामीले विशेष राष्ट्रिय भेलामार्फत निर्धारण गरेबमोजिम सबै तहका समितिहरूमा वृद्ध, प्रौढ र युवालाई समावेश गर्नुपर्दछ । साथै समितिहरूमा एउटा हिस्साले अवकाश लिने र अर्को हिस्सा प्रवेश गर्ने नीतिलाई पनि लागू गर्दै जानुपर्दछ ।

चौथो कुरा, पार्टीको चरित्र अनुशासित र जुझारु प्रकारको बनाउनुपर्छ । क्रान्ति सफल पार्न सशक्त र घनीभूत सङ्घर्ष सञ्चालनका निम्ति यसप्रकारको पार्टी हुनु अनिवार्य छ । हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई समेटेर सङ्घर्ष सञ्चालन गर्ने नीति निर्धारण गरेका छौँ । सङ्घर्ष सञ्चालन गर्दा ट्रेड युनियन प्रकारको मात्र नगरी विद्यमान सत्ताका अवयवहरूमा प्रहार गर्ने प्रकृतिका हुनुपर्ने निश्चित गरेका छौँ । यसलाई पूरा गर्नका निम्ति बैठकमा आए पनि हुने नआए पनि हुने, योजना कार्यान्वयन गरे पनि हुने नगरे पनि हुने गैरजिम्मेवार तरिकालाई पूर्णतया सच्याउनुपर्दछ । पार्टीको जिम्मेवार निकायमा रहेपछि पार्टीको अनुशासन कडाइपूर्वक पालना गर्नुपर्छ । ‘अलिनो पनि नखाने, नुनढिको पनि नफोर्ने’ भनेझैँ माथिल्लो तहको पदमा रहन पनि चाहने तर पार्टीले खटाएको जिम्मा र क्षेत्रमा जान आनाकानी गर्ने र योजना कार्यान्वयनमा उदासीनता प्रकट गर्ने परिपाटीको अन्त्य गर्नुपर्दछ । पार्टीको योजना र निर्देशनलाई निःसर्त र निःस्वार्थ भावका साथ कार्यान्वयन गर्न तत्पर पार्टीपङ्क्ति तयार गर्नुपर्दछ । माथिल्लो पदमा बहाल रहन चाहना राख्ने तर पार्टीको योजना र निर्देशन कार्यान्वयन गर्ने बेलामा आनाकानी गर्ने वा उदासीन रहने नेता–कार्यकर्तालाई रूपान्तरण हुन सूचित गर्नुपर्दछ । पटकपटकको प्रयत्नमा पनि रूपान्तरण सम्भव नभएमा निजहरूलाई सम्झाइबुझाई सक्ने जिम्मेवारीमा राखेर सम्बन्धित जिम्मेवारीबाट अवकाश दिनुपर्दछ । तिनको स्थानमा बुझाइमा स्पष्ट, ऊर्जावान्, उच्च मनोबलयुक्त, सिर्जनशील र जुझारु सदस्यहरूलाई पदस्थापन गर्नुपर्दछ ।

पाँचौँ कुरा, नेता–कार्यकर्ताहरूको व्यवस्थापन र परिचालन मिलाउन सक्नुपर्छ । व्यवस्थापनका दुई पक्ष हुन्छन् : एउटा, जिम्मेवारी र अर्को, भरणपोषण । हरेक नेता–कार्यकर्तालाई उसको कार्यक्षमता, रुचि र आन्दोलनको आवश्यकताअनुसारको जिम्मेवारी प्रदान गर्नुपर्दछ । यसो गर्दा कोही आफ्नो अनुकूल वा प्रतिकूल हुने आधारमा नभई पार्टी र क्रान्तिको हितलाई सर्वोपरि राख्ने कुरालाई प्राथमिकता दिनुपर्दछ ।

भरणपोषणका सन्दर्भमा हाम्रो पार्टीले विकसित गरेको विधिअनुरूप गर्नुपर्दछ । पूर्णकालीन नेता–कार्यकर्ताहरूको भरणपोषणको जिम्मा सङ्गठनले लिन्छ र लिनुपर्दछ । भरणपोषणका लागि आवश्यक स्रोतको व्यवस्था गरी बजेट तर्जुमा गर्नुपर्दछ । सहयोग, कर र उत्पादन यसका स्रोत हुन सक्छन् । स्रोतहरू व्यक्तिगत नियन्त्रणमा हुने र संस्थागत भण्डार रित्तै हुने अवस्था उत्पन्न हुन दिनु हुन्न । बजेट तयार गरेपछि न्यायोचित वितरणप्रणाली लागू गर्नुपर्दछ । सक्नेले मनमौजी सुविधा भोग गर्ने, नसक्नेले निरीह बन्नुपर्ने अवस्था आउन दिनु हुन्न । मनपरेका र चतुर्याइँ गर्नेलाई जति भने पनि र जहिले भने पनि सुविधा उपलब्ध गराउने, मन नपरेका र सोझा–इमानदारलाई नाकाबन्दी गरेर प्रताडित गर्ने विगतको प्रचलनलाई हटाउनुपर्दछ । पार्टीभित्र निरपेक्ष समानता नभई सापेक्षिक समानता लागू हुने हुँदा कामको जिम्मेवारी र आवश्यकताअनुसारको सुविधा प्रदान गर्नु न्यायोचित हुन्छ । पूर्णकालीनहरूको आश्रित परिवारजनहरूको भरणपोषणको समस्या हल गर्न उनीहरूलाई नियमित आय आर्जनका काममा जोड्नुपर्दछ भने भइपरी आउँदा यथोचित संस्थागत सहयोग पनि उपलब्ध गराउने नीति बनाउनुपर्दछ ।

परिचालनका सन्दर्भमा भने समग्र पार्टीपङ्क्तिलाई माओले भनेझैँ प्रचारको काम, सङ्गठनात्मक काम, सङ्घर्षको काम र उत्पादनको काममा लगाउनुपर्दछ । कोही पनि भूमिकाविहीन, बेरोजगार र निष्क्रिय बन्नु हुँदैन । कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमहरूका विषयमा जनसमुदायका बीचमा व्यापक प्रचार गर्नुपर्दछ । अहिलेको आवश्यकताअनुरूपका पार्टी, जवस र मोर्चा सङ्गठनहरू व्यापक रूपमा निर्माण गर्नुपर्दछ । सत्ताकेन्द्रित सङ्घर्ष सञ्चालन गर्न जोड लगाउनुपर्दछ । आत्मनिर्भर बन्ने उद्देश्यका साथ उत्पादन कार्यमा संलग्न बन्नुपर्दछ ।

छैटौँ कुरा, नेता–कार्यकर्ताको जिम्मेवारी र कार्य सम्पादनबारे नियमित अनुगमन तथा मूल्याङ्कन गर्नुपर्दछ । विगतमा यस्तो प्रचलन अपनाइएको विरलै भेटिन्छ । तमाम विषयका लागि निश्चित अधिकारीहरूको रिपोर्टिङमा भरपर्ने स्थिति हुन्थ्यो । ती अधिकारीले गरेको रिपोर्टिङको सत्यतथ्य मापन गर्ने कुनै मापदण्ड हुँदैनथ्यो । नेता–कार्यकर्ताहरूका बारेमा पनि तिनै अधिकारीको रिपोर्टिङलाई आधार मानेर निर्णय लिने स्थिति हुन्थ्यो । फलस्वरूप कतिपय अवस्थामा इमानदारहरू दण्डित हुने र बेइमानहरू पुरस्कृत हुने स्थितिसमेत बन्ने गर्दथ्यो । यसले पार्टीको विकासमा गतिरोध पैदा हुन्थ्यो । अबका दिनमा को पार्टीको नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्न कटिबद्ध भएर लागिपरेको छ र को व्यवहारमा माखो नमार्ने तर बोलीले चिरिच्याँट्ट पार्ने कुरा गर्दैछ भन्ने छुट्ट्याउन सक्नुपर्दछ । कामचोर र ठग प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्दछ । कुन नेता–कार्यकर्ताको सबल पक्ष के हो र सीमा–कमजोरी के हुन् भन्ने थाहा पाउनुपर्छ । सबल पक्षलाई पुँजीकृत गर्न प्रोत्साहित गर्नुपर्छ र सीमा–कमजोरीलाई सच्याउन मद्दत गर्नुपर्छ । राम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने र गल्ती दोहो¥याइरहनेलाई नसियत दिने थिति बसाल्नुपर्दछ ।

त्यस्तै नेता–कार्यकर्ताहरूको मूल्याङ्कन सही रूपले गर्नुपर्दछ । आफ्नो हितैषी, प्रशंसक र मनपरेको अमूक पात्रलाई काखी च्याप्ने र अरूलाई बेवास्ता गर्ने परम्परा तोड्नुपर्छ । प्रचण्डदेखि विप्लव नेतृत्वको पार्टीसम्म आउँदा कुनै अमूक पात्रलाई हेर्ने विषयमा मतैक्य हुँदैनथ्यो । अर्थात् एउटै पात्रलाई एउटाले एकदम सही भएको जिकिर गथ्र्याे भने अर्कोले एकदम गलत भएको बताउँथ्यो जब कि ती दुईमध्ये एउटाचाहिँ सत्य हुन्थ्यो । हामी यसबाट माथि उठ्नुपर्छ । हामीले कुनै पनि नेता–कार्यकर्ताका विषयमा मूल्याङ्कन गर्दा उसको वैचारिक तथा राजनीतिक स्पष्टता, पार्टी र क्रान्तिप्रतिको समर्पणभाव र दृढता, कार्यक्षमता, निरन्तरता, क्रियाशीलता तथा वरिष्ठतालाई मापदण्ड बनाउनुपर्दछ । यो मापदण्डका आधारमा मात्रै सम्पूर्ण नेता–कार्यकर्ताको वस्तुनिष्ठ र न्यायोचित मूल्याङ्कन गर्न सम्भव हुन्छ ।

१७ भदौ, २०७९

(नेकपा (बहुमत) को मुखपत्र ‘बहुमत’ भदौ अङ्कबाट साभार ।)

Leave a Reply

Your email address will not be published.